लोकतान्त्रिक जनआन्दोलनका प्रथम सहिद बासुदेवको प्रतिमा प्रहरीको डम्पिङमा
हेटौंडा : लोकतान्त्रिक जनआन्दोलनका प्रथम सहिद बासुदेव घिमिरेको अर्धकदको प्रतिमा बेवारिसे अवस्थामा फ्याँकिएको छ। मकवानपुरगढी गाउँपालिका-५ आमभञ्याङस्थित अस्थायी प्रहरी चौकी धादिङको फोहोर व्यवस्थापन कक्षमा सहिद बासुदेवको प्रतिमा वर्षौँदेखि अलपत्र अवस्थामा फेला परेको हो।
गणतन्त्र स्थापनाका लागि बलिदान दिएका सहिद घिमिरेको प्रतिमा स्थापना गर्नुको सट्टा प्रहरी चौकीको फोहोर व्यवस्थापन कक्षमा वर्षौँदेखि फ्याँकिएको अवस्थामा फेला परेपछि उनका परिवारले गुनासो गरेका छन्। सहिद पिता कृष्ण घिमिरेले राष्ट्र र जनताका लागि आफ्नो छोराले दिएको बलिदानीको बदलामा राज्यले सम्मान गर्नुको सट्टा उल्टै अपहेलना गरेको भन्दै दुखेसो पोखे।
वृद्ध अवस्थामा पुगेका उनले भने, ‘राज्यले सहिदप्रति सम्मान देखाउन त सकेन। तर, अपहेलना नगरिदिए हुन्थ्यो। देश र जनताको लागि छोरा गुमाएको दुख लागेको छैन। तर राज्यले सहिद र सहिद परिवारप्रति गरिरहेको अपहेलना सम्झँदा मन रुन्छ।’
मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सहिद बासुदेवको प्रतिमा स्थापनाका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरी काम अघि बढाएको थियो। तत्कालीन समयमा बासुदेव स्मृति प्रतिष्ठान स्थापना गरी स्थानीय बेदनाथ हुमागाईंको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन गरी सो कार्य अघि बढाइएको थियो। तर, पालिका र उपभोक्ता समितिले विभिन्न समस्या सहिद प्रतिमा स्थापनाको काम सम्पन्न गर्न नसकेको स्थानीयहरू बताउँछन्।
‘हामीले त्यतिबेलै प्रतिमा स्थापनाको लागि बजेट विनियोजन गरेका थियौँ। सहिदकै जग्गामा केही भौतिक संरचनाहरू पनि निर्माण भइसकेको छ। तर, बजेट अभावमा हामीले त्यतिबेला प्रतिमा स्थापना गर्न सकेनौँ। गाउँपालिकाका तत्कालीन अध्यक्ष विदुर हुमागाईंले भने। उनले गाउँपालिकाको नेतृत्व गरिरहेकाहरूले अब त्यो काम सम्पन्न गर्नुपर्ने बताए।
यता, २०७८ सालमै सहिद प्रतिमा बनाएर उपभोक्ता समितिको जिम्मा लगाएका मुर्तिकारले लाखौँ रकमको भुक्तानी हालसम्म पनि पाएका छैनन्। मकवानपुरगढी ५ का वडाध्यक्ष दिपेश दाहालले चाँडै सहिद बासुदेवको अलपत्र अवस्थामा रहेको प्रतिमा स्थापना गर्ने प्रतिक्रिया दिएका छन्।
उनले आगामी आर्थिक वर्षमा वडाकै बजेटबाट प्रतिमा स्थापना गर्ने गरी आफूहरूले तयारी गरिरहेको बताए। २०६३ साल वैशाख ७ गते जनआन्दोलनका क्रममा ज्यान गुमाएका घिमिरेलाई राज्यले जनआन्दोलनका प्रथम सहिद घोषणा गरेको छ।