MENU

कर तिर्दैनन् व्यापारिक भवन

patan-college

सुवास गोतामे बुधवार, माघ १२, २०७३

Share This

635-x-85_1

काठमाडौं: सरकारी र संस्थानको जग्गा भाडामा लिएर व्यावसायीक प्रयोजनका लागि निर्माण गरिएका ठूला 'बिजनेश कम्प्लेक्स' ले वर्षौदेखि सरकारलाई कर तिरेका छैनन् । नियामक निकाय काठमाडौं महानगरपालिकाले कर तिर्न ती संघसंस्थालाई पत्रचारबाहेक अरु कारबाही गर्न सकेको छैन ।

महानगरपालिकाका अनुसार कमलादीस्थित काठमाडौं प्लाजा, टेकुस्थित काठमाडौं बिजनेश पार्क, सुन्धारास्थित आरबी कम्प्लेक्स, पुतलीसडकमा सञ्चालित नेपाल सेयर मार्केटको भवन, सुन्धारास्थित काठमाडौं मल, भोटाहीटीस्थित साझा भण्डार, थापाथलीमा रहेको जेसिसको व्यापारिक भवन, त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टर, ठमेलमा सञ्चालित कर्मचारी संचय कोषको भवन र जमलस्थित राष्ट्रिय नाचघरले कर तिर्न अटेर गरेका छन् ।

महानगरपालिकाका अनुसार कमलादीमा सञ्चालित काठमाडौं प्लाजाले पहिला राजाको पालामा कर तिर्नु नपरे पनि पछि नेपाल ट्रष्टमा गएपछि कर तिर्नु अनिवार्य छ । महानगरपालिकाले पटकपटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेको छ प्लाजाले । काठमाडौं विजनेश पार्कले आफु नेपाल ट्रष्ट अन्तर्गत नै गएको बताए पनि महानगरपालिकालाई भने यसबारे जानकारी गराइएको छैन । आरबी कम्प्लेक्स, सेयरमार्केटको कार्यालय गुठी संस्थान अन्तर्गतका जग्गामा संचालित व्यापारिक प्रतिष्ठान हुन् । यिनले पनि घरजग्गा कर, बहालकर र व्यवसाय कर तिरेका छैनन् ।

महानगरपालिकाका अनुसार वल्र्ड ट्रेड सेन्टरलाई महानगरपालिकाले कर तिर्न पत्राचार गर्दा उसले सर्वोच्चमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्व विद्यालयको जग्गा भाडामा लिएर विजनेश कम्प्लेक्स बनाएको सेन्टरले सरकारी जग्गा भाडामा लिएकाले आफुले घरजग्गा कर तिर्नु नपर्ने भन्दै सर्वोच्चमा महानगरपालिकाविरुद्ध मुद्दा दायर गरेको हो । यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ । उसले विगत दुई वर्षदेखि आंशिक बहालकर भने बुझाएको छ । काठमाडौं महानगरपालिकाले स्थानीय स्वायत्त सासन ऐन १४६ बमोजिम कर तिर्नुपर्ने दावी गरेपनि कर उठाउन उदासिन देखिएको छ । यो ऐनमा सरकारी वा संस्थानको जग्गा भाडामा लिएर भवन बनाएपनि व्यावसायी उद्देश्यले खोलिएका कार्यालयले सबै कर तिर्नुपर्न प्रावधान उल्लेख छ ।

थापाथलीस्थित कन्चनजङ्घा ट्रेडले भने महानगरलाई कर तिरेको छ । खाद्य संस्थानको जग्गा भाडामा लिएर बनाएपछि उसले घरजग्गा, बाहाल र व्यवसाय कर नतिर्ने अडानसहित सर्वोच्चमा मुद्दा दायर गरेको ट्रेडले अदालतको फैसलापछि तिर्न बाध्य भएको हो ।

राजनीतिक पहुँचका आधारमा समेत कर तिर्न आनाकानी गर्दै आएको महानरपालिकाका एक अधिकृत बताउँछन् । ' कर तिर्न पठाएको पत्रपछि नेताका फोन आउन थाल्छन्, कोही त कार्यालयमै आएर अहिले केही नगर्नुस् भनेर समेत जान्छन्, यहाँ कर तिर्ने भन्दा पनि कसरी कर छल्न सकिन्छ भनेर राजनीतिक लविङ गर्ने धेरै छन्, ति अधिकृतले अन्नपूर्णसँग भने ।

महानगरपालिकाका निर्देशक ज्ञानेन्द्र कार्कीले कर तिर्न अटेर गरेर उल्टै केही व्यापारिक कम्प्लेक्सका सञ्चालक अदालत धाएको बताए । उनले भने, 'कारबाही भनेको अन्तिम विकल्प तालाबन्दी नै हो, सकेसम्म कर उठाउन ताकेता गर्ने र त्यतिगर्दा पनि नतिरे फेरी तालबन्दी गर्छौं, अदालतमा विचाराधिन मुद्दाको फैसला कुरेर बसेका छौं ।'

ऐनको अस्पष्टताले आनाकानी

महानगरपालिकाको राजश्व महाशाखाका प्रमुख राज्य प्रकाश प्रधानाङ्गले ऐनको अस्पष्टताले व्यावसायिक प्रतिष्ठानले कर तिर्न अनाकानी गरेको बताए । गुठी संस्थानको ऐनले गुठी संस्थानको जग्गामा बनेका घर जग्गाकाले कर तिर्नु नपर्ने उल्लेख गरेको छ । त्यस्तै महानगरपालिका ऐनले भने सरकारी र संस्थानको जग्गामा भवन बने पनि व्यापारिक उद्देश्यले बनाइएका भवनले कर तिर्नुपर्ने उल्लेख गरेको छ । 'कानुनमा छुट्टाछुट्टै व्यवस्था भएकाले पनि व्यवासयीहरु कर तिर्न अनाकानी गरेका छन्, ऐन संसोधन गर्नुपर्ने देखिन्छ,' प्रधानाङ्गले भने ।

केही व्यवसायीले २०५७ अगाडी कर नतिरेकाले त्यसको सिको गरेर अन्यले पनि तिर्न अटेर गरेको जानकारी उनले दिए । 'कर नतिर्ने कम्प्लेक्स सञ्चालकसँग धेरैपटक मिटिङ बसियो, तिर्छौ भन्छन् तर तिर्दैनन्, कारबाही स्वरुप केही दिन फोहोर नउठाईदिन्छौं तर स्थानीयरुपमा फोहोरको दुर्गन्ध फैलिएपछि फोहोर उठाउन बाध्य हुन्छौं, दोहोरी चलेको छ,' प्रधानाङ्गले भने । महाशाखाका अनुसार व्यापारिक कम्प्लेक्सले सबै कागजात कार्यालयमा पेश नगरेपनि अनुमानित हिसाबमा करोडौं रुपैंया कर तिरेका छैनन् ।


कर नतिरेका संघसंस्था
- काठमाडौं प्लाजा, कमलादी
- काठमाडौं बिजनेश पार्क, टेकु
- आरबी कम्प्लेक्स, सुन्धारा
- नेपाल सेयर मार्केट सञ्चालित भवन, पुतलीसडक
- काठमाडौं मल, सुन्धारा
- साझा भण्डार लिमिटेड, भोटाहिटी
- राष्ट्रिय नाचघर जमल (घरजग्गा कर)
- जेसिसको व्यापारिक भवन, थापाथली
- वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर
- कर्मचारी संचय कोषको भवन, ठमेल

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost