MENU

दुस्वप्नजस्तो एउटा विपना

635x90_1

जेबी दर्लामी शनिवार, चैत ५, २०७३ 3821 पटक पढिएको

Share This

635-X-85

‘सुमनको बाबा मेरो कान किन यस्तरी दुखिरा'छ ? ' बिहानै उसले फोनमा भनेकी थिई । रातभर निदाउन नसकेको जस्तो स्वर थियो । हो रहेछ । अघिल्लो साँझ उसले भिडियो च्याटमा कुरा गर्न खोजेकी थिई । सधैं कुरा हुन्थ्यो तर त्यो साँझ खै के मिलेन, सम्पर्क हुनै सकेन ।फोनमा कुरा भएको थियो तर उसले आफूलाई निको नभएको सुनाएकी थिइन । परदेशमा लोग्नेलाई तनाव नदिने उसको मनसाय थियो होला । त्यसै पनि ऊ निकै सहनशील थिई । सानोतिनो शारीरिक समस्यालाई समस्या नै ठान्दिनथी ।

त्यो बिहान उसले कान दुखेको सुनाएपछि मैले बेवास्ता गर्न सकिनँ । सानो दुखाइ भएको भए पक्कै उसले एकाबिहानै त्यसरी बताउने नै थिइन । अनि उसैले भनेकी थिई, ‘दिउँसो सरकारी अस्पतालमा जँचाउन जाने सोच्दैछु ।' उसलाई सरकारी अस्पतालको साटो निजी क्लिनिक जान भनेँ । तिनको उपचार गर्ने तौरतरिका के कस्ता छन् त्यो त मलाई धेरै थाहा थिएन तर सन्धिखर्कका गल्लीगल्लीमा निजी अस्पतालहरू खोलिएका छन् भन्ने चाहिँ थाहा थियो ।ऊ दिदीसँग सरकारी अस्पताल गइछ । डाक्टरले सामान्य संक्रमण हो भन्दै कानमा लगाउने र खाने औषधि दिएर पठाएछन् । त्यो दिन केही सुधार पनि भएछ तर अर्को दिन दुखाइ उस्तै धेरै भएपछि ऊ फेरि त्यही डाक्टरलाई भेट्न गइछे । डाक्टरले हिजैको कुरा भनेर फर्काएछन् । तर दुखाइको चाप निरन्तर बढिरहेपछि उसलाई दिदीहरूले निजी अस्पतालमा लिएर जानुभएको रहेछ । त्यहाँको डाक्टरले जन्डिस देखा परेको भन्दै सामान्य उपचार गरेछन् अनि मुख बार्नेदेखि घरेलु औषधोपचार गर्नेसम्मको सल्लाह दिएर फर्काइदिएछन् ।

त्यो साँझ पनि नियमितजस्तै ऊसँग कुरा गर्न खोजेको थिएँ । औषधिले होला, सम्साँझै ऊ निदाइसकेकी थिई । भाइसँग कुरा भएको थियो । केही घरेलु औषधि र अस्पतालले दिएको औषधिले धेरै नै सुधार भएको खबर पाएँ । भाइले यति बताएपछि ढुक्कले निदाएको थिएँ ।अर्को दिन पनि पक्कै निको लाग्दै होला भन्ने विश्वासका साथ बिहान अलि ढिलोगरी फोन गरेको थिएँ । तर मेरो आशा र विश्वासविपरीत उसलाई रातभरि पखाला चलेको रहेछ ।

लखतरान अवस्थामा उसलाई आफन्तहरूले हिजो लगेकै अस्पताल पुर्‍याएको खबर पाएँ । मन बेस्सरी आत्तियो । हतप्र्रभ नै बनेँ म । त्यस हप्ता दिउँसोको काम थियो । ड्युटीमा यताउता नसोँची बस्नुपर्ने । तर मन कहाँ मान्थ्यो र ? घरिघरि चर्पीमा लुक्दै फोन गरिरहेँ । सन्धिखर्कको निजी अस्पतालले भिडियो एक्सरे आदि गरिसकेपछि बिरामीलाई तुरुन्तै भैरहवा लैजानु भनेछ । बाबा र दिदीले ट्याक्सीमा राखेर उसलाई भैरहवा मेडिकल कलेज पुर्‍याउनुभएछ ।

फोन निरन्तर गरिरहेँ । फोनमात्र त गर्न सक्थेँ म । अरू त के नै गर्न सक्थेँ र ? लाचार थिएँ, विवश थिएँ । ऊ र म मिलेर सुरु गरेका थियौं जीवनको नयाँ अध्याय । सँगै देखेका सपनाहरू थिए । सजाएका केही रहरहरू थिए । जीवनको अन्तिम बिसौनीसम्म हात समाइहिँड्ने लालसा थियो । जीवनलाई सोंचेजस्तो नसही सक्दो त सुन्दर बनाउँ भनेर दुई चल्लाहरूलाई उसको काखमा छोडी परदेश हान्निएको थिएँ । अनि जब ऊ थला परेकी छे भन्ने थाहा पाएँ नछटपटाई कसरी रहन सक्थेँ ? काम सकेर होस्टेल फर्कन पनि सकिनँ । दिनभरि ड्युटीमा उभिएँ, अनि रातभरि बाथरुममा बसेर रोएँ ।

भैरहवाबाट दिदी र बाबाले बिरामीको अवस्थाबारे बताइरहनुभयो । त्यहाँ पुर्‍याएदेखि नै उसलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । पहिलो दिन केही सुधार भएको छ भन्ने सुन्न पाउँदा मन अलि हलुका भयो । उसलाई रगत दिनुपर्ने भएछ । बिरामीलाई टिठ्याएर मेडिकल कलेजकै एकजना डाक्टरले रगत दिएको भनेर सुनेँ । एकजना प्रहरीले पनि रगत दिनुभएको थियो रे ।

तर रक्तचाप एकदमै कम भएको हुँदा तत्काल रगत दिन सकिएनछ । त्यसको अर्को दिन हिजो तयार पारिएका रगतका पोकाहरू काम नलाग्ने भइसकेका रहेछन् । बाबा र दिदीको धपेडी मैले परदेशबाटै महसुस गरिरहेको थिएँ । बिरामीको त के कुरा गर्नु ? उफ् ! ऊ कहाँ बिरामी थिई र ? ऊ त म स्वयं थिई । मेरो जीवन थिई । ऊ मेरी सरिता थिई । उसको हाँसो, उसको खुसी सबै मेरो थियो । अनि उसको दुःख कसरी उसको मात्र हुन सक्थ्यो ? म ऊसँगै अस्पतालमा थिएँ । उसको छेउमा बसेर लगातार रोइरहेको थिएँ । परदेशमा त केवल मेरो लाचार शरीरमात्रै थियो । मेरो मनप्राण ऊसँगै छट्पटाइरहेको थियो ।

दोस्रो दिन अर्थात् २०७३ मंसिर ८ गते मैले फेसबुकमा सूचना राखेँ । सामाजिक सञ्जालमा जोडिनुभएका धेरै साथीले चासोमात्रै दिनुभएन आआफ्नो ठाउँबाट सक्नेसम्मको सहयोग गर्नुभयो । साथी विष्णुमणि अधिकारीमार्फत धेरैजना रगत दिन तयार हुनुभयो । तीनचारजनाले आएर रगतदान गर्नुभयो पनि । जतिखेर फोन गरेर सोध्दा पनि बाबा र दिदीको जवाफ एकै हुन्थ्यो - ‘बिरामीको अवस्था सुधारोन्मुख छ । ठीक होला । चिन्ता नगर्नू ।'
सरितालाई चाहिए जति रगत दिइसकेको पनि सुनेँ । अब ऊ निको हुनेछ भन्ने कल्पनाले मनमा केही ढाडस भइरहेको थियो ।

तर तेस्रो दिनको साँझ उसलाई एक्कासि श्वासप्रश्वासमा कष्ट भएछ । अनि आईसीयूबाट निकालेर भेन्टिलेटरमा राखिएछ । त्यो सघन उपचारकक्षमा पनि उसको स्वास्थ्य अवस्थामा कुनै सुधार भएनछ । अनि मंसिर १० गतेको बिहानीपख डाक्टरहरूले उसलाई यो संसारबाट बिदा भइसकेको घोषणा गरिदिएछन् । बाबा र दिदीको फोनमा सम्पर्क हुनै सकेन । मलाई शंका लाग्यो । साथी भक्त सारू पनि जानुभएको थियो अस्पतालमा । उहाँसँग सोधेँ । भीजेको बोलीमा उहाँले सबै अवगत गराउनुभयो । हातखुट्टा लल्याकलुलुक त हिजै भएको थियो । काम गर्न नसकेपछि होस्टेलमा आएर बसेको थिएँ । खबर सुनेपछि मेरो शरीर चिसो बन्यो । लाग्यो, म मरेँ । केवल श्वास चल्ने शरीरमात्रै रह्यो ।

कुन्नि किन हो जहिल्यै सरितालाई गुमाउँछु कि भनेर सधैं चिन्ता गर्थें । जहिल्यै मेरोभन्दा उसको आयु लामो होस् भनेर मनमनै कामना गर्थें । तर उसलाई आफूभन्दा अघि अझ यति कलिलै उमेरमा बिदा गर्नुपर्ला भनेर त मैले कहिल्यै चिताएको थिइनँ । शुक्रबारको त्यो दिन मेरो र परिवारको लागि दुःखद् बनेर आयो । सरितालाई भैरहवा लगेदेखि नै कम्पनीमा सबै हाल बताएको थिएँ । चार वर्ष पुग्न एक महिनामात्रै बाँकी थियो । मैले कि छुट्टी दे कि त नफर्कने गरी घर जान दे भनेर सुपरभाइजर, म्यानेजर र एमडीसँग पनि पटकपटक हात जोडेको थिएँ । तर उनीहरूले बाँकी रहेको एक महिना पूरै काम गरेरमात्र घर जान पाउने भनिरहे । मेरो आँसुको खोलाले पनि उनीहरूको कठोर मन पगाल्न सकेन ।

पुराना चिनजानका साथीहरूलाई भनेँ । साहित्यकार जीवन देवान ‘गाउँले' र पत्रकार रवि भट्टले निकै ठूलो गुन लगाउनुभयो । उहाँहरूले दूतावास जाने सल्लाह दिनुभयो । हुन पनि मसँग दूतावासको शरणबाहेक अरू विकल्प थिएन । त्यही शुक्रबार दिउँसो मैले होस्टेल छाडेँ । अझै पनि मलाई सरिताको मृत्युको खबर पत्याउन गाह्रो भइरहेको थियो । दिउँसो भैरहवा अस्पतालले बनाइदिएको उसको मृत्युको प्रमाणपत्र मेरो इमेलमा आयो । त्यो प्रिन्ट गरेर निकाल्नु कति कष्ट थियो, कसरी शब्दमा पोखुँ ? सायद श्रापित थिएँ म र त बाध्य भएँ सबैभन्दा प्रिय पात्रको मृत्युको अभिलेखीकरण गर्न । कुनै समय सोचेको थिएँ, कमाउन सकियो भने उसलाई आफूले दुःख गरेको देश घुमाउन ल्याउँछु । त्यो दिन कहिल्यै आएन । सट्टामा आयो, उसको मृत्युको प्रमाणपत्र । त्यही प्रमाणपत्र हातमा समातेर कोतारायाको भीडमा रुँदै हिँडिरहेको मेरै अनुहार थियो ।

कुनै समय सोचेको थिएँ, कमाउन सकियो भने उसलाई आफूले दुःख गरेको देश घुमाउन ल्याउँछु । त्यो दिन कहिल्यै आएन । सट्टामा आयो, उसको मृत्युको प्रमाणपत्र । त्यही प्रमाणपत्र हातमा समातेर कोतारायाको भीडमा रुँदै हिँडिरहेको मेरै अनुहार थियो ।

सबै कुरा सपनाजस्तै लागिरहेको थियो । जम्मा चार दिनको अस्पताल बसाइमै सरिताले हामीलाई छाडेर गएकी थिई । ऊसँग बितेका डेढ दशकको एकएक सम्झना छ मसँग । उसँग बिताएका क्षणहरूको सम्झना नै बाँच्ने बहाना बन्नेछ । त्यही भ्रमजस्तो यथार्थले डामेको मनोदशामा अर्धजीवित जस्तै भएर म मलेसियास्थित नेपाली दूतावासमा शरणागत हुन पुगेँ । आम श्रमिकमाझ दूतावासको छवि राम्रो थिएन । कम्पनीहरूले टेबुलमुनिबाट दिने पैसामा सिँगो दूतावास बिकेको छ भन्ने चर्चा सुनिन्थ्यो । यिनै आरोपहरूको खण्डन गर्न दूतावासले करिब एक हप्ताअघि मात्रै एउटा अन्तरसंवाद कार्यक्रम राखेको थियो जहाँ म पनि उपस्थिति थिएँ । त्यसअघि दूतावासप्रतिको मेरो धारणा पनि आम श्रमिकहरूको जस्तै नै थियो । त्यस दिन महामहिम राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातका कुरा सुनिसकेपछि मलाई यस्तो लागेको थियो, केही परिबन्ध र सीमाहरू दूतावासमा निश्चय नै छन् तर नियतवश यसले श्रमिकहरूको अहितमा काम पक्कै गरेको छैन । बरु केही मानव तस्करहरूले दूतावासलाई बदनाम गराउन प्रत्यक्ष या परोक्ष रूपमा काम गरिरहेका छन् ।

श्रम सहचारी बाबुलाल रेग्मीलाई भेटेर सबै जानकारी गराएँ । उहाँले मेरो नाम ठेगाना सोध्नुभयो । कम्पनीको बारेमा पनि सोध्नुभयो । कम्पनीको नाम ‘भीआई सेक्युरिटी' थियो । म्यानेजिङ डाइरेक्टरको नाम विभिषेणा थियो । कम्पनी आफ्ना कामदारप्रति अत्यन्तै क्रूर छ । दूतावासले पनि केही गर्न सक्दैन भन्ने लागेर कसैले उसको विरुद्ध उजुरी गर्न सकेका छैनन् । मैले सबैसबै बताएँ । मेरो कथाव्यथा सुनेर उहाँ पनि अत्यन्तै भावुक हुनुभयो । मेरै अगाडि कम्पनीको म्यानेजर र म्यानेजिङ डाइरेक्टरलाई फोन र म्यासेज गर्दै कडा रूपमा प्रस्तुत हुनुभयो । यस्तै रवैया हो भने तेरो कम्पनी कालोसूचीमा राखिदिन्छु पनि भन्नुभयो । उहाँको बोली र व्यवहार सुनेर देखेर मलाई हाम्रो दूतावास बाहिर हल्ला भएजस्तो कायर र निरीह छैन भन्ने लाग्यो ।

रेग्मी सरको हप्काईले पनि कम्पनी भने केही गलेकै थिएन । उसले सुपरभाइजरमार्फत ‘तँ अब कम्पनी छाडेर हिँडिस् त्यसकारण हामीसँग तेरो कुनै सम्बन्ध छैन । तँ अवैधानिक बनिस् अब जसरी सक्छस् जा' भन्ने धम्की पनि दिएको थियो तर पछि उपाय नलागेर कम्पनी लत्रियो । मैले रुँदै कहालिँदै आफूमाथि आइलागेको बज्रपातबारे बताउँदा नपत्याउने, जाने भए एक महिना अरू काम गरेर मात्रै जा भन्ने, हवाईटिकट आफंै काटेर जा, अझ महिनाभरि काम गरेको तलब पनि पाउँदैनस् भनेर आँसुमाथि आँसु थपिदिने कम्पनी अब झुकिसकेको थियो । उसले मलाई हवाईटिकट दिने भन्यो । त्यो पनि आइतबार बिहान नै जान पाउनेगरी । यी सबैका लागि बाबुलाल रेग्मीलाई जति धन्यवाद दिए पनि कम लाग्छ ।

आइतबार बिहान कम्पनीका सुपरभाइजर र ड्राइभर आएका थिए, विमानस्थलसम्म मलाई पुर्‍याउन । आधा बाटोमा पुग्दै गर्दा उनीहरूले जे भने त्यो सुनेर मलाई लाग्यो, म त यतिका वर्षसम्म मान्छेको देशमा होइन हुँडारहरूको जंगलमा रहेछु । म त्यसरी दूतावास गएकोमा कम्पनीको एमडी र उसको बाउ रिसले आगो बनेका रहेछन् । मैले गरेको त्यस ‘अपराध'का लागि मलाई बेस्सरी चुट्नु, फोन खोस्नु र हातमा केवल टिकटमात्र दिनु भनेर सुपरभाइजरलाई पठाएका रहेछन् । त्यतिमात्रै हैन त्यसरी ममाथि हातपात गरेको फोटो पनि खिच्नु अनि मलाई देखाउनु भनेर आदेश दिएका रहेछन् । उनीहरूले रुन्चे बोलीमा भने, ‘तँलाई परेको दुःख हामीले महसुस गर्न सक्छौं तर बोसले भनेजस्तो गरेनौं भने उसले हामीलाई आजै कामबाट निकाल्छ । तसर्थ एउटामात्रै उपाय छ, हामीले एकछिन अभिनय गर्नुपर्ने भयो । हामीमध्ये एकजनाले पिटेजस्तो हात बनाउने । एकजनाले फोटो खिच्ने । तँचाहिँ अनुहार लुकाएर उता फर्कने ।'

उनीहरूको लागि पनि मैले यो नमानी भएन । एउटा एकान्तजस्तो ठाउँमा हामीले यो नाटक पनि मञ्चन गर्‍र्यौं । आफूमाथि आइपरेको बज्रपातको मापन गर्ने यन्त्र यो दुनियाँमै थिएन । असह्य दुःखले त मानिसलाई अवाक् नै बनाउँदो रहेछ । मेरो ओँठको मुस्कान, गलाको बोली सबैसबै हराइसकेको थियो । जिन्दगी नै चुँडिएर कतै गएकोजस्तो अनुभव गरिरहेको थिएँ । त्योबेला सिँगै रेल आफूमाथि गुडे पनि सहने मानसिकतामा थिएँ । बिचरा उनीहरूले त हात पनि लगाएनन् । अहिले पनि अनलाइनमा ती सुपरभाइजरहरूसँग कुराकानी हुन्छ । उनीहरू ‘मलेसिया आउने भए अरू कम्पनीमा आइज । यो कम्पनीमा झुक्किएर पनि नआइज' भन्छन् । त्यो कम्पनीमा झुन्डिएर बस्नुपरेको आफ्नो विवशता सुनाउँछन् ।

घर आएँ । आँसुको कथा अब त लेखेर के फाइदा छ र ? दुई नाबालक छोराहरूको अनुहार हेर्दा मेरा आँखा अझै पनि ओभाउन सकेका छैनन् । एउटा त केही हुर्केको छ । कान्छो चाहिँ सानै छ । हरेक रात ऊ मेरो पाखुरामा शिर राखेर निदाउँछ । जति नै माया गरे पनि आमाको मायाको क्षतिपूर्ति मैले कसरी गर्न सक्छु र ? यही सोचाइले मलाई ऐठन पारिरहन्छ । सरितासँगै देखेका कैयन् सपनाहरू अधुरै रहे । उसको अन्तिम साससम्म भेट्न सकिनँ । अस्पतालको ओछ्यानमा पनि फोनमा कुरा गर्दा उसको एउटै प्रश्न हुन्थ्यो, ‘बाबा तपाईं कहिले आउने ? ' आउन त आएँ तर सर्वस्व गुमाइसकेपछि आएँ । भैरहवा अस्पतालको शवघरमा राखिएको उसको अचल शरीरको झझल्को मलाई आजसम्मै पनि एउटा दुस्वप्नजस्तो लागिरहन्छ ।

म आउनु केही अघिदेखि कम्पनीको व्यवहार अत्यन्तै क्रूर बनिरहेको थियो । तीन वर्ष काम गरेर फर्कनेहरूलाई पनि सम्झौताबमोजिम हवाईटिकट नदिएर पठाइरहेको थियो । मैले श्रम सहचारी बाबुलाल रेग्मीज्यूलाई कम्पनीका सबै कामकारबाहीबारे जानकारी गराएको थिएँ । त्यहाँ काम गरिरहेका साथीहरूको फोन नम्बर पनि दिएको थिएँ । रेग्मी सरले अत्यन्तै गम्भीरताका साथ छानबिन गर्नुभएछ । अहिले थुप्रै साथीहरूले मलाई फोन र म्यासेजमा मप्रति आभारका शब्दहरू प्रकट गर्ने गर्छन् । ‘तैंले गर्दा धेरैको कल्याण भयो' भन्छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2