MENU

थारू चलचित्र : गोरेटो कता?

635x90_1

कृष्णराज सर्वहारी / अन्नपूर्ण टुडे मंगलवार, माघ २५, २०७३ 4504 पटक पढिएको

Share This

635-X-85

सिनेमा

पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो।

काठमाडौंको राष्ट्रिय नाचघरमा २९ जेठ ०७३ मा अर्को थारू चलचित्र महोत्सव भएको थियो। तर, त्यसमा थारू चलचित्रबारे कुनै तथ्य दिइएन। त्यसपछि थारू चलचित्र खासै नबनेकाले यसको संख्यामा बढोत्तरी भएको आकलन गर्न सकिन्न।व्यावसायिक रूपमा हलमा कम लाग्ने भएकाले चलचित्रको खास चर्चा/परिचर्चा हुन सकेको छैन। थारू चलचित्रमा सोही समुदायको समग्र जनजीवन कम, नेपाली तथा हिन्दी चलचित्रको नक्कल बढी हाबी रहेको बिडम्बनापूर्ण अवस्था छ।

ती चलचित्रले थारू समुदायको इतिहास, धर्म, कला, संस्कृतिलाई समेटेर पृथक ढंगको कथावस्तु पस्किन सकेका छैनन्। त्यसैले, सय हाराहारीमा रहेका थारू चलचित्रमा टप टेनको सूची पनि बनाउन गाह्रो छ। रेशम चौधरीको कमैया, अजित लामिछानेको बुह्रान, केएल पीडितको भूइँहार केही चर्चित थारू चलचित्र हुन्। थारू भाषाको पहिलो चलचित्र करम (०४६) हो। त्यसका निर्माता, निर्देशक, कथाकार, नायक एकै व्यक्ति परशुराम चौधरी (सुनसरी) हुन्। उनी अहिले पनि थारू चलचित्र निर्माण, निर्देशन, अभिनयमा सक्रिय छन्।

थारू चलचित्रकाे सबैभन्दा कमजाेर पक्ष भनेकाे कमजाेर कथावस्तु नै हाे । 

अझ एक कदम अगाडि बढेर उनकी पत्नी रेनु चौधरी पनि निर्देशकको सिंढीमा उक्लिएकी छन्। यसरी पति/पत्नी नै निर्देशक फाँटमा आएको नेपाली चलचित्रमा पनि शायदै कुनै जोडी होला। उक्त दम्पत्तिको ध्यान थारू चलचित्रलाई भोजपुरी, राजवंशी, बंगाली, सुरजापुरीलगायत भाषामा पनि डबिङ अभियान चलेको छ। अरु समुदायलाई पनि लक्षित गरी बनाइएको चलचित्रमा समग्र थारू जनजीवन प्राथमिकतामा पर्ने कुरै भएन।

निर्माणमा गैरथारू
थारू चलचित्र निर्माणमा गैरथारूहरू पनि आएका छन्। बरु, तिनले बनाएका चलचित्रमा थारू जनजीवन र संस्कृतिको यथार्थ झल्को पाइन्छ। अजित लामिछाने र श्रीराम लामिछानेले बनाएको बुह्रान थारूहरूको बसाइँ सराईमा आधारित यथार्थपरक चलचित्र बनेको छ। जमिनदारहरूको अन्याय, अत्याचार र शोषण सहन नसकेपछि दाङबाट पचासौं हजारको संख्यामा थारूहरू बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) झरेका हुन्।

तर, चलचित्रमा जाँड, रक्सी खाएर सम्पत्ति सकेर बसाइँ सराई गरेको अतिशयोक्ति देखाइनु यसको कमजोर पक्ष रहेको देखिन्छ। हालसम्म बुह्रान तथा लाज थारू चलचित्रले मात्र विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएको देखिन्छ।केएल पीडितको निर्माण, निर्देशनमा बनेको अर्को चलचित्र भूइँहारले पनि बुह्रानकै पदचिन्ह पछ्याउँदै थारू संस्कार र संस्कृतिको राम्रो दस्तावेजीकरण गरेको छ। तर, कमजोर कथावस्तुले यसलाई उपयुक्त गतिमा हिँडाउन सकेको छैन।

गुणस्तरको अभाव

थारू भाषामा बनाइएका चलचित्रमा गुणस्तरको अभाव छ। गायक, संगीतकार रेशम चौधरीको निर्माण/निर्देशनमा बनेको कमैयालाई थारू जनजीवन र उनीहरूको इतिहास समेटेको हालसम्म प्रदर्शित उत्कृष्ट चलचित्र भन्न सकिन्छ। यद्यपि, त्यो व्यवसायिक रूपमा हलमा व्यापक प्रदर्शन गरिएन। उनले अर्को चलचित्र निर्माण पनि गरेनन्। यसका नायिकाहरू आकृति दहित र बालिका चौधरी अर्काे चलचित्रमा देखा परेनन्। थारू चलचित्रको सबैभन्दा कमजोर पक्ष भनेको कमजोर कथावस्तु नै हो।

थारू चलचित्रको सबैभन्दा कमजोर पक्ष भनेको कमजोर कथावस्तु नै हो।कथाले नमागेपछि थारू जनजीवनको झल्को आउने कुरै भएन। कमैया चलचित्र निर्माणका क्रममा गरेको दुःख सम्झिँदै रेशम चौधरी भन्छन्, ‘मलाई काठले बारेको थारूहरूको परम्परागत चारकुने कुवा देखाउनु थियो। महिलाहरूका प्रायः कुरा हुने ठाउँ कुवा, पधेँरा नै हुन्। तर, त्यस्तो कुवा पाइएन। बल्लतल्ल काठकै गोलो कुवा बर्दियाको बठुवाताल गाउँमा फेला पर्‍यो।

जबकि, खर्चको हिसाबले मैले आफ्नै जन्म गाउँ कैलालीको जगतपुरमा सुटिङ गर्न सक्थें।’ कमैया चलचित्रमा थारूहरू किन, कसरी कमैया भए ? त्यसको यथार्थ चित्रण छ। कमैया बन्न बाध्य पार्ने मुल जमिन्दारलाई अन्तमा धपाउनुपर्ने सन्देश दर्शकले खोज्छन्। तर, गाउँमै थारू केटाकेटी पढाउन निजलाई उत्प्रेरित गरिएको छ र चलचित्रलाई समावेशी बनाउन खोजिएको छ।

सीमित बजार
थारू चलचित्र निर्माताहरू प्रायः कैलाली क्षेत्रका छन्। दाङ, बाँके, बर्दिया, कञ्चनपुरका युवाको खासै लगाव यस क्षेत्रमा देखिएको छैन। त्यसपछि एकैपल्ट पूर्वका सुनसरी, मोरङतिर थारू चलचित्र बनेको देखिन्छ। मध्यक्षेत्र चितवन, बारा, पर्सातिर पनि थारू चलचित्र बनेको देखिँदैन। पूर्व र पश्चिमको थारू भाषामा विविधता हुनाले यिनको प्रदर्शन आफ्नै क्षेत्रमा मात्र सीमित देखिन्छ।

परशुराम चौधरीले ‘भाग्यके रेखा’लगायत चलचित्र मुल पूर्वीय भाषामा सुटिङ गरेर पश्चिमा थारू तथा नेपाली भाषामा समेत प्रदर्शन गरेका छन्। विदेशमा पनि थारू समुदायको श्रमशक्ति खासै नभएकाले गुरुङ, मगरलगायत भाषाभाषीको झाै‌ त्यहाँ थारू चलचित्रको बजार छैन। बजार निकै सीमित भएकाले परशुराम चौधरी भारत, बंगलादेशलगायत दक्षिण एसियाली बजारमा आफ्ना चलचित्र पुर्‍याउन त्यहीँका निर्माताहरूसँग सहकार्यको हात बढाइरहेका छन्। नेपालमा पहिलो आदिवासी चलचित्र सिलु नेपाल भाषामा ०४४ सालमा प्रदर्शन भयो।

करम थारू भाषाको पहिलो र आदिवासीमा दोस्रो चलचित्र हो। ०४६ सालमा चलचित्र करम बनेको थियो, जसले तेस्रो भिडियो महोत्सव ०४९ मा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, नायक, कथा, पटकथा, सम्पादकलगायत ६ विधामा राष्ट्रिय पुरस्कार पायो। यी सबै विधामा परशुराम चौधरीको नाम थियो। आफूले बनाएका चलचित्रको बजार खोज्दै जाँदा चौधरी हल निर्मातासमेत भएका छन्।

भन्छन्, ‘चार करोड लगानी गरेर सुनसरीको झुम्कामा सिनेमा हल कम्प्लेक्स बनाएँ, दशैंबाट हलको शुरुवात भएको छ। पूर्वाञ्चलमा यो पहिलो अत्याधुनिक सिनेमा हल हो।’नायिका तथा निर्मात्री सोनु थारूले निर्माण गरेका ‘यी कइसिन नाता’, ‘डगर’ हुन्। सोनुको थारू चलचित्र ‘टुँ मिल्गैलो’को निकै चर्चा गरिए पनि प्रदर्शन हुन सकेन, बरु उनले ‘मोर जंग’ अर्को चलचित्र शुरु भएको जानकारी दिइन्।

सानो घेरा
थारू चलचित्रको निर्माता आफू नै प्रायः अभिनयमा पनि देखिन्छन्। अभिनयका क्षेत्रमा धेरै प्रतिभाको उदय भएको छ। तर, प्राविधिक पक्षमा गैरथारूहरूको नै वर्चस्व छ भन्दा फरक पर्दैन। रञ्जित रानाले धेरै थारू चलचित्र निर्देशन गरेका छन्। लक्ष्मण किशोर जोगेठ्वा थारू निर्देशनको क्षेत्रमा देखिएका छन्। थारू चलचित्रको, संगीत तथा गायन पक्षमा पनि गैरथारूहरूकै उपस्थिति छ।

थारू चलचित्र ‘अभागन बनल सुहागन’बाट चलचित्रमा प्रवेश गरेका विराज भट्ट अहिले नेपाली चलचित्रको उत्कृष्ट नायक मानिन्छन्। तर, कुनै थारू नायक/नायिकाले नेपाली चलचित्रमा पाइला बढाएको देखिँदैन। परशुराम चौधरी नेपाली चलचित्र बलिदानमा लामै भूमिकामा देखिए तर त्यसपछि थारू चलचित्रमै खुम्चिए। सोनु थारू, गोरन चौधरी केही चलचित्र र टेलिसिरियलमा स–सानो भूमिकामा झुल्किने गरेका छन्।

sonu-thapa_3
नायिका/निर्मात्री सोनु थारु

थारू चलचित्रमा लागिपर्ने थारू जनशक्ति मूलधारको नेपाली चलचित्रमा देखा नपर्दासम्म थारू चलचित्रले पनि समग्र गुणस्तरमा फड्को मार्ने देखिँदैन। राम्रो चलचित्र बनाउन के गर्नुपर्ला भनेर थारू चलचित्रकर्मीको गोष्ठी र सेमिनार आयोजनामा कसैले ध्यान दिएको देखिँदैन। ठूलो लगानी रहेका नेपाली तथा हिन्दी चलचित्रको दाँजोमा लगानी कम र समुदायमा आधारित कथा भएकाले जातीय चलचित्रले धेरै दर्शक तथा प्रशंसक नपाए पनि समयानुसार चलचित्रको व्यापारमा वृद्धि हुँदै आएकाले थारू चलचित्रको भविष्य राम्रो हुने आशा नायक तथा निर्माता शत्रुघन चौधरीको छ।

उनी भन्छन्, ‘भाषिक चलचित्रलाई बजार पाउन गाह्रै पर्छ तर हरेक पेसामा फाइदा मात्र हेरेर पनि भएन नि। जातीय चलचित्र आफ्नो समुदायको कथा–व्यथा पोख्ने प्लेटफर्म पनि हो।’ जातीय चलचित्र भनेको सस्तो मनोरञ्जनको साधन मात्र होइन, यो समाजको दर्पण पनि हो। त्यसैले जातीय चलचित्र निर्माण गर्दा चलचित्र विकास बोर्डद्वारा केही सहयोग गर्नुपर्ने थारूलगायत अन्य सबै जातीय चलचित्र निर्माणकर्मीहरूको जिकिर छ।

थारू चलचित्रको इतिहास पुरानो नभए पनि नयाँपन भन्न मिल्ने अवस्था छैन। कलाकारको कमी नभई थारू चलचित्र निर्माणमा दक्ष निर्देशकदेखि लिएर उत्कृष्ट कथाको छनोटको अभाव रहेको बुझ्न सकिन्छ। थारू चलचित्रकर्मीबाटै आफ्नो मौलिक र पृथक कथावस्तु बोकेको थारू चलचित्र बनाइएको हेर्न भने अझै लामै समय कुर्नुपर्ने देखिन्छ।

किनकि, थारू चलचित्र निर्माता तथा थारू साहित्यकारबीच कस्तो विषयमा चलचित्र बनाउने भन्नेबारे अझै पनि कुनै छलफल, अन्तक्र्रिया हुन सकेको छैन। गैरथारू निर्माताले महेशविक्रम शाहको चोखाउनीजस्तो कथामा डकुमेन्ट्री बनाएर विश्वबजारमा पुर्‍याइसके तर थारू निर्माताले विश्वबजारको बाटो पहिल्याउन सकिरहेका छैनन्।

रंगमञ्चले कलाकारको अभिनय खार्छ। तर, राजधानीमा थारू समुदायका मुद्दा केन्द्रित नाटक पनि फाट्टफुट्ट मात्रै मञ्चन भएका छन्। राजधानीमा स्वान संस्थाको पहलमा कमलरी (०६१) नाटक गुरुकुल बानेश्वरमा करीब दुई साता मञ्चन भएको थियो। यस्तै, शिल्पी काठमाडौं, शान्तिको लागि युवा सञ्जाल बर्दिया तथा कपिलवस्तु नाट्य समूह, तौलिहवाको संयुक्त आयोजनामा ८ वैशाख ०७० मा त्रिवि कीर्तिपुरमा ‘दहितान ढेंकी’ नाटक मञ्चन गरिएको थियो ।
१५–२३ पुसमा सर्वनाम थिएटरमा ‘भुरभुरा रहर’ मञ्चन भएको थियो।

दुई नाटकमा थारू भाषा आंशिक प्रयोग भए पनि भुरभुरा रहरमा पूरै भाषा थारू नै थियो। यस नाटकका लेखक सुशील चौधरी भन्छन्, ‘मैले पहिलो चलचित्र करमदेखि कुहिरा, गोनियक लागल, केरनी, बुह्रान, भुइँहार, कमैया, भौरा प्रायः थारू चलचित्र हेरेको छु। प्राविधिक पक्ष कमजोर भए पनि आफ्नै घटनामा आधारित विषयवस्तु भएकाले धैरेले रुचाएको देखिन्छ।


sushil

थारू चलचित्रको प्राविधिक पक्ष कमजोर भए पनि आफ्नै घटनामा आधारित विषयवस्तु भएकाले धैरेले रुचाएको देखिन्छ। तर, अभिनय पक्ष निकै कमजोर छ। सुशील चौधरी, नाटककार

तर, अभिनय पक्ष निकै कमजोर छ।’ उनको भनाइमा नियमित नाटक मञ्चन भई अभिनय क्षमता खारिएका कलाकार आए थारू चलचित्रको स्तर पनि उकालो लाग्नेछ। लामो समयपछि भौंरा चलचित्रको प्रदर्शनले थारू चलचित्रको बहसलाई सतहमा ल्याएको छ। यसका अभिनेता रोशन रत्गैया कलाकारको अभिनय निखार्नमा ‘भुरभुरा रहर’ नाटकले ठूलो भूमिका निर्वाह गरेको बताउँछन्।

भन्छन्, ‘भौंरामा म गाउँको अगुवा महटाँवाको भूमिकामा थिएँ। अभिनयले मलाई भाषा, संस्कृतिको संरक्षण, सम्बद्र्धनमा लाग्न साँच्चिकै हौस्याएको छ।’ भौंराका निर्माता नन्दुराज चौधरी सतही कथामा मात्र थारू चलचित्र बनिरहेकाले अब तथ्यपरक वृत्तचित्र निर्माणमा लाग्ने प्रेरणा दर्शकहरूबाट पाएको बताउँछन्। थारू चलचित्रमा मायाप्रीति, जमिनदारी, शोषण आदि कथावस्तु रहेको पाइन्छ।

विषयवस्तु राम्रो छनोट गरे पनि पटकथा बलियो नहुनु, प्राविधिक कमजोरी देखिनु तथा नेपाली र हिन्दी चलचित्रको नक्कल गर्नुले थारू चलचित्र मौलिक हुन नसकिरहेको नाटक लेखक चौधरीको बुझाइ छ । थारू समाज र संस्कृतिबारे लेखिएका लोककथा, कथा, उपन्यासबारे चलचित्रकर्मीहरूको ध्यान गएको देखिँदैन। चलचित्र निर्माणमा राज्यको सहयोग नहुनु पनि अर्को पक्ष हो। लगानीको अभाव पनि सोचनीय विषय हो।

थारू चलचित्र औसत १० लाखदेखि माथिको हारहारीमा बनिरहेका छन्। नायिकासमेत रहेकी व्यावसायिक चलचित्र निर्मात्री सोनु थारूले समेत चलचित्र खेलेवापत पारिश्रमिक दिन सकेकी छैनन्। बरु, उल्टै कलाकारले नाममात्रको अभिनय देखाउन पैसा खर्चिरहेका छन्। यस्तो अवस्थाले थारू चलचित्रको बजार उकास्दैन। थारू मात्रै होइन, आम आदिवासी चलचित्रको अवस्था यही स्थितिबाट गुज्रिरहेको छ।

निर्मात्री थारू भन्छिन्, ‘आदिवासी चलचित्रलाई टेवा दिनु सरकारको पनि दायित्व हो। सरकारबाट केही सहयोग पाइएन।’ चलचित्र प्रवद्र्धन बोर्डअन्तर्गत आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति पनि छ। समितिका नवनिर्वाचित सदस्य रामलाल चौधरी आफू थारू समुदायको भएको नाताले थारू चलचित्रको प्रवद्र्धनमा सरकारी तहबाट गर्न सकिने काममा दिलोज्यान बताउँछन्।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2