सुदूरपश्चिममा फेरि खटपट

सुदूरपश्चिममा फेरि खटपट
सुन्नुहोस्

धनगढी : नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिममा सरकार गठनमा फेरि खटपट भएको छ।

एमालेले मुख्यमन्त्री समाजवादीलाई नै दिए पनि पात्र परिवर्तनको अडान कायमै राखेको छ।नेकपा एकीकृत समाजवादी संसदीय दलले मंगलबार बेलुकी नै संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।बुधबार बसेको समाजवादीको केन्द्रीय सचिवालय बैठकले पनि सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।

एमालेले सोडारी विवादास्पद व्यक्ति भएकाले उनलाई समर्थन गर्न नसकिने प्रतिक्रिया दिएको छ।‘हामीलाई पार्टी केन्द्रले यसलाई समर्थन गर् भनेर भनेको छैन।हामी पार्टी केन्द्रको निर्णय कुरिरहेका छौं।पार्टी केन्द्रले जसलाई भन्छ, हामी त्यसलाई समर्थन गर्छौं’, एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले भने।

तर, स्रोतले बालकोटले नै सोडारीको ठाउँमा अर्को पात्र परिवर्तनको अडान राखेको बतायो।सोडारी यसअघिको सरकारमा पहिलोपटक सामाजिक विकासमन्त्री र दोस्रो पटक भौतिक पूर्वाधार विकासमन्त्री भइसकेका व्यक्ति हुन्।सामाजिक विकासमन्त्री भएका बेला उनलाई यौनहिंसाको आरोप लागेर उनी पदमुक्त भएका थिए भने त्यतिबेला एमालेमै रहेका उनलाई पार्टीले साधारण सदस्यबाट निलम्बनसमेत गरेको थियो।

त्यसपछि उनी समाजवादीतिर लागे र समाजवादीबाट उनी त्रिलोचन भट्ट नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भए।भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला उनीमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।उनको श्रीमती र छोराका नाममा स्रोत नखुलेको झन्डै २ करोड रकम भेटिएपछि उनीमाथि अख्तियारले छानबिन गरिरहेको छ।अख्तियारले उनको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरणमा उजुरी हालेको छ।

एमालेले बुधबार संसदीय दलको बैठकमै सोडारीलाई समर्थन गर्न नसकिने समझदारी गरेको स्रोतले बतायो।‘अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्दा परेका व्यक्तिलाई कसरी मुख्यमन्त्री स्वीकार गर्ने ? संसदीय दलको बैठकमा पनि सोडारीलाई समर्थन नगर्ने समझदारी भएको छ’, बैठकमा सहभागी एक जना एमालेका प्रदेशसभा सदस्यले भने, ‘समाजवादीका अरू तीन जना पनि प्रदेशसभा सदस्य छन्। उनीहरूलाई अघि सारे भैगयो नि !’

सोडारीलाई मुख्यमन्त्री नपाएको झोकमा नेपाली कांग्रेसतिर लागेर वैकल्पिक गठबन्धन बनाएको आरोप पनि जबरजस्ती रूपमा लागेको छ।

शीर्ष नेताहरूले सुदूरपश्चिममा समाजवादीको भागमा परेको मुख्यमन्त्री पद एकाएक नागरिक उन्मुक्तिलाई दिने सहमति गरेपछि सोडारीले सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेस, नागरिक उन्मुक्तिको रेशम पक्ष, राप्रपा र आफ्नो पार्टी मिलेर वैकल्पिक गठबन्धन बनाएका थिए।उक्त गठबन्धनबाट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

‘आफूले मुख्यमन्त्री पाउँदा सबै ठीक, नपाउँदा गठबन्धनमै दरार ल्याउने काम सोडारीले गरे।आफूले नपाउदा कांग्रेसको पोल्टामा नगएको भए पनि हुने।तर, उनले सत्ता गठबन्धनलाई चुनौती दिने काम गरे, त्यसैले पनि उनलाई समर्थन गर्न सकिएन’, एमालेका अर्का प्रदेशसभा सदस्यले भने।

तर, नेकपा एमालेले समाजवादीबाटै पात्र फेरेर आए समर्थन गर्ने जनाएको छ।दीर्घबहादुर सोडारी (संसदीय दलका नेता), प्रकाश रावल, नरेशकुमार शाही र माया पन्त गरी सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन्।

सोडारीबाहेक अहिलेका प्रमुख सचेतकसमेत रहेका प्रकाश रावल प्रदेश सरकारको पहिलो कार्यकालमा आर्थिक मामिलामन्त्री थिए।नरेशबहादुर शाही कमलबहादुर शाह नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री थिए।नयाँ गठबन्धन बनेपछि उनले राजीनामा दिएका हुन्।माया पन्त अहिले प्रदेश सरकारको सामाजिक विकास समितिकी सभापति छन्।

एमाले स्रोत भन्छ, ‘समाजवादीले तीन जना प्रदेशसभा सदस्य हुँदाहुँदै विवादास्पद व्यक्तिलाई किन मुख्यमन्त्रीमा अघि सार्ने ? यस निर्णयले प्रदेश सरकार अस्थिर हुन्छ।’ एमालेले समर्थन पत्र नदिएकै कारण बुधबार सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्न सकेनन्।सोडारीले बुधबार बिहानै प्रदेश प्रमुखकोमा दाबी पेस गर्ने तयारी गरे पनि एमालेले समर्थन पत्र नदिएका कारण गर्न नसकेका हुन्।

तर, गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले भने बुधबार बिहानै समाजवादीका सोडारीलाई समर्थन रहेको पत्र पठाइसकेको छ।मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा समाजवादीले मुख्यमन्त्री दाबी गर्ने सहमति भएको थियो।

समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो।प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकाले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रोपटक सरकार आह्वान गरेका छन्।

सुदूरपश्चिममा २७ जनाको संख्या बहुमत हो।यहाँ कांग्रेसका १८ (एक जनाको निधन), माओवादी सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नागरिक उन्मुक्ति पार्टी ७ (५ जना रेशमतिर, २ जना रञ्जिता तिर), समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ जना प्रदेश सभा सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.