भूकम्पमा ८२ घण्टा च्यापिँदा बाँच्नेको जीवन चलाउनै नसक्दा ‘मर्ने इच्छा’

भूकम्पमा ८२ घण्टा च्यापिँदा बाँच्नेको जीवन चलाउनै नसक्दा ‘मर्ने इच्छा’
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँची भूमिकास्थान नगरपालिका– १ ढाकाबाँग साम्ने गाउँका ऋषि खनाल ९ वर्षअघिको कहालीलाग्दो घटना सम्झँदा अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको त्यो दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ उनलाई। तर, यही सम्झनाले उनलाई बेलाबेलामा झस्काउँछ, पीरिहन्छ।

विदेश जाने भनेर घरबाट निस्केका उनी विदेश पुग्न पाएनन्। विदेशमा गइ धन कमाएर परिवारलाई सुखसँग पाल्ने उनको सपना पनि तुहियो। विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि उनले गुमाउनुपर्‍यो। भूकम्पमा भाग्यले बाँचेका ऋषि आफू र आफ्नो परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन्। उनको जिन्दगी दुई वैशाखीको भरमा चलिरहेको छ। 

२०७२ वैशाख १४ गतेको विदेश उड्ने टिकट थियो। उनी दुई दिनपछि विदेश जाने तयारीमा थिए। दिउँसो नयाँ बानेश्वरमा साथी भेट्ने योजना थियो उनको। खाना खाएपछि बाहिर निस्कनै लाग्दा सिंगो घरै घुम्न थाल्यो। रिंगटा लागेर भाउन्न भएजस्तो भयो उनलाई। उनी बसेको काठमाडौंको गोंगबुस्थित सयपत्री होटलको भवन गल्र्याम्मै ढल्यो।

अलिपछि होस् खुल्दा ऋषिलाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो। अनि देब्रेखुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो। अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो। तर बोली कसैको आएन। आफू बसेको घर लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो। सक्दो चिच्याए। तर अहँ, कसैले सुनेन। 

केही घण्टापछि उनको मोबाइल बज्यो तर हात गोजीसम्म पुर्‍याउन सक्ने अवस्था नै थिएन। भोक प्यासको कुनै सीमै थिएन। बाँच्नका लागि हरसम्भव उपाय अपनाउनुको विकल्प रहेन। अनि प्यास मेट्न उनले आफ्नै पिसाव खानु पर्‍यो। 

समय बित्दै जाँदा बिस्तारै केही आवाज सुनिन थाल्यो। आवाज त्यही घर भत्काउन आएको डोजरको थियो। त्यो सुन्दा उनलाई भगवान् आएजस्तो लाग्यो। तर, मिलिक्कै त्यो आवाज हराइहाल्यो।

दिनरात याद नभए पनि उनको अनुमानमा २ दिनपछि केही शव गन्हाउन थालेका थिए। पुरिएका बेला सबैभन्दा धेरै याद उनलाई आमा र छोराको आयो। पुरिएको ३ दिनसम्म पनि मानिसको चाल नपाएपछि उनको बाँच्ने आस मरिसकेको थियो। 

‘शरीर पूरै सेतो भइसकेको थियो। छाम्दा पनि छाला नै आउला जस्तो लाग्थ्यो। मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ। तर, अब म मर्दै छु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा कस्तो हुँदो हो ?’ उनले प्रश्न गरे। 

अचानक कतैबाट उज्यालोका किरणहरू उनको आङसम्म आइपुगे। कस्तो अचम्म ‘अब मर्दै छु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउला कि भन्ने लाग्यो’, उनी सम्झन्छन्। त्यतिबेला उनी बोल्न सक्ने अवस्थामा थिएनन्। प्वालबाट एउटा आवाज आयोे, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ। लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ आदि–आदि।’ अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन दिइयो। अक्सिजन आउन थालेपछि उनको जीउ बौरिए जस्तो भयो। सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो। कसैले उनको मुखमा पानी पिलाइदिए।

८२ घण्टा घरभित्र च्यापिएर बसेको मानिसले मुखमा पानी पर्दा कस्तो अनुभव भयो होला ? यसको केवल अनुमान मात्र लगाउन सकिन्छ। १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भयो। ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो। तर, उनको एउटा खुट्टा भने भूकम्पले निलिसकेको थियो।। ‘खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला’, उनले भने। ऋषिले राति १२ बजे घरमा फोन गरे। आमाको बोली सुन्दा आवाजै निस्केन। श्रीमतीसँग बोल्दा पनि उनी सुक्कसुक्क मात्र गरिरहे। 

काठमाडौंको गोंगबुस्थित सात तले गेष्ट हाउसमा च्यापिएका ऋषिको ८२ घन्टापछि जीवितै उद्धार भएको थियो। सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि  खनालको उद्दार भएको थियो। उनले आफ्नो उद्धारका समयमा स–साना ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान तानेका थिए।

यसरी नयाँ जीवन पाएकोमा ऋषि खुशी त छन् नै तर त्यो खुशीले मात्रै छाक नटर्ने उनी बताउँछन्। उनलाई अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्ना छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन्। ‘बरु उती नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् तर जीवित हुँदा झनै पिर थपियो।’

उपचारका लागि ऋषि पटक–पटक काठमाडौं गए। उपचार खर्च सरकारले व्यहोरेको छ। ‘काठमाडौं आउजाउ र औषधि खर्च गर्दा ५ लाख रुपैयाँभन्दा बढी सकियो। आजसम्म त बाँचेको छु, भविष्य निरासाले छाएको छ।’

भूकम्पमा परेर अंगभंग भएका आफू र आफ्ना साथीहरूले सीप सिकेर जीविकोपार्जन गर्न चाहेको उनले बताए। काठमाडौंका विभिन्न संघ–संस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएको भएपनि सम्पर्क नै नगरेको गुनासो छ। स्वावलम्बी भएर बाँच्ने इच्छा कहिले पुरा हुने उनलाई नै थाहा छैन।

सामान्य प्रक्रियाबाट पाइने अपांग परिचयपत्रसमेत उनले पाएका छैनन्। ‘अपांग परिचय पत्र पनि पाउन नसक्ने हामी कति अभागी। ‘क’ वर्गको परिचयपत्र भए ४ हजार मासिक त आउने थियो। आँखाभरि आँसु टिलपिलाउँदै उनले भने। 

उनका २ छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन्। जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दै छन्। ‘मेरो बारेमा डकुमेन्ट्री र चलचित्र बनाएर धेरैले लाखौँ आम्दानी गरे’, आफ्नो दुःखकष्ट बेचेर धेरै लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.