जनताले जित्ने दिन

चुरो कुरो

जनताले जित्ने दिन

भनिन्छ, इतिहास सधैं जित्नेकै लेखिन्छ। इतिहास रच्ने अवसर उसैले प्राप्त गर्छ, जसले जीवनमा पृथक् काम गर्छ। हो, हार्नेको इतिहास बन्दैन। बन्नु पनि हुँदैन। नेपालको सन्दर्भमा इतिहास रच्ने व्यक्तिको खाँचो छ। देशको मूल नीति राजनीति भए पनि राजनीतिक दलहरूबाट नेपाली जनता सन्तुष्ट हुन सकेनन्। देशका लागि बिनास्वार्थ केही गर्ने नेता पाएका भए सायद असन्तुष्टिको यो सगरमाथा चुलिने थिएन। यसबीच स्थानीय सरकारमै सही बालेन साह र हर्क साम्पाङ स्वतन्त्रबाट उदाएर जनप्रतिनिधिका नाममा इतिहास रच्दैछन्। जनताका लागि गरेर देखाउन चाहने जनप्रतिनिधि संघीय संसद्मै पुग्नुपर्छ भन्ने छैन भन्ने प्रमाणित गर्दैछन् यी दुई पात्र। उनीहरूले मन्त्रीमात्र होइन, प्रधानमन्त्रीले लिन नसकेका अडानदेखि विकाससम्मका उदाहरण पेश गरिरहेका छन्।

‘अ लिडर इज वान हु नोज द वे, गोज द वे एन्ड सोज द वे।’ अमेरिकन लेखक जोन सी. म्याक्सवेलले भनेजस्तै हुनुपर्छ नेता– ‘नेता त्यो हो जसले बाटो जान्दछ, बाटोबाट जान्छ र अरूलाई पनि बाटो देखाउँछ।’ बालेन र हर्कले जनप्रतिनिधि बनेपछि आजका मितिसम्म बाटो बुझेको महसुस आमजनताले गरेका छन्। बाटो त धेरैले बुझ्लान् तर त्यही बाटो हिँड्छन् वा हिँड्दैनन्, यो महŒवपूर्ण पक्ष हो। दुवैले हिँडेका छन् भन्न सकिने आधार छन्। म्याक्सवेलले भनेझैं तिनका कर्म, कार्यशैली र कार्यान्वयन पक्ष हेर्दा पाँचवर्षे कार्यकाल यसरी नै अघि बढे भने इतिहास रच्ने सम्भावना देखिएको छ। पत्रकारिता चौथो अंगले चिनिन्छ। सञ्चारकर्मी स्वभावैले शंकालु पनि हुन्छ। यो उसको विशेषताभित्रै पर्छ। यसकारण कि लुकेका विषय खोतलखातल पार्नु उसको कर्म हो। त्यसैले तेस्रो आँखाले उसले हेर्नैपर्छ।

सञ्चारकर्मको सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जोड्न खोजेको हुँ। उनी सरकारको नेतृत्व गरेपछि पहिलोपटक नेपाल आउँदा सबैबाट वाहवाही पाए। साहित्यकार पनि भएको अर्थमा मैले पनि एउटा संस्मरण लेख्न पुगें, ‘मनभरि मोदी’। यो शीर्षकले नै बताउँछ कि यसमा उनका सकारात्मक र उदाहरणीय पक्षहरू केलाइएका छन्। लेखें पनि त्यस्तै तर केही समयपछि उनले नेपालप्रति देखाएका व्यवहार ठीकविपरीत देखिन थाले। र, क्रमशः आजसम्म पनि। हुँदाहुँदा सार्वभौम राष्ट्र नेपालको स्वाभिमानमा समेत आँच आउने काम भइरहेछन्। मेरोमात्र होइन, जनताको मनभरि भएका मोदी अहिले मनबाहिर पुगेका छन्। यो यथार्थ काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि सुन्नु र बुझ्नुपर्छ। अन्यथा अहिले मनभरि भएका जोकोही केही समयपछि वनभरि हुन बेर छैन। यसका लागि म्याक्सवेलकै एउटा सूत्र अपनाए पुग्छ, ‘सफलताको सूत्र दैनिक एजेन्डाले निर्धारण गर्छ।’

बालेन र हर्कले निर्वाचनताका जे बोले, जे प्रतिबद्धता गरे, दिनरात नभनी अहिले उनीहरू त्यसकै कार्यान्वयनमा होमिएका छन्। जनताले जनप्रतिनिधि छानेर जे जिम्मेवारी सुम्पिएका थिए, अहिले देशको राजधानी रहेको काठमाडौं महानगर र पूर्वाञ्चलमा रहेको कोसी प्रदेशको धरान उपमहानगरमा त्यही काम भइरहेछ। लाग्छ, दुवैले जनताको आवाज बुझिरहेछन् र बोलिरहेछन् काममार्फत। उनीहरूबाट भएको भव्य पनि होजस्तो लाग्दैन पंक्तिकारलाई। हो चैं के भने विगतमा जनमत पाएर निर्वाचित हुनेहरूले जितेपछि प्रतिबद्धता बिर्सन्थे। तिनले गर्ने विकास होइन, तिनको व्यवहारमा बदलाव आउँथ्यो। अहिले मन पाउन छोडिएका दलीय नेताहरूको अर्जुनदृष्टि जनताका आवश्यकता र चाहनामा भएनन्, भए त केवल अनियमितता र भ्रष्टाचारमा। जनसमक्ष जे बोल्थे, गर्थे ठीक विपरीत। पूर्व जान्छु भनेर हिँड्ने ती नेता पश्चिम पुग्थे। खानेपानी जनताको घरघरमा भन्ने एजेन्डा बोकेका हर्कको अर्जुनदृष्टिले काम गरेको छ र त वाहवाही कमाएका छन् यतिबेला।

कोकाहा खोलाबाट उनले जनतालाई साथमा लिएर ९९ दिनको श्रमदान अभियानमार्फत धरानमा लाखौं लिटर पानी आपूर्ति गर्न थालेका छन् हर्कले। उनी आफैं ढुंगा र पाइप बोक्नेदेखि बेल्चा चलाउँदै माइकिङ गरेर जनजोस बढाएका छन्। भन्नेहरू थिए, मेयरको काम होइन यो, नेतृत्वले त नीति बनाउने र अरूलाई काम लाउने हो। इमान्दारिता पुष्टि गरेरै छोडे, परिश्रम गरे पसिनाले परिणाम दिन्छ भन्ने उदाहरण पेस गरे। अरूको मुख ताक्ने आमप्रवृत्तिलाई कामबाटै जवाफ दिए। र त संघीय सरकारले रातो किताबमा राखेर प्राथमिकता नम्बर एक (पि—वान)मा हुने करोडौंको बजेटवाला योजना जनप्रतिनिधि र जनताको सामूहिक प्रयासबाटै सम्भव हुन्छ भन्ने प्रमाणित गरिदिए। उनले धेरैवटा सन्देश दिए– नेता÷जनप्रतिनिधिले जनताकै काममा अर्जुनदृष्टि दिने हो। नेता अघि बढे जनताले साथ दिनेछन्। मात्रै काम गर्ने इच्छाशक्ति र इमान्दार प्रयासचाहिँ नेतामा चाहिन्छ। स्थानीय सरकारले संघीय र प्रदेश सरकारलाई पनि पाठ सिकाउन सक्छ। आदि।

ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर महानगरका मेयर बालेनले भारतलाई टक्कर दिएका छन्। आदिपुरुष नामक भारतीय फिल्ममा सन्दर्भमा लिएको उनको अडानले पनि नेपालीको स्वाभिमानलाई चुल्याएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रस्ट्याएका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ।’ सरकारमा पुगेपछि शक्तिराष्ट्रसँग नतमस्तक हुने र जे पनि स्वीकार्न तयार हुने नेता (जनप्रतिनिधि)लाई के बालेनले राष्ट्रभक्ति सिकाएका होइनन् र ? यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि महाभूकम्प २०७२ पछि भारतले नाकाबन्दी लगाउँदा यसरी नै टक्कर दिएका थिए।

बालेनले बोलेगरेका र हर्कहरूले हिँडेका पथहरू विश्व परिक्रमाका लागि ‘एक्सप्रेस हाइवे’ बनून्। यस्ता कैयौं योजना कार्यान्वयनमा रहेको संकेत जनताले यी जनप्रतिनिधिबाट पाएका छन्। धेरै गर्नु उत्तम कार्य हुनेछ। पाँच वर्षमा यी दुई जनप्रतिनिधिले जनताका लागि विकासका नाममा कम्तीमा पाँचवटा सर्वोत्कृष्ट काम गरून्। जुन काम कम्तीमा अबको ५० वर्षसम्म जनमनले गुन्गुनाओस्। जसरी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका साँघुरा सडकलाई फराकिलो पार्ने हिम्मत राखे।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऔं’ सार्थक बनाए। यसरी नै बालेन र हर्कको बिम्बले लाखौं जनप्रतिनिधिलाई चिमोटिरहोस् कि म पनि त्यस्तै जनप्रतिनिधि बनेर जनताको मनमा बसिरहन सकूँ। अनि जनप्रतिनिधिसँगै जनताले जित्ने दिन आउनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.