राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि
काठमाडौं : प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेण्डर अनुसार उक्त प्रतियोगिता जेठ १९ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो। गत चैत महिनामा काठमाडौंमा आयोजित एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले क्लब लिगमा प्रतिस्पर्धा गर्नेछन्।
लिगमा एक टिमबाट तीन विदेशी खेलाडी राख्न पाइने संघले जनाएको छ। लिगमा महिला तथा पुरुषतर्फ उपाधि विजेताले समान ८ लाख रुपैयाँ पुरस्कार पाउँछन्। दोस्रो हुनेले ४ लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनले भलिबलको कवर्ड हल बनाउनका लागि सरकारसमक्ष कुरा राखिसकेको भन्दै आगामी आर्थिक वर्षमा कवर्ड हल निर्माणको काम सुरु हुने बताए। उनले काठमाडौंमा जग्गा नपाएकाले कवर्ड हल निर्माणमा ढिलाइ भएको धारणा राखे।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार तथा विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही २०–२० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ। प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।