MENU

होहल्लाबीच संशोधन विधेयक टेबल (भिडियो)

635x90_1

नरेन्द्र साउद सोमवार, पुस २५, २०७३ 4668 पटक पढिएको

Share This

635-X-85

निरंकुश र लज्जास्पद घटनाः विपक्षी

काठमाडौं: एमालेलगायत ९ विपक्षी दलको अवरोध र होहल्लाबीच संविधान संशोधन विधेयक आइतबार संसद्मा प्रस्तुत भएको छ । ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले पेस गरेको संशोधन विधेयक 'असंवैधानिक र राष्ट्रघाती' भनी अवरोध गर्दै आएका विपक्षी दलहरूको अवरोध र होहल्लाबीच सभामुख ओनसरी घर्तीमगरको अनुमतिमा सरकारले विधेयक संसद्मा प्रस्तुत गरेको हो ।

संशोधन विधेयकविरुद्ध एक महिनादेखि संसद् अवरोध हुँदा निर्वाचनसम्बन्धी विधेयक र निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्न नसकेपछि सत्तापक्ष र विपक्षीका नेताबीचको शीर्ष बैठकले यी दुई विषय अघि बढाउने सहमति गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संसद् भवनमै बसेको बैठकले निर्वाचन विधेयक र महाभियोग प्रस्ताव अघि बढाउने र त्यसमा विपक्षी दलले अवरोध नगर्ने सहमति भएको थियो ।

तर संशोधन विधेयक अघि बढाउन नहुने अडान उक्त बैठकमा पनि एमालेले राखेको प्रमुख सचेतक भानुभक्त ढकालले बताए । दलहरूबीचको सहमतिअनुसार सभामुख घर्तीमगरले बैठकमा स्थानीय तह र निर्वाचन (कसुर तथा सजाय) विधेयक प्रस्तुत गर्न सरकारलाई अनुमति दिएकी थिइन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका तर्फबाट कानुनमन्त्री अजय शंकरले यी दुई विषय प्रस्तुत गर्दा विपक्षी दल चुप बसेका थिए ।

नेताहरूको सहमतिअनुसार सभामुख घर्तीमगरले कार्यसूचीमा हेरफेर गर्दै कार्यसूचीको पुछारमा रहेको महाभियोग प्रस्ताव समितिमा पठाउने कार्यक्रमलाई अगाडि ल्याएर संशोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रमलाई पछि राखेकी थिइन् । यी विषय सहजै अघि बढे पनि सभामुखले संशोधन विधेयक अघि बढाउन खोज्दा विपक्षी दलहरू आआफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

संशोधन विधेयकको विरोधमा सूचना दिएका नेमकिपाका प्रेम सुवाललाई अवरोधबीच सभामुखले बोल्न दिएपछि सुवालले आफ्नो प्रस्ताव 'फिर्ता लिने वा नलिने' भन्ने जानकारी नै नगराई सभामुखले प्रक्रिया सुरु गरेपछि विपक्षी दलका सांसदले होहल्ला र नाराबाजी गरेका थिए ।

होहल्लाबीच राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले दिएको विरोधको सूचनामा सभामुखले उनलाई भने बोल्ने समय नै नदिई उनको प्रस्तावलाई निर्णयमा लगेकी थिइन् । होहल्ला र नाराबाजीबीच सभामुख घर्तीमगरले सुवाल र केसीको विरोधको सूचना बहुमतले अस्वीकृत भएको घोषणा गरिन् र कानुनमन्त्री नायकलाई संशोधन विधेयक प्रस्ताव गर्न अनुमति दिइन् । होहल्लाबीच नै सभामुखले संसद्को अर्को बैठक सोमबारलाई तोकेकी थिइन् ।

भिडियो हेर्नुहोस्

सबै विपक्षी दलको अवरोध र होहल्लाबीच सभामुख घर्तीमगरले संशोधन विधेयक अघि बढाउनु जबर्जस्ती र लज्जास्पद घटना भएको आरोप विपक्षी दलहरूले लगाएका छन् । 'संसदीय व्यवस्था भएका मुलुकमा प्रतिपक्षी एक भएर अवरोध गर्दा संसद् चल्न सक्दैन', एमाले उपाध्यक्ष वामदेव गौतमले सञ्चारकर्मीसँग भने, 'यो निरंकुश र लज्जास्पद घटना हो ।'

विपक्षी दलहरूले असंवैधानिक भनेको विधेयक अघि बढ्दा पनि भद्र अवरोध गर्नुभयो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भने, 'प्रधानमन्त्रीज्यूले विधेयक अघि बढाउँदा के गर्नुहन्छ भनी हामीलाई सोध्नुभएको थियो । हामीले तपाईंहरूजस्तो सांघातिक हमला गर्दैनौं भनेर भनिसकेका थियौं ।'

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले संसद्को घटनालाई असहमतिभित्रको सहमति भनी प्रतिक्रिया दिए । प्रमुख दलले 'म्याच फिक्सिङ' गरेका हुन् त भन्ने प्रश्नको जबाफमा सापकोटाले भने, 'यो म्याच फिक्सिङ राष्ट्रकै हितमा छ ।'

कानुनमन्त्री नायकले प्रतिपक्षको अवरोधभन्दा पनि राष्ट्रलाई निकास दिन विधेयक अघि बढाइएको प्रतिक्रिया दिए । एमाले प्रमुख सचेतक ढकालले भने, 'प्रतिपक्षको अवरोधबीच संसद् अघि बढ्न सक्दैन' भन्ने आफ्नो प्रतिबद्धताको सभामुखले उल्लंघन गरेको बताए ।

'हिजो हामी उभिँदा अवरोधबीच संसद् चल्न सक्दैन भनेर सभामुखज्यू संसद् स्थगित गर्ने तर त्यसैगरी आज उभिँदा अवरोध नमान्ने', ढकालले भने, 'सभामुखज्यूले आफ्नो प्रतिबद्धता उल्लंघन गर्नुभयो ।'

कानुनमन्त्रीको 'ट्रिक'

संसद् चलिरहेको बेला रोस्ट्रममा उभिनुलाई संसद् अवरोधको अवस्था मानिन्छ । तर कानुनमन्त्री अजयशंकर नायक संविधान संशोधन विधेयक प्रस्तुत गर्नुअघि नै रोस्ट्रममा उभिएका थिए । निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गरिसकेपछि उनी रोस्ट्रमबाट आफ्नो स्थानमा झर्नुपर्ने हो तर उनी उभिइरहेका बेला पनि सभामुखले महाभियोग प्रस्ताव समितिमा पठाउने निर्णय सुनाएकी थिइन् ।

त्यस क्रममा संसद्का मर्यादापालकले मन्त्री नायकलाई आफ्नो स्थानमा बस्न सुझाव दिएका थिए तर उनी संशोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम नआउँदासम्म रोस्ट्रममा उभिएर बसे ।

विपक्षी दलहरूले विधेयक पेस गर्न अवरोध गर्नसक्ने आशंकाका कारण मन्त्री रोस्ट्रममा उभिएको स्रोतले बतायो । तर संसद्का जानकारहरू रोस्ट्रममा मन्त्री उभिरहेका बेला पनि सभामुखले बिजनेस अघि बढाउनु गलत भएको बताउँछन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2