MENU

नयाँं पुस्ता : किन रुस्ट छन् नेतासँंग ?

635x90_1

किरण दहाल/अन्नपूर्ण टुडे शुक्रवार, माघ १४, २०७३ 3140 पटक पढिएको

Share This

635-X-85

नयाँं पुस्ता

देवताका लागि या स्वयं देवताले गरे पनि बन्द गलत हो । ‘धार्मिक’ हुनुको बहानामा गलत कुराको समर्थन नगरौँ, यो आफैँमा पाप हो । विश्व हिन्दु महासंघलगायत समूहले गरेको बन्दप्रति आक्रोश पोख्दै दिनेश गौतमले केही दिनअघि फेसबुकमा लेखेको स्ट्याटस हो यो । उनी समसामयिक राजनीतिक घटनाप्रति फेसबुक र ट्वीटरमा लेखिरहन्छन् । युवापुस्तामा राजनीतिज्ञ र समग्र राजनीतिप्रति आक्रोश पोख्नेहरूको एउटा प्रतिनिधि पात्र पनि हुन् ।

कीर्तिपुरको ट्यांलाफाँट बस्ने सुमना बाँस्कोटा (२३)लाई राजनीतिक नेतृत्वप्रति एकदमै रिस उठ्छ । जनप्रतिनिधि भएपछि नेताहरूले आफ्नाबारे मात्र सोच्न नमिल्ने उनको भनाइ छ । उनी नेताहरूमा नातावाद र कृपावाद हावी भएको ठान्छिन् । भन्छिन्, ‘हाम्रो नेतृत्वले आफ्नो मात्रै राम्रो हेर्‍याे । समाजमा शान्ति, सुरक्षा कायम गर्न र जनताको आवश्यकता पूरा गर्न असफल भएको छ । जब जनताका माग सही तरिकाले सम्बोधन हुँदैनन्, तब गाली गरिन्छ ।’

कलंकी बस्दै आएका शिव अधिकारी (२३) पनि नेतृत्वलाई धेरै गाली गर्नेमा पर्छन् । सामाजिक सञ्जालमा नेताहरूप्रति आक्रोश पोख्दै उनले नियमित स्ट्याटस लेख्दै आएका छन् । साथीभाइसँग हिँड्दा/बस्दा पनि नेतृत्वप्रति असन्तुष्टि जाग्ने उनको भनाइ छ । नेताहरू बीचमा हुने असहमति देखेर उनलाई साहै्र रिस उठ्छ । भन्छन्, ‘हैन, तिनलाई हामीले नेतृत्वमा पुर्‍याएको पजेरो र प्राडो चढाउन मात्र हो ? सधँ असहमति भन्दै देशलाई बन्धक बनाएर राख्ने अधिकार कसैलाई छैन ।’ आममान्छेको स्वार्थ नेताहरूको दैनिक व्यवहारसँग मेल नखाएपछि रिस उठ्ने अधिकारी बताउँछन् । नेताले बाँड्ने सपना र गर्ने व्यवहार फरक रहेकाले पनि गाली गर्न मन लाग्छ उनलाई ।

कलंकी स्यूचाटारका देवेन्द्र ढुंगाना (२१) लाई नेताहरूको खुट्टा तान्ने प्रवृत्ति मन पर्दैन । मुख्य समस्या नै त्यही भएजस्तो लाग्छ उनलाई । एउटा सरकार आउँछ, अनि भोलिपल्टदेखि विपक्षी दलका नेताले नालायक भन्दै गिराउने कुरा गर्छन् । ढुंगाना भन्छन्, ‘हाम्रो कामचाहिँ केही वरिष्ठलाई प्रधानमन्त्रीका लागि उम्मेदवार हुन लायक बनाउनु मात्रै हो ? यिनको हामीमाथि केही दायित्व हुँदैन ? नेताहरू स्वार्थमा लिप्त छन् । चुनावमा बाँड्ने सपना त यिनले बिर्सिहाल्छन् ।’

गाली किन ?
नेताहरूको बोल्ने एउटा र काम भिन्न रहेकाले बेला–बेलामा उनीहरूलाई गाली गर्ने गरेको नयाँ बसपार्क नजिकको मिलनटोल बस्ने जीवन कँडेल (२५) बताउँछन् । राजनीतिक अस्थिरताले पनि नेतृत्वलाई गाली गर्न हौस्याउने उनको बुझाइ छ । गाली गर्ने कुरा नेताहरूले देखाउने व्यवहार र क्रियाकलापले पनि फरक पार्ने उनको भनाइ छ । भन्छन्, ‘मान्छेलाई कहाँ जान हतार हुन्छ, त्यहीबेला माननीयहरूको सवारीले गाडी जाम हुन्छ । बेला न कुबेला बन्द, हड्ताल, ¥याली हुन्छ । यस्तो बेलाचाहिँ नेताहरूलाई ठूलो स्वरले गाली गरौँजस्तो लाग्छ ।’

सुर्खेत वीरेन्द्रचोकका गौतम यसलाई नेताको गैरजिम्मेवारीसँग जोड्छन् । भन्छन्, ‘नेतृत्वसँग अपेक्षा हुन्छ, उनीहरूको पनि केही जिम्मेवारी हुन्छ । त्यसलाई उपेक्षा गर्दा गाली गरिन्छ ।’ बाँस्कोटा केही दिनअघि कीर्तिपुरबाट रत्नपार्क जाँदै थिइन् । आधा घण्टामा पुगिनेमा तीन घण्टा लाग्यो । कीर्तिपुरस्थित क्याफेमा बसेर चिया पिउँदै गरेकी उनले एक राष्ट्रिय दैनिक देखाउँदै भनिन्, ‘हेर्नु न, यहाँ एमालेकोे र्‍याली फोटो । १/१ गरी सबैको गाला चड्काइदिऊँजस्तो लाग्ने । काठमाडौं नेताहरूको र्‍याली निकाल्ने ठाउँ मात्र हो ?’ देशबारे नेताहरूले अरूभन्दा बेसी सोच्नुपर्ने बाँस्कोटाको भनाइ छ । भन्छिन्, ‘देश कस्तो भइदिए हुन्थ्यो भनेर त फुटपाथमा बस्ने मान्छेले पनि सोचेको हुन्छ । तर, ती राजनीतिमा संलग्न हुँदैनन् ।’

नेताहरूका कारण देशको अवस्था नाजुक भएकाले उनीहरूदेखि रिस उठ्ने गरेको ढुंगाना बताउँछन् । भन्छन्, ‘एउटा सरकारले नीति तथा कार्यक्रम बनाउँछ । तर, त्यो कार्यान्वयन गर्न नपाउँदै ढलिसक्छ । यस्तो प्रकारको चरित्रले देशलाई कहीँ पुर्‍याउँदैन । अनि हाम्रो विकल्प भनेको नेतालाई गाली गर्नु नभई के हुन्छ त ?’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘चुनावमार्फत् जनताले नेताहरूलाई शासन गर्ने वैधता दिएका हुन्छन् । उनीहरूले शासनमा रहेर राम्रो प्रस्तुती गर्न सकेनन् भने उनीहरूप्रति जनताको वितृष्णा बढ्छ ।

जनताको निरासा नै गालीका रूपमा व्यक्त हुन्छ ।’ नियमित रूपमा अध्ययन तथा डिस्कोर्स नहुँदा युवाहरूले कुनै सिर्जनात्मक काम गर्न नसक्ने र सबैतिर गाली मात्रै सुनिने भएकाले युवाहरूले पनि त्यही सिक्ने विश्लेषक हरि रोकाको भनाइ छ । भन्छन्, ‘नेपाली राजनीतिले आफूलाई संस्थागत गर्न सकेको छैन । राज्यका अरू कुनै निकाय संस्थागत हुन सकेका छैनन् । जहाँ पनि नातावाद, कृपावाद, पैसा हाबी छ । जसले यस प्रक्रियाबाट लाभ उठाउन सक्छ, उनीहरू चुप हुन्छन् । जसले सक्दैन, उनीहरू गाली गर्छन् ।’

कति जायज ?
कलंकी दुर्गानगरका रोहित किङरिङ (२५) कहिलेकाहीँ नेतालाई गाली गरे पनि त्यो ठीक नरहेको बताउँछन् । सामाजिक सञ्जालतिर तल्लो स्तरमा झारेर गाली गरेको उनलाई मन पर्दैन । युवापुस्ताले गाली नभई सल्लाह सुझाव दिनुपर्ने उनको जिकिर छ । भन्छन्, ‘गाली अन्तिम विकल्प होइन । सभ्य भाषामा सल्लाह दिँदा बढी उपयुक्त हुन्छ । नेतृत्वलाई आफैंले विभिन्न आरोप लगाउँदै किन गाली गर्ने ? यसको मतलब उनीहरूले जे गर्छन्, सहँदै जाने भनेको पनि होइन । रचनात्मक सुझाव दिने भनेको हुँ।’ अधिकारीलाई पनि अत्यधिक गाली मन पर्दैन । अति भइसकेपछि गाली गर्नुको पनि विकल्प नहुने उनको भनाइ छ ।

KrishnaPokharelचुनावमार्फत् जनताले नेताहरूलाई शासन गर्ने वैधता दिएका हुन्छन् । उनीहरूले राम्रो प्रस्तुती गर्न सकेनन् भने जनताको वितृष्णा बढ्छ र त्यो गालीका रूपमा हुन्छ।कृष्ण पोखरेल ,राजनीतिक विश्लेषक

कँडेल भन्छन्, ‘हामीले बेला–बेलामा गर्ने गालीले नेताहरूलाई सही बाटोमा हिँड्न पे्ररित गर्न सक्छ । यसले नेतृत्वमा जनभावना तथा जनअपेक्षालाई कदर गर्न प्रेरित पनि गर्छ । तर, खराब पाटो पनि छ । यसले नेताहरूको चरित्रमा कालो धब्बा लाग्छ । सधँ गाली गरिरहेपछि नयाँ तथा राम्रो काम गर्न प्रोत्साहन पनि हुँदैन ।’

अपेक्षा के ?
सीतापाइलाका रुजन मानन्धर (२१) नेताले जनचाहनाअनुरूप काम गर्नुपर्ने बताउँछन् । जनताले दैनिक रूपमा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै त्यसलाई सम्बोधन गर्न नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् । नेताहरूको ध्यान भ्रष्टाचारमा केन्द्रीत रहेको उनको आरोप छ । भन्छन्, ‘राज्यका हरेका निकायमा स्वच्छ नेतृत्व पुग्नुपर्छ । कुलमान घिसिङले लोडसेडिङ हटाएर राम्रो काम गरेका छन् । अरूले पनि उनीबाट सिकून् । राम्रो काम गरेपछि प्रशंसा हुन्छ ।’

नेताहरूले उद्योगधन्दामार्फत् रोजगारीका स्रोतहरू बनाउन सक्नुपर्ने किङरिङको भनाइ छ । ‘युवापुस्तालाई देशमै काम गर्ने वातावरण बनाइदिनु पर्छ । त्यसका लागि स्वरोजगारका कार्यक्रम ल्याउन सक्छन् । सीपमूलक तालिम दिने वातावरण बनाइदिँदा पनि हुन्छ,’ उनी भन्छन्, ‘देश विकास गर्ने युवापुस्ताले नै हो । तन्नेरीलाई विदेश पठाएर देश बनाउने सपना पूरा हुँदैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा नेताहरूसँग आक्रोश पैदा हुन्छ ।’ सबै नेताले कानूनको पालना गरिदिए हुन्थ्यो भन्ने कँडेलको अपेक्षा छ । नेताहरूको उपचारका नाममा पनि राज्यको ढुकुटी दोहन भएको उनको अनुमान छ । ‘उपचार खर्च भन्दै नेताहरूलाई करोडौँ बाँडिन्छ । कर्णालीमा सिटामोल नपाउने तर काठमाडौं बस्ने नेतालाई चाहिँ रुघा लाग्यो भन्दैमा भारत वा अमेरिकासम्म जान जरुरी छैन ।’

आफैंतिर नहेर्ने ?
नेताहरूलाई गाली गर्दैगर्दा आफूहरू पनि जिम्मेवार हुन नसकेको स्वीकार्छन्, किङरिङ । युवाले नेताहरूलाई जनताप्रति अनुत्तरदायी भएको भन्दै गाली गरे पनि उनीहरू आफैं राज्यप्रति कत्ति पनि जिम्मेवारी नभएजस्तो उनलाई लाग्छ । भन्छन्, ‘हामी स–सानो कुरा पनि ख्याल गर्दैनौँ । जेब्राक्रसिङबाट बाटो काट्दैनौँ र शहर अस्तव्यस्त भयो भनेर नेतालाई गाली गर्छौँ । चाउचाउ खाएर खोल बाटोमा मिल्काउँछौँ र शहर फोहोर भयो भनेर रिसाउछौँ । असभ्य राष्ट्र भन्दै आफ्नै देशलाई थुक्छौँ । हामी आफैं पनि गाली खान लायकका छौँ ।’

बाँस्कोटाको विचारमा युवा गैरजिम्मेवार हुनुमा पनि नेताकै दोष छ । युवा राजनीतिक कार्यकर्ताका नाममा विभाजित छन् र कुनै पनि राष्ट्रिय मुद्दा पार्टीको आँखाबाट हेर्ने गरेको उनको ठम्याइ छ । स्वतन्त्र भएर नसोच्ने बरु पार्टीको धारणालाई गलत नै भए पनि स्वीकार्ने प्रवृत्ति यहाँ रहेको उनको भनाइ छ । ‘नेताले नै बन्द, हड्ताल, आरोप/प्रत्यारोप गर्न सिकाउँछन् । हामीले कहिले पनि विपक्षी दलका नेताले एकअर्काको प्रशंसा गरेका सुनेका छौँ ? उनीहरू नै गाली गर्छन् त जनताले के सिक्छन् ?’ बाँस्कोटा प्रश्न गर्छिन् ।

अधिकारी भने बाँस्कोटाको कुरामा सहमत देखिँदैनन् । हरेक मान्छे आफ्नै कारणले दोषी रहेको उनी बताउँछन् । भन्छन्, ‘हाम्रो संस्कृति नै अरूलाई गाली गर्ने खालको छ । गाडीमा भीड भयो भने पनि नेता दोषी देख्छौँ हामी ।’युवा गैरजिम्मेवार रहेको कुरामा भने उनलाई शंका छैन । १२ कक्षा उत्तिर्ण गर्नेबित्तिकै विदेश पलायन हुनु अहिलेका युवाको कमजोरी रहेको उनलाई लाग्छ । विभिन्न दुव्र्यसनमा फस्नु युवाको अर्काे समस्या रहेको उनी बताउँछन् । बाँस्कोटा आफूले नेतृत्व पाएमा योजना बनाएर जनताका सामान्य आवश्यकताहरू शुरुमा पूरा गर्नतिर लाग्ने बताउँछिन् ।

भन्छिन्, ‘अहिले जसरी नेतालाई गाली गरिन्छ, त्यसरी गाली गर्ने मौका कसैलाई दिन्नँ। म आफूले गरेको कामप्रति जिम्मेवारी हुन्छु । कानून सबैका लागि बराबरी हो ।’ अधिकारी भने देशका लागि गर्नुपर्ने कामको खाका बनाउनुपर्ने कुरामा जोड दिन्छन् । भन्छन्, ‘यहाँ दलहरूको घोषणपत्रमा एकथोक लेखिन्छ तर काम भने कसैले घोषणापत्रअनुसार गरेको देखिँदैन । जनतालाई दैनिक झुक्याएर फाइदा केही छैन । हरेक नागरिकले वास्तविक कुरा थाहा पाउनुपर्छ ।’

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2