MENU

परीक्षा नियन्त्रण कार्यालय : पुरानै ढर्रा

635x90_1

रमन पौडेल /अन्नपूर्ण टुडे आइतवार, माघ १६, २०७३ 742 पटक पढिएको

Share This

635-X-85

१८पुस दिउँसो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको चौरमा सयौँ विद्यार्थी लामो लाइनमा थिए । दीक्षान्त समारोहका क्रममा तिरेको धरौटी फिर्ता लिन लामबद्ध भीडले परीक्षा नियन्त्रण शाखाको प्रशासनिक स्थिति झल्काइरहेको थियो । टुडे टोली परीक्षा नियन्त्रक केशवराज बाँस्तोलाको कार्यकक्षभित्र प्रवेश गरिरहँदा ढोकामै उनलाई गुनासो सुनाउन पर्खिरहेका थिए, पाँच जना ।

उनको कार्यकक्षभित्रै पुग्दा भने रत्नराज्यलक्ष्मी क्याम्पसका विपिन अधिकारी र गणेश खड्का गुनासो गर्दै थिए, ‘सर, परीक्षाका क्रममा केही गरेको छैन तर किन बिनाकारण दुई वर्षका लागि एक्सपेल भयौं ।’ नियन्त्रक बाँस्तोलाको जवाफ थियो, ‘परीक्षा हलमा केही भएको होला । अहिले केही उपाय छैन ।’ पाटन संयुक्त क्याम्पसमा बीए दोस्रो वर्षको परीक्षा दिएका खड्का अचानक निष्कासित भएपछि नियन्त्रककहाँ गुनासो पोख्न आइपुगेका थिए । नियन्त्रकको सकारात्मक जवाफ नआएपछि भने उनले शिक्षाध्यक्षकहाँ निवेदन दिएका छन् ।

‘कन्ट्रोलर सा’ब नमस्कार है,’ ढोकैबाट चर्को स्वरमा अभिवादन गर्दै दुई युवा भित्रै गए । र, ‘के छ कन्ट्रोलर सा’ब ?’ भन्दै हात मिलाए । ती युवाले टुडे संवाददातासँग पनि परिचय गरे । हतारिँदै भने, ‘ए सर ! ल ल पत्रकार महोदयलाई चिया ख्वाउनुप¥यो ।’ ‘तपाईंचाहिँ को ?’ प्रश्न खस्न नपाउँदै उत्तर आयो, ‘मचाहिँ ताहाचल क्याम्पसको नेविसंघ अध्यक्ष, रामकृष्ण लामिछाने ।’ त्यतिबेला दिउँसोको २ बजेको थियो । बीच–बीचमा कर्मचारीहरू विभिन्न कागजात लिएर नियन्त्रकको टेबुलमा आइपुग्थे ।

नियन्त्रकसँगको अनौपचारिक संवादको क्रममा ती विद्यार्थी नेता भने सोफामा बसेर बीच–बीचमा अप्रासंगिक कुरा कोट्याइरहन्थे, बेला–बेला अट्टहास हाँस्थे । ‘सर, म वसन्तबहादुर चौधरी । मेरो मार्कसिट,’ संवादकै क्रममा ढोकाबाट चियाउँदै हातमा मार्कसिट बोकेका एक युवक नियन्त्रकसँग भेट्न खोज्दै थिए । विद्यार्थी नेता लामिछानेले नियन्त्रकलाई उछिन्दै भने, ‘ए ए ! अघि शिक्षा मन्त्रालयबाट फोन आएको तपाईंकै हो ?’ मार्कसिट सच्याउन आएका वसन्तलाई नियन्त्रकले केहीबेर बाहिरै रोके ।

वसन्तले ढोकाबाट चियाएपछि बाहिरै पर्खेका अरू केही युवाले पनि ढोकाबाट नियन्त्रकलाई चियाउने क्रम दोहोरिइरह्यो । नियन्त्रक बाँस्तोला भने रिसाउँदै कतै फोन गरे, ‘के हो यार पारा । खै ! ढोकामा पाले ? मान्छेको यत्रो भीड छ । एक जना पाले बस्नु पर्दैन ?’

दिनहुँ दुई हजारको भीड
नियन्त्रकको कार्यकक्ष, जहाँ योजना बनाइन्छ । परीक्षा सम्बन्धी संवेदनशील काम हुन्छ । तर, उचित सुरक्षा छैन । सात लाख विद्यार्थीको केन्द्रका रूपमा चिनिइने नियन्त्रक कक्षको परिदृश्यले नै शैक्षिक र प्रशासनिक अव्यवस्था प्रस्ट्याउँछ । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा दैनिक करिब दुई हजार परीक्षार्थी÷सेवाग्राही मार्कसिट, रजिस्ट्रेसन, पुनर्योगलगायत काम लिएर पुग्छन् । मार्कसिट छपाइ, वितरणसम्बन्धी छुट्टै शाखा पनि छ यहाँ । तर, परीक्षार्थीहरू केही न केही समस्या लिएर कोठा नम्बर ९ (मार्कसिट शाखा) को झ्यालमा झुम्मिइरहन्छन् ।


keshavrajbastolaयो भीड मार्कसिट दिन र दीक्षान्तका लागि हो । यो सिजनेबल मात्रै हो । केशवराज बाँंस्तोला, परीक्षा नियन्त्रक, त्रिवि

सोही क्रममा पर्वतका वसन्त पौडेल मार्कसिट लिने शाखाको झ्यालमा भेटिए, जहाँ झण्डै सय सेवाग्राही मार्कसिट लिन पर्खिरहेका थिए । मार्कसिट त्यही कोठाभित्र छापिन्छ र झ्यालबाट वितरण गरिन्छ । झ्यालभित्रैबाट कर्मचारीले चिच्याएर नाम बोलाउँछन् । ‘दुई पटक भयो, एक पटक नाम, अर्को पटक नम्बर बिग्रिएर आयो,’ उत्तीर्ण भएको महिनौँपछि मार्कसिट लिन पुगेका साहित्यकार धीरेन्द्र प्रेमर्षि भन्दै थिए । त्यही हुलमा मिसिए उनी पनि । वसन्तको गुनासोमा सही थप्दै भने, ‘तँछाडमछाड गर्दै भीडमा बसेर मार्कसिट लिनुपर्ने । त्यसैमाथि बिग्रिएर आउने । यो सरकारी शैली कहिल्यै नसुध्रिने भयो ।’

परीक्षा नियन्त्रक बाँस्तोला भने हरेक परीक्षाको रिजल्ट भएपछि यस्तै भीड लाग्ने बताउँछन् । भन्छन्, ‘यो भीड सिजनेवल मात्रै हो । रिजल्ट भएपछि मार्कसिट लिने भीड । दीक्षान्तको लागि भीड ।’ स्नातक, स्नातकोत्तरलगायत तहका अन्तिम वर्षको परीक्षाफल प्रकाशित भएपछि परीक्षार्थीको भीड लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । यसरी लाग्ने भीड धेरैजसो मार्कसिट लिन र सच्याउन आउनेको हुन्छ ।

नियमित कामको सिलसिलामा लाग्ने भीडबाहेक पनि त्रिवि परीक्षा शाखामा हरेक दिन केही न केही गुनासो लिएर परीक्षार्थी आउने क्रम रोकिएको छैन । मार्कसिट र गोप्य शाखामै हुने कामका लागि समेत परीक्षार्थीहरू आफ्नो कार्यकक्षसम्मै आउने गरेको नियन्त्रक बाँस्तोला बताउँछन् ।‘कहिले त हुल बाँधेर आन्दोलन गर्नै आउँछन्,’ उनी भन्छन्, ‘हरेक परीक्षाफल प्रकाशित भएपछि प्रत्येक विषयमा पुनर्योगका लागि निवेदन पर्छन् । तर, पुनर्योग, पुनः नतिजा भने एक प्रतिशतको पनि सकारात्मक आउँदैन ।’

पुरानै शैली
हरेक दिन गुनासो आउने गरी कस्तो काम हुन्छ बल्खुमा ? पूर्वनियन्त्रक दयामान कर्माचार्य भने पुरानै शैली विद्यमान रहेको देख्छन् । भन्छन्, ‘काम गर्ने शैली र कर्मचारी पुरानै छन् । कर्मचारीसँग पनि आफ्नै सीमितता छ । नयाँ प्रविधिबाट काम गर्नुपर्छ । कर्मचारी पनि थोरै छन् ।’ हाल जनप्रशासन क्याम्पस रहेको जमलस्थित भवनमा सञ्चालित परीक्षा नियन्त्रण कार्यालय ०५४ सालमा बल्खु सरेको थियो ।

exam1

त्यहीबेला शुरु गरिएको शैली अझै फेरिन सकेको छैन । शिक्षाविद् डा. विद्यानाथ कोइराला भने नेपालको परीक्षा प्रणालीमै खराबी देख्छन् । भन्छन्, ‘जानी/नजानी लेटर ग्रेडिङ सिस्टम त आयो । तर, त्यसको विशेषता फेल/पास हुँदैन । तत्कालै नम्बर पठाउन सक्ने हिसाबले कम्प्युटरको अत्यधिक प्रयोग गर्नुपर्छ, जो भएकै छैन ।’ परीक्षा प्रणालीमा आमूल परिवर्तन गराउनुपर्ने सुझाव छ, डा. कोइरालाको ।

उनका अनुसार मल्टिभर्सिटी डिजाइन लागु गरियो भने परीक्षार्थीहरू एकै ठाउँमा कागजात बनाउन भनेर थुप्रिनु नपर्ने अवस्था आउनेछ । पश्चिमा मुलुकले अभ्यास गरेजस्तै मल्टिभर्सिटी यहाँ पनि लागु गराउन सम्भव भएको उनको सुझाव छ । डा. कोइरालासहितको टोलीले विश्वविद्यालय अनुदान आयोगमार्फत ‘हाइयर एजुकेसन क्वालिफिकेसन फ्रेमवर्क’समेत बनाएको छ । तर, यस्ता नीतिलाई लागु गर्न निर्णय क्षमताको आवश्यकता रहेको उनी बताउँछन् ।

पूर्वनियन्त्रक कर्माचार्य भने काम गर्ने शैली फेरेर मात्रै नहुने र नयाँ प्रविधिसँग ‘अपडेटेड’ कर्मचारी पनि चाहिने बताउँछन् । साथै, फारम भर्ने, मार्कसिट बाँड्नेजस्ता प्राविधिक काम भने क्षेत्रीय कार्यालयबाटै गर्न सकिने उनको सुझाव छ । दुई वर्षअघि कर्माचार्यकै पालामा मार्कसिट वितरण र फारम भर्ने जिम्मा विराटनगर, पोखरालगायत सबै क्षेत्रीय कार्यालयलाई दिने तयारी पनि भएको थियो, कर्मचारी अभावका कारण सफल हुन सकेन । ‘सबै काम बल्खुबाटै गर्न खोज्दा पनि कामको प्रभावकारिता नदेखिएको हो । क्षेत्रीय कार्यालयलाई अझै जिम्मा दिन सकिन्छ,’ उनी भन्छन् ।

पछिल्लो समय त्रिविअन्तर्गतका कलेजमा परीक्षार्थी संख्या बढ्दो भए पनि उत्तीर्ण प्रतिशत भने कम छ । यति झन्झटिलो कि, परीक्षार्थीको एउटै कापी रिजल्ट हुनु अघिसम्म ३/४ पटकसम्म ओहोर–दोहोर हुन्छ । परीक्षा केन्द्रबाट कापी बल्खु ल्याइन्छ । त्यसलाई प्याकिङ गरी जाँच्न पठाइन्छ । जाँच गरिसकेपछि कापी फेरि बल्खुकै सम्बन्धित गोप्य शाखामा संकलन गरिन्छ । यस्तो झन्झटिलो प्रक्रियाले पनि समयमा रिजल्ट हुन नसकेको बताउँछन् जानकारहरू ।

पुरानै शैलीमा काम गर्न असहज भएको नियन्त्रक बाँस्तोला पनि स्वीकार्छन् । नयाँ प्रणाली विकास गर्ने तयारी भइरहेको उनको दाबी छ । गत मंसिर मसान्तसम्म ‘डाटा’ स्थानान्तरणको काम सक्ने कार्यतालिका भए पनि अहिलेसम्म सकिएको छैन । बाँस्तोला भन्छन्, ‘अबको केही महिनामै नयाँ भर्सन लागु गराउनेछौँ । त्यसपछि तपाईंहरूले भीड देख्नुहुने छैन । मार्कसिट ढिलाइ र त्रुटिको समस्या पनि सल्टिनेछ ।’ परीक्षासम्बन्धी अधिकांश काम अनलाइनकै माध्यमबाट गराउने तयारी रहेको उनको भनाइ छ ।

यद्यपि, पहिलेको तुलनामा केही परिवर्तन भएको ठान्छन् बाँस्तोला । पहिले मार्कसिटका लागि १५/२० दिनपछि बोलाउने गरिएकामा अहिले एक सातामै दिने गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका चार वटा भवनमा २५ भन्दा बढी शाखाले अझै काम चुस्त रूपमा गर्न सकेका छैनन् । त्रिविअन्तर्गत एक हजार ८० कलेजबाट हरेक वर्ष आठ लाखले परीक्षा दिन्छन् । यस वर्ष मात्रै एक लाख विद्यार्थी पास भएकोमा ८३ हजार चार सय ‘ट्रान्स्क्रिप्ट’ वितरण भएको बताइएको छ ।

यसअघि ६३ हजार ट्रान्स्क्रिप्ट वितरण भएको थियो । गत भदौमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविमा छापा मारेको थियो । त्यसअघि ०७१ सालमै लेखा शाखाबाट अख्तियारले लगेका कागजात अझै फिर्ता गरेको छैन । केही कागजात फिर्ता दिइए पनि माइनुट र केही भौचर भने अझै फिर्ता गरेको छैन ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2