MENU

सात वर्षमा पनि बनेन मोटरेबल पुल

635x90_1

सीता निरौला बिहीबार, चैत ३, २०७३ 2913 पटक पढिएको

Share This

635-X-85

ताप्लेजुङः तीन वर्षभित्रै काम सक्ने सम्झौताअनुसार ७ वर्षअघिबाट निर्माण सुरु गरिएको ताप्लेजुङको तमोर नदीस्थित दोभान पुलको निर्माणकार्य ठेकेदारको बेवास्ता र ढिलासुस्तीका कारण अलपत्र परेको छ ।

०६६ मंसिर २१ मा तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले शिलान्यास गरेको पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भएको थियो । तर कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौताअनुसार काम गर्न नसक्दा पुलको निर्माणकार्य अलपत्र परेको हो ।

प्राविधिक समस्या देखाउँदै ठेकेदारले निर्धारित मितिमा काम नसक्दा सरकारले पुनः २०७३ असोज १५ गतेसम्म काम सम्पन्न गरिसक्न म्याद थप गरेको थियो । तर निर्माणकार्यले गति लिइरहेको अवस्थामा गत साउन १ गते तमोरमा आएको बाढीले निर्माणाधीन अवस्थाको पुल बगाएर लगेपछि पुलको निर्माणकार्य अझ पछाडि धेकेलिन पुग्यो ।

पुलमा बाढीले क्षति पुर्‍याएपछि पुनः मंसिर अन्त्यदेखि काम सुरु गर्ने भन्दै निर्माण कम्पनीले स्थानीय बासिन्दालाई आश्वासन दिएको थियो । तर फागुन बितिसक्दासमेत कम्पनीले पुल निर्माणको काम सुरु नगर्दा ताप्लेजुङवासी चिन्तित बनेका छन् । पुल निर्माणको काम सुरु नहुँदै यो वर्षको हिँउद बित्न लागेकाले पुलको भविश्य थप अन्योलमा परेको दोभान बजारका भोला पौडेल बताउँछन् ।

११ करोडको लागतमा निर्माण हुने ७५ मिटर लम्बाइको पुलको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भएको थियो । लगभग निर्माण सम्पन्न हुनै लाग्दा बाढीले पुल बगाएकाले निर्माणकार्यमा समस्या उत्पन्न भएको याक्थुङहाङ जेभी कम्पनीका रामप्रसाद मैनाली बताउँछन् । करोडौं घाटा सहेर पनि आगामी वैशाखदेखि जेठ लाग्दासम्ममा निर्माणको काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले पुल निर्माणका लागि आवश्यक सामान ढुवानी गर्ने काम अघि बढाइएको उनको भनाइ छ । उनले कतिपय सामान भारतबाट ल्याउनुपर्ने र यसका लागि प्रक्रिया लामो हुने भएकाले थप गरिएको म्यादभित्रै काम नसकिएको बताए ।

यसअघि पनि ठेकेदार कम्पनीले निर्माण स्थलमा राखिएका पुल निर्माणका सामान तमोरले बगाएको, पुल निर्माणका लागि चाहिने सामान उत्पादनमा हुलास कम्पनीले उदासिनता देखाएको, नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण हुलासले कच्चा पदार्थको अभावका कारण सामान उत्पादन गर्न नसकेको जस्ता बहाना बनाएर सडक विभागसँग पुल निर्माणको म्याद थप गरिरहेको थियो ।

पुलको नियमन गरिरहेको उत्तर-दक्षिण लोकमार्ग आयोजनाका प्रमुख इन्जिनियर कुबिर नेपालीका अनुसार निर्माण कम्पनीले सम्झौताअनुसार काम नसक्दा हाल जरिवाना तिराएर पुल निर्माणको काम अघि बढाइएको छ । सम्झौताअनुसार काम नसकेपछि निर्माण कम्पनीले कुल लागतको दैनिक ०.०५ प्रतिशतका दरले सरकारलाई अहिले जरिवाना तिरिरहेको छ । पुल निर्माणको कामलाई वर्षायाम सुरु हुनुअघि नै अर्थात् वैशाखसम्ममा सम्पन्न गर्न आपूmहहरूले पनि सक्दो ताकेता गरिरहेकाले पछिल्लो समय ठेकेदार कम्पनीले पनि सामान ढुवानीको कामलाई उच्च प्राथमिकता दिएको इन्जिनियर नेपालीले बताए ।

तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान, इटहरी, विराटनगरजस्ता प्रदेश नम्बर एकका प्रमुख सहरसँग ताप्लेजुङको सम्बन्ध जोड्ने यो पुललाई ताप्लेजुङको विकासको प्रमुख खुड्किलोको रूपमा हेरिएको छ । जिल्लाका २३ गाविसलाई जोड्ने यो पुल नबन्दा स्थानीय बासिन्दा अहिले पनि दोभान बजारबाट भारी ओसारेर खान बाध्य छन् । सम्झौता भएको सात वर्षमा पनि पुल निर्माणकार्य नसकिँदा जिल्लाको निघुरादिन, फूलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थुकिमा, नाल्बु, पापुङलगायतका दुई दर्जनभन्दा बढी गाउँ विकासको दृष्टिले पनि ओझेलमा परिहेका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2