चुनौतीबीच पहरेदारी

चुनौतीबीच पहरेदारी
सुन्नुहोस्

हामी आज २३ वर्ष प्रवेश गरेका छ। यस पुनित अवसरमा तमाम पाठक, शुभचिन्तक तथा विज्ञापनदातामा म हार्दिक बधाई तथा शुभकामना साट्न चाहन्छु। यो तपाईंहरूको प्रगतिको पाइला हो, हामी केवल गोरेटो हौं। 

द्वन्द्वको उत्कर्ष, दरबार हत्याकाण्डको दर्दनाक प्रतिछाया, नयाँ राजाको तानाशाही अभ्यास आरम्भ र आसन्न जनआन्दोलनको बीजारोपण– यस्ता राजनीतिक चतुर्भुजीय परिघटनाको असहज परिवेशमा अन्नपूर्ण पोस्ट्को जन्म भएको थियो। हाम्रो शैशवकालमै देशमा दोस्रो जनआन्दोलन उर्लियो। प्रार्दुभावमै राष्ट्रप्रतिको गहन जिम्मेवारी काँधमा बोकेको यस पत्रिकाले त्यसयताका राजनीतिक मोडहरूमा आफूलाई निखार्दै, तिखार्दै लग्यो। देशमा लोकतन्त्र आयो। गणतन्त्र आयो। संविधान बन्यो। संघीयता लागू भयो। राज्यको पुनर्संरचना भयो। चुनावहरू भए। हामी अग्रगमन, पहरेदारी, सुसूचना र सचेतनामा राष्ट्रको सारथि बनिरह्यौं।

लोकतन्त्रकै परिपक्वताको समानान्तरमा हाम्रो परिपक्वता विकास हुँदै गएको छ। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र विधिको खबरदारी हाम्रा मुख्य र अपरिवर्तनीय पहिचान हुन्। 

यो यात्रामा परिस्थिति भने केही निष्ठुर बन्यो। पाँच वर्षअघि विश्वव्यापी महासंकटका रूपमा आएको कोभिड महामारी र त्यससँगै उदाएको विश्वव्यापी आर्थिक मन्दीको प्रभाव सर्वत्र बढ्दै गयो। सूचना प्रविधिको चरम विकास सँगै भित्रिएको सामाजिक सञ्जालको व्यापकीकरणका कारण छापा पत्रकारिता अत्यन्त चुनौतीपूर्ण घडीमा पुग्यो। तथ्य–परीक्षित सूचनाभन्दा ‘भाइरल’ खबरहरू तीव्र हुँदै गए। यसले एकातिर पत्रकारिताको गरिमा घटाएको छ भने अर्कातिर व्यावसायिकता खस्किँदो छ। अझ भन्नुपर्दा, लोकतन्त्रको योद्धा व्यावसायिक पत्रकारिता जीवन–मरणको दोसाँधमा छ। यसलाई बचाउन, डोर्‍याउन र अघि बढाउन सरकार र नागरिक समुदायको सशक्त पहल खड्किएको छ। 

भू–राजनीतिक जटिलता, राजनीतिक, आर्थिक र सामाजिक अधोगतिको नकारात्मकता, युवा पलायनको भयावह वास्ताविकता र जनतामा व्याप्त निराशा– वर्तमानका यथार्थता हुन्। यो परिवेषमा कूटनीतिक सन्तुलन, आशाको सञ्चार, अभिप्रेरणाको अभिभारा र राजनीतिक दिशानिर्देशका विषयलाई हामीले दायित्वबोधका रूपमा लिएका छौं। गहन खोजी, सिर्जनशील प्रस्तुति र नीतिगत दिशाबोध अन्नपूर्ण पोस्ट्का मुख्य विशेषता हुन्। समाज रूपमान्तरण र राष्ट्रिय समृद्धि हाम्रा मूल्य–मान्यता हुन्। हामी ‘भाइरल’ होइन, लोकप्रिय बनेर यो देशलाई छापा पत्रकारिताको टेको दिइरहन चाहन्छौं। विश्वास छ, समयले हामीलाई साथ दिनेछ। र, तपाईंहरू सबैले यसरी नै साथ दिइरहनु हुनेछ।

पुनः तपाईंहरू सबैमा हार्दिक बधाई तथा शुभकामना !  

क्याप्टेन रामेश्‍वर थापा , अध्यक्ष
अन्नपूर्ण मिडिया नेटवर्क 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.