MENU

जब हुरीले डेरा उडायो

635x90

भुुवनहरि सिग्देल शनिवार, चैत ५, २०७३ 1301 पटक पढिएको

Share This

संस्मरण

डेरा नं. ३ को चर्पी अत्यास यसअघि लेखेको थिएँ मैले । जति नै अत्यास भए पनि डेरा गरेर काठमाडौंमा बस्नु बाध्यता थियो मेरो । आफूले चाहेजस्तो डेराको खोजीमा मेरो दिमाग रुमलिइरहेको थियो । एकदिन अपराह्नको बेला थियो । आफ्नै डेरामा बसेर पढिरहेको थिएँ । घरभेटी कविराजका जेठा छोरा फुत्त कोठामा आए । उनी मेरै उमेरका थिए । हाम्रो कुराकानी पनि मिल्थे । उनले सोधे– ‘दिउँसै बत्ती बालेर एक्लै के गरिरहेको ? ’

Bhuwan-sigdel_1

‘यी क्या त, पढिरहेको । बत्ती नबाली पढ्न सकिन्न । यस्तो अँध्यारो छ । के गरुँ त ? म त दिक्कै भइसकेको छु ।’ मैले भनेँ ।‘यो कोठामा आँखीझ्यालमात्र भएकोले अँध्यारो भएको हो । यसो गरौं । यो ठूलो चाहिँ आँखीझ्याल आधाआधी पारेर काटिदिन्छु । सानो चाहिँ पूरै काटिदिन्छु । अनि कोठा उज्यालो हुन्छ ।’ उनले झ्याल काट्ने कुरा गरे ।‘यति राम्रा कलात्मक झ्याल छन् । बाबा (घरभेटी) लाई सोधेरमात्रै काट्नुपर्ला ।’ मैले सल्लाह दिएँ।

‘आ, बाबालाई सोध्यो भने कामै हुँदैन । माथि करौंती छ । पख म लिएर आउँछु,’ भन्दै उनी चोटातिर गए । मेरो मन ढुुकढुुक ग¥यो, यति राम्रा आँखीझ्याल काट्ने कुराले । उनी तुरुन्तै तल आए । उनको हातमा सानो करौंती र काठको मुंग्रो थियो ।मैले केही भन्न नभ्याउँदै करौंतीको टुुप्पो झ्यालको प्वालमा छिराएर घ्यारघ्यार पार्न थालिहाले । हेर्दाहेर्दै ठूलो आँखीझ्यालको माथिल्लो आधा भाग काटेर तल खसालिदिए । कोठा निकै उज्यालो देखियो । उनी सानो झ्याल पनि काट्न तम्सिए । कोठाको अँध्यारोले हामीलाई सताएकाले उनले हाम्रो लागि सहयोग गरेका हुन् भन्ने बुुझिन्थ्यो । झ्याल काटेपछि भरे के हुन्छ ? भन्ने अनुमानसम्म पनि नगरेको जस्तो लाग्थ्यो मलाई । मेरो मनमा भने अज्ञात भय मडारिएको थियो । भनेँ– ‘भयो सानो झ्याल नकाट्नोस् ! यति उज्यालो भएपछि हामीलाई पुगिहाल्छ ।’

‘होइन, त्यसो होइन । अब काटेपछि दुवै खुल्ला गर्नुपर्छ’ भन्दै सानो झ्याल पनि पूरै काटेर तल खसालिदिए ।बेलुुका कविराज घरमा आएपछि आँखीझ्याल काटिएको पत्तो पाइहाले । छोरालाई चोटामै निर्घात पिटेछन् । त्यसपछि रातोरातो अनुहार पारेर मुरमुरिँदै कविराज हाम्रो कोठामा आएर कड्के– ‘तिमीहरू घर फोर्ने डाँका रहेछौ । आज झ्याल फोर्‍यौ । भोलि मेरो घर फोर्न के बेर ? तिमीहरूजस्ता उल्लुुलाई म यो घरमा राख्दिनँ । तीन दिनभित्र उठेर गएनौ भने तिमीहरूलाई पिटेर लघारिदिन्छु ।’ उनी गोडा बजार्दै माथितिर गए ।

भाइ श्रीराम र दुवैजना कोठामै थियौं । हाम्रा कान सुसाए । अब यो घरको बास पनि सकियो भनेर भोलिपल्टैदेखि डेरा नं. ४ को खोजीमा जुटिहाल्यौं ।
ब्रह्मटोलको एउटा पुरानो घरमा कोठा भेटियो । उभिन नहुने होचो । सानो किचन र ठीकैको कोठा । छिँडीमा पानीको धारा भएको, चर्पी नभएको, त्यो घरमा घरभेटी नबस्ने, भाडादर मासिक १२ रुपैयाँ !

हाम्रो दिमागमा कविराजको आतंक भूतजस्तै बसेकोले आइँकाइँ नगरी तेस्रो दिन डेरा सरेर ब्रह्मटोलमा बस्न थाल्यौं । खुला ठाउँ कतै नभएको, चर्पीको कठिनाइ उस्तै थियो । त्यहाँ बसे पनि हामीले अर्को डेरा खोजीलाई पनि निरन्तरता दिइरह्यौं । चार महिनापछि गज्जब राम्रो कोठा फेला पर्‍यो, लगनटोलको शाक्यको घरमा । एक तलामाथि, खुला झ्याल लगनचोकतिर फर्केको, चोकको माझमा चार इन्ची बोरिङको पानी हुतुतु आफैं आइरहने । त्यसैमा लुुगा धुन र नुहाउन मिल्ने, खानेपानीको धारा र चर्पी घरमै भएको, तल र माथि गरी दुई कोठा, तल्लोमा भान्छा गरी माथि बस्न मिल्ने, भाडा भने ठ्याक्कै ३० रुपैयाँ मासिक ।

रामराम ! खोइ मेरो डेरा ? रातिको हुरीबतासले त्यो घरको छानो उडाएछ । सकिनकसी म भर्‍याङ चढेँ । कोठाको ढोका ह्वांगै खुला थियो । छानु थिएन । इँटा, माटो हिलोमा लथालिंग भाँडावर्तन छरिएका थिए ।

कोठा नं. ५ मा तुरुन्तै सर्‍याैं हामी । साँच्चै आनन्दपूर्ण भयो हाम्रो डेरा बसाइ । कुनै कुराको असजिलो महसुस नभए पनि एउटा रमाइलो प्रसंग भने घरभेटीको थियो । बेलुुकाको खाना खाइसकेपछि हुक्का, चिलिमसहित तमाखु टुुर्रटुुर्र पार्दै हाम्रो कोठामा आएर एकछिन गफ गर्थे । उनका गफ जति सबै पैसासँग सम्बन्धित हुन्थे । एक साँझ हुक्का तान्दै उनले भने– ‘ए नानी ! सुन ट ! मलाई पाँच सय सापती डेऊ ! भाडामा कताउँदै जाऊ । ट्यस्को ब्याज समेट म डिन्छु ।’

उनका कुरा सुनेर हामी दंग पथ्र्यौं । सात दिनको लागि पाँच रुपैयाँ खर्च बोकेर काठमाडौंमा पढ्न बसेको ठिटासँग पाँच सय रुपैयाँ कसरी हुने ? मैले आफ्नो अवस्था बताएँ । त्यसपछि उनको माग घटेर सय रुपैयाँसम्म आयो । केही सीप नलागेपछि उनले भने– ‘खोइ, एक मोहोर भए पनि डेऊ । भोलि बिहान तरकारी किन्ने पैसा छैन ।’ उनको आग्रह सुनेपछि आफ्नो खर्च कटाएरै भए पनि तीन चारपटक एकएक मोहोर दिएँ मैले । महिना मरेपछि साहुनीलाई पैसा कटाएर भाडा बुुझाउन जाँदा उनी झर्किन्थिन्– ‘आ, उसलाई किन पैसा डिएको ? अब नडिनू है, साहुनीले भनेको भन्नू ।’

यस्ता सामान्य कुरा भएपछि अरु पिराउ र किचलो त्यहाँ थिएन । कहिलेकाहीँ हुक्का लिएर घरभेटी हाम्रो कोठामा आउँथे । पछि पैसा माग्न भने छोडिदिए । एकदिन उनले गज्जबको कुरो गरे– ‘ए नानी सुन ट ! टल टेकुको नब्बे रोपनी जग्गा हाम्रै मान्छेको हो । सट्टरी हजार भए सबै डिन्छन् ल ! पैसा खोज ।’ भाइ श्रीराम र मैले ट्वाँ परेर उनको मुखमा हेर्‍यौं । सत्तरी हजार ? कहाँ पाउने त्यो पैसा ? तैपनि मैले सोधेँ– ‘हैन साहुबा ! टेकु कहाँनिरको जग्गा हो ? ’

‘ल ट्यै नेसनल टेर्लिङ खुलेको छ नि अहिले, त्यो डेखि पूर्वको । पचली भैरवस्थान जाने बाटो भन्डा पश्चिमको । टेकुको ठूलो बाटोदेखि लिएर टल बाग्मतीसम्मको सबै हो ल ।’ उनले जग्गा चिनाए । त्यो जग्गा पूरै पोखरीजस्तो थियो । बर्खामा टन्नै पानी जम्ने, कमल उम्रेर फुलेको देखिन्थ्यो ।
उनको प्रस्तावलाई हामीले उडाइदियौं– ‘आ, साहुबा पनि । त्यस्तो धापजस्तो जग्गा कसले किन्छ ? के काम त्यो कमलपोखरी ? ’

‘धट् नानी ! ट्यसो नभन । मैले ट के डेख्थेँ, बूढो भैसकेँ । त्यो पोखरी भोलि सुन हुन्छ । यो बूढोले भनेको कुरा ट्यो बेला डेखौला ।’ उनले भने । हाम्रो क्षमता पनि नभएको र त्यस्ता कुरा सोच्ने उमेर पनि नभएर होला बूढाको प्रस्तावलाई धेरै दिनसम्म उपहास बनायौं हामीले । आजभोलि बाटो हिँड्दा त्यो जमिन हेर्छु म । खोइ, कहाँ गयो कमलपोखरी ? ती बूढाले भोलि सुन हुन्छ भन्थे । सुन होइन हीरा पो भएछ क्यारे । आज हजार होइन, सत्तरी लाखले पनि त्यो ठाउँमा एक आना जमिन किन्न सकिन्न होला । हे समय ! तँलाई धन्यवाद छ ।

चार वर्ष हामीले लगनको डेरामा बितायौं । त्यो बेला म थानकोटको प्रभात पब्लिक हाइस्कुलमा पढाउन जान्थेँ । बिहानबिहान । थानकोट–सहिदगेट बस चल्न सुरु भयो । जम्मा तीनवटा बस चल्थे । थानकोट चेक पोस्टमा भर्खरै खुलेको हाइस्कुल । शिक्षकलाई मासिक तलब दिने व्यवस्था थिएन । विद्यार्थीबाट उठेको शुुल्क दामासायीमा बाँड्दा कहिले ३० र कुनै महिनामा ४० रुपैयाँसम्म हात पथ्र्यो । बस सञ्चालकसँग कुरा मिलाएर काठमाडौंबाट जाने आउने शिक्षकसँग भाडा नलिने प्रबन्ध मिलाइएको थियो । त्यहाँ पढाउने शिक्षक पनि कुनै जागिरे र कुनै कलेज या विश्वविद्यालयमा पढ्दै थिए । स्कुलको पढाइ सकेर आफ्ना घरडेरामा गाई तिनले खाना खान नभ्याउने भएपछि स्कुलसँगै पाटीमा दाल, भात, तरकारी पकाएर शिक्षकलाई खाना खुवाएर पठाउने गरिन्थ्यो ।

त्यो दिन घरभेटीले भने– ‘नानी हो ! फागुुनमा मेरो छोरोको बिहे हुने भयो । कोठा आफैंलाई चाहियो । टिमरु माघभरिमा छाडेर जाओ !’ हाम्रो मनमा खुल्दुली सुरु भयो– यति राम्रो ठाउँ सितिमिति पाइँदैन । अब कता जाने र के गर्ने ? तैपनि डेरा त खोज्नै थियो । गल्लीगल्ली चहार्दा ओमबहालभित्रको गल्लीमा एउटा कोठा फेला पर्‍यो तीन तलामाथि । लामो कोठा, उत्तरतिर झ्यालै झ्याल भए पनि खापा नथुुनिएको, ह्वांगै । काठमाडौंको ठाउँ, माघको जाडो । परेन के फसाद ? अर्को डेरा नखोजी हुन्न, हालको समस्याबाट मुक्त हुन हामी डेरा नं. ६ मा सरिहाल्यौं ।

बल्लतल्ल जाडो कट्यो । गर्मी सुरु भयो । खुल्ला झ्यालबाट लामखुट्टेको प्रवेश डरलाग्दो बन्न थाल्यो । वैशाख लागेपछि हामीले कोठा भेट्यौं । मचलीमा बुुद्धरत्न र पञ्चरत्न महर्जन दाजुभाइ, एउटी दिदी, बूढीआमा भुुइँतलामा किराना पसल राखेर बसेकी । तीनतले घरको सिरानको कोठा जस्तापाताले छाएको, धारो, चर्पीको सुविधा, भाडा दर भने ५० रुपैयाँ ठ्याक्कै ।

त्यही घरको तल्लो तलाको झ्यालमा ‘नौलो नेपाली पत्रिका’को सानो साइनबोर्ड देखिन्थ्यो । त्यो कस्तो पत्रिका हो ? यसका सम्पादक को हुन् ? हामीलाई थाहा भएन । एकदुई महिनापछि त्यो साइनबोर्ड हरायो । ती सम्पादक अन्तै डेरा सरेर गए रे भन्ने सुनियो । निकैपछि चिनजान भयो सम्पादकसँग । त्यो पनि अर्कै प्रसंगमा । उहाँ हालका डा. खेम कोइराला बन्धु पो हुनुहुँदो रहेछ । तल्लो तलाकै अर्को कोठामा राजेन्द्र सुवेदी, होमनाथ सुवेदी बसेर पढ्दै हुनुहुन्थ्यो । उहाँहरूको पढाइ विश्वविद्यालयतिर चल्दै थियो । त्यो बेला हामीबीच सामान्य कुराकानीसम्म हुन्थे । अरू बसउठ भने भएन । हामी बसेको त्यो घरको ठ्याक्कै तल्लापट्टि रङरोगन नभएको भुुइँतले घर थियो । त्यहाँ एकजना विकलांग महिला बहिनीका साथमा बस्नुभएको हामीले देख्यौं । त्यहाँ धेरै मानिसको आउजाउ भएको पनि देख्थ्यौं । ती लेखक हुन् भन्ने चर्चासम्म सुनियो । उहाँ त पारिजात दिदी पो हुनुहुँदो रहेछ । आफूलाई चासो नपरेको कुरो, त्यति नजिक रहेर पनि उहाँसँग दर्शनभेट र चिनाजानीसम्म भएन । अहिले थक्कथक्क मानेर के गर्नु ?

यी प्रसंग यहाँ किन उठाइयो भने आज हामीले बुुझेका, चिनेका स्वनामधन्य व्यक्तित्वहरूलाई त्यो बेला यस्तै गल्लीका डेरामा, बाटोघाटोमा भेट भए पनि भविष्य देख्न नसक्ने आँखाले तिनलाई ठम्याउन नसकिने रहेछ । त्यो डेरामा हामी तीनजना बस्न थाल्यौ– मामाका जेठा छोरा श्रीराम, उनका भाइ हरिराम र म । श्रीरामको अफिस थियो– नेपाल रोपवेमा । श्रीरामले नै कुरा मिलाइदिएर म वसन्तपुरको एसियन प्रिन्टिङ प्रेसमा काम गर्न थालेको थिएँ । मासिक एक सय रुपैयाँ तलब मिल्थ्यो । त्यो प्रेस मोती र अमर दाइले चलाएका थिए । उनीहरूका बीच मामाचेला फुपूचेलाको नाता थियो । प्रेस राम्रोसँग चलेको थियो तर ती दुई भाइका बीच बोलचाल भने थिएन । तिनका सन्दर्भको बेग्लै संस्मरण छ । डेराको सन्दर्भमा नगासुँ तिनलाई ।

ऋतु परिवर्तन भए । बर्खा गयो । काठमाडौंमा जाडो सुरु भयो । यस्तो जाडो होइन, त्यो बेलाको जाडो भन्न मन लाग्छ मलाई । कात्तिक महिना लागेपछि यति बाक्लो हुस्सु लाग्थ्यो, २० हात परको दृश्य पनि नदेखिने । बिहान उठेर तरकारी किन्न जाँदा लगलग काम छुट्थ्यो । लगाएका लुुगा शीतले भिज्थे । आँखीभौं र परेलामा शीत जमेर तुपुतुपु खस्थ्यो । खुला हात राखेर हिँड्दा कठ्याङ्ग्रिएर तरकारीको झोला समाउन पनि कठिन हुन्थ्यो । कुनै दिन पानी पर्‍यो भने ता त्यसको भोलिपल्टको कुरै नगरौं ! दिनको १२ बजेसम्म घामको मुखै देखिन्नथ्यो ।

पाँच दशकअघिको काठमाडौंको जाडो सम्झँदै छु म । पुसमाघमा बिहान उठेर छिँडीको धारोमा जाँदा पानी जमेर टपक्कै टालिएको हुन्थ्यो । मैनबत्ती बालेर धाराको टुुटीलाई बिस्तारै तताएपछि बल्ल तुपुतुपु पानी चुुहिन थाल्थ्यो । खुला ठाउँमा राखिएको बाटा, बाल्टिनीको पानी जमेर सिसा बनेको हुन्थ्यो । बिहानबिहान बाटोमा हिँड्ने मानिसका मुखबाट मोटरको साइलेन्सरले झैं फुर्रफुर्र बाफको मुस्लो छोडेको देखिन्थ्यो । खोइ त्यो जाडो ? खोइ त्यो बाक्लो हुस्सु ? कि काठमाडौंमा सबै बाठाटाठामात्र बस्न लागेकाले हुस्सु भागेको हो हँ ?

यो जाडो याम अनि हाम्रो डेरा भने सिरान तलाको जस्ताको छानोमुनि ? कुन दुर्दशा भयो होला हाम्रो ? बिहान उठ्दा रातभरि जस्ताबाट झरेको शीतले ओढेको सिरक लपक्कै भिज्न थालेपछि हामीले घरभेटी बूढीसँग गुुहार माग्यौं । उनले केही कागजका बाक्सा दिएर भनिन्– ‘यो कागज सुत्ने ओछ्यानको माथि जस्तापातामा घुुसाए । तल शीत झर्दैन !’ हामीले यो उपाय गर्यौं‍ । शिरमाथि शीत चुुहुनु कम भए पनि बाँकी भुुइँ शीतले रामै्रसँग भिजेको हुन्थ्यो ।
यस्तै तमासा गरेर जाडो कटाइयो । फागुुनको अन्तिम हप्ता शुुक्रबारको दिन थियो त्यो । बिहानसँगै स्कुलमा पढाउने धु्रव हेडसरले उहाँको भानिज माधव शर्माको बिहेको निम्ता दिनुभयो मलाई । जन्ती जानुपर्ने लुुभुु सानागाउँमा । रातै बस्ने बिहे । ३ बजे दुलाहा अन्माउने भनिएको थियो ।

मलाई केही दिनदेखि खान मन नलाग्ने, आलस्यजस्तो, आँखा पोल्ने समस्या भइरहेको थियो । तैपनि आफ्ना हेडसरले दिनुभएको निम्तो नकार्न मन लागेन । श्रीराम र हरिराम भोलिपल्ट शनिबार हुनाले घर जाने भए । म माधवको जन्ती गएँ लुुभुु । त्यो दिन बिहानैदेखि बदली भएको थियो । फेरि माघे जाडो फर्किन लागेजस्तो सिरसिर हावा चल्दै थियो । साँझ झमक्कै भयो । लुुभुु पुग्दा दुलहीका आँगनमा बिहेका तामझाम थियो । जोडसँग हावा, हुरी चल्यो । हतपत गरेर जन्तीलाई खुवाउने तयारी गरे घर गाउँलेले । स्टिलको खण्डे थालमा सेल रोटी, पुरी, फुरनदाना, अचार, तरकारीले सत्कार गरे तिनले मलाई । खाना खाँदा वाकवाकी लाग्यो । दुइटा सेलरोटी, अचार तरकारी बलैले खाएर उठेँ म । एकैछिनपछि बिजुली चम्केर हुरी चल्यो । पालका खामा ढले । असिनापानी बर्सियो । ओत लाग्न भनेर वल्लापल्ला घरतिर दगुुरादगुुर चल्यो । धेरै जन्ती भिजेका थिए । सुट–प्यान्टमा ठाँटिएर गएका कुनै जन्ती रातोमाटोको हिलोमा पछारिएर बेहाल भएका देखिन्थे ।

छिमेकी घरको पिँडीमा लुुगलुुग काम्दै बडा कष्टले रात बिताएँ मैले । बिहान उज्यालो भयो । आकाश कञ्चन देखियो । पूर्वको फुलचोकीबाट घाम मुस्कुराए । तर मेरो अनुहार उज्यालो बनेन । जीउ गलेर आयो । रातभरिको अनिँदो । चिम्सा आँखा भत्भती पोल्न थाले । म त्यो बिहेमा अड्न नसक्ने स्थिति देखियो । सोचेँ अब बिस्तारै डेरामा गएर घुुप्लुुक्क सुत्नु पर्‍यो ।धरमराउँदै फर्कें । मेरो अवस्था ती जन्तीलाई सुनाएर पनि कुनै फाइदा थिएन । म कताबाट हिँडे । कुन बाटो आएँ । अहिले हेक्का छैन । कसैगरी म डेरा बसेको घरसम्म आइपुगेँ मचली ।

रामराम ! खोइ मेरो डेरा ? रातिको हुरी बतासले त्यो घरको छानो उडाएछ । सकिनकसी म भर्‍याङ चढेँ । कोठाको ढोका ह्वांगै खुला थियो । छानु थिएन । इँटा, माटो हिलोमा लथालिंग भाँडावर्तन छरिएका थिए । सुत्ने ओछ्यान हिलोमा लथपथ थियो । भित्ताका किलातिर भुुन्ड्याइएको जगेडा लुुगा बेपत्ता थिए । त्यो बीभत्स दृश्य देखेपछि मलाई भाउन्न होलाजस्तो भएर आयो । ढुुनमुनिएर तल घरभेटी बूढीकहाँ आएँ । उनी ढुुंगाको मूर्तिजस्तै चुुपचाप बसेकी थिइन् । मलाई देख्नेबित्तिकै भनिन्– ‘के गर्ने यस्तो बिजोग भयो । तिमीहरूका सामान झिकेर तल ल्याएर राख । लुुगा कपडा तल घामतिर लगेर सुकाऊ ।’

‘आमा मलाई सन्चो भएन । म बस्नै सक्दिनँ । बुुद्धलाई भनेर हाम्रा बचेका सरसामान तल ल्याएर राखिदिनुहोला । म श्रीरामलाई खबर गर्छु । ऊ आउँछ । म बिस्तारै घर जान्छु ।’ भनेर ढुुनमुनाउँदै कालीमाटीतर्फ लागेँ । बस चढेर थानकोट पुगेँ । मलाई समस्या थियो । थानकोट पुगेर पनि तल्लो फाँट हिँडेर दहचोकको डाँडो चढ्नुपथ्र्यो घर पुग्न । मलाई के भएको थियो ? जँचाउन अस्पताल नगएर म किन घरतिर आएँ ? मनमा विस्मात्जस्तो पनि लाग्यो । तैपनि म घरलाई लक्ष्य गरेर हिँडे ।

बीच फाँटमा बलराम दाइ भेटिनुभयो । थानकोटतिर आउँदै हुनुहुन्थ्यो । मेरो बेहाल अवस्था उहाँले ठम्याइँ हाल्नुभयो । सोध्नुभयो– ‘ए ! के भो तँलाई ? किन त्यस्तो अनुहार ? ओहो ! आँखा पनि बेसारजस्तै देख्छु । खै खै !’ भन्दै मेरा आँखा उघारेर हेर्नु भयो । म थच्च खेतको आलीमा बसेँ ।‘बाबुु ! तँलाई कमलपित्तले ग्रस्तै पारिसकेछ । तँ बिस्तारै घरमा गएर सुत् । बढी हलचल नगर है । म अहिले सहर जान लागेको । दुईथोक म किनेर ल्याउँला । घरमा गएर बेसारको बूढी तीन पाउ जति खोजेर राख्नू । भोलि बिहान त्यै बेसार लिएर मेरो घरमा आउनू ! म तयार गरिदिन्छु । अहिलेदेखि नै नुन, चिल्लो, पिरो, अमिलो बन्द गर्नू । भरे आधा पानीमा आधा दूध मिसेर उमाल्नू । त्यसको तर फालेर त्यो दूध र भातमात्र खानू !’ यति भनेर दाइ हिँड्नु भो ।

बल्लतल्ल घरमा पुगेर आमा आमोईलाई बेलीविस्तार गरेँ । उहाँहरूले बेसारको बूढी खोजिदिनु भयो । भोलिपल्ट बिहानै बूढीबेसार बोकेर बलरामदाइको घरमा पुगेँ म । उहाँले बेसारको बूढी खुर्केर बोक्रा फ्याँक्नुभो । त्यो बेसारलाई सिलौटामा राखेर लोहोराले पिस्नुभो । उहाँले ल्याउनु भएका पनि त्यसमा मिसाएर १४ वटा कसारजत्रा डल्ला मलाई दिँदै भन्नुभो– ‘बिहान बेलुुका एकएक डल्ला तातोपानीसँग खानू । मैले भनेझैँ सात दिनसम्म पानी मिसेको दूधभात मात्र खानू । तेरो कमलपित्त चट् हुन्छ, ल जा !’

त्यही गोला खाएर सातै दिनमा मेरो कमलपित्त (जन्डिस) भाग्यो । थाहा पाइराख्नु राम्रो । यस्तो जड को मि श्रण के के हुन् ?
– बूढी बेसार (बेसारको पुरानो गानो) तीनपाउ जति
– मोनका कालो दाख (गेडा झिकेर फाल्ने) आधा पाउ
– कमल गट्टा (बीस दाना) गेडा फुटाएर भित्रको बिउमात्र
यी तीन चीज मिलाएर बेसरी कुट्ने । १४ डल्ला पारेर बिहान बेलुुका खाली पेटमा तातोपानीसँग सात दिन खाने ।
यो कमलपित्तको प्रकोप बढेर मात्रै अल्मलियो । मेरो डेरा आतंक भने उता छोडिएको छ । कमलपित्त बिसेक भयो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1