राष्ट्र बदल्ने संकल्प

राष्ट्र बदल्ने संकल्प

हामी नेपालीले आफैंसँग भएको ऊर्जा चिन्न जानेनौं, चलाउन पनि जानेनौं र त शान्त, सुखी र समृद्धि हुन सकेनौं।

नेपाल योगभूमि, ज्ञानभूमि र तपोभूमि हो। अनि हो, बुद्धभूमि। कमैले भनेको तर धेरैले सुनेको यी शब्दको गहन बुझाइ झनै कमैको। सबैभन्दा कम त यी शब्दअनुसार जीवनमा प्रयोग। त्यसैले सायद हामी नेपालीले आफैंसँग भएको ऊर्जा चिन्न जानेनौं, चलाउन पनि जानेनौं र त शान्त, सुखी र समृद्धि पाउन सकेनौं। हामी सबै क्षेत्रमा छिर्छौं अनि सबै तह र तप्काका मानिसलाई भेट्छौं तर छिर्दैनौं अध्यात्ममा अनि भेट्दैनौं यस क्षेत्रका सद्गुरु, गुरु अनि तह र तप्काका व्यक्तित्वलाई। संगत गुणाको फल भनिन्छ तर संगत गर्नुपर्नेसँग संगत गर्दैनौं।

भनिन्छ, अन्त नभएको शक्ति अध्यात्ममा छ। शरीरका सात चक्र जगाएपछि प्राप्त हुने कुण्डलिनी ऊर्जा (शक्ति)ले खुसीको स्रोत आफैंभित्र रहेको अनि शक्तिको स्रोत पनि आफैंभित्र रहेको पुष्टि गर्छ। जीवन रूपान्तरणको ब्रह्मास्त्र रहेको थाहा हुन्छ चक्र विज्ञान जब मानिसले क्रमश :  मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार चक्र चलायमान बनाउँछ। त्यसैले जब मानिसले अध्यात्मको राजमार्ग समात्छ तब उसको जीवनले लय भेट्छ, सूर र ताल मिल्न थाल्छ। आजसम्म त ऊ यसै दौडिएको छ, अब चेतको दौडाइ, परिणामको दौडाइ सुरु हुन्छ।

विश्व स्वास्थ्य संगठनले पनि चारवटा स्वास्थ्य पहिचान गरेर विश्वभर काम गरिरहेको छ– शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य। र, चक्र विज्ञानले सुधार्ने स्वास्थ्य पनि यिनै चारवटा नै हुन्। सन्दर्भ, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जीवन विज्ञानमार्फत गतसाता सम्पन्न साताव्यापी ६ हजारले गरेको चक्र विज्ञान। यसपछि अब कम्तीमा पाँच हजारले जीवनमा परिवर्तन आएको महसुस गर्नेछन्। धेरै ठूलो अपेक्षा नराखौं, १५ प्रतिशत अर्थात् सरदर एक हजार मानिसले मात्र शरीरका सात चक्र जगाउनेछन्, जगाइरहनेछन्। जसबाट एक हजार परिवार र तत्तत् समाज हुँदै राष्ट्रलाई हरहिसाबबाट फाइदा पुग्न थाल्नेछ। त्यसो त जीवन विज्ञानले एक दशक अवधिमा यसरी हजारौं मानिसलाई चक्र विज्ञानमात्र होइन, बोध विज्ञान, लय विज्ञान, ऐश्वर्य विज्ञानलगायतका कोर्समार्फत शान्त, सुखी र समृद्धि बनाउने काम गरिरहेकै छ।

लुम्बिनीमा ६ हजारले गरेको ध्यान राष्ट्र बदल्ने एउटा शत्प्रयासमात्र हो। विश्व चिहाउने हो भने यो एउटा ‘विश्व रेकर्ड’ पनि हो, विश्वको गर्विलो इतिहास पनि हो। हालसम्म ८ सय ७१ जनाको र बढीमा तीन दिनसम्मको मात्र ध्यान गरेको विश्व रेकर्ड पाइन्छ। नेपालको सन्दर्भमा मनाङबाहेक सबै जिल्लाबाट लुम्बिनीको साताव्यापी चक्रविज्ञानले समेटेको पाइएको छ। राजनेता, कार्यकर्ता, चिकित्सक, इन्जिनियर, पत्रकार, साहित्यकार, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी आदि सबै क्षेत्रलाई एउटै थलोमा भेला पारेर आफ्नो शक्ति चिनाउने, स्वस्थ्य रहन सिकाउने र समाजलाई सेवा गर्ने भाव दिलाउने काम भएको छ। अब हरेक पालिकाले कुल बजेटको तीन प्रतिशत बजेटमात्र आफ्ना नागरिकको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यका लागि छुट्ट्याएर काम गर्ने हो भने देश बदलिन वर्षौं लाग्ने छैन।

जीवन विज्ञानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माको नेतृत्वमा सम्पन्न सातदिने चक्रविज्ञानको समापनसँगै नेपाललाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने लुम्बिनी संकल्पपत्र २०८० चैत्र २४ जारी भएको छ। जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमालेका महासचिव शंकर पोखरेल, लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका महामन्त्री चन्दन सिंहलगायतले राष्ट्र बदल्ने निम्न बुँदा पूरा गर्ने संकल्प गरेका छन्। 

  • हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवद्र्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रूपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वल्र्ड पिस सेन्टर)को रूपमा विकास गर्ने संकल्प गर्दछौं।
  • संवत् २०८१ को प्रवेशसँगै हामी हाम्रै भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवद्र्धन गर्ने संकल्प गर्दछौं। साथै पूर्वीय संस्कृतिको प्रयोग, संवद्र्धन, तथा अभिवद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयसम्बद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि उपयुक्त जनशक्ति तयार गर्ने संकल्प गर्दछौं।
  • नेपाल राष्ट्रमा रहेको ज्ञान, ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने संकल्प गर्दछौं।
  • ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (पिस टुरिज्म सेन्टर)को रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने संकल्प गर्दछौं।
  • देशभर ध्यान र योग प्रवद्र्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियन्ताहरूसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीय स्थल तथा कार्यालयहरूमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प गर्दछौं।

शर्माका अनुसार नेपालले सय वर्ष काम गर्ने एजेन्डा पाएको छ। यसबमोजिम वेलनेस टुरिज्म नेपालमा कार्यान्वयनमा ल्याउने हो भने विश्वका पर्यटकमध्ये पाँच प्रतिशत नेपाल आउँदा नेपाल समृद्धि बन्न ठूलो आधार बन्ने उहाँको तर्क छ। नेपालमा वेलनेस टुरिज्मले पर्यटकको शरीर, दिमाग र आत्मालाई समृद्ध बनाउने परिवर्तनकारी यात्रा प्रदान गर्नेछ। जसले शारीरिक एवं मानसिक स्वास्थ्यसँगै गहिरो आध्यात्मिक जडानको वातावरण सिर्जना हुनेछ। यसपछि मानिसले सन्तुलित जीवन अँगाल्न सक्नेछ। भनिएको छ कि मानिस यदि ध्यानमार्फत भित्री शान्ति खोज्छ र योगमार्फत शारीरिक स्वास्थ्य चाहन्छ भने त्यो कुनै पनि मानिसका लागि पूर्ण जीवन बन्दछ। संकल्पका यी पाँच बुँदा संकल्पमा सीमित नहोउन्।

‘ढुंगाभन्दा पानीमा बढी सिर्जनशीलता हुन्छ। पानीभन्दा वायुमा बढी सिर्जनशीलता हुन्छ। वायुभन्दा प्रकाशमा बढी सिर्जनशीलता हुन्छ। प्रकाशभन्दा अणुमा बढी सिर्जनशीलता हुन्छ। अणुभन्दा परमाणुमा बढी सिर्जनशीलता हुन्छ। परमाणुभन्दा मानिसको मस्तिष्कमा बढी सिर्जनशीलता हुन्छ। मानिसको मस्तिष्कभन्दा बढी मन सिर्जनशील हुन्छ, शक्तिशाली हुन्छ।’ पूर्वीय दर्शनले भनेको यो गहन र दूरगामी विषयलाई चिन्तन–मनन् गरी आफूलाई अब हरेक नागरिकले राष्ट्र निर्माणका लागि तिखार्ने कि ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.