MENU

कथामा अभिमन्यु स्टन्ट

635x90_1

महेश पौड्याल शनिवार, माघ २९, २०७३ 952 पटक पढिएको

Share This

635-X-85

किताब

कथाकार अभिमन्यु निरवीलाई कथा लेखनको जोखिम सायद थाहा छ। दर्जनौं चलचित्र र टेलिफिल्मको पटकथा लेखेका उनलाई ताली र गालीको स्वाद पनि थाहा छ। चलचित्र पटकथा लेखनको पृष्ठभूमिबाट आएकाहरूका कथालाई पाठकहरूले अलि हतारोसँग 'फिल्मी' भन्दिने गरेको पनि सुनेकै हुनुपर्ने हो।

यदाकदा सस्ता र सेक्सी कथातिर बढी झुकेको आरोप पनि सामान्य नै हो। त्यसैले, एक्कासि कथाको संग्रह लिएर साहित्यको मैदानमा आएका अभिमन्युले माथि उल्लेखित प्रतिक्रियामाथि राम्रैसँग गृहकार्य गरेर मैदानमा पसेका छन् भनेर अनुमान गर्नु पाठकको अधिकारको कुरा हो। त्यसैले उनका कथामाथिको सम्यक तर निर्मम विमर्शका लागि निरवी सदैव तयार रहनु सर्वथा मनासिव पनि छ।

चर्चामै रहेका स्रष्टाका सामथ्र्यहरू सामान्य ज्ञानजस्तै हुन्छन् : सबैलाई थाहा भएका। आफ्नो पहिलो कथासंग्रह 'साउने झरी'मा २० कथाको वर्षात् लिएर आएका निरवीले पुनः आफ्ना ती सामथ्र्यहरूलाई स्थापित गरेका छन्। उनी समाजलाई सिंहको भन्दा पनि चराको दृष्टिले हेर्ने सष्टा भएको यथार्थ पुनः एकपटक पुष्टि भएको छ।

निकै ठूलो राजनैतिक, दार्शनिक, चमत्कारिक वा परिवर्तनकारी कुरालाई सोलोडोलो रूपमा अथवा सतही रूपमा हेर्नुभन्दा मान्छेभित्रका स-साना मनोवैज्ञानिक तरंग, ससाना सपना र यथार्थ, समाजको नेपथ्यमा पारिएका पात्रको सानो संसारको परिकल्पना आदि जमिनी कुरालाई सूक्ष्म ढंगले उठाउनु र केलाउनु उनको कथाकार व्यक्तित्वको एउटा पहिचान बनेको छ।

उनको रुचि विशेषतः महिला र पुरुषको मनोवैज्ञानिक र यौनिक प्रवृत्ति र तिनीहरूमाथि आइपर्ने आकस्मिकताहरूमा छ। वर्षौं लागाएर हुर्काएका रहर र सपनाहरूलाई साना र नगण्य परिघटनाहरूले पनि कसरी क्षणमै उडाइदिन्छ, त्यो देखाउन खप्पिस छन् निरवी।

तर, धेरै अवस्थामा यस्ता आकस्मिकताको खोजीले उनको कथालाई कुनै स्टन्टवाला पटाक्षेपतिर लान्छ, जुन कहिलेकाहीँ अस्वाभाविक पनि लाग्छ। तर पनि, उनी पूर्णतः काल्पनिक संसारबाट कथा टिप्नेभन्दा पनि आफूले देखेभोगेको भूगोलबाटै कथा टिप्ने कथाकार भएको हुँदा कथाको विश्वसनीयतालाई अक्षुष्ण राख्ने क्षमता कथाकार निरवीमा छ। एउटा कुरा प्रमाणित छ : निरवीका कथा सतही चाहिँ छैनन्। ती जीवनबोधबाट ओतप्रोत छन्।

कथाकार निरवीको कथाको रेन्ज निकै ठूलो छ। नेपाल—त्यो पनि राजधानी काठमाडौंदेखि विकट कालीकोटसम्म—तथा युरोप, मध्यपूर्व र अफ्रिकाका विभिन्न ठाउँमा समेत उनका कथा दौडन्छन्। उनका पात्रहरू गरिबदेखि नवधनाढ्य र अत्यन्त धनी र पहुँचवाला, अनपढदेखि शिक्षितसम्म र वृद्धदेखि तरुणसम्म छन्। अर्थात्, उनी नेपाली समाजको समग्र नाडीलाई छाम्ने इमानदार प्रयत्न गरेका छन्।

विषयवस्तुका हिसाबले पनि बढ्दो भूमण्डलीकरणसँगै फेरिँदो मानवीय मूल्य, सम्बन्धहरूको मक्किँदो धरातल तथा आम मान्छेभित्रै मडारिँदो प्रश्न र अनिश्चितताको हुन्डरी उनको आँखाले टिपेको समयबिम्ब हो। आकाशबाट हत्केलामै झरेका सपनाहरू आँखा खोल्दा बिलाउनु र फेरि कहिल्यै नभेटिनु उनका अधिकांश कथाहरूको नियति हो।

संग्रहको पहिलो कथा 'बाँसुरी' यस्तै एक मृगतृष्णाको कथा हो, जसमा कथाको प्रमुख पात्र सधैं साँझपख सुनिने बाँसुरीको सुमधुर धुनतिरै आकर्षित हुँदै, बाँसुरीवादक सुवर्णसँग लगभग एकतर्फी प्रेमसम्म पुग्छिन्। एक दिन दाइको बिहेको सौदा किन्न बजार जाँदा बाँसुरी बजाउँदै गरेको सुवर्ण बाटोमा भेटिन्छ। तर दाइको बिहेकै साँझ, सुवर्णसँग, पात्रकी आफ्नै साथी शान्ता पो भागी भन्ने खबर आउँछ।

शैलीगत दृष्टिले, विषेशगरी कथाको बैठानशिल्पका दृष्टिले यो एक प्रतिनिधि कथा हो, जसमा कथाकारको आकस्मिकताप्रतिको मोह छर्लंगिन्छ। यथार्थवादी कथाको प्रवाहमा यस्तो आकस्मिकता निकै रोमाञ्चकारी त हुन्छ, तर त्यसले कथाको विश्वसनीयतामाथि सधैं एक टुक्रो बादलको छाया भने घुमाइरहन्छ।


२० सुन्दर कथा बोकेको संग्रहले अभिमन्युका केही लेखकीय सीमा पनि सतहमा ल्याएको छ। सम्पादन गरिएको भनिए पनि उनको संग्रहभित्र सयौं भाषिक त्रुटि छन्। उत्तर त कथाकारले नै दिनुपर्छ।


यस्तै आकस्मिक र अनपेक्षित पटाक्षेप निरवीले आफ्ना अन्य कथामा पनि पस्केका छन्, जसमा उदाहरणका लागि हामी शीर्ष कथा 'साउने झरी' र अरू कथाहरू 'हारेको मान्छे', 'ट्युलिपको देशमा', 'फुलूको चिठी', र 'शरणार्थी सपना'जस्ता कथाहरूलाई लिन सक्छौँ। वास्तवमा यो स्टन्टवाला पटाक्षेपको शैली पुरानो भइसकेको छ। यथार्थवादी कथाको पटाक्षेपको सबैभन्दा ठूलो लक्षण त्यसको विश्वसनीयता नै हो, जो बृहत् यथार्थबाट निर्देशित र अनुमोदित हुन्छ।

निरवीको संग्रहमा 'छुटेको बस्ती' र 'बाइड' जस्ता साझा सामाजिक-आर्थिक मूल्य, र ती मूल्यहरूलाई जोड्ने सहिष्णुताको पक्षमा कुँदिएका, र कथाको शास्त्रीयताका दृष्टिकोणबाट पनि अत्यन्त परिपक्व कथा पनि छन्, जसको जगमा निरवीको कथाकार व्यक्तित्वको उत्कर्ष खोज्न सकिन्छ। 'छुटेको बस्ती'मा निरवीले द्वन्द्वग्रस्त नेपाली समाजको सहिष्णुताको बुनियादलाई ससाना साम्प्रदायिक र राजनीतिक स्वार्थले कसरी प्रभावित पार्छ, तर प्रेमको धरोहरले समाजलाई कसरी बाँधेर राखेको छ, त्यस सत्यको आख्यानीकृत स्वरूप निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन्। कथा मधेस आन्दोलनको जगमा बुनिएको छ।

आन्दोलन चर्कंदा पहाड र मधेस मूलका मानिसहरूबीचको सद्भावमा वैमनस्यता बढेको चित्रण गरिएको छ। मपात्रको परिवार मधेसबाट हेटौंडा बसाइँ सर्छ। पछि स्थिति साम्य भएपछि पुनः मधेस फर्कन्छ। त्यसताका मतियारहरू सबै परास्त अथवा पागल भइसकेका हुन्छन्। जनकपुरमा सद्भाव फर्किसकेको हुन्छ।

यसैगरी 'बाइड' कथा भरतपुरको मैथिली समुदायको जगमा उनिएको छ, जहाँ श्रमिक वर्गका ससाना खुसीको स्रोत, र ती स्रोतमाथि प्रकृतिले यदाकदा गर्ने प्रहार, तथा प्रशासनले गर्ने उपहासलाई प्रमुख कथ्य बनाइएको छ। घरका सामान्य आर्थिक संकट टार्नका लागि गोरु र तरकारी बेच्न हाटबजार हिँडेका बिल्टो मण्डल र पानोदेवी बाटोमा पर्ने मडहा खोलामा आएको बाढीका कारणले रोकिन्छन्।

बाटोमा पुल छैन, र बाढी शान्त होउञ्जेल पर्खनु उनीहरूका लागि आफ्नो दुरुह आर्थिक जीवनसँग नराम्रो सम्झौता गर्नु हो। धैर्यको बाँध टुटेपछि जसरी भए पनि खोलो तर्न होमिएका उनीहरू थप दुर्घटना र जोखिमका सिकार हुनुले गरिबको दृष्टिबिन्दुबाट जीवन र अभावको हृदयस्पर्शी मर्मकथा कथाकारले बुनेका छन्।

यस्तै उच्च साहित्यक मूल्य बोकेको उनको अर्को कथा 'रित्तो मझेरी' हो, जसले बदलिँदो समयसँगै टुक्रँदै गएको पारिवारिक मूल्य, सुनसान हुँदै गरेका घरआँगन, एक्ला हुँदै गएका वृद्ध बाआमा, र दिनदिन अमिलिँदै गएका मनहरूको मर्मकथा बोकेको छ। यसले लेखकीय विश्वदृष्टि पनि सतहमा ल्याएको छ। सो के भने, अभिमन्यु निरवी मूलतः मानवताका पक्षधर हुन्।

यस्तैयस्तै २० सुन्दर कथा बोकेको संग्रहले अभिमन्युका केही लेखकीय सीमा पनि सतहमा ल्याएको छ। सम्पादन गरिएको भनिए पनि उनको संग्रहभित्र सयौं भाषिक त्रुटि छन्। उत्तर त कथाकारले नै दिनुपर्छ। 'बाइड' कथामा कताकति पात्रहरू पूर्णतः मैथिली परिवेशमा पनि आधा वाक्य मैथिली र आधा नेपाली बोल्छन्, जसले संवादलाई अप्राकृतिक बनाएको छ।

कालीकोटको परिवेशमा बुनिएको 'फुलूको चिठी' कथामा डोट्याली भाषाको संवादको नेपाली अनुवाद कोष्टकमा राखिदिएर निरवीले पाठकको पठनक्षमताको अवमूल्यन गरेका छन्। कताकति, घटनाक्रमबाट पाठकले निकाल्नुपर्ने निचोडलाई उनी आफैं अघि सरेर राखिन्दिछन्, जसले पाठकलाई चिन्तन वा विश्लेषणका लागि कुनै स्थान नै छोड्दैन, र पाठक निष्क्रिय हुन वाद्य पनि हुन सक्छ। उदाहरणका लागि, सबै प्रतिकूलताको वर्णन गरेपछि एक ठाउँ उनी लेख्छन्, 'दुःख पाए। झन्डै ज्यान गएन।' तर यो कुरा अनावश्यक पुनर्कथनमात्रै हो। धेरै ठाउँमा छ यो दोष, यस संग्रहमा।

त्यसैगरी, कथाकार आफ्ना पाठकको निर्णय क्षमतामा पनि त्यति विश्वस्त देखिँदैनन्, र कथामा नैसर्गिक रूपले नै हुनुपर्ने सांकेतिकतालाई मिचेर आफैं निर्णय सुनाइदिन्छन्। उदाहरणका लागि 'फुलूको चिठी' कथामा उनी एक ठाउँ लेख्छन्, 'रहरहरू कहिलेकाहीँ रहरै भएर सकिने रहेछन्।' तर यो कुरा घटनाले देखाएपछि पाठकले आफैं भन्न सक्दैनन् र ?

सबै घटना पढेपछि, यसै कथामा पाठकले आफैं भन्न सक्दैन र, कि पैसा तर्जुमा गरेर सहर हिँड्न तयार भएको जितबबहादुरका 'आँखामा भोलिको सुन्दर भविष्य हाँसिरहेको छ', तर गाउँमा उसले छोडेकी फुलू भने 'एउटा कुरूप भविष्य सम्झेर रोइरहेही होली।' अगाडि, 'फुलू यो गाउँबाट जितबहादुर नजाओस् भन्ने चाहन्छे तर ऊ गएपछि फर्कनसमेत चाहँदैन',भन्ने कुरा त घटनैले देखाएपछि कथाकारले भन्नुपर्ने थिएन कि ? र अन्त्यमा, स्टन्ट शैलीको पटाक्षेपबाट त निरवीले निवृत्ति लिनु नै बेस देखिन्छ। पहिलो संग्रहमै विलक्षण परिपक्वता र गहिरो जीवनबोध पस्केका निरवी यी ससाना गम्भीर गृहकार्य गर्नु जरुरी छ, जसले उनको कथाको भविष्यमा ग्रहणहरूको सम्भावनालाई निमिट्यान्न पार्नेछ।

कथाकारः अभिमन्यु निरवी
प्रकाशकः लेजेन्ड बुक्स
मूल्यः ३५०/-
पृष्ठः २६६

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2