MENU

वन मासेर बसेको बस्तीमा जग्गा किनबेच

635x90_1

राजकरण महतो सोमवार, माघ ३, २०७३ 4815 पटक पढिएको

Share This

635-X-85

बर्दिबास (महोत्तरी): धादिङका ५१ वर्षीय डम्बरबहादुर कुमाल २०६१ सालमा काम खोज्दै महोत्तरीको बर्दिबास पुगे । कुमालले बर्दिबास नपा-१ मा डेरा लिए । पेसाले घर बनाउने कर्मी थिए, ठेक्का लिँदै घर बनाए । बर्दिबासको तीव्र विकासले गर्दा उनले घर निर्माणका थुप्रै काम पाए ।

घर निर्माणको ठेक्काबाट उनले राम्रो आम्दानी गरे । कमाएको केही रुपैयाँ जम्मा गरे । अरूको घर बनाउँदै हिँड्ने कुमालले जग्गा किनेर आफ्नो पनि घर बनाउने सपना देखे । थोरै जग्गा किनेर घर बनाउने उनको रहर उत्कर्षमा पुग्यो ।

जग्गा खोज्दै जाँदा कुमालले बर्दिबासको एउटा समुदायिक वनकै बीचमा घर बनाउने जग्गा पाए । चौतर्फी मनमोहक प्राकृतिक दृश्यसहितको जग्गामा उनको नजर गाडियो । बर्दिबासका एकजना स्थानीयले आफ्नो जग्गा भन्दै वन कब्जा गरेको २८ धुर जग्गा ५० हजार रुपैयाँ लिएर उनलाई भिडाए ।

एक दशपछि आफूले किनेको जग्गा वनको भएको उनले थाहा पाए । नेवारडाँडा कामीडाँडा सामुदायिक वन अतिक्रम गरेर घर टहरा बनाइएको इलाका वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत चन्दे्रश्वर यादवले बताए । अतिक्रमण गरेर घर बनाएको भन्दै वनले उनको घर भत्काइदिने भनेपछि कुमाल इन्तु न चिन्तु भएका छन् ।

वनको संरक्षण सम्बद्र्धन गर्न उपभोक्ताले सञ्जय न्यौपानेलाई एक दशकअघि अध्यक्ष बनाए । समितिको आपसी विवादका कारण न्यौपाने नेतृत्वको टिमले कामै नगरी एक दशक बितायो । समिति निष्कृय भएपछि वनका रूख विरुवा सखाप पर्दै जग्गा कब्जा हर्ने होडबाजी चल्यो । त्यसपछि भूमाफियाले वनको जग्गा कब्जा गरेर रातारात चलखेल गर्न थाले ।

एकैजनाले वनको १० कठ्ठा जग्गा कब्जा गरेर डम्बरलगायत ७ जनालाई ८ वर्षअघि बिक्री गरेका थिए । आफूले पनि त्यही जग्गा खरिद गरेर बसेको गाईघाटबाट आएर बसेकी पार्वती कार्कीले बताइन् । अहिले चारैतिर घना जंगलको बीचमा सात घरको एउटा बस्ती नै बसिसकेको छ । बस्तीका सबै बासिन्दा कामको खोजीमा बर्दिबास आएको र भूमाफियासँग जग्गा किनेर घर बनाएर बसेको वन कर्मचारी बताउँछन् ।

'गोईगोठ भएको र खेती गरेको अवस्थामा मैले जग्गा किने,' कुमालले भने, 'हामीले जग्गा किन्नुभन्दा अघि यो जग्गा तीनपटक किनबेच भइसकेको थियो । जग्गा किन्दा जग्गा धनीले हामीलाई कागज गरेर दिएको छ ।'

'वनको जग्गा कब्बजा गरेर चालीस-पचासवटा घडेरीको घेरा लगाइएको छ । कतिमा त घरै बनिसकेका छन्,' सामुदायिक वनका अध्यक्ष सञ्जय न्यौपानेले भने, 'वन मास्दै, वनको जग्गामा आली लागाएर माफियाले आफ्नो बनाए । नेपाली कागजमा सहीछाप गराएर वनको जग्गा बिक्री गरियो ।'

बर्दिबासको विकास दिन दुगुणा रात चौगुणा भएपछि जग्गा दलालले वनको जग्गामा आँखा लगाउँदै आएका छन् । राष्ट्रको सार्वजनिक सम्पत्ति (वन र वनको जग्गा) कब्जा गरेर जग्गा दलालहरूले रातारात बिक्री गरिरहेका छन् ।

सरोकारवाला निकाय टुलुटुल हेरेर बस्नु बुझिनसक्नुको भएको स्थानीय शारदा थापाले बताइन् । उनले भनिन्, 'वनका कर्मचारी, राजनीतिक दलका केही नेता र वनका केही उपभोक्ताको साँठगाँठमा वनको जग्गा अतिक्रमण भयो ।'

४३ हेक्टर अर्थात् साढे ६४ बिघामा वन फैलिएको छ जसमध्ये १५ हेक्टर अर्थात् साढे २२ बिघा वन क्षेत्र १० वर्षको अन्तरालमा अतिक्रमण गरी बेचबिखन गरेर घर, टहरा र पक्की भवन बनाइयो, आवस क्षेत्रका लागि प्लटिङ गरेर कब्जा गरिएको इलाका वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत यादवले बताए । वन क्षेत्रमा लगाइएका रूख काटेर जग्गा अतिक्रम गरी वन सखाप पारिँदै छ ।

बर्दिबासमा रेलवे स्टेसन, कृषि क्याम्पस, मेडिकल कलेज, व्यपारिक सहर विस्तार हुने भएपछि रातु खोलाको बगर पनि हीराको मूल्यमा किनबेच हुँदैछ । रातु खोलको किनारमा अवस्थित वन क्षेत्र पूर्वपश्चिम राजमार्ग र बर्दिबास-सिन्धुली-खुर्कोट-बनेपा-काठमाडौं सडकखण्डसँग जेडिएको छ । आवास र व्यपारिक दृष्टिकोणले उपयुक्त भन्दै वनको जग्गा किनबेच भइरहेको छ ।

बर्दिबासको द्रूत विकासले यहाँ एक धुर जग्गा २ लाखदेखि १५ लाखभन्दा बढीमा बिक्री भइरहेको छ । समान्यतया बर्दिबासको वन क्षेत्रको जग्गा प्रतिकठ्ठा सरदर १० लाखमा बिक्री भइरहेको स्थानीयले बताए । अतिक्रमणमा परेको जग्गाको हिसाब गरेर मूल्य तोक्ने हो भने साढे २ बिघा जग्गाको २ करोड २५ लाखबराबरको राष्ट्रिय सम्पत्ति अतिक्रमणमा परेको छ । साढे २२ बिघाको वन क्षेत्र मासिएर प्राकृतिक सौन्दर्य नासिएको छ भने बहुमूल्य सालका रूख कटान गरिएको छ ।

वन अहिले अतिक्रमणको चपेटामा परेको छ । वनकै उपभोक्ताले वनको जग्गा अतिक्रम गरेर बिक्री गरेको वन कार्यालयले जनाएको छ । वन समिति निष्कृय छ । वनभित्र रहेको गोरेटो बाटो अहिले सडकमा परिणत भएको वनका पूर्वअध्यक्ष बुद्धिसिंह तमाङले बताए । उनले भने, 'वनभित्रको बस्ती वनकै जग्गामा छ ।'

'वन अतिक्रमणकारीलाई धेरैपटक धरपकड गर्‍यौं । छानबिनका लागि जब मान्छे पक्राउ गर्छौं अनि कार्यालयमै आएर नारा जुलुस सुरु हुन्छ । सडक जाम गर्छन्', इलाका वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत चन्द्रेश्वर यादवले भने, ' वनको १५ हेक्टर जंगल अतिक्रमित भयो । वनको जग्गामा पक्की घर ठडिए ।' वन उपभोक्ता समिति निष्कृष्य भएपछि वन अतिक्रमणको चपेटामा परेको हो । यादवले थपे, 'दस वर्षदेखि वन समितिको बैठक बसेको छैन । वनको नवीकरण भएको छैन । मनोमानी ढंगले काम हुन्छ । वन कार्यालयबाट पत्र पठाउँछौं कुनै उत्तर आउँदैन ।'

बर्दिबास चोकभन्दा १ सय मिटर टाढा रहेको वन अतिक्रमण गरेर घर बनाउँदा पनि कसैले बास्ता गर्दैन । इलाका प्रहरी कार्यालय र इलाका वन कार्यालय पनि त्यहीँ छ । 'प्रहरी, प्रशासन, वन उपभोक्त समिति र वन कार्यालयकै कारण वन अतिक्रम भयो,' बर्दिबासका स्थानीय फौदसिंह स्यांग्वाले भने, 'एक अर्कालाई आरोप प्रत्यारोप गरेर काम चल्दैन । वन अतिक्रमण हुँदा सबै निकाय कहाँ गएका थिए । सबै चुकेका छन् ।' वनको जग्गा अतिक्रम गरेर घर बनाउनेहरू सबै बाहिरी जिल्लाबाट आउने छन् ।

एकीकृत सेवा केन्द्र बर्दिबासमा प्रमुख विमलप्रसाद भट्टराईले वन अतिक्रमणको कारण खोज्न इलाका वन कार्यालयलाई निर्देशन दिएका छन् । 'वनको जग्गा अतिक्रमण गरी बनाएका घर, टहरा, पक्की संरचना हटाउँछौं,' उनले भने, 'घर हटाएर अब विरुवा रोपनुपर्छ ।'

बर्दिबासको उत्तरपट्टिको लहलाउँदा सालका रूखले बर्दिबासको सुन्दरतालाई थप मनमोहक बनाएको छ । बर्दिबास चोक गहिरोमा भएकाले डाँडामा लगाइएको वनले बर्दिबासमा बसोबास गर्नेलाई स्वच्छ अक्सिजन दिने गरेको चुरे संरक्षणकर्मी नागदेव यादवले बताए । 'वनजंगल जोगाइएन भने खानेपानीको स्रोत सुक्छ । वनले हाम्रो जीवन बँचाएको छ । त्यसको संरक्षण र विकास गर्नु जरुरी छ ।' यसै वनको पूर्वपट्टिको रातु खोलाको किनारमा बर्दिबासका २० हजार मानिसलाई दैनिक वितरण गर्ने खानेपानीको मुहान छ । 'वन संरक्षण नभए खानेपानीको स्रोत रिचार्ज हुँदैन । खानेपानीको मुहान सुक्छ । यस विषयमा सबैले सोच्नुपर्छ', जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले भने ।

वनमा घर बनाएकालाई जग्गाको प्रमाण खोजेर कारबाही प्रक्रिया अघि बढाउने जिल्ला वन कार्यालय महोत्तरीका डीएफओ हीरालाल कुसवाहाले बताए । 'बर्दिबासको सुन्दरडाँडा जोगाउन गाह्रो भयो । सामुदायिक वनको जग्गा मेरै हो भन्दै करोडौंमा किनबेच हुन्छ', उनले भने । महोत्तरीमा ७६ वटा सामुदायिक वन छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2