MENU

सजाएको खाना देख्दा खाउँ खाउँ

635x90

विनीता मरहट्टा शुक्रवार, चैत ४, २०७३ 768 पटक पढिएको

Share This

कपालको शैलीले व्यक्तिको आकर्षण र व्यक्तित्व बढाउँछ । तर, आकर्षक व्यक्तित्वका लागि लवाइमात्रै होइन खवाइमा पनि ध्यान दिनुपर्छ । यिनै विषयमा आफ्नो अनुभव साटेका छन् हेयर स्टाइलिस नीलडेभिड कटवालले । हेयर स्टाइलिस बन्छु भनेर कहिल्यै नचिताएका उनी अहिले यही पेसाका कारण सेलिब्रेटी जीवन बिताइरहेका छन् ।

पहिले खानाको विषयमा उनी त्यति सचेत थिएनन् । अहिले आफूलाई उनले निकै व्यवस्थित बनाएका छन् । खाने कुरामा निकै चुजी र कन्सस पनि बनेका छन् । बिहान हलुका ब्रेकफास्टबाट सुरु हुने उनको खानपानको दैनिक उस्तैचाहिँ हुँदैन । स्वदेश एवं विदेशमा उत्तिकै समय बिताउने गरेका उनी दिउँसोको खानामा उसिनेको तरकारी, बेलुकीको खानामा ओट्स र साग मन पराउँछन् । थकाली खाना, मम र पास्ता उनलाई मन पर्ने परिकार हुन् । स्वास्थ्य र तन्दुरुस्तीका लागि सकभर थोरै खाने प्रयास गर्छन् । जंक फुड सकभर खाँदैनन् । प्रायः घरमै खाना खान रुचाउने उनी सातामा एकपटक विभिन्न रेस्टुराँ एवं कहिलेकाहीँ थकाली खाना खान जाने गरेका छन् ।

खाना पकाएर सर्भ गर्दा हेर्दै खाऊँखाऊँ लाग्ने हुनुपर्छ । मलाई कुलिनरी आर्ट पनि कपाल सजाएजस्तै लाग्छ । गाँजर, काँक्रोको स्लाइस काट्दा कपाल काटेजस्तो लाग्छ ।

पछिल्लो समय उनी मद्यपानमा पनि निकै कन्सस भएका छन । सोसियल ड्रिंकरका रूपमा आफूलाई प्रस्तुत गर्छन्, त्यो पनि कुनै विशेष कार्यक्रम र नजिकका साथीहरूलाई साथ दिनमात्र । धूमपान त उनका लागि परकै कुरा भयो । हेयर स्टाइलिस नीलको विचारमा खाना बनाउनु एउटा विशेष कला हो । त्यसलाई आकर्षक ढंगले प्रस्तुत गर्नु अर्को महत्ववपूर्ण पक्ष । स्वस्थ खाना तयार गर्न जति सीप चाहिन्छ त्यसलाई हेर्दै खाऊँखाऊँ लाग्ने बनाउनु पनि त्यत्तिकै आवश्यक हुन्छ । जसरी कपाललाई नयाँ शैली दिएर उनी चम्किए त्यसैगरी खाना बनाउने कलामा पनि उनको दक्षता त्यत्तिकै छ । ‘फुर्सदमा आफूलाई मन पर्ने पास्ता बनाउँछु', नीलले भने, ‘साथीहरू मैले बनाएको अफगानी चिकन सारै मन पराउँछन् । भारतमा बसेर पढ्दा अफगानी साथीबाट मैले यो परिकार बनाउन सिकेको हुँ ।'

घरमा उनका साथीहरूको जमघट हुँदा सबैको चाहना अफगानी चिकन नै हुन्छ । हुन त उनी नुडल्स बनाउन पनि खप्पिस छन् । जसरी कपाललाई सुन्दर शैलीमा ढालेर व्यक्तिलाई आकर्षक बनाउँछन् त्यसैगरी खाना सजाउन पनि उनलाई त्यत्तिकै जाँगर चल्छ । ‘खाना सजाएर सर्भ गर्दा हेर्दै खाऊँखाऊँ लाग्ने हुनुपर्छ', नीलले भने, ‘मलाई कहिलेकाहीँ कुलिनरी आर्ट पनि कपाल सजाएजस्तै लाग्छ । गाँजर, काँक्रोको स्लाइस काट्दा कपाल काटेजस्तो लाग्छ ।' नीलको विचारमा कपाल काटेरमात्र हुँदैन, त्यसलाई सुहाउँदो रङ पनि दिनुपर्छ । खानामा पनि उस्तै नियम लागू हुन्छ । खाना सजाउने कला राम्रो भयो भने त्यसले आकर्षित गर्छ । खाऊँखाऊँ लाग्छ । मनले मागेर खाएपछि मजा पनि आउँछ ।

पहिले चिल्लो, पिरो, मसलेदार खाना खाने ग्राहक बढी हुन्थे; अहिले हाइजेनिक र हल्का खाना खाने ग्राहक बढेका छन् ।
नारायणप्रसाद लामिछाने सञ्चालक, होटल मरुन

हेयर स्टाइलिस कटवालले सिनामंगलस्थित होटल मरुनमा खानाको स्वाद लिँदै आफ्नो अनुभव सुनाएका हुन् । मरुनमा उनले आफूलाई मन पर्ने परिकारमध्ये चिकन मम र मटन सेकुवा अर्डर गरे । ममका पारखी उनले धेरै ठाउँमा ममको स्वाद लिएका छन् । मरुनको मममा उनले नेपालीपनको स्वाद पाए । सेकुवा पनि उनलाई स्वादिलो लाग्यो । सेफको प्रशंसा गरे । मरुनको नेपाली खाना सेटसमेत लिएका उनलाई नुन टाठो भएको खाना मन पर्छ।

नारायणप्रसाद लामिछानेले अढाई वर्षअघि खोलेको यो होटेल सिनामंगल क्षेत्रमा जमघट हुनेको रोजाइमा पर्छ । आफ्ना पाहुनालाई परिवारजस्तै व्यवहार गर्ने लामिछानेको स्वभाव नीललाई निकै मन पर्यो । लगभग ५० जनालाई एकै पटक खाना खुवाउनसक्ने यो होटेल सस्तो र गुणस्तरीय खाना खुवाउने भएकाले छोटो समयमै लोकप्रिय बनेको छ । ‘पहिले चिल्लो, पिरो, मसलेदार खाना खाने ग्राहक बढी हुन्थे अहिले हाइजेनिक र हल्का खाना खाने ग्राहक बढेका छन्', लामिछानेले भने ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1