MENU

चाउमिनमा आत्मनिर्भर

635x90_1

केशर रोका बिहीबार, फागुन ५, २०७३ 1349 पटक पढिएको

Share This

635-X-85

प्यूठानः प्यूठान चाउमिन उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाका गाउँ गाउँमा उद्योगहरू खुलेपछि झण्डै २ वर्षदेखि जिल्ला यसमा आत्मनिर्भर बनेको हो । होटलहरूमा चाउमिन धेरै खाजाको रूपमा प्रयोग हुने गरेको होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपानेले बताए ।

‘तीनचार वर्षअघि चाउमिन जिल्ला बाहिरबाट खरिद गथ्र्यौं', उनले भने, ‘दुई वर्ष भयो जिल्लाकै उत्पादन प्रयोग भइरहेको छ ।' यसअघि बुटवल, भैरहवा, नारायणगढ र दाङबाट चाउमिन खरिद गर्ने गरिएको उनको भनाइ छ । हाल जिल्लाभर सानाठूला गरी झण्डै सात सयभन्दा बढी होटलहरू सञ्चालनमा रहेको बताउँदै उनले सबैलाई धान्नसक्ने गरी चाउमिन उत्पादन भइरहेको जानकारी गराए । ‘होटलमा धेरै बिक्ने चाउमिन नै हो', न्यौपानेले भने, ‘जति उत्पादन भए पनि होटलहरूले खरिद गरेका छन् ।'

बिक्रीका लागि समस्या नभएपछि विगत ७ वर्षदेखि निरन्तर चाउमिन उद्योग सञ्चालन गरिरहेको प्यूठान नगरपालिका–१० दाखाक्वाडीकी उद्यमी अम्बिका पौडेलले बताइन् । ‘ श्रीमान् भारतमा हुनुहुन्छ', उनले भनिन्, ‘छोराछोरी पढाउने र घरखर्च चलाउने पैसा यसैबाट जुटाएकी छु ।' दैनिक १ सय ४० किलो चाउमिन उत्पादन गर्ने उनले बताइन् । ‘बजारमा बिक्री गर्न जानुपर्दैन', पौडैलले भनिन्, ‘ग्राहक गाडी लिएर घरमै आउँछन् ।' चाउमिन बेचेर मासिक करिब १५ हजार रुपैयाँ आम्दानी हुनेगरेको समेत उनले सुनाइन् । उद्योगमा गाउँका दुई बहिनीहरूलाई रोजगार दिएको उनले बताइन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिजुवार, बाग्दुलासहित दाखाक्वाडी, पुण्यखोला, दम्ती, चुँजाठाटी, बरौला, बांगेसाल, खलंगा, रातामाटा, मच्छी, बडडाँडा, बाहाने, भिंगृ, नयाँगाउँ र गोठिवाङ लगायत क्षेत्रमा उद्योगहरू सञ्चालन भइरहेका छन् । सञ्चालित कुनै पनि उद्योग कार्यालयमा दर्ता नभएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्यूठानका प्रमुख उद्योग अधिकृत सुनिलकुमार शर्माले जानकारी गराए ।

‘वातावरणीय प्रभाव र जोखिम कम हुने भएकाले चाउमिन उद्योगलाई अनिवार्य दर्ता गर्नुपर्छ भन्ने छैन', उनले भने, ‘राज्यका सेवा सुविधा लिन चाहेमा दर्ता हुनुपर्छ ।' कार्यालयको तथ्यांकअनुसार हालसम्म दशवटा उद्योग दर्ता भई सञ्चालनमा रहेको उनले जानकारी गराए । मागको आधारमा उद्यमीहरूलाई ६० प्रतिशत अनुदानसहित उपर्युक्त प्रविधि हस्तान्तरण गर्ने व्यवस्था रहेको समेत उनले जानकारी गराए ।

लघु उद्यमीको क्षेत्रमा कार्यरत जिल्लाका विभिन्न सामाजिक संघ संस्थाले सञ्चालन गर्ने कार्यक्रममा पनि उद्यमीहरूको रोजाइ चाउमिन उद्योगमा बढी हुने गरेको पाइएको छ । ‘लघु उद्यम विकास कार्यक्रममार्फत वर्षेनि नयाँ उद्यमी सृजना गर्छौं', लामो समयदेखि लघु उद्यमको क्षेत्रमा कार्यरत रेकोडेफ प्यूठानका कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले भनिन्, ‘घरमै बसीबसी उद्योग चलाउन सकिने र बजार राम्रो भएपछि उद्यमीको आकर्षण बढेको पाइएको छ ।' धेरैजसो वैदेशिक रोजगारबाट फर्किएका र महिलाहरू उद्योगमा लागेका छन् ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2