MENU

सबै भाइकी साझा पत्नीको वास्तविकता

635x90_1

दामोदर पुडासैनी शनिवार, बैशाख २, २०७४ 134330 पटक पढिएको

Share This

635-X-85

समाज

तोर्पा गाउँका कुकुर र कुखुराहरूले बेस्सरी नारा लगाएपछि मात्र पूर्वपट्टि हिमालबाट फुत्रुक्क ओर्लियो घाम । कुहिरोको बर्को ओढेका सबै हिमाललाई विस्तारै नंग्यायो, तलतिरको ठेहे गाउँ र माथितिरको तोर्पा गाउँका कुनाकाप्चालाई सुमसुम्याउँदै ततायो उसले । लटरम्म राताम्य फलेर बोट नै झुकेका स्याउका दाना दानालाई चुमिरह्यो र हावासँगै हल्लाइदियो । गाउँभरिका मान्छेहरू कुइरीमण्डल धुवाँले ढाकिएका घरहरूबाट बाहिरिएर र छानाछानाबाट लठारिन थाले घामसँग । बारी जाने, बन जाने, गोठालो जाने, मायामा माया मिसाउने उनीहरूको सल्लाह र साउतीलाई गडेर सुनिरहेछ घामले । माथितिरबाट फाल हालिरहेका हजारौं छहराहरू र तलतिर सबैलाई एकत्रित पार्दै हुत्तिरहेको दोज्याम खोला सबैसबै इत्तरिरहेछन् घामसँग । गाउँभरका भेडा, घोडा र चौंरीहरू घामलाई उकालो चढाउन र ख्वाई प्याई गर्न माथितिर उक्लिरहेछन् नयाँनयाँ बाटो बनाउँदै ।

Damodar-pudasainai_1धारामा पानी होइन हिउँको लेदो बगिरहेको रहेछ । हातमुख धुँदा नसानसालाई टोक्यो हिउँले ।'के गर्नु यो हिमालमा चामल पाइँदैन, यस्तै रुख्खा सुक्खा खाऊँ', पाँडमा उभिएर चौंरीको घिउ हालेको नूनचिया र जौको लयालु पीठो खाएपछि शरीरमा ठूलै शक्ति सञ्चार भयो । 'गाउँमै जौ, जै, उवाजस्ता तागतिला अन्न फलाउन सकिनेमा किन चामलमोह पैmलेको छ हिमालमा', अचम्ममा परेँ म ।'लौ भाउजू अब जान्छौं, फर्कंदा मिल्यो भने पसौंला', मैले तीन हजार तेस्र्याएँ भाउजूअघिल्तिर । 'पर्दैन, इष्ट र पाहुनासँग पनि पैसा लिन्छ' पैसा लिनै मान्नुभएन दाइभाउजूले । बल्लबल्ल भाउजूले लगाउनुभएको बख्खुको खल्तीमा घुसारिदिएँ नोट ।

'तिमीहरू फर्कंदा मलाई भेट्दैन होला । आज साहिँलो भाइ घर आउँछ रे । मो भेडीगोठ जान्छ । नमरी बाँचे भेट होला नि कुनै बार', औंसीको साँझ ओर्लियो प्रेम दाइको अनुहारमा । बिदा भयौं र गाउँको माथिल्लो घरतिर लाग्यौं हामी ।'बड्डा (बूढा)लाई ठूलै पीर परेछ आज । भाइ आउने भएपछि के गरोस् त बरा । जोइले खटाएपछि कुरो काट्न पनि नमिल्ने', बिशाल बोहरा ।
'केको पीर ? ' प्रश्न मेरो ।

'यहाँ बहुपतिप्रथा छ । दाजुभाइ जतिजना भए पनि स्वास्नी भने एउटै । स्वास्नीले खटाएपछि लोग्नेहरूले नाइनास्ती गर्नै नमिल्ने । चारपाँचजना लोग्नेहरू छन् भने कसैलाई भेडीगोठ, कसैलाई भोट व्यापार, कसैलाई खेतीपाती, कसैलाई रासनपानी ओसारपसार गर्न र कसैलाई घरमै बस्न खटाइदिन्छिन् स्वास्नीले । घरमा स्वास्नीसँग बस्न पाउनेलाई रामै्र भयो, अरूले त पाउने भए नि गोता ।

भाइ खाइलाग्दो होला, अनि किन प्रेमबहादुर दाइलाइ टिक्न दिन्थिन् त भाउजूले ।' गलल्ल हाँसे विशाल र जंग । घरवरिपरि लटरम्मै झुलिरहेथे रोयल डेलिसियस् स्याउ । स्याउमा ठोक्किँदै, स्याउ छाम्दै, स्याउ कुल्चँदै स्याउ बगैंचाभित्र डुल्दा आफैं बनिँदो रहेछ— रस र रंगले भरिपूर्ण इन्द्रधनुषी स्याउहरूजस्तै । 'आमै, पचास रुपैयाँको स्याउ बेच्नुहोस् न', पाँडको अघिल्तिर माला गनिरहेकी बूढी आमातिर तेस्र्याएँ दाम।

'केलाई चाहियो पैसा, खान मन लागेजति खा'न', हाँस्नुभयो बूढीआमा ।मूल्य नलिए स्याउ नखाने बताएपछि मात्र समाउनुभयो आमाले पचासको नोट ।'मन लागे जत्ति टिप्', आमा ।'कति हो, आफैं टिपेर दिनुहोस् न', कति टिप्ने हो अन्योलमा परेँ म ।हामी चार भाइले आआफ्नो झोलामा अटेसम्म कोच्यौं स्याउ । काठमाडौंमा भए त्यति स्याउको कम्तीमा हजार रुपैयाँ पथ्र्यो होला । सुनलाई सखरको भाउमा बेच्न परेपछि स्याउ खेती गर्नुको पनि के औचित्य किसानलाई ।हाम्रो यात्रा सुरु भयो रल्लिङतिर ।

पन्ध्र हजार फिटको उचाइमा सेताम्य हिउँको ढकनीले ढाकिएर उभिएको छ रल्लिङ । तोर्पा गाउँबाट उकालो चढ्दा रल्लिङ चौंरीको डंगुर बनेर ब्यूँझिरहेथ्यो ।'संस्कृति र प्रकृति दुवैको राम्रो संगम हो, रल्लिङ । रल्लिङ हिमालको काखमा बुद्ध रहेको रल्लिङ गुफा छ । रल्लिङ हिमाल आफैं सुन्दरताको अनुपम नमुना छ । चाहेर पनि जोसुकै कहाँ पुग्न सक्छन् र रल्लिङ', विशालजीले महिमा थप्नुभयो रल्लिङको । हाम्रै टाउकोमाथि खितिती खितिती हाँसिरहेछ रल्लिङ ।हिमाली शृंखलाहरू भेट्ने र छोड्ने क्रम जारी छ । जतासुकैबाट बाटाहरू नाघ्दै झरेका छन् खोलाहरू । मानौं पानी नै पानीका पहाड नाघ्दैछौं हामी।

बस्तीको वरिपरि फाट्टफुट्ट बारीहरू छन् । पाकेको फापरले राताम्य देखिँदैछन् बारीका पाटाहरू । भिराला पहाडहरूमा भीरजस्तै पाटाहरू छन् । मान्छेहरू फापर थन्क्याउँन र चौंरी, भेडा र घोडाहरू चराउनमै मस्त छन् । बाटामा किसानहरू भेटिन्छन्, गोठालाहरू भेटिन्छन् । तिनीहरूको आङ ढाक्न पर्याप्त कपडा छैन । भएका कपडाहरू पनि मैल जमेर टल्किरहेछन् र टाल्दा टाल्दा टाल्ने ठाउँ नै बाँकी देखिँदैन । उमेर पुगेकै मान्छेहरूको पनि नाकबाट सिँगान बगिरहेको छ, हातखुट्टा मैलको पत्रले ढाकेर बिरूप देखिन्छन् ।

विष्णुमायाजी र निमा बहिनी अघिअघि हुनुहुन्छ । हामी चारजना पछिपछि छौं ।हुटिक गाउँ पुगेका छौं हामी । ढुंग्याने भीरहरूमा भेडाका पाठाहरूको भर्खर उम्रन लागेको सिङजस्तो पाट्टपुट्ट टाँसिएका छन् घरहरू । हुटिक गाउँमा हामी पुग्ने र कुहिरोले छोप्ने एकैपटक भएको छ ।'यस्तो कुहिरोले ढाकेको बेलामा त हिमभालुले झम्टन पनि बेर लाग्दैन', जंगजीको भनाइ सुनेपछि डरले तातेको छ कान । 'जे पर्ला त्यही टर्ला', दह्रिलो बनाउँछु म मुटुलाई ।हुटिक गाउँमा कुर्लिरहेका भालेहरू र हुकुमी स्वरमा भुकिरहेका कुकुरका आवाजहरू झन् भयलाग्दा बनिरहेछन् ।

नारीलाई कहिल्यै फुक्का हुन नदिने र सधैं कसै न कसैको खेलौना बनाइरहने, घरको इमानदार नोकर बनाउने काइदामात्र हो यो ।

बाटोको माथितिर दुई र तलतिर दुई घर देखिए हुटिक गाउँमा । रौं नै रौंका थुप्राजस्ता चौंरीहरू खुर्मुरिएर उकालो ओह्रालो गर्दा हामीलाई पनि भीरबाटै खसालिदिने हुन् कि भन्ने डर थियो । घरबाट मान्छेहरू निस्कन्थे र आश्चर्यमिश्रित भावमा हामीलाई क्वारक्वार्ती हेर्थे ।हामी जाँदै गरेको रल्लिङ हिमालको चुचुरोलाई भौंरीखार हिमाल भनिँदो रहेछ । तीनवटा सेता चुचुराहरू मुसुक्क मुस्कुराइरहेछन् । लहरै रूपशी नवयौवनाले खास्टो खोलेझैं कुहिरोले विस्तारै छोड्दा संसार नै सेतो र सफा लागिरहेछ । पूर्वपट्टि अर्को अग्लो चुचुरोले फैलाइरहेछ सौन्दर्यको समुद्र । त्यसलाई सेल्मुकाङ हिमाल भनिँदो रहेछ । वरिपरिका गाउँलेको मूल तीर्थ पनि रहेछ सेल्मुकाङ । रमाइलो गर्ने, मेला भर्ने, आफ्ना दुःख बिसाउने, पुकारा गर्ने सबैको आधार रहेछ सेल्मुकाङ । सेल्मुकाङसँगै कुम जोडेजसरी मुस्कुराइरहेछ अर्को चाङ्ला हिमाल ।

 

सूर्यसँगै म पनि बेस्सरी रमाइरहेछु त्यो हिमाली प्रदेशमा । थकाइ होइन जाँगरको मुस्लो उठिरहेछ । सिमकोटबाट हिँड्दा लेक लाग्ने डर हुन्छ भन्नुहुन्थ्यो त्यहाँका साथीहरूले । म भने झन् फूर्तिलो र उत्साही बनेर अघि बढिरहेछु साथीहरूसँग ।'धेरै छिटो नहिँड्नुस् सर, भरे एकै डल्लो पर्नुहोला फेरि ।' सजग बनाउनुहुन्छ साथीहरू ।

चढ्दाचढ्दै चट्टानको काखमा भेटियो एउटा स्यानो बारी । बारी पूरै ढाकेको छ चोती (गान्टेमुला) ले । चोती उखेल्दै हुनुहुँदो रहेछ एक बूढा बा । हामीलाई टाढा देख्नेबित्तिकै हुत्तिएर बाटामा आइपुग्नुभयो उहाँ । 'औषधि देऊ न, मलाई असाध्यै टाउको दुखेको छ, ज्वरो पनि छ' हनहनी ज्वरोमा हुनुहुँदो रहेछ बूढा बा । मेरो झोलामा सिटामोल थियो, दिएँ । एक चक्की क्वाप्पै खाइहाल्नुभयो । 'मसँग दिने केही छैन, यो चोती दिऊँ', औषधिको मूल्य चुकाउन खोज्नुभयो बाले ।

मैले बूढा बा को अनुहारमा आफ्नै बालाई देखें ।'दुःखको त पहाड नै छ हगि बा हिमालमा ? ', बाका पीरका पत्रहरू कोट्याउन खोजेँ मैले ।'नबुझ्नेलाई दुःख हो हिमाल । अल्छीहरूलाई अजङ हो हिमाल । बुझेर जाँगर छर्न सकियो भने हिमालमा जत्तिको बाँच्न सजिलो अन्त छैन । हिमालकै चिनो, कागुनु, कोदो, चोती खान जान्नु पर्‍यो । डालेचुक, सिस्नो, भाँगो र सुनपाती चिया पिउन जान्नु पर्‍यो । यतैका चैाँरी, भेडा, याक र नाकसँग रमाउन सक्नु पर्‍यो । यतैका ऊन र अल्लोको लुगा लगाउन जान्नु पर्‍यो । अनि पो हुन्न अभाव, अनि पो हुन्छ आनन्द ।' हामीसँग कुरा गर्दा फुलेको फापरजस्तो देखिनुभयो बूढा बा ।

उकालो चढ्ने हाम्रो क्रम सुरु भयो । तलतिर दोज्याम खोलाको सुसाइको संगीतले मन हल्का परिरहेछ । हावासँगै बहिरहेको कुहिरोले थकाइ बिलाइरहेछ । चट्टानका घन्टहरूजस्तो लाग्दैछन् पहाडहरू । हावासँगै एकोहोरो बजिरहेछन् । तिनीहरू भर्खर ध्यानमा लीन भिक्षुणीजस्ता देखिँदैछन् ।काङ्नी (तिब्बती बौद्ध परम्पराको स्वागतद्वार, प्रवेशद्वार)बाट छिरेपछि लिमाटाङ प्रवेश गरेको थाहा भयो । हिमाली क्षेत्रका गाउँहरू प्रवेश गर्ने ठाउँमा प्रायः त्यस्ता स्वागत द्वारहरू निर्माण गरेको देखेको छु मैले । प्रवेशद्वारका भित्ताहरूमा बुद्धका चित्रहरू सजाइएका हुन्छन् । रसुवा र मुस्ताङका गाउँहरूमा त्यस्ता काङ्नीहरूबाट छिरेको सम्झना आउँछ मनमा ।

'लिमाटाङमा मेरी सानिमाको घर छ । आज बिहानको खाना उतै खानलाई खबर पठाएको छु सर', उकालो चढ्दै गर्दा निमाले भन्नुभा'थ्यो ।'लगड ख्वाउन्या हौ ? कि 'पिर्‍या' (खुर्सानी) र आलुमा टान्र्या हौ ? ' सुमनले जिस्क्याउन खोजे निमा बहिनीलाई ।'जाऊँ न मात्र, न खोले फाँडोले मात्र टार्न पन्र्या हो कि', हाँस्नु भएथ्यो निमा बहिनी ।माथिबाट खुर्मुरिँदै आए तीन बच्चा—निमाका सानिमाका नातिहरू । निमा बहिनीको बख्खुको फेर समातेर हाँस्दैहाँस्दै अघि लागे ।हामी निमाको सानिमाको घरमा पुग्दा आँगन पूरै भरिएको रहेछ भेडाका बथानले । दुई कुकुर डाँडै थर्काउने गरी भुकिरहेथे हामी गएकै दिशातिर हेरेर । बड्कौला, मल र पिसाबले भरिएको थियो आँगन । कडा दुर्गन्ध फैलिरहेथ्यो ।

निमा बहिनीको अगुवाइमा हामी सरासर घरको माथिल्लो तलामा गयौं । तै सफा रहेछ माथिल्लो तला । भाँडाकुँडा सफा थिए । मान्छेहरू पनि सफा सुग्घरी देखिन्थे ।'तेरो रुपस्या आमा आया' (तिम्री राम्री आमा आइन्), एक अधबैंसेले आफूले बोकिरहेको बच्चालाई निमा देखाउँदै बोले ।'रोइमल सोनाम', मेरो भाइ निमाले हामीसँग चिनाजानी गराउनुभयो । घरमा निमा बहिनीकी सानिमा, सानोबा— तजिन फुर्बु, राइमलकी पत्नी र ६ देखि १२ वर्षसम्मका तीन बच्चा रहेछन् ।

माथिल्लो तलामा पुग्नेबित्तिकै हामी ६ जनालाई नै एउटै राडीमा राख्नुभयो बूढी आमाले । 'ॐ मणि पद्मे है' मन्त्र जप्नु भयो । धूपीको धूप सल्काउनुभयो । हामी सबैलाई फुक्नुभयो र धूपीकै प्रसाद लगाइदिनुभयो ।'मेरा पाँच छोराहरू छन् । जेठो व्यापार गर्न लिमी—तिब्बत गयो, साहिँलो चौंरी चराउन पाटन (हिमाली भेगमा थली परेको जग्गा जहाँ चरनयोग्य घाँस पाइन्छ) गयो । दुई छोरा लामा विद्या पढ्न भारत गए । माहिलो छोरा छिरिङ लामा घर बस्छ । बुहारी यिनै हुन् ।' — झन्डै तीस÷बत्तीस वर्षकी बुहारी छेटोल्मा लामालाई देखाउनुभयो निमाका सानोबाले ।

'जाडो छ, थाकेर पनि आएका छौ आगो तापेर बस', घोडामच्चा चिया दिँदै बोल्नुभयो सानिमा । त्यो तलामा बल्लतल्ल टाउको मात्र छिर्ने दुईवटा मात्र झ्याल रहेछन् । उज्यालो र अक्सिजन दुवैलाई प्रवेश निषेध गर्ने झ्यालहरू । भित्र बेस्सरी आगो बालिएको छ र कुइरिमण्डल छ धुवाँ । जाडोबाट बच्न नाम मात्रका झ्यालहरू राखिँदा रहेछन् त्यतातिर । सधैं त्यसरी बस्दा फोक्सोको के हाल होला— विष्णुजी र म आत्तियौं ।

'दैवको कृपाले तीन छोरा तीन छोरी र एक बुहारी छब्बीस नातिनातिना छन् । कान्छो छोरो यही हो', राइमललाई देखाउनुभयो छिरिङ दाइले ।' म अन्ठाउन्न वर्षको भएँ मेरी श्रीमती बयसट्ठी वर्षकी ।'भाउज्यू तपाईंभन्दा जेठी पो ? ' उत्सुक बनेँ म ।'मभन्दा दाइ एक वर्ष जेठो । एउटा भाइ मभन्दा चार, अर्को सात र कान्छो १० वर्ष कान्छो छ ।' पत्नी जेठी त्यसमा पनि कान्छो पतिभन्दा चौध वर्ष जेठी पत्नी सुन्दा के के नमिलेजस्तो लाग्छ मलाई।

'हाम्रो यो हिमाली क्षेत्रका लामा समुदायमा बहुपति प्रथा छ नि त । त्यसो त बुवा सतहत्तर वर्षको, आमा पचासी वर्षको हुनुहुन्छ । ठ्याक्कै एउटै उमेर त हुन पनि हुँदैन नि', छिरिङ दाइ ।महाभारतकालमा पाँच पाण्डवकी द्रौपदी एकै पत्नी थिइन् । अहिले पनि लामा समुदाय रहेका हाम्रा हिमाली जिल्लाहरूमा एक पत्नीका धेरै पति रहेको जानकारी पढेको थिएँ मैले केही दिनअघि । चीन, भुटान, जापान, हङकङ र थाइल्यान्डजस्ता देशहरूमा त्यस्तो बहुपति प्रथा अत्यधिक रहेको कुरा बताएथे एकपटक मेरा थाई साथी प्रोज्याकले ।

'स्वास्नी एउटी दाजुभाइजत्ति सबै लोग्ने, अप्ठेरो हुँदैन भन्या जिन्दगी गुजार्न', निमाकी सानीमा सानोबापट्टि तेस्र्याएँ मैले प्रश्न । महाभारतकी पञ्चभोग्या द्रौपदीका व्यथाका दृश्यहरू क्रमशः उदाए मनभरि ।दुवैजनाले हाम्रो कुराकानीलाई चाख दिइरहनुभएको थियो । मान्छेलाई आफ्नो संस्कार र संस्कृति कहाँ नराम्रो लाग्छ र ? त्यस्तो संस्कार चल्नुको पछाडि कारण पनि त हुन्छ नै ।

'बुझ्ने हो भने हाम्रो प्रथाजति राम्रो अरू कसैको छैन', बोल्नुभयो सानिमा । 'यो प्रथामा भाइ मर्‍यो भने पनि श्रीमतीले विधवा हुनु पर्दैन, एउटाले हेला गर्‍यो भने पनि अर्काले माया गर्छ, भाइभाइमा छुट्टाछुट्टै सम्पत्ति थुपार्ने होडबाजी चल्दैन, सबै भाइले केही न केही कमाउँछन् र श्रीमतीलाई खुसी पार्न खोज्छन्, खेतबारी घरलाई भागबन्डा गरेर टुर्त्याइरहन पर्दैन, सबै छोराछोरीले बराबर माया पाउँछन्, एउटै श्रीमती भएकाले धेरै सन्तान जन्माउन नपर्दा र बालबच्चाका लागि धेरै खर्च गर्नु पर्दैन, दाजुभाइको मेल हुने भएकाले कसैसँग डराउन पर्दैन, अनि राम्रो भएन त हाम्रो द्रौपदी प्रथा ? , भगवान्को पालादेखि चलेको चलन पनि नराम्रो भनेर छोड्न मिल्छ ? ' निमाका सानोबा सानिमा, दाइ भाउजु सबैले एकमुखमा ओकले आफ्नो संस्कारको बखान ।

'बरु यो निमाले एउटामात्र लोग्ने राखेको हामीलाई चित्त बुझेको छैन, पढेपछि मान्छे बिग्रन्छ भन्थे निमालाई देख्दा होजस्तो लाग्यो', निमाकी भाउज्यूले संस्कारविरुद्ध चल्ने निमालाई एकैचोटि तातो चिम्टाले च्यापेभैंm गरिन् । निमाले पढेलेखेकी थिइन्, बहुपति प्रथाको राम्रो नराम्रो पक्षलाई राम्ररी केलाएकी थिइन् । सिमकोटकै प्रेमबहादुर लामासँग भेट भयो उनको । उनी पनि पढेका थिए, समाज र संस्कारको अर्थ केलाउँदै थिए । त्यसैले एक स्वास्नी एक लोग्नेको सिद्धान्तमा चल्ने निधो गरे र बिहे गरे । त्यसमा निमा र प्रेमबहादुर दुवैले पटकपटक सामाजिक झापड खाइरहेका छन् ।

'संस्कार परिवर्तन गर्नु पहाड खार्नुजस्तै हुँदो रहेछ सर, पहाड खार्दा चट्टान पनि भेटिन्छ, पहिरो पनि जान्छ, जीवजन्तुको टोकाइ पनि सहनुपर्छ, हामी दुवै जोइपोइले क्षणक्षणमा दुम्सीका काँडाको घोचाइ सहनु परे पनि सुखी छौं, खुसी छौं', बुराउँसेबाट उकालो उक्लिँदा बताएकी थिइन् निमा बहिनीले ।

'रल्लिङजस्तो पवित्र तीर्थ जाँदै हुनुहुन्छ 'तारा' पिउनुहोस्— बुहारी छेटोल्मा लामाले भरिएका ग्लास दिइन् विष्णुमाया र मलाई । 'के हो तारा ? ' अचम्म पर्‍यौं हामी दुवै । 'मोही हो क्या चौंरीको मोही, आत्तिनु पर्दैन सर, यो त भगवान्को पर्साद हो', कुनै लागूपदार्थ हो कि भन्ने मेरो शंका शान्त पार्नुभयो छिरिङ दाइले । हामीले दुईदुई ग्लास मोही पियौं । चौंरीले हिमाली जडीबुटी खाएकाले होला, मोही पिएपछि त असाध्यै हल्का भयो हाम्रो ज्यान । जंग, विशाल, सुमन र निमा त अगाडिदेखि नै मस्त थिए जौको छ्याङमा ।

'अब लगड खाउँ', भाउजूले हाम्रो अघिल्तिर फापरको रोटी राखिदिनुभयो । चोती र जौ मिसाएर बनाएको खोले पनि एकएक कचौरा दिनुभयो ।' तारेचुक हालेर निमाले बनाउनुभएको चोतीको अचारले जिब्रोमात्र होइन ज्यानै ताजा बनायो । भोजनभन्दा भोक मीठोमात्र होइन साँच्चै मीठो र तागतिलो लाग्यो पिठोको परिकार ।

'सर र मेडम, रोटा खाऊ त भैगो, भोक लाग्दैन', थपीथपी खुवाउनुभयो निमाकी सानिमाले पनि । 'हाम्ले भन्दा मीठो मानेर खाँदो रहेछ सार र मिसले आँटो', खुसी हुनुभयो निमाका सानोबा ।'निमा सञ्चै ? ' करिब पैंतालीसवर्षे महिला चढिन् लिस्नुबाट । हामी खाना खाइरहेथ्यौं । अँगेनाछेउ पुगिन् उनी । उनको पिठ्यूँमा आठनौ वर्षको बच्चा थियो साथमा डोरिँदै आएको थियो बाह्रतेह्र वर्षको अर्को केटा ।'यसलाई १०÷१२ दिनदेखि सन्चो छैन । घर बस्नै मानेन । त्यसैले यता ल्याएकी ।' पिठ्यूँमा बोकेको बालकतिर इंगित गरिन् उनले ।

'यो मेरो भदै हो, काखमा बोकेको स्यानोचाहिँ उसको कान्छो लोग्ने हो, हिँडेर आउनेचाहिँ उसको छोरा हो', चिनाउनुभयो निमाकी सानिमाले ।विष्णुजी र म अचम्म पर्‍यौं ।'छोराभन्दा लोग्ने कम उमेरको, यस्तो पनि हुन्छ र ? ' जिभ्रो काढेँ मैले । 'यस्तो त कत्तिको छ कत्तिको । उसका चार लोग्ने छन्, जेठो लोग्ने चालीसको भयो होला । के गरोस् कान्छो लोग्नेलाई स्याहार नगरी सुख भएन बरा । पोहोर माहिलो लोग्ने १० वर्षपछि घर फक्र्यो । बूढीलाई रोग सारेछ । बूढीबाट अरू दाजुभाइमा पनि सर्‍यो भन्छन् । आफू पनि मर्‍यो ।' जे परे पनि सहनैपर्ने व्यथाको पोको खोल्नुभयो सानिमाले ।

'हो, त्यही भएर मैले एउटासँग मात्र बिहे गरेको । त्यो पेम्बा दाइले आफूले एड्स त ल्यायो, दिदीमार्पmत सबै दाजुभाइलाई पनि चोखो रहन दिएन । अब सबै परिवार नास भयो कि भएन ? ' कड्किइन् निमा बहिनी ।'अब त कसैले पनि यस्तो नगरोस्', बर्सन लागेको बादल बन्यो भदैको अनुहार। 'चार पाँचजनाले एउटी केटी बिहे गर्छन्, बाँकी केटी बिहे नै नगरी बस्नुपर्ने अवस्था छ । एकभन्दा बढी लोग्नेसँगको संसर्गले गर्दा महिला त बच्चा उत्पादन गर्ने मेसिन बन्नु परेको छ । एउटैले धेरै बच्चा जन्माउँदा महिलाको ज्यान उमेर नै नपुगी झ्याङप्वाल बन्छ, एउटा लोग्नेले अर्को भाइलाई माया गरिस् भन्छ, अर्कोले अर्कोलाई पोसिस् भन्छ, बाहिर समाजमा नदेखिए पनि भुतभुते खरानी बन्छ भित्रभित्रै परिवार । नारीलाई कहिल्यै फुक्का हुन नदिने र सधैं कसै न कसैको खेलौना बनाइरहने, घरको इमानदार नोकर बनाउने काइदामात्र हो यो', भदै र निमा बहिनीले मज्जैले उचाले विद्रोहको स्वर ।

घरबाहिर पुरुष र महिला बेस्सरी झगडा गरिरहेको सुनियो । उनीहरूको झगडामा कुकुर पनि भुक्दैथ्यो उफ्रीउफ्री । निमाको भाइ र मैले झ्यालबाट चियायौं । माथिल्लो घरमा एक महिला र एक पुरुष घुस्सरपञ्जा गरिरहेछन् । भोटेखाम भाषामा खल्याङबल्याङ गरेकाले खासै केही बुझ्दिनँ मैले । ती महिलाले पुरुषलाई घरि लात्ती हान्छिन्, घरि लठ्ठीले सुइँठ्याउँछिन्, घरि कान्लाबाट खसालिदिन्छन् । पुरुषको दाहिने पाखुराबाट रगत बगिरहेछ ।

निमाका भाइले भने, 'त्यो लोग्नेमान्छे उसको जेठो लोग्ने हो । माहिलो र साहिँलो लोग्ने बम्बैतिर गएका धेरै वर्ष भइसक्यो । सधैं कान्छो भाइलाई मात्र घरमा राख्ने, मलाई भने सधैं गाई र भेडा चराउन पाटन लखेट्ने भन्ने गुनासो गरेछ जेठो लोग्नेले । त्यही निहुँमा भएको रहेछ झगडा ।'हामीले हेर्दाहेर्दै जेठो लोग्ने एउटा पोको च्यापेर उकालो लाग्यो । कान्छो लोग्नेलाई लगड ल्याइदिइन् श्रीमतीले आँगनमै ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2