एसीसी प्रिमियर कपः १० ओभरमा तीन विकेट गुमाएर नेपालले बनायो २४ रन
काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध एक सय १८ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरमा तीन विकेट गुमाएर २४ रन बनाएको छ।
ललित राजवंशीको चार विकेटप्रेरित नेपालले यूएईलाई एक सय १७ रनमा अल आउट गरेको थियो। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको हो।
सोमबार यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गर्न सफल भयो।
यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि किफयती बलिङ गरेका ललितले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका दुवै ओपनर– कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल पभिलियन फर्केका छन्। कुशल एक, आसिफ आठ र रोहित एक रनमा आउट भए।
अहिले क्रिजमा गुल्शन झा (१३) तथा भीम सार्की खेलिरहेका छन्।
फाइनलमा विजयी भए नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ।