MENU

नाकाबन्दीमा मधेसी नेता र कार्यकर्तालाई भात खुवाउने भारतीय सम्मानित

635x90

क्रान्ति शाह आइतवार, चैत ६, २०७३ 128047 पटक पढिएको

Share This

वीरगञ्ज : पर्साको पोखरीयामा आइतबार स‌घीय समाजवादी फोरम नेपाल पर्साले मधेस आन्दोलन र नाकाबन्दीमा दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनकारीलाई भात खुवाउने भारतीय व्यापारीलाई सम्मान गरेको छ। दशगजा क्षेत्रमा धर्ना बसेका आन्दोलनकारी नेता कार्यकर्तालाई भात खुवाएका भारत रक्सौलका व्यापारी एवम् भारतीय जनता पार्टीका नेता महेश अग्रवाललाइ फोरम नेपालले सम्मान गरेको हो।

फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जिल्लका अध्यक्ष प्रदीप यादवलगायतका नेताले अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेस आन्दोलन ताका नाकामा एक सय ३४ दिनसम्म धर्नामा बसेका मधेसी आन्दोलनकारीलाई बिहान र बेलुकीको भात खुवाएवापत सम्मान गरेकाे बताए । 

नेताहरुले अग्रवाल आफूहरुका लागि भगवान सरह भएको भन्दै मधेस आन्दोलनमा उनले गरेको सहयोग र समर्थन मधेसी जनताले सदैव सम्झिरहने जिल्ला अध्यक्ष यादवकाे भनाइ छ। मधेस आन्दोलन ताका भएको एक सय ३४ दिनको नाकाबन्दीमा धर्नामा बसेका मधेसी नेता कार्यकर्तालाई अग्रवालले रक्सौलमा मेस चलाएर खाना र खाजा खुवाएका थिए।

सम्मान ग्रहणपछि सभालाई सम्बोधन गर्दै अग्रवालले मधेस आन्दोलनका लागि आगामी दिनमा पनि आफूले तन मन र धनले सहयोग गर्ने बताए। मधेस र मधेसी जनताको हक अधिकारको लडाइँमा मेरो सहयोग निरन्तर रहन्छ’, उनले भने, ‘फेरि पनि आन्दोलन भयो भने म विगतको भन्दा पनि अझ धेरै सहयोग गर्छु।’

विगतको मधेस आन्दोलन मधेसकै केही भ्रष्ट र बेइमान मधेसीका कारण तुहिएको अग्रवालको भनाइ छ। ‘विगतको मधेस आन्दोलन मधेसीकै कारण तुहिएको हो, त्यसको दोषी हामी मधेसी नै हौँ, काठमाडौंको हुक्का पानी मधेसीले बन्द नगरेसम्म मधेस आन्दोलन सफल हुन सक्दैन।’

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत, केन्द्रीय सदस्य एवम् सांसद वीरेन्द्र महत्तोलगायतले सम्बोधन गरेका थिए।

उद्योगपतिहरु फोरम नेपालमा प्रवेश
सोही कार्यक्रममा वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका नाम चलेका औद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

पर्साको पोखरीयामा आइतबार फोरम नेपाल पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा आमसभामा जगदम्बा, सरावगी अग्रवाललगायत चर्चित औद्योगिक घरानका सञ्चालकहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

रावगी ग्रुपका संचालक एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य विजय सरावगी, जगदम्बा इन्टरप्राइजेज प्रालिका संचालक रमेश अग्रवाल, जगदम्बा ट्रेडिङ कम्पनी प्रालिका संचालक प्रतिक अग्रवाल, वीरगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रवि वर्णवाल, माँ दुर्गा फुड्स प्रालिका संचालक अंकित अग्रवाल, राजेश हार्डवेयर प्रालिका संचालक पुरन अग्रवाल, कलश सिमेन्ट प्रालिका संचालक अंशुमन अग्रवाल, नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार हरिनारायण रौनीयारसहित उद्योगी व्यपारी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्योगी व्यवसायीहरुलाइ अबिर टीका र फूलको माला लगाएर पार्टीमा स्वागत गरे ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1