MENU

ईश्वर बरालको चिठी

635x90

राजव शनिवार, चैत ५, २०७३ 3838 पटक पढिएको

Share This

व्याकरणका केही ढिपीबाहेक मलाई आदरणीय ईश्वर बरालका प्रायः सबै साहित्यिक प्रयास मन पर्छन्। नेपाली गद्य, पद्यको ऐतिहासिक खोज र सम्पादन-संकलनको क्षेत्रमा ईश्वर बरालको योगदान अतुलनीय छ।

रचनात्मक साक्षसहितको खोजपरक समालोचनाको हकमा डाक्टर बरालले जग नै बसालेको मानिन्छ। आलोचनामा अवधारणाको रचनात्मक प्रस्तुति कसरी गरिन्छ भन्ने सिक्न, जान्न र कृतिको मूल्यांकनमा कत्ति उदात्त र कुन स्तरको तार्किक उदार दृष्टि हुनुपर्छ भन्ने जान्न चाहनेले ईश्वर बरालका आलोचना पढ्न जरुरी लाग्छ मलाई।

नेपाली साहित्यको ऐतिहासिक मूल्यांकनको सूत्रपात र पद्धतिको बीजारोपण गर्ने ईश्वर बरालका समालोचना र सम्पादित ग्रन्थहरू निकै महत्वका छन्। 'झ्यालबाट', ‘हिमालचुली'लगायतका उहाँका सुरुका खोजमूलक संकलन र सम्पादित कृतिभन्दा पहिले मैले ‘मोहन कोइरालाका कविताहरू' नामक डाक्टर बरालद्वारा सम्पादित मोहन कोइरालाका कविताको संकलन पढेको थिएँ। त्यसमाथि डाक्टर बरालले लेखेको भूमिका कोइरालाका कवितामाथिको गहन विमर्श मानिन्छ।

मोहन कोइरालालाई विशद् रूपमा चिनाउने त्यस संग्रहको भूमिकामा ईश्वर बरालले अर्थ फोर्न नसकिने जटिल कविको रूपमा प्रचारित मोहन कोइरालका कवितालाई एकै ठाउँमा राखेर तिनको जटिलता फोर्ने गहन कोसिस गर्नुभएको छ।

कोइरालाका कविताको अध्ययन, अध्यापनमा त्यस भूमिकाले निकै सघाएको मानिन्छ। नयाँ से नयाँ लेखकलाई पढ्ने, तिनको चिरफाड गर्दै तिनका रचनात्मक कर्मलाई मूल्यांकनको तराजुमा जोख्ने र बौद्धिक विश्लेषणसहित त्यसको तौल सार्वजनिक गर्ने डाक्टर बरालको दुर्लभ समालोचकीय विशेषता थियो।

डाक्टर बरालसँग मेरो दुई पटक भेट भएको थियो। यसलाई भेट होइन देखभन्दा ठीक होला। किनभने ती दुवै भेट संवादविनाका एकाहोरो थिए। त्यसमध्ये एउटा भेटको अवसर २०३४ सालको मंसिरको एक घमाइलो शनिबार जुरेको थियो। त्यस दिन साहित्यिक पत्रकार संघले काठमाडौंको बालाजु उद्यानमा साहित्यिक वनभोजको आयोजना गरेको थियो। त्यसै वनभोजमा डाक्टर बरालको पनि उपस्थिति थियो। र, डाक्टर बराललाई मैले पहिलोपटक प्रत्यक्ष देख्ने मौका त्यही दिन पाएको थिएँ।

बालकृष्ण सम, भवानी भिक्षु, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, ईश्वर बराल, हरिभक्त कटुवाल, नगेन्द्रराज शर्मा, भवानी घिमिरे, ध्रुवचन्द्र गौतम, आदि थुप्रै अग्रजहरूको उपस्थिति रहेको त्यस वनभोज अत्यधिक युवा साहित्यकारहरूको भेला भएको ऐतिहासिक वनभोज थियो।

दाजु कवि हरिभक्त कटुवाललगायत जोसिला युवा साहित्यकारहरू र एक वैज्ञानिकको जाँडपानीको केही करामतीय चर्तिकलाले पनि त्यस दिनको वनभोजलाई चर्चित बनाएको थियो। त्यस वनभोजको १७ वर्षपछि डाक्टर ईश्वर बरालसँग एक बिहान सायास भेट्न पुगेको थिएँ। त्यसको लागि म सिफलस्थित उहाँकै निवासमा पुगेको थिएँ।

यो २०५१ साल चैत्र महिनाको अन्तिम साताको बिहान थियो। मेरो हातमा त्यसै साल प्रकाशित मेरो शृंखलाबद्ध कवितासंग्रह ‘एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीको ह्यांगओभर' थियो। मैले आफ्नु त्यस संग्रह डाक्टर बराललाई उपहार दिने ध्याउन्नमा बोकेको थिएँ। तर, म त्यसलाई डाक्टर बरालको हातमा होइन उहाँको बुहारीको हातमा सुम्पेर लुरुक्क फर्कन बाध्य भएको थिएँ।

चिठी फाइलभित्रै मैलिने, खुम्चिने क्रम बढ्न थाल्यो। मेरो सर्वाधिक प्रिय पत्रको हालत खराब हुँदै थियो। यसका अक्षरहरू खुइलिने क्रममा थिए। यसका छेउ-कुना च्यातिने सँघारमा थिए।

 यसको कारण र हालबारे मैले ‘जसलाई मैले आफ्नो अनुहार देखाउन सकिनँ' भन्ने शीर्षकको आफ्नू एक संस्मरणमा उल्लेख गरिसकेको छु। यो संस्मरण साझा प्रकाशनबाट प्रकाशित मेरो संस्मरण संग्रह ‘यात्रा र अन्य संस्मरण'मा संग्रीहृत छ।

त्यसकारण फेरि ती प्रसंगका त्यही कुरो दोहोर्‍याएर पुनरावृत्ति दोषमा किन फस्नु ? विशेषतः यो टिप्पणीको उद्देश्य पनि फरक छ। त्यो उद्देश्य हो डाक्टर बरालले २५ अप्रिल सन् १९८८ मा अर्थात् २०४५ साल वैशाख १३ गतेको मिति राखेर मलाई लेखेको पत्र पाठकमाझ यहाँ साझा गर्नु। यो पत्रबारे मैले आफ्नु त्यस संस्मरणमा पनि उल्लेख गरेको छु। तर, त्यस पत्रको हुबहु व्यहोरा त्यसमा राखिएको छैन।

वास्तवमा त्यो संस्मरणको मूल प्रेरणामध्ये एक यो पत्र पनि थियो। तर, लेख्दै जाँदा त्यस संस्मरणको प्रकृति अर्कै भयो। त्यसकारण त्यस पत्रको हुबहु व्यहोरा त्यस संस्मरणमा राख्न सुहाउने देखिएन। र, राखिएन। तर, त्यसमा नराखे पनि पत्रबारे छुट्टै केही लेखेर त्यसको सबै व्यहोरा छिट्टै साझा गरौंला भन्ने निक्र्योल सोचेको थिएँ। र, त्यस संस्मरणलाई उक्त पत्रबिना नै बिसाएको थिएँ। तर, पछि त्यस्तो सोचेबमोजिम गरिहाल्न अल्छी गरियो। परिणामतः पत्र अहिलेसम्म फाइलभित्रै थन्किरह्यो।

त्यसो त म बेलामौका त्यो पत्र भएको फाइल पल्टाइरहेको पनि हुन्थेँ। हरेकपल्ट फाइल पल्टाउँदा अब यसबारे केही लेख्छु र कतै प्रकाशनमा पठाउँछु भन्ने फेरि सोच्थेँ पनि। र, फाइल पल्टाउनुका अरू उद्देश्यका कुरा हेर्न थाल्थेँ। र, यो सोच बिर्सिंन्थेँ। त्यसपछि फेरि कुनै दिन कुनै प्रसंगमा फाइल पल्टिन्थ्यो। र, स्वभावतः फेरि त्यस पत्रमा आँखा जान्थ्यो। र, फेरि त्यही सोच्थेँ, अब चाहिँ यसबारे केही लेख्नु पर्ला। तर, फाइल बन्द गरेपछि यो पर्ला फेरि बिर्सन्थें। यही सम्झने-बिर्सिने दोहोरिरहन्थ्यो।

यसो गर्दागर्दै थुप्रै वर्ष बिते। पत्र फाइलभित्रै मैलिने, खुम्चिने क्रम बढ्न थाल्यो। त्यस फाइलमा मेरा अरू पनि प्रिय साहित्यिक पत्रहरू छन्। तीमध्ये पनि यो मेरो सर्वाधिक प्रिय पत्र हो। तर, सर्वाधिक प्रिय पत्र यसकै हालत खराब हुँदै थियो जसका अक्षरहरू खुइलिने क्रममा बढ्दै थिए। यसका छेउ-कुना च्यातिने संघारमा थिए। नास्सिने क्रमको तिनको यस्तो अवस्थिति हेर्दै धेरै दिन खेर फालेपछि अब त्यस पत्रलाई फाइलमुक्त गर्दै छु।

यो पत्र डाक्टर बरालको तत्कालीन कर्मथलो भारतको राजधानी नयाँ दिल्लीस्थित ११६ न्यु क्याम्पस, जवाहरलाल नेहरू विश्वविद्यालयको ठेगानाबाट आएको थियो। डाक्टर बराल त्यसबेला जवाहरलाल नेहरू विश्वविद्यालयको प्रोफेसर हुनुहुन्थ्यो। उहाँले मलाई लेखेको यो पत्र त्यस बेला म कार्यरत राष्ट्रिय वाणिज्य बैंकको मध्यमाञ्चल क्षेत्रीय कार्यालय नक्साल, भगवतीबहालको ठेगानमा पठाउनुभएको थियो।

आदरणीय डाक्टर बरालको यो पत्र मेरो लागि एकदम अप्रत्याशितको थियो। डाक्टर बरालजस्ता आदरणीय अग्रजबाट मेरो नाममा यस किसिमको पत्र आउला भन्ने मेरो कल्पनामा पनि थिएन। तर, कल्पनामा पनि नभएको त्यस्तो कुरो मेरो हातमा थियो।

एकाएक प्राप्त हुन आएको त्यो आश्चर्य र खुसीले म राजव महाशय (पत्रमा उहाँले मलाई यसरी नै सम्बोधन गर्नुभएको छ।) पत्र पढ्दै उग्रपुल्कित भइरहेको थिएँ। पत्र सेतो फुलिस्केप कागजमा टंकित (टाइप गरिएको) थियो। स्पष्ट टंकित नभएका अक्षरहरूका चन्द्रबिन्दु, शिरबिन्दु डिको, कोष्ठक, टंकित हुन छुटेका शब्दहरू आदि जे-जे हुन् उहाँले कलमले थप्नु भएको, सच्याउनुभएको छ। र, पत्रको अन्त्यमा टंकित गरेको तपाईंको भलो चिताउने भन्ने प्रचलित औपचारिक वाक्यमुनि हस्ताक्षर गरिने ठाउँमा अत्यन्त सुन्दर अक्षरमा हस्ताक्षरस्वरूप 'ईश्वर बराल' लेख्नुभएको छ।

यो पत्र लेख्नुको आफ्नु आसयमा पत्रको सुरुमै उहाँले ‘२०३० को छेउछाउदेखि लेखिएका स्त्रीकेन्द्र स्थानीय नेपाली कथाहरूको' भन्ने वाक्य लेखेर त्यस कथ्य केन्द्रित नेपाली कथासंग्रह सम्पादन गरेर निकाल्ने आफ्नु मनसाय भएको खोल्नुभएको छ। साथसाथै पत्रमा उहाँले आफूले संकलन गर्न लागेको नेपाली कथाहरूको मूलआधार कथ्य 'त्यस सँगालोको आख्या हुनेछ सामयिक नारीका रूप औ विदीर्ण दर्पण' हुने भन्ने जनाउ दिनुभएको छ। यस मूल कथ्यअन्तर्गत उहाँले तीन वर्गीकरणमा कथाहरू संकलन गर्न लागेको खुलाउनुभएको छ।

ती वर्गीकरणलाई एकमा (उपेक्षिता, दयिता, रक्षिता) दुईमा ‘स्वैरिणी, श्रमजीवा, सेविका' तीनमा (विधवा, प्रणयोत्सुका, वत्सला' भन्ने कथ्यगत वर्गीकृत नाम दिनुभएको छ। पत्रमा यी तीन वर्गीकरणमध्ये दोस्रो वर्गीकरण स्वैरिणी, श्रमजीवा, सेविकाको लागि मेरो प्रगति विवरण शीर्षकको कथा राख्ने स्वीकृत माग्नुभएको छ। मेरो यो कथा मधुपर्कमा छापिएको थियो। र, निकै चर्चामा थियो।

त्यसैबाट फोटोकपी गरेर फोटोकपीमै उहाँले आफ्नै व्याकरण विधिअनुसार ठम्याएका दोषहरू सच्याएर त्यसको पनि फोटोकपी त्यस पत्रसँगै संलग्न गर्नुभएको थियो। त्यसपत्रमा डाक्टर बरालले त्यसरी सच्याएर प्रकाशन गर्न खोजेको र यसो गरेर कथा छाप्न म मञ्जुर भए त्यस संग्रहमा कथा राख्न सकिने, नत्र नसकिने आसयको कुरो ‘तपाईंलाई कुनै प्रकारका शाब्दिक, वैयाकरण तथा भाषिक संशोधन सदर हुन्न भने सो उक्त सँगालामा राख्न नमिल्ने कुराको अवधारणा विनम्र भई गर्न पाऊँ' भन्ने उल्लेख गर्नुभएको छ।

यसको लागि मैले आसय नबिग्रिने गरी सर्वमान्य प्रचलित नेपाली व्याकरणअनुसार छाप्न सकिने भन्दै पत्रिकामा छापिँदा गल्ती हुन गएका व्याकरणगत त्रुटिहरू सच्याएको सोही कथाको अर्को फोटोकपी संलग्न गरेर यसअनुसार यहाँले उक्त संग्रहमा मेरो यो प्रगति विवरण शीर्षकको कथा छाप्न सक्नु हुनेछ भन्ने स्वीकृति जवाफ पठाएको थिएँ।

उक्त पत्र लेख्दाका दिनसम्म यस प्रगति विवरणसहित डाक्टर बरालले विभिन्न पत्रिकाहरूमा छापिएका मेरो नौवटा कथाहरू पढ्नुभएको रहेछ। यसको प्रमाणस्वरूप उहाँले कथाको शीर्षक, ती छापिएको पत्रिकाको नाम, त्यसको अंक र त्यसको प्रकाशन मितिसमेत खुलस्त हुने गरी त्यसको विवरण पनि पत्रको पुछारमा उल्लेख गर्नुभएको छ। उहाँको यो उदाहरणीय जाँगर र पाठकीय सचेतता देखेर म चकित भएको थिएँ।

पत्रमा डाक्टर बरालले ती नौ कथाबाहेक पत्रपत्रिकामा प्रकाशित अरू कथाहरूको जानकारी पाए ती पनि पढ्ने थिएँ भन्ने आसय प्रकट गर्नुभएको छ। यो भनाइको अर्थ मेरा ती नौ कथाले उहाँलाई मेरा अरू कथा पनि पढ्न प्रेरित गरेका रहेछन् भन्ने बुझेँ मैले। नत्र जानकारी पाए ती पनि पढ्थेँ किन भन्थे बराल बूढा ? वास्तवमा डाक्टर बूढालाई मेरा कथाहरूले राम्रैसँग तानेछ। मभित्र भित्र खुसी र उत्प्रेरणाले भरिएको थिएँ। मेरो युवा जोस आत्मुग्ध भएको थियो।

प्रोफेसर डाक्टर ईश्वर बराललाई मैले लेखेको प्रतिउत्तर उहाँको नयाँ दिल्लीस्थित उहाँ कार्यरत जवाहरलाल नेहरू विश्वविद्यालयकै ठेगानामा पठाएको थिएँ। यद्यपि विकल्पको रूपमा उहाँले काठमाडौं सिफलस्थित आफ्नो घरको ठेगाना पनि पत्रमा उल्लेख गर्नुभएको छ। त्यसमा समयसीमा दिएर जता पठाए पनि आफूले पत्र प्राप्त गर्ने जानकारी दिनुभएको छ। तर, समयमै उहाँको हातमा परोस् भन्ने ध्याउन्नले मैले आफ्नो प्रतिउत्तर उहाँको जेएनयूकै ठेगानामा पठाउन ठीक मानेँ। र, पठाएँ।

डाक्टर बरालले नेपाली कथाको यस किसिमको सामूहिक संकलन निकाल्ने सोच बनाउँदाका ती दिनसम्म कथ्यगत दृष्टिले नेपाली कथाको संकलन कतैबाट निस्किएको मलाई थाहा छैन। नेपाली कथाको कथ्यगत सामूहिक संकलन निकाल्ने उहाँको सोच नै नेपाली आख्यान साहित्यको लागि नयाँ थियो। नेपाली साहित्यको लागि यस किसिमको लाभदायक नयाँ गर्ने उहाँको विशेषता नै थियो।

उहाँको पछिल्लो यस योजनाबारे आख्यानकारहरूबीच निकै उत्साहकासाथ चर्चा हुन थालेको थियो। त्यसमा थुप्रै लेखकहरू सामेल हुँदै थिए। ती सब कथाकारहरू त्यसको उत्सुक प्रतीक्षामा थिए। सर्वप्रतीक्षित उक्त संक्लन आज निस्केला, भोलि निस्केलाको दिन गन्ती गरेर थुप्रै वर्ष बित्यो। तर, सनसनी मच्चाउने अन्दाज गरिएको त्यसको रूप आजसम्म हेर्न पाइएन।

यसबीच ईश्वर बराल जवाहरलाल नेहरू विश्वविद्यालयबाट सेवानिवृत्त हुनु भयो। यता देशमा राजशाही निरंकुश पञ्चायती शासन ढल्यो। देशको राजनीति स्वतन्त्र विचरण गर्न सक्ने भयो। उहाँ स्थायी रूपमै नेपाल आएर बस्न थाल्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति पनि हुनुभयो। तर, उहाँद्वारा परिकल्पित ‘२०३० को छेउछाउदेखि लेखिएका स्त्रीकेन्द्रस्थानीय नेपाली कथाहरू' नामक समकालीन नेपाली कथाहरूको महत्वाकांक्षी संग्रह प्रकटमा आएन।

लामो समय लागे पनि सायद आउँथ्यो पनि होला। तर, यसको लागि उहाँलाई स्वास्थ्यले साथ दिएन। उहाँ गम्भीर विरामी पर्नुभयो। परीक्षणले ब्रेन क्यान्सर भएको निष्कर्ष दियो। यसैसँग महिनौं जुध्दै ईश्वर बराल अस्ताउनुभयो। उहाँसँगै २०३० यताका स्त्रीकेन्द्रित कथ्यआधारित ‘सामयिक नारीका रूप औ विदीर्ण दर्पण' झल्किने समकालीन नेपाली कथाहरूको सम्भावित एक महत्वपूर्ण संग्रह पनि अस्ताचल मोडियो।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1