संरक्षणकर्मी आचार्यलाई हरित क्षेत्रको ओस्कार मानिने ‘हिट्ली’ संरक्षण पुरस्कार
पोखरा : संरक्षणकर्मी राजु आचार्यलाई हरित क्षेत्रको ओस्कार मानिने विश्व प्रसिद्ध ‘हिट्ली' संरक्षण पुरस्कार प्रदान गरिएको छ। विगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणमा निरन्तर लाग्दै आएका पोखराका आचार्यलाई बेलायतको लन्डनमा आयोजित विशेष कार्यक्रममा बुधबार अवार्ड प्रदान गरिएको हो।
आचार्यलाई बेलायती राजकुमारीको हातबाट विश्व प्रसिद्ध हिट्ली पुरस्कार प्रदान गरिएको हो। बेलायतको च्यारिटी द हिट्ली फन्ड फर नेचर (डब्लुएफएन) ले विश्व भरिका ६ जना वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षण क्षेत्रमा लागेका संरक्षणकर्मीलाई दिएको यो पुरस्कार ५० हजार पाउण्ड राशीको रहेको छ।
आचार्यलाई लाटोकोसेरो संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको छ। यो वर्ष आचार्यसहित ब्राजिल, भुटान, पपुवान्यु गिनिज, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको हो। पुरस्कारहरु एक विशेषज्ञ न्यायधीश प्यानलद्धारा विश्वव्यापी खोज र मूल्याङ्कन पछि वन्यजन्तु, परिदृश्य र मानिसहरुको नेतृत्व गर्ने प्रेरणादायी संरक्षणवादीहरुलाई दिइदै आएको आयोजक संस्थाले बताएको छ।
विगत ३० वर्षदेखि संरक्षण क्षेत्रमा योगादन दिँदै आएका संरक्षणकर्मीलाई प्रदान गरिँदै आएको यस पुरस्कार यस अघि विश्वका ८० भन्दा बढी मुलुकका २ सय जना संरक्षणकर्मीहरुलाई प्रदान गरिएको छ। विगत ३५ वर्षदेखि वन्यजन्तु अनुसन्धान र संरक्षण क्षेत्रमा कार्यरत आचार्यले ब्वाँसो, जंगली चौंरी, हिउँ चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव वन्यजन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय लगायतका क्षेत्रमा काम गरेका छन्।
पछिल्ला १६ वर्षदेखि आचार्य लाटोकोसेरो संरक्षणको काममा बढी सक्रिय छन्। प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक आचार्यको लाटोकोसेरो प्रतिको माया र लगावको कारण उल्लु सरको उपनाम पाएका छन्। विगत १६ वर्षमा उनि प्रत्यक्ष रुपमा ६० हजार भन्दा बढी मानिसहरु सम्म पुगेर लाटोकोसेरोको महत्वको बारेमा जानकारी गराएका छन्। विगत ११ वर्ष देखि उनकै नेतृत्वमा उनी आवद्ध संस्था प्रकृतिका साथीहरुले लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव गर्दै आएको छ। गत माघ १९ र २० गते पर्वत जिल्लाको जलजला गाउँपालिकामा ११ औं संस्करणको लाटोकोसेरो तथा हुचिल उत्सव भएको थियो।
पुरस्कार पाएपछि आचार्यले भने, 'यो मेरो जीवनको सबैभन्दा खुसीको दिन हो। ' आचार्यले पुरस्कार सबै चराको लागि समर्पित रहेको सुनाउँदै दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेको छैनन् ति चराहरुमा पुरस्कार समर्पित रहेको पनि उनले सुनाए।
पुरस्कार राशी लाटोकोसेरो संरक्षणमा आचार्यले पाएको ५० हजार पाउण्ड राशीको विश्व प्रसिद्ध ‘हिट्ली‘ संरक्षण पुरस्कार लाटोकोसेरो संरक्षणको क्षेत्रमा खर्च गर्ने बताएका छन्। गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरो संरक्षणको काममा पुरस्कार खर्च गरिने उनले सुनाए।
नेपाल सरकारले बनाएको १० वर्षे ‘लाटोकोरेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यहरुमा रकम खर्च हुने बताइएको छ। सो कार्यक्रम अन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुडको वितरण तथा लाटोकोसेरोको अबैध चोरी सिकारी नियन्त्रण लगायतका क्षेत्र रहेको उनले बताए।