काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक आजबाट ललितपुरको गोदावरीमा सुरु हुने भएको हो। राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य काठमाडौं आइपुगेका हुन्।
महाधिवेशनस्थल चारतारे झण्डाले झकिझकाउ बनेको छ।
महासमितिको सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
कांग्रेस संस्थापन इतर पक्षको स्पष्ट एजेन्डा छ– अबका कुनै पनि चुनावमा गठबन्धन नगर्ने। कांग्रेस एक्लै चुनावमा जाने।’ महासमितिको बैठकबाट यो विषयमा नीतिगत निर्णय गराउने अडानमा छ, संस्थापन इतर पक्ष। तर, संस्थापन पक्ष भने चुनावी गठबन्धनबारे अहिल्यै नीति बनाउन नहुने अडानमा छ। पार्टीले यस्तो नीति लिए हालकै सत्तागठबन्धनमा असर पर्ने सभापति शेरबहादुर देउवा पक्षको बुझाइ छ। त्यसैकारण महासमिति बैठकमा ‘एक्लै जाने कि गठबन्धनको संस्कृति’ अनुसार अघि बढ्ने भन्ने एजेन्डामा कांग्रेसभित्र पेचिलो बहस हुने नेताहरू बताउँछन्।
राजनीतिक स्थायीत्व, रुपान्तरण र नविनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ। यस अगाडि एमालेले पनि गोदावरीमै विधान अधिवेशन गरेको थियो।
तस्बिर : अभिषेक महर्जन