MENU

बजेटको भोलिपल्ट अख्तियारी

635x90_1

अन्नपूर्ण बिहीबार, फागुन ५, २०७३ 4433 पटक पढिएको

Share This

635-X-85

अन्नपूर्ण राउन्ड टेबल

काठमाडौः पुँजीगत शीर्षकको बजेट ठूलो परिमाणमा उब्रिने समस्या समाधान गर्न आउने आर्थिक वर्षको बजेट खर्च गर्ने अख्तियारी अर्थ मन्त्रालयले बजेट पेस भएको भोलिपल्ट जेठ १६ गते नै पठाउने भएको छ । बजेट जेठ १५ मा संसद्मा पेस हुन्छ ।

चालू आर्थिक वर्षको बजेट गत जेठ १५ मै प्रस्तुत गरिए पनि खर्चको अख्तियारी साउन १ गतेमात्र पठाइएको थियो । अख्तियारी ढिलो पठाउँदा चाँडो बजेट आउनुको फाइदा लिन नसकिएको सम्बद्ध अधिकारीहरूले अन्नपूर्ण पोस्ट्द्वारा आयोजित राउन्ड टेबलमा बताए ।

‘बजेट चाँडै पेस भए खर्च खुरुखुरु हुन्छ भन्ने ठानियो', अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख मधुकुमार मरासिनीले भने, ‘बजेट चाँडै पेस भए पनि अख्तियारी त पुरानै तिथिमा पठाइएको रहेछ ।'

बजेट पेस भएको ४५ दिन (जेठ १५-साउन १) सम्म बजेट कसरी चाँडै खर्च गर्ने भनेर सम्बद्ध मन्त्रालयमा गृहकार्यसम्म भएन । अबदेखि बजेटको भोलिपल्टै अख्तियारी पठाउनेबारे राष्ट्रिय योजना आयोग पनि सहमत भइसकेको छ । यसबाहेक आउने आर्थिक वर्षको बजेटको कार्यक्रम स्वीकृत गराउन योजना आयोग पुगिरहनु पर्दैन । ‘बजेटमा कार्यक्रम राख्दा योजना आयोगमै छलफल हुने, फेरि बजेटपछि कार्यक्रम स्वीकृत गराउन आयोगमै पुग्नपर्ने बाध्यताले प्रक्रिया अनावश्यक लम्बियो', उनले भने ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएका योजनामा समेत बजेट विनियोजन हुँदा पनि पुँजीगत शीर्षकको बजेट कम खर्च हुन्छ । अब डीपीआर नभई बजेट विनियोजन नगरिने भएको छ ।

पुससम्मको तुलना गर्दा ६ वर्षयता दोस्रो बढी खर्च चालू आर्थिक वर्षमै भएको मरासिनीले बताए । माघसम्म १६.९६ प्रतिशत पुँजीगत खर्च भएको छ । अर्थ मन्त्रालयले विभिन्न समयमा पुँजीगत शीर्षकमा बढी विनियोजन भएका मन्त्रालयसँग छलफल गरी खर्च बढाउने प्रयास गरिरहेको उनले बताए । ‘वर्ष दिनको लक्षित खर्चलाई हेरेर हामी पहिलो÷दोस्रो चौमासमा खर्च भएन भन्छौं, यस्तो नभई चौमासिक खर्चको लक्ष्य तोकिनुपर्छ', उनले भने ।

अन्य मन्त्रालयको समग्र प्रगति करिब १७ प्रतिशतको हाराहारीमा रहेकोमा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको प्रगति सन्तोषजनक मान्नुपर्ने उक्त मन्त्रालयका योजना महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए ।
पुससम्म पुँजीगत खर्च ८÷१० प्रतिशत रहेकोमा अहिले २६ प्रतिशत पुगेको छ । फागुन लागेपछि सडक कालोपत्र गर्ने काम सुरु हुने भएकाले आर्थिक वर्षको समाप्तिसम्म खर्च सन्तोषजनक हुने विश्वास उनले व्यक्त गरे ।

सडक विभागका लागि यस वर्ष करिब ६० अर्बको बजेट छ तर कम तापक्रम हुने र वर्षाको मौसममा कालोपत्र गर्ने काम नहुने भएकाले खर्च हुन सकेको छैन । पुँजीगत शीर्षकको बजेट शतप्रतिशत खर्च हुने अवस्थाका लागि डीपीआरलगायतका काम सम्पन्न नभई बजेट विनियोजन नगर्नुका साथै प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (इआईए), मुआब्जाका काम सम्पन्न हुनपर्ने सर्त राख्नुपर्ने उनको सुझाव छ ।

बजेटको आकारका साथै पुँजीगत शीर्षकमा विनियोजनमा भइरहेको वृद्धिका अनुपातमा कार्यान्वयन गर्ने निकाय र निर्माण व्यवसायीको क्षमता नबढेका कारण द्रुत गतिमा विकास निर्माणका काम हुन नसकेको अधिकारीले बताए ।

क्षमतावान निर्माण व्यवसायी उत्पादन गर्ने नीति बनाउने विषयमा सरकार उदासीन भए पनि मुलुकमा व्यवसायीको क्षमता बढेको निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले दाबी गरे ।

विदेशमा सरकारले निर्माण व्यवसायीको क्षमता विकासका लागि सुरुमा ठूला आयोजनामा विदेशी निर्माण कम्पनीसँग साझेदारीमा काम गर्न लगाउने, क्रमशः स्वदेशका निर्माण कम्पनीलाई प्रोत्साहन गर्ने गरिन्छ । यहाँ त स्वदेशी कम्पनी सक्षम भएको योजनामा पनि विदेशी कम्पनीसँग साझेदारी गर्न बाध्य पारिन्छ । निर्माण कम्पनीले पनि कागजमा मात्र विदेशी कम्पनीलाई साझेदार बनाएर कमिसन दिनुपर्ने अवस्था छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2