MENU

'नयाँ शक्ति' को गति !

635x90_1

कृष्ण बेलबासे , ०, ० 5437 पटक पढिएको

Share This

635-X-85

नेपाली राजनीति यतिबेला चक्रव्युहमा परेको छ । सत्तापक्ष र प्रतिपक्षबीच संविधान संशोधनको विषयलाई लिएर भएको खिचातानीका कारण वर्तमान स्थितिको सिर्जना भएजस्तो देखिए पनि यथार्थ त्यसो होइन । यसपछाडिको मूल कारण छिमेकी भारतद्वारा सिर्जित व्युह नै हो, जसमा विभिन्न पक्षहरू संलग्न रहेका छन् । यस क्रममा देखालो रूपमा मधेसवादी दलको नेतृत्वले आफ्नो राजनीतिक खपतको लागि केही सवाल उठाएको छ ।

तर मधेसवादी नेतृत्वद्वारा अगाडि सारिएका विषयहरूलाई बल दिनेहरूमा मधेसी जनता नभएर विदेशी स्वार्थप्रति संवेदनशील हुनेहरूमात्रै रहेका देखिन्छन् । यसप्रकार मधेसवादी नेतृत्वको व्यवहारका कारण देशको राजनीति मात्र नभएर उनीहरू स्वयं चक्रव्युहमा फस्न पुगेका छन् ।

मधेसवादी दलका नेताहरूलाई पथ विचलित तुल्याउने मात्र होइन, नेपाल राष्ट्रको सार्वभौम अस्तित्व नरुचाउनेहरूमध्येमा कतिपय गैरमधेसी समूह र गैरमधेसवादी नेता ! हरू पनि रहेका छन् । ती त्यस किसिमका शक्तिहरू हुन्, जो राष्ट्र र जनताको हितको कुरा त छोडिदिऊँ, आफ्नै हितसमेत सोच्न सकिरहेका छैनन् । तीमध्ये एउटा पक्ष कथित नयाँ शक्ति रहेको छ ।

हुन त आफूलाई नयाँ शक्ति भन्न रुचाउने यो समूहको कुनै स्पष्ट दर्शन, विचार र कार्यक्रम छैन । यो एकजना व्यक्ति डा. बाबुराम भट्टराईको इच्छानुसार परिचालित डप्फाको रूपमा रहेको छ । त्यसैले यसको बारेमा चर्चा गर्नुपर्दा भट्टराईकै गतिविधिलाई आधार मान्नुपर्ने हुन्छ । एसएलसीमा बोर्ड फस्ट भएदेखि नै चर्चामा रहेका बाबुराम भट्टराई दसबर्से माओवादी 'जनयुद्ध', देशको प्रधानमन्त्री हुँदै नयाँ शक्तिको नेताको रूपमा आइपुग्दा सदैव विवादमा रमाउन चाहने व्यक्तिको रूपमा परिचित छन् । उनको यसै किसिमको प्रवृत्ति उनलाई पतनको मार्गतर्फ डो‍र्‍याउने माध्यम बन्दै गएको छ ।

भट्टराई माओवादी 'जनयुद्ध' लाई बाह्रबुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा प्रवेश गराएपश्चात् पार्टीको तर्फबाट अर्थमन्त्री र प्रधानमन्त्रीसम्म बन्न पुगे । यसै क्रममा उनले आफू प्रधानमन्त्री भएको बेला माओवादी सेनालाई समायोजनका नाममा जबर्दस्त विघटन गराउने कार्य मात्र गरेनन्, तत्कालीन माओवादी पार्टीलाई विभाजित गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले आफ्नै प्रधानमन्त्रीत्व कालमा संविधान निर्माण कार्यलाई सहज रूपमा सम्पन्न हुन नदिएर संविधानसभा नै विघटन गराइदिए ।

पहिलो संविधानसभा विघटनपश्चात् पुनर्गठित संविधानसभाद्वारा संविधान निर्माण कार्यमा समेत अवरोध सिर्जना गर्न प्रयत्नरत भट्टराई संविधान जारी भएपश्चात् भारतद्वारा प्रायोजित कुरालाई बल पु‍र्‍याउने हिसाबले प्रस्तुत भए । उनी अझ त्यतिमा मात्र सीमित नभएर मार्क्सवादको सार्थकता नरहेको भन्दै समाजवाद र पुँजीवादलाई फ्युजन गर्दै राष्ट्रको विकास गर्ने हवाई योजनासहित देखा परेका छन् ।

मार्क्सवादजस्तो वैज्ञानिक दर्शनलाई पुरानो देख्ने भट्टराईको नयाँ विचार अवसरवाद र आत्मसमर्पणवादभन्दा अरू केही नभएको कुरा झन्डै प्रमाणित भइसकेको छ । यस कुराको प्रमाणका रूपमा उनीद्वारा व्यक्त विचार एवं उनका क्रियाकलापलाई लिन सकिन्छ ।

प्रथम, भट्टराई पृथ्वीनारायणको नेपाल एकीकरणप्रति त्यति सकारात्मक देखिँदैनन् । यस कुराको प्रमाणको रूपमा एकातिर उनले मुलुकलाई दर्जन बढी जातीय राज्यमा विभाजन गर्न गरेको प्रयत्नलाई लिन सकिन्छ भने अर्को कुरा केही समयअघि पृथ्वीनारायणले नेपाल एकीकरणमा पु‍र्‍याएको योगदानको कदर गरिनुपर्छ भन्ने सवालमा चलेको बहसप्रति लक्ष गर्दै उनले ट्विटरमार्फत नेपालको एकीकरण पृथ्वीनारायणले मात्रै गरेका र अरू गोरखालीहरू हात बाँधेर बसेका त होइनन् होला भन्ने टिप्पणी गरेका थिए ।

पृथ्वीनारायणले नेपाल एकीकरण गरेर कुनै एक क्षेत्रका नागरिकलाई नभएर राष्ट्रका सबै नागरिकलाई गुन लगाएका छन् । त्यसैगरी उनीपछि उनका सन्तति र नेपालका वीर सपूतहरूले विदेशी शक्तिहरूसँग संघर्ष गर्दै शाहद्वारा आर्जित भूभागको सुरक्षा गर्ने र उनीद्वारा जारी अभियानलाई निरन्तरता दिने कार्य गरेर थप गुन लगाएका छन् । यस कुरामा भट्टराईले आफू गोरखाली भएको कारणले अझ बढी गर्व गर्नुपर्दथ्यो, तर त्यसो देखिएन । उल्टै उनी पृथ्वीनारायणलाई बदनाम गर्नेहरूसँगै एकताबद्ध हुन पुगेका छन् । यसले भट्टराईको राष्ट्रियताप्रतिको कमजोर अडानलाई प्रकट गर्दछ ।

दोस्रो, भट्टराईले मधेसवादी दलका नेताहरूप्रति आफ्नो अनुराग प्रकट गर्ने क्रममा समेत विवादास्पद अभिव्यक्तिहरू दिने गरेका छन् । एकपटक उनले पृथ्वीनारायणले नेपाल एकीकरण गरेको कुराप्रति गर्व गर्नेहरूले मधेसीप्रति उपेक्षा प्रकट गरेको भन्दै सो कुराको प्रतिवाद गर्ने हेतुले यदि गोरखा राज्यको सट्टा सिम्रौनगढले नेपाल एकीकरण गरेको भए आज नेपालको स्थिति के हुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए ।

भट्टराईले यस किसिमको अभिव्यक्ति इतिहासलाई बेवास्ता गर्दै सार्वजनिक गरेको देखिन्छ । यसो किनभने सिम्रौनगढ राज्यको अस्तित्व १३८० सालतिर नै समाप्त भइसकेको थियो । त्यो कार्य दिल्लीको शासक गया सुद्दिन तुगलकको आक्रमणबाट भएको र सिम्रौनगढ राज्यको ध्वंसपछि त्यहाँका राजा हरिसिंह देव भागेर सपरिवार नेपालतर्फ प्रवेश गरेका थिए । पृथ्वीनारायणको जन्म झन्डै त्यसको चार सय वर्षपछि मात्र भएको थियो । अनि कसरी 'सिम्रौनगढले नेपाल एकीकरण गरेको भए' भन्नेजस्तो परिकल्पना गर्न सकिन्छ ? यस किसिमको अभिव्यक्तिले भट्टराईको राष्ट्रविरोधी उन्मादलाई मात्रै प्रकट गर्छ ।

तेस्रो, केही समयअघि मधेसवादी दलका नेताहरूले पटक-पटक भारतीय राजदूतलाई भेट गरी उनको निर्देशनमा राष्ट्रिय एकतामा खलल पु‍र्‍याउने कार्य गरेका छन् भनी भएको आलोचनालाई प्रतिवाद गर्दै भट्टराईले ('रन्जित रेलाई कसले भेट्दैन ? ) रेलाई प्रचण्डले भेटेको, शेरबहादुरले भेटेको, ओलीले भेटेको कुरा किन आउँदैन ? मधेसी नेता सोझा, उनीहरूले भेटेको मात्र किन अन्यथा ठान्ने ? विचरा उनीहरू सीधासादा लुरुलुरु भेट्छन् । अरू नेताहरू लुकीलुकी भेट्छन् । रेलाई भेट्दैमा भारतीय हुने भए सबै नेताहरू भारतीय हुनुप‍र्‍यो 'सम्म भन्न भ्याएका थिए ।

भट्टराई यतिबेला कहिले उपेन्द्र यादव त कहिले पुष्पकमल दाहालसँग पार्टी एकता हुनसक्ने संकेत दिँदै हिँडिरहेका छन् । क्षणिक आवेग र सस्तो ख्यातिका लागि जे पनि बोलिदिने उनीजस्ता नेताहरूकै कारण मुलुक वर्तमान अवस्थासम्म आइपुगेकोमा शंका छैन ।

भट्टराईको यो अभिव्यक्ति सत्यको निकै नजिक रहेको छ । दलका नेताहरूले सत्तादेखि झीनामसिना स्वार्थपूर्तिको लागि विदेशी राजदूतहरूलाई भेट्‍ने र तिनकै निर्देशनमा परिचालित हुने अनि बाहिर राष्ट्रवादको नारा ओकल्ने गरेकै कारण देशको अवस्था वर्तमान स्थितिसम्म आइपुगेको हो । यस कुरामा विवाद छैन । तर भट्टराईको अभिव्यक्ति सत्य प्रकट गर्ने प्रयोजनले नभएर राजनीतिक नेताहरूले भारतीय राजदूतलाई लुकिछिपी वा खुलारूपमा भेट्ने र उनीबाट दीक्षा लिने कुरा ठीकै हो ।

तर मधेसीहरूलाई मात्र दोष दिनु ठीक होइन भन्ने हदसम्म प्रकट हुनु घोर आपत्तिजनक हो । भट्टराईको यस किसिमको अभिव्यक्तिले भारतीय आडमा हामीले भनेजस्तो भएन भने देशै टुक्य्राइदिनेछौं भन्नेसम्मको अभिव्यक्ति दिनेहरूलाई राम्रै बल प्रदान गर्छ ।

चौथो, भट्टराईले उन्मादमा प्रकट गर्ने अभिव्यक्तिको सिलसिला यत्तिकैमा थामिँदैन । यो जगजाहेर हो, शान्ति प्रक्रियाका प्रारम्भिक दिनहरूमा भट्टराई मिश्रित शासन प्रणालीका पक्षधर थिए । तर विस्तारै उनी कार्यकारी राष्ट्रपतीय प्रणालीका समर्थक बन्न पुगे । तर कार्यकारी राष्ट्रपतीय प्रणालीका पक्षमा बहस चलाइरहँदा उनी राज्यका सबै तह एवं निकायका लागि समानुपातिक निर्वाचन पद्धतिको कुरा उठाउन पनि चुक्दैनन् । यसो भनेर भट्टराईले कस्तो किसिमको राष्ट्रपतीय प्रणालीको वकालत गरिरहेका छन् ?

के उनले परिकल्पना गरेको राष्ट्रपतीय प्रणालीमा राष्ट्रपतिलाई व्यवस्थापिकाको समर्थन आवश्यक पर्दैन ? अनि समानुपातिक निर्वाचनबाट गठित व्यवस्थापिका (जसको स्वरूप मिश्रित हुन्छ) भएको अवस्थामा राष्ट्रपतिले कसरी कार्य गर्न सक्ला ? यी कुरातर्फ उनको ध्यान पुगेको पाइँदैन । राष्ट्रपतिले एकोहोरो विकासको राग अलापेर मात्र हुँदैन, उसले देश चलाउनुपर्छ । त्यसका लागि कानुन बनाउनुपर्छ । राष्ट्रपतिलाई पदमा कायम रहन व्यवस्थापिकाको समर्थन चाहिन्छ ।

ती सबै कुराले समानुपातिक निर्वाचन पद्धतिबाट गठित व्यवस्थापिका कार्यकारी राष्ट्रपतीय प्रणालीअनुकूल हुन सक्दैन । यसरी हेर्दा भट्टराईलाई आफूले सिफारिस गरेको प्रणाली कसरी कार्यमूलक हुन सक्छ भन्ने तर्फसमेत चासो न रहेको देखिन्छ ।

पाँचौं, भट्टराई राजतन्त्रवादीहरूको तर्कलाई खण्डन गर्न पटकपटक लोकतन्त्रको विकल्प राजतन्त्र नभई अझ बढी लोकतन्त्र हुन्छ भन्छन् । उनको यो तर्क जायज छ, तर लोकतन्त्रको नाममा श्रीपेचविहीन सहस्र राजाहरूको उदय भइरहेको वर्तमान परिप्रेक्षमा पूर्ण लोकतन्त्र कसरी सम्भव हुन सक्छ ? अरूको त कुरै छोडिदिउँ, स्वयं भट्टराई यस कुराको अपवाद बन्न सकेका छैनन् ।

अन्यथा पूर्व प्रधानमन्त्रीको हैसियतले प्राप्त सुरक्षा र सुविधाको भोग गर्दै राष्ट्रविरोधी एवं जातीय सद्‍भाव बिथोल्ने अभिव्यक्ति दिँदै हिँड्ने छुट उनलाई प्राप्त हुने थिएन । यदि भट्टराई साँच्चिकै लोकतन्त्रवादी र जन पक्षधर हुन् भने उनले सरकारी सुरक्षा र सुविधा त्याग गर्दै एउटा नागरिकको रूपमा जनसमक्ष आफ्ना कुरा राख्ने हिम्मत देखाउनुपर्छ । अहँ उनी यसो गर्न चाहँदैनन् र चाहे पनि यसो गर्न सक्ने छैनन् ।

त्यसैले भट्टराईले नयाँ शक्तिको राजनीतिक विचारको रूपमा जेजस्ता कुरा व्यक्त गर्दै हिँडिरहेका छन्, ती नेपाली जनताबाट कहिल्यै स्वीकार्य हुने छैनन् । भट्टराईलाई यस कुराको बोध भइसकेकाले नै उनी यतिबेला कहिले उपेन्द्र यादव त कहिले पुष्पकमल दाहालसँग पार्टी एकता हुन सक्ने संकेत दिँदै हिँडिरहेका छन् । यसरी क्षणिक आवेग र सस्तो ख्यातिका लागि जे पनि बोलिदिने उनीजस्ता नेताहरूकै कारण मुलुक वर्तमान अवस्थासम्म आइपुगेकोमा शंका छैन ।

यसप्रकार भट्टराई आफूलाई नेपाली राजनीतिको शीर्षमा पु‍र्‍याउने वामपन्थी राजनीतिलाई त्याग गर्ने मात्र होइन, त्यसलाई बद्‍नाम गर्ने बाटोमा अग्रसर हुँदै जाँदा देश र जनताबाट धेरै टाढा पुगिसकेका छन् । यसैका प्रमाणहरू हुन् उनका माथि वर्णित अभिव्यक्ति र व्यवहार । भट्टराईका उल्लिखित क्रियाकलापले उनी राष्ट्र र जनविरोधी कित्तातर्फ उन्मुख हुँदै गएको प्रमाणित गर्दछन् ।

हजारौं नेपाली नागरिकलाई सहादत, घाइते, बेपत्ता, घरवार एवं आ श्रयविहीन र बिदेसिन बाध्य तुल्याएर आफूलाई सुरक्षित तुल्याउन मार्क्सवादलाई तिलाञ्जली दिँदै नयाँ विचार (शक्ति) को अवसरवादी बाटो पक्रने बाबुरामको प्रयत्नले उनलाई दुर्गतितर्फ धकेलेको छ । तर यो उनी आफैंले चलाकी एवं योजनापूर्वक गरेकोमा उनलाई राम ! राम ! सम्म पनि भन्ने स्थिति रहेन । यति भनौं, धन्य बाबुराम ! धन्य नयाँ शक्ति !

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2