आगलागीले आक्रान्त मुलुक
देशका ५० भन्दा बढी जिल्लामा डढेलो छ। वन जंगलमात्रै होइन, घरगोठ पनि खरानी बनेका छन्। मानिसहरूको पनि ज्यान गुमेको छ। वन तथा भू–संरक्षण विभागका अनुसार बर्सेनि सरदर चार हजार ठाउँमा नेपालमा आगलागी र डढेलोका घटना हुन्छन्।
पछिल्लो तीन वर्षमा आगलागीमा परेर तीन सय २५ जनाको मृत्यु भयो। एक हजार तीन सय ७९ जना घाइते भए। डढेलो र आगलागी नेपालका हकमा बर्सेनि दोहोरिने विपद् हो। तर बाढी, पहिरो जस्तो विपदका बारे जति चिन्ता र चासो राज्यले राख्छ, डढेलोको हकमा त्यस्तो देखिन्न। त्यसैले त डढेलो जस्ता प्रकोपको नियन्त्रण र जोखिम न्यूनीकरणमा माखो मारिएको छैन भन्न सकिन्छ। डढेलो पहाडका घना जंगलहरूमा लाग्दा निभाउन मुस्किल हुनु एउटा कुरा तर अचेल सहरका घनाबस्तीमै लागेको आगो पनि निभाउने उपकरण र उपाय साह्रै न्यून छ।
देशभरका पालिकाहरूसँग भएका दमकलको संख्या डेढ सयमात्रै हुनु त्यसको एउटा उदाहरण हो। भएका १५१ मध्ये पनि चैत, वैशाख हुरीबतास आउने र सुख्खा मौसम हुने महिना हुन्। यही बेला डढेलो लाग्छ। पानी परे आफै वनडढेलो निभ्छ, नत्र वन जति नष्ट गरेरै छाड्छ। वनमात्रै होइन, डढेलोले वनका जीवजन्तुको बासस्थान र प्राण पनि लिन्छ। डढेलोले वनजंगलका प्राकृतिक तत्वहरू नष्ट गराउँछ। केही दिनयता देशभरको अधिकांश ठाउँको आकाश धुम्मिएको छ। काठमाडौं त विश्वकै प्रदूषित हावा भएको सहर भएको छ। हावामा भइरहेको प्रदूषणको मुख्य कारण अहिले देशभर लागेको डढेलोलाई मानिएको छ।
यतिसाह्रो संकट ल्याएर मुलुकलाई आक्रान्त बनाइरहेको डढेलो नियन्त्रणबारे भने सरकारलाई खास वास्ता छैन। पहिलो त डढेलो लाग्नै नदिन सचेतना फैलाउन जरुरी छ। जति पनि डढेलो लाग्छ, त्यसको लगभग सबैजसो कारण मानवीय नै हुन्छ। र, कथंकदाचित डढेलो लागिहाले निभाउन कुनै कसर बाँकी नराख्नुपर्ने हो। डाँडाकाँडाका वनजंगलमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाउनुपर्ने हो। तर यहाँ त दमकलै पनि छैनन्। अग्नि नियन्त्रक मानव संशाधन छैन। राज्य यसरी संवेदनशील विपद्को हेलचक्र्याइँ गरिरहेको छ।