MENU

विराटनगरमा ५१ किलो चरेससहित पाँच जना पक्राउ

635x90_1

किशोर बुढाथोकी शुक्रवार, फागुन ६, २०७३ 9004 पटक पढिएको

Share This

635-X-85

विराटनगरः नेपालबाट भारतको जोगवनी हुँदै कोलकातातर्फ लागूऔषध चरेस तस्करी हुने गरेको खुलासा भएको छ। नेपालमा बनाइने चरेस तस्करी गर्ने गिरोहले मुख्य रुटका रुपमा विराटनगरको सीमावर्ती जोगवनी नाकालाई प्रयोग गर्ने गरेको पाइएको हो।

भारततर्फ चरेस तस्करी गर्ने गिरोहमा संलग्न पाँच जनालाई प्रहरीले ठूलो परिणामको चरेससहित विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर–१५ स्थित न्यू शान्ति होटेलको तेस्रो तल्लामा रहेको पाँच नम्बर कोठाबाट ५१ किलो चार सय ग्राम चरेससहित बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार पक्राउ पर्नेमा मकवानपुर टिष्टुङ–५ का १८ वर्षीय प्रतापसिंह गोले, १९ वर्षीय बुद्ध बम्जन, काभे्रपलान्चोकको नयाँ गाउँ देउपुर –४ का १८ वर्षीय राम गुरुङ, १७ वर्षीय अरुण गुरुङ र धादिङ भुमेस्थान–१ का १८ वर्षीय मिलन राउत रहेका छन्। विशेष सूचनाका आधारमा पक्राउ परेका उनीहरुले काठमाडौंबाट ल्याएको चरेस भारतको कोलकातातर्फ लग्न लागिएको वयान दिएको भण्डारीले बताए।

प्रहरीले मोरङमा यति ठूलो परिणाममा चरेस बरामद पहिलो पटक भएको जनाएको छ। ‘चारवटा सुटकेसभित्र फल्स बटम बनाइराखेको अवस्थामा चरेस बरामद भएको हो,’ एसपी भण्डारीले भने,‘पक्राउ परेकाहरु विगत लामो समयदेखि चरेस भारत कटाउने धन्दामा संलग्न रहेको पत्ता लागेको छ।’ बाहिर कुनै पनि गन्ध नआउने गरी प्लाष्टिक लगायतका वस्तुहरुले प्याक गरेर प्रहरीले लगाउने बढी प्रोटेक्टर जस्तो बनाएको अवस्थामा चरेस फेला परेको उनले बताए।

उनीहरुका साथबाट चरेस प्याक गरिएका चारवटा प्याकेट, चारवटा सुटकेस, एक सय रुपैयाँका एक सय २० वटा र दुई हजारको एउटा गरेर १४ हजार रुपैयाँ भारतीय नोट, एक हजार रुपैयाँ नेपाली नोट र ६ वटा मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौंबाट विराटनगर आएको चिएलसी यातायातको पाँच जनाको टिकट, जोगवनीबाट कोलकाता जाने बिहीबारको रेलको टिकट, कोलकाताबाट जोगवनी आउने शुक्रबारको रेलको टिकट र पाँचै जनाको नेपाली नागरिकताको प्रमाणपत्र बरामद गरिएको एसपी भण्डारीले जनाए। पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत शुक्रबार मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

‘पक्राउ परेकाहरुले लामो समयदेखि जोगवनी हुँदै कोलकातासम्म चरेस पुर्‍याउने गरेको पाइयो,’ उनले भने, ‘त्यहाँबाट कता लैजान्छन् भन्नेबारे यकिन भइनसकेका कारण अनुसन्धान थालिएको छ।’ नेपालबाट कोलकाता पुर्‍याएपछि त्यहाँबाट जापान, मलेसिया लगायतका तेस्रो मुलुकतर्फ चरेस लग्ने गरिएको प्रहरीको आशंका छ।


720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2