MENU

देशैभर 'बजारशत्रु'

635x90

सौरभ शनिवार, चैत ५, २०७३ 4620 पटक पढिएको

Share This

ठिमी
छानाका चार कुनामा चरा आकारका इँटहरू हालिन्छन् भन्ने सबैलाई थाहा भएकै हो। तर, यी चराहरू कुखुराको भालेको टाउको लिएका (गोंगपा) मात्रै बन्दा रहेछन्। पंक्तिकारले सिउर नभएको चाहिँ बनाउने अर्डर दिन चाह्यो। ठिमीलेहरू त्यसका निम्ति तयार भएनन्।

उनीहरूले भने- चलन यही छ। तर, खोकनाको रुद्रायणी मन्दिरमा कुखुरा चढ्दैन भने मन्दिरको छानामा कुखुरा हुने कुरै आउँदैन। गोपालीहरू कुखुरा खाँदैनन् भने मकवानपुरका पापुंङ, पालुङ र बज्रबाराहीका मन्दिरका छानामा कुखुरा हुने कुरै भएन। यी कुराहरू बताउँदा पनि उनीहरू तयार भएनन् त्यो चरा इँटा तयार गरिदिन।

पाटन
सुकुन्दामा गणेश र नागका सट्टा चरा हालेर बनाइदिने अर्डर लिन पाटनका ज्यासलहरू तयार भएनन्।
भनियो— शकुन (चरा)बाट सुकुन्दा हुने हो, त्यहाँ कसरी गणेश र नाग हुनसक्छ ? उनीहरू सुन्न तयार थिएनन्। उनीहरूले बरु हाम्रो प्रज्ञाप्रतिष्ठानका बृहत् शब्दकोशका कोशकारहरूले दिएको परिचय पढेका पो थिए कि ? जहाँ भनिएको छ— नेपाली सुकुण्डो शब्द नेवारीको सुकुन्दाबाट बनेको हो। अर्थात् ज्यासलले जे भन्छन् त्यही सही हो।

पाटन
गजुर चाहिएको थियो तर कमलगट्टा नभएको। प्रयागपोखरी पुग्ने-पुग्ने बेलाको एउटा ठूलो पसल ढलोट निर्माणको पसल हो। त्यसका सञ्चालकले भने— हाम्रो शास्त्रअनुसार मिल्दैन।

पंक्तिकारले भन्यो— तपाईं बौद्ध मतको हो। तर, मेरो नेपाली शिवलाई कमल हुँदैन। त्यसपछि भन्यो— तपाईंले कमल भने पनि हाम्रो भाषामा त्यो लड्डु हो। ऊ मत्थर त भयो तर कमलगट्टा गाँसिएको भागको पेच खोलेर माथिको मात्र दिन तयार भएन। भन्यो— त्यसरी दिन मिल्दैन।

नजोडी राखेको दिए हुन्छ भन्दा पनि राजी भएन ऊ। अनि भन्यो-बरु छुट्टै अर्डर गरे बनाइदिन्छु तर बाह्रवटा अर्डर गर्नुपर्छ। पंक्तिकारको भनाइ थियो— हातैले बनाउने भएपछि एउटामात्र बनाउन असजिलो के पर्‍यो ? उसले भन्यो-हुँदैन।माथिका तीन प्रसंगमा अरू तीन प्रसंग थपिदिऊँ।

नाला
भक्तपुरको च्याह्मासिंहबाट नाला हुँदै बनेपा निस्कँदै थियौं हामी तीनजना। आधी बाटोको मोडमा पुग्दा घना बादलले ढाक्यो र सिमसिम पानी पर्‍यो। चिया पिउन ओर्लियौं हामी एउटा पसलसामु।

तीन कप कालो चिया, चिनी नहालेको माग्यौं हामीले। तर, उसले भन्यो— कालो चिया छैन। दूध हालेको भए दिन सकिन्छ। हामीले भन्यौं— त्यही कालोमा दूध, चिनी नहालेर दिन मिल्दैन ? उसले भन्यो-मिल्दैन।

मित्रहरूले त्यही भए पनि पिऊँ भने। तर, पंक्तिकारले मानेन, हामी हुइँकियौं।

रुकुम
रुकुमको छिङमा एक हमाल छन्। त्यहाँ कार्यरत आईएनजीओ र एनजीओका हजारौं कार्यकर्ता पनि पुग्दा रहेछन्। एक रातको बासमा हामीले भन्यौं— सिस्नोको तरकारी बनाइदिनुहोस्, तपाईंको कान्लामा त प्रशस्तै रहेछ पनि। हमालजी तयार भएनन्। उनले भने— त्यो त सुँगुरलाई खोले बनाउनलाई हो। हामीले सोध्यौं— किन तपाईं आफू खानुहुन्न र ? उनले आफूले खाने गरेको बताए।

हामीले भन्यौं— घरभित्रको चुल्होमा बनाउने चलन छैन भने बारीमै ढुंगा जोडेर बनाइदिए पनि हुन्छ, पैसा तिरिहाल्छौं। तर, उनले कुरै सुनेनन्। रोल्पाबाट रुकुम फर्कंदा हर्डेक भन्ने संस्थाका अरू तीनजना पनि एउटा ठाउँमा यस्तै आग्रह गर्दैथिए हामीसँगै। ती पसलेले पनि टिपेको सिस्नो सुँगुरका लागि हो भने तर मानिसलाई खान पटक्कै दिएनन्।

मुढे
मुढे भन्ने ठाउँ खाडीचौरबाट चरीकोट लाग्दा पर्छ, त्यस्तै एक घन्टाको दूरीमा। कुहिरोले प्रायः छोपिरहन्छ र कुहिरो नलागे पनि चिसो भइरहने ठाउँ हो।
जिरीबाट फर्किंदै थियौं। थालमा पसलेले भात यसरी ल्यायो, मानौं त्यसभित्र संयोगवश दाल, तरकारी लुकेका छन्। अर्थात् भातको चुली पहाडले थालका पूरै किनार छोपिएका थिए।

अरू दुईतीनजना पनि त्यो कञ्चनजंघा, अन्नपूर्ण र सगरमाथा कसरी छिचोल्ने हो सोच्न नसकेर जिल्ल थिए। पंक्तिकारले भन्यो— यति धेरै खाना किन फाल्नु ? एउटा जगेडा प्लेट ल्याइदिए नखानेजति पन्छाइदिन हुन्थ्यो।पसलेले भन्यो— नखाने भए फालिदिए पनि हुन्छ, फरक पर्दैन।

पशुपतिनगर
करिब बीस वर्षअघिको कुरा हो। दार्जिलिङसम्म जाने एउटा जिप बुक गर्न होटलको एक किशोरलाई पठाइयो। एकछिनपछि फर्किएर आएर उसले भनेको कुरा यस्तो थियो-

'आज कुनै पनि जिप दार्जिलिङ नजाने रे। दार्जिलिङ पुग्नैपुग्नै लाग्दा बाटोमा गोलमाल छ रे। यसैले सर मैले कालिम्पोङ जाने जिप बुक गरेर आएको छु। यताबाट कालिम्पोङ जाँदैन भन्दैथियो, मैले मनाई छाडेँ। एडभान्स पनि दिएर आएको छु।'

काठमाडौं
पशुपतिनगर र काठमाडौंबीच दरिलो मित्रता छ। हरेक छापाको छुट्टाछुट्टै ग्राहक बन्नुभन्दा सजिलो हुन्छ एजेन्टसँग सम्झौता गर्नु।तर, एजेन्टले प्रायः भन्छ— आज ‘द हिमालयन' हालिदिएको छु, ‘काठमाडौं पोस्ट्' सकिएछ। वा भोलि भन्ला— ‘अन्नपूर्ण पोस्ट्' आज हारालुछै भयो, ‘हात्तीगौंडा' साप्ताहिक ल्याइदिएको छु है।नेटमा पत्रिका पढ्न जसलाई आँखामैत्री लाग्दैन उसले ‘कान्तिपुर'को आशा गरिरहेको होला। तर, एजेन्टले भन्छ— आज सकियो, ‘मम' पाक्षिक ल्याइदिएको छु।

काठमाडौं
पत्रिका एजेन्टसँग सबैभन्दा बढी कुरा मिल्छ, औषधि पसलेहरूको। प्रत्येक औषधि पसले र उसका सहयोगीहरूले एउट गज्जबको मन्त्र सिकेका हुन्छन्— तपार्ईंले भन्नुभएको त्यो औषधि त छैन, त्यस्तै अर्को नामको छ। ‘क' नामको औषधि मागेपछि उसले ‘क' छैन ‘ख' छ भन्छ-भन्छ। ‘ख' मागे ‘ख' छैन ‘ग' छ भन्छ-भन्छ।

जेनेरिक नाम मिल्ने हुन्छ भनेर बुझ्ने पनि समाजमा थोरै भए पनि अवश्य छन्। तर, उसले जेनेरिक नाम भिडाएर÷ठम्याएर भनिरहेको हुन्छ र ? उसले जस्तो औषधिको नाम कसैले थाहा पाएको हुँदैन पनि।
अरू तीन प्रसंग थपिदिऊँ।

काठमाडौं
नयाँ सडकको दक्षिण लहरमा होटल ग्रिन थियो। त्यसको सामुन्नेजस्तो उत्तरी लहरमा सज्जाद जहिरको सैलुन। जहिर जुद्धशमशेरले लखनउबाट झिकाएको हजाम मानिन्थे। त्यहाँ कपाल काट्न जानु प्रतिष्ठा मानिन्थ्यो।

 

सामान्य उपभोक्ताका लागि पनि नेपाली बजार मानसिक पीडा उत्पादन गर्ने विशालतम कारखाना हो। जति तल्लो तहको व्यापार वा व्यवसाय भयो, त्यो आफ्नै बजारको सबैभन्दा ठूलो शत्रु हुन्छ।त्यो खुला बजार अर्थतन्त्र नामको हाँगोमा बसेको कालीदास नै हो।

 
त्यो त्यहाँबाट हट्यो। तर, खुम्चिएर पनि नयाँसडकको छेउछाउ चलिरह्यो। त्यहाँ पूर्वमन्त्री, सचिवहरू पछिसम्म थुप्रैै जाँदैथिए। किशोरकालदेखि पंक्तिकार पनि जान्थ्यो। जहिरपुत्र तलत महमुदको गजल गायनका सोखिन थिए। हरदम सुनिरहन्थे।

त्यहाँ एक भोजपुरी गीतकार पनि थिए। जहिरपुत्र भीआईपीको मात्र कपाल काट्थे। हामीजस्तो अल्लारेको कपाल पथ्र्यो गीतकारको हातमा। तर, तिनले भनेको ठ्याक्कै ढाँचामा कहिल्यै कपाल काटेनन्। आधा सेन्टिमिटर, एक सेन्टिमिटर यताउता पारिदिनु उनका लागि मामुली कुरा। ‘मिल्दैन यो' भनिदिन्थे उनी।

पाटन
आज-भोलि कुमारीपाटीको दायाँ-बायाँ प्रशस्तै लुगा पसलहरू छन्। किनिसकेपछि ‘यो पाइन्ट्स छोट्याऊँ, मिलाऊँ' भन्यो पंक्तिकारले। पसलसँगैका सुचीकारको भनाइ छ— एक इन्च घटाउन मिल्दैन, छोटो हुन्छ। ‘अहिले लगाइराखेको साइज नै त्यही हो' भन्ने कुरा सुन्न ऊ तयार छैन।

अन्ततः कुन ठाउँमा पुगेर सम्झौता गर्नुपर्‍यो भने— एक इन्चचाहिँ कदापि होइन, उसले कृपा गरेर, निगाह गरेर आधा इन्च घटाइदिनेछ।

भक्तपुर
भक्तपुरका अवालेहरूलाई अहिले तराईका भट्टाहरूले ठूलै चुनौती दिएका छन्। तर, जति पातलो होस्, साइजहरू एक÷दुई लाइनले भए पनि नमिलेका हुन्, त्यो इँट प्रयोग गरिरहेकाहरूलाई भक्तपुरे इँट नै चाहिन्छ।

अनि हजार इँट झिकाउँदा उसले आठ सय झार्छ र ‘दुई सयका ठाउँमा टुक्रा इँट ल्याइदिएको छु' भन्छ। उसको तर्क ठिकै छ— नत्र यी टुक्रा इँट कसरी बिकाउने हामीले, ग्राहकले अलिकति नलिइदिए ? त्यसमा चार सय टुक्रा हुँदैनन् भन्ने बिर्सिदिऊँ।

उसलाई कसैले भनोस्— हजार नै देऊ। एउटा पनि नफुटेको देऊ, बरु कति पैसा लिन्छौ पहिला नै भन, दिऊँला। उसले त्यति पैसा तिरे भनेअनुसार ल्याइदिने कबुल गर्छ। तर, आउँछ आठ सय पचासवटा सग्लो इँट। पचासवटा टुक्रा जरुर आउँछन्। अनि त्यो पनि प्रायः दुई नम्बरको हुन बेर छैन।
अरू तीन प्रसंग फेरि थपौं।

देशैभर
साहुनी चियामा चिनी नहाल्नुस् है।
तर, चिया आउँदा केही न केही गुलियो हुन्छ-हुन्छ। यस्ता सडक किनारका पसलमा कफी माग्ने हो भने त अझै बढी चिनी हुन्छ।
तपाईंलाई चिनी नहाल्नुस् भनेथेँ भनेर सम्झाएपछि जवाफ आउँछ— यसो अलिकति पनि नहाले त्यस्तो टर्रो कसरी खानु त ?

देशैभर
चिनी पटक्कै नहाल्नुस् है।
यसमा परेको ‘पटक्कै' शब्दले पसलेको÷पसल्नीको चेतना तन्तुलाई अरू बढी हल्लाइदिन्छ। उनीहरू झटारोजस्तो प्रश्न तेस्र्याइहाल्छन्— तपाईंलाई के भएको छ ?
होइन चिनी कम खाने बानी मेरो, चिनी हालेको खान छोडेको पैंतीस वर्ष भयो।
त्यो चिनी हालेको चिया नखाने हो भने चिनी हालेको दूध त हुन्छ होला नि ?

देशैभर
बितेको तीस वर्षमा प्रायः नेपालका कुनै कुनामा पनि गुन्टा बोकेर पुग्नु पर्दैन। आरामदायी लज, होटल पाइन्छन्। खानामा एकरूपता छ। स्तर र मूल्यमा पनि करिबकरिब समानता छ। दैलेख बजारबीचैमा एट्याच बाथ भएकोसमेत रुम १० वर्षअघि पाउँदा पंक्तिकारलाई अचम्म लागेथ्यो।
तर, सबैको एउटा साझा जवाफ हुन्छ— हो नि सर, तातोपानी धारामा आउँछ भनेको। तर, के गर्ने दुई दिनदेखि सिस्टम नै बिग्रेको छ। बोलाउँदा बनाइदिने मान्छे आइदिँदैन। अहिले पनि बोलाएर आएको। तपाईं कति दिन बस्ने हो र ?

वरिपरि
भक्तमान पुरानो सिकर्मी हो पंक्तिकारको। यसपालिको फूल पार्ने सिजन छोपेर डेढ सयजति नयाँ गुँड बनाइदिनुपर्‍यो भँगेराको भन्ने लाग्यो। ऊ आयो।
उसलाई भनियो— बढीमा डेढ इन्च व्यासभन्दा ठूलो प्वाल हुनु हुँदैन। उसले पटक्कै मानेन। आखिर दुई इन्च बनाएरै छोड्यो। मित्रहरू हेर्न आए, रुचाएनन्। उनीहरूले भने— कागले दुःख दिन्छ। त्यसलाई टिकाउने वेल्डरले पनि मानेन।

लिस्टी ठोकेर डेढ इन्चमा झार्नुपर्‍यो। भित्री भाग भँगेरालाई चार वर्ग इन्चको भए भइहाल्छ नि भनेर उसले हुनु अत्तो थाप्यो। पन्ध्र सेन्टिमिटर लम्बाइको भँगेरा कसरी फर्किनसक्छ भित्रपट्टि भन्दा पनि मानेन। बल्लबल्ल आठ वर्ग इन्चमा सम्झौता भयो। तर, थाहा भयो— पचास वर्षभन्दा बढीको उमेरसम्म उसले काठमाडौंका हजारौं घरमा भँगेरा कहिल्यै पनि नबस्ने प्वालहरूमात्र बनायो।अहिले सीमापारिबाट आएको मोहम्मद जो कुनै कुरामा विवाद गर्दैन उसले गुँडहरू सच्याइरहेको छ।

वरिपरि
नयाँ तस्बिरहरू बनाउँदा कालो माउन्ड नहालिदिनु, स्टुडियोलाई भनियो।
तर, उसले बुझाउन ल्यायो सबै माउन्ड हालिएका। र जवाफ दियो— आजभोलि चलन यस्तै छ, नहाली कसरी हुन्छ ? राम्रो देखिँदैन।

वीरगन्ज
चल्तीको चमेनागृह छ। हामी कौसीमा छातामुनि छौं। अधबैंसे उमेरका वेटर छन्। उनी बेलाबेला आउँछन् र भन्छन्— सर क्याबिनमा बसौं।
पंक्तिकार भन्छ— हामी परिवार हौं। यो हाम्रो अनौपचारिक वा गोप्य भेट होइन।
उनले थाहा पाएका छन्, यी काठमाडौंवासी हुन्, घुम्न आएका छन्। यसैले उनी फेरि फर्कन्छन् र सत्कारसाथ नै भन्छन्— यतातिर क्याबिनमा बस्दा इज्जत छ सर, त्यतैतिर जाऊँ।

विराटनगर
यहाँको सबैभन्दा उच्चस्तरको मध्ये एक होटलले एक रात बसाइको दुई हजार मागेर केही थिएन, तर उसले जति दिन बस्ने हो त्यसको अग्रिम भुक्तानी हुनुपर्छ भन्यो। पैसा बुझेपछि उसले रातिको खाना कति बजे खाने हो र के के खाने हो भनेर दिउँसो ५ बजे अर्डर लियो। हामीले खाने समय ७ बजे भन्यौं।
तर, खाना राति डाइनिङ टेबलमा साढे ९ बजेमात्र आयो। र, कुनै खाना पनि हामीले अर्डर दिएबमोजिमका थिएनन्।

यतैकतै
माथि सज्जाद जहिरको कुरा गरियो। डिल्लीबजार, बागबजारतिर पनि हजाम पसलहरू हुन्थे। तिनमा अनेक कटका बाह्रवटा टाउका भएका समान तस्बिर भित्तामा टाँगिएका हुन्थे। रोजाइअनुसार काटिन्छ भन्ने परोक्ष सन्देश हुन्थ्यो त्यो। यो किशोरकालभन्दा अघिको कुरा, जब कपाल काटेको पचास पैसादेखि डेढ रुपैयाँसम्म मात्र पथ्र्यो।
तर, गज्जब के हुन्थ्यो भने, जुन स्टाइलको कटमा आफूले चोरी औंला तेस्र्याए पनि उसले एउटै कट काटिदिन्थ्यो— सिपाही कट।
र यतैकतै
एउटा नवदुर्गा चित्र मन्दिर पनि हुने गर्थ्यो उपत्यकामा, आज छ÷छैन थाहा छैन। सिनेमा हल थोरै थिए, यसै पनि मनोरञ्जनका विकल्प थोरै भएको ठाउँमा। यसैले मानिसहरू हलहरू चहारिरहन बाध्य थिए।

बेलाबेला यो हलमा गज्जब के हुन्थ्यो भने, बाहिर पोस्टर हेरेर टिकट किन्यो भित्र छिरेर बसेपछि थाहा हुन्थ्यो— अर्कै सिनेमा पो चलिरहेको छ।
आन्तरिक पर्यटकको निम्ति मात्र होइन कुनै पनि किसिमको सामान्य उपभोक्ताको लागि पनि नेपाली बजार मानसिक पीडा उत्पादन गर्ने विशालतम कारखाना हो। जति तल्लो तहको व्यापार वा व्यवसाय भयो, त्यो आफ्नै बजारको सबैभन्दा ठूलो शत्रु हुन्छ। त्यो खुला बजार अर्थतन्त्र नामको हाँगोमा बसेको कालीदास नै हो।

भन्न खोजेको, नेपाली रगतको मूलमै कृषिमात्र छ, व्यवसाय त्यसको पकडको कुरै होइन। त्यसैमाथि मझ्यौला र मझ्यौलामाथि ठूला स्तरकाहरू अडेका छन्। भलै तिनको बजारशत्रु शैली भिन्दै खालको हुन्छ। जस्तो ः ‘नट एडेड एमएसजी' (थप अजिनोमोटो मिसाइएको छैन) भन्ने लेखाइ हुन्छ चाउचाउको प्याकेटमा अर्थात् जति मिसाउने चलन छ त्यतिमात्र मिसाइएको छ। नबुझ्नेका लागि यो अजिनोमोटोरहित उत्पादन हो।

उपत्यकामात्र होइन पहाडमा केही कम र तराईमा अझ बढी बजार शत्रु अर्थप्रणाली छ। त्यसको जग हालेको, सिरानी हालेको अर्थतन्त्र घाटाजन्य नभएर के हुन्छ ? यसैले यस्ता व्यवसायहरूलाई ठूलाठूला सुपरमार्केट र सिन्डिकेटहरूले खान्छन् भने सर्वसाधारणले चिन्ता नगरे हुन्छ।

अंग्रेजीको स्लिपी भिलेज भनेजस्तै हो उपत्यका नै भने अरू के होलान् ? निरन्तरको उकाली-ओरालीहरूले पंक्तिकारलाई के अनुभव दिएको छ भने स्थानविशेषको दृश्यले लोभ्याएको अवस्थामा बाहेक त्यो ठाउँ दोहोर्‍याएर जान मन लाग्दैन। अल्लारे पत्रकारहरूले घान्द्रुकलाई धेरै नउचाले हुन्छ।

उग्र कम्युनिस्ट मित्रहरूलाई वर्गशत्रु, सिनेमाका पारखीहरूलाई गणशत्रु, इतिहासका पारखीहरूलाई अजातशत्रु भन्ने शब्दहरू प्रिय लागेजस्तै कसैकसैलाई बजारशत्रु पनि व्यक्तिको नाम हो भन्ने लागेछ भने त्यो पनि ठिकै छ।

म्याग्दी
हामीले भन्यौं— तीन÷तीनवटा रोटी बनाइदिए हुन्छ।
पन्ध्र मिनेटपछि टेबलमा दुई÷दुईवटा रोटी आए। हामीलाई भनियो— पाँच मिनेट पर्खनुस्, अरू एक÷एकवटा पनि आउँछ। बन्दैछ।
तर, आधा घन्टासम्म आएन। अनि बुझियो— रोटी बनाउने कुक आगो निभाएर आफ्नो घरतिर गइसक्यो। ग्राहकहरूकहाँ खाना पुगेको छैन भन्ने बुझेपछि रातको अन्धकारमा एउटा केटो आधी बाटोमा कुकलाई लिन दौडियो। ऊ आएन। फेरि अर्को वेटर दौडियो। फेरि पनि ऊ आएन।

हामी दही, तरकारी आदि दुईवटा हातले छोपेर पर्खिरहेका छौं। अन्ततः सञ्चालक नै कुदेर गएपछि ऊ आयो र एक/एकवटा बनाइदिएपछि आगो निभाएर दौडिहाल्यो।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1