MENU

रुमल्लिएको सपना

635x90_1

तारा राई शनिवार, बैशाख २, २०७४ 2274 पटक पढिएको

Share This

635-X-85

कथा

अन्धकारको राज थियो । औंसीको रातमा झैं ताराहरू रोइरहेका थिए, सायद जुन उदाउने तर्खरमा थियो क्यारे ! जूनकिरीहरू अँध्यारो चिर्ने असफल प्रयासमा रमाइरहेका थिए । मैले मेरो संसारलाई नियालेँ— त्यो रातझैं अन्धकार र कहालीलाग्दो थियो । जीवनयात्रामा म एक्लै थिएँ, मेरो अवस्थाप्रति सहानुभूति राखिदिनेसम्म साथमा कोही थिएन । म सुँक्कसुँक्क रोइरहँदा 'किन रुन्छ्यौ ? ' भनेर सोध्नेसम्म कोही थिएन।

Tara-Raiमेरा सबै खुसी अनि उमंग बारुदको धुवाँसँगै कहाँ पुग्यो कहाँ ? मैले आफ्नो सौभाग्यलाई गुमाइसकेकी थिएँ । मेरो दुःखसुखमा साथ दिने मेरो जीवन सहयात्री स्मृतिको बगैंचामा फुलिरहेको थियो । अब त ऊ मेरो सम्झनामा मात्र बाँचिरहेछ । आज ऊ मेरो समीप भइदिएको भए... ! तर सोचेजस्तो रहेनछ जीवनयात्रा । कहालीलाग्दो रहेछ जीवनको गोरेटो । देशमा चलेको सशस्त्र द्वन्द्वमा मैले आफ्नो सहयात्री पनि हराइसकेकी थिएँ ।

सैनिक टोलीको अन्तिम सलामीसँगै मैले उसलाई बिदा गरेको पनि दुई वर्ष बित्नै लागेछ । टेबलमा हेरेँ उसको फोटो, मुटुभित्र गाँठो पर्‍यो । अ श्रुधारा छुटेर छातीसम्म भिजायो, आँखाभरि अतीत नाचिरह्यो वर्तमान बनेर ।आज नेपाली सेना दिवस, जिल्लास्थित सैनिक गणमा कार्यक्रम थियो— म पनि आमन्त्रित थिएँ । सेना दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो । वीरगति प्राप्त अमर सिपाहीका परिवारलाई सम्मान गरियो, वीरगति प्राप्त सिपाहीहरूको तस्बिरमा माल्यार्पण गरिँदा हामी सबैको आँखा आँसुले डम्म थियो । आफ्नो मुटु चुँडाएर मैले सम्झना स्मारकमा फूलमाला अर्पण गरेँ ।

अनुप र म सानैदेखिको साथी, बाल्यकालदेखि नै हामी एकअर्कालाई धेरै माया गथ्र्यौं । म राईकी छोरी, ऊ क्षेत्रीको छोरा । तर, हामीमा भेदभाव- छुवाछूतको भावना कहिल्यै आएन, एकलाई घाउ लागे अर्कोलाई दुख्थ्यो । अनुप र मैले राम्रो अंकका साथ एसएलसी पास गर्‍यौं । म आफ्नो पढाइलाई अगाडि बढाउनका लागि सदरमुकाम नै जाने भएँ । अनुप भने गाउँको उच्च माविमा नै पढ्ने भयो, उसको पारिवारिक अवस्थाले गर्दा । हामी टाढा भयौं । पाखा, पर्वत, डाँडाहरूले हामीलाई छेकिदियो । तर, भौगोलिक रूपमा जति नै टाढा भए पनि हामीमा स्नेहको बन्धन थियो जसले गर्दा सधैं सँगै छौंजस्तो लाग्थ्यो । बाल्यकालको लुकी, डुम, चोर-पुलिस खेल्दाखेल्दै र घाँसदाउरा, मेलापात गर्दागर्दै हामी त एकअर्काको परिपूरक भइसकेछौं ।

समय आफ्नै गतिमा बढिरह्यो । अनुपको आमा साह्रै बिरामी हुनुभएको खबर पाएर गाउँ करफोक पुगेँ । आमाको अवस्था ज्यादै नाजुक रहेछ । अन्ततः दमरोगका कारण हामीले आमालाई गुमाउन पुग्यौं । जातीय परम्पराअनुसार आमाको दाहसंस्कार गर्‍यौं अनि पुनः हृदयको आलो घाउ सुमसुम्याउँदै सबै आ-आफ्नो गोरेटोतिर लाग्यौं ।म इलाम पुगेको १० दिनपछि अनुपको कोठामा आइपुगेछु, इलामस्थित मेरो भाडाको घरमा । अनुपको शारीरिक अवस्था ज्यादै खस्केको थियो । नमीठो लाग्यो, मुटुभित्र कताकता दुखेजस्तो लाग्यो ।

'मुना आराम छौ ? ' अनुपको प्रश्न थियो ।
'अँ' मैले जवाफ दिएँ ।
पूर्णिमाको चन्द्रमाजस्तै अनुपको मुहारमा औंसीको साम्राज्य फैलिएको थियो । मैले महसुस गरेँ, 'अनुप धेरै मुर्झाएछ ।'
केहीबेरको कुराकानीपश्चात् अनुपले भन्यो, 'मुना चारआली ब्यारेकमा सेनाको भर्ती खुलेको छ रे ! म पनि जानुपर्‍यो... हेर न घरमा पनि को छ र ? घरबारी नि बन्धकी राखेको छु । म त यो ठूलो संसारमा एक्लो भएँ... !' यति भनेर अनुपले आँखाको आँसु पुछ्यो ।
मलाई आफैंले टेकेको धर्ती फाटेर आफू भासिएको जस्तो लाग्यो ।
'संकटकालीन अवस्था ? ' मैले विस्तारै भनेँ, 'पेट त पाल्नैपर्‍यो नि ! मुना, जीवन चलाउनैपर्‍यो दुई-चार पैसा कमाउनुपर्‍यो । हाम्रो भविष्य पनि त हेर्नु छ । बुवाले पनि माया मार्नुभयो बाँचेको, मरेको पत्तो छैन । खोज्न कहाँ जाऊँ ? ...' अनुपले त्यो दिन मलाई सम्झाउँदै भनेथ्यो ।

मैले अनुपको बाटो छेकेर रुन सकिनँ, उपाय पनि त थिएन । हामी परिबन्धको जालमा परिसकेका थियौं।
अनुपलाई मुटु नै चुँडाएर बिदाइको हात हल्लाएँ । यो मेरो गर्व र खुसीको कुरा थियो- आफूले माया गरेको प्रिय मान्छे राष्ट्रको रक्षार्थ उभिँदै छ । तर, पीडा र त्रासले एकैचोटि अठ्याएको अनुभव पनि भयो।
समय निरन्तर अगाडि बढिरह्यो । हामी उसका पाइला पछ्याउँदै उसकै पछि लागिरह्यौं । वसन्तले पालुवा लिएर आयो फेरि शिशिर उसको पछिपछि उजाड बनाउन आइपुग्यो । अनुपको ट्रेनिङ सकियो, आफ्नो जिम्मेवारीलाई अँगाल्दै अनुप २ नं. बाहिनीअन्तर्गतको धनकुटा ब्यारेक खटियो ।

म प्रत्येक क्षण अनुपको कार्यकुशलताको लागि भगवान्सँग प्रार्थना गर्थें, जुन मन्दिर पुगे पनि उसकै नाम लिन्थें । हामीबीचमा पत्रको आदानप्रदान भइरहन्थ्यो, कहिलेकाहीँ टेलिफोनमा पनि कुरा हुने गथ्र्यो । हाम्रो माया र प्रेम फुलिरह्यो, विश्वासको सुगन्ध छरेर ।

म प्रेम र कर्तव्यको दोसाँधमा उभिएकी थिएँ । एकातिर बाबा, आमा, परिवारप्रतिको कर्तव्य अर्कोतिर अनुपप्रतिको अथाह प्रेम । परिवार चाहन्थ्यो जातकै केटासित मेरो बिहे होस् तर म कसरी परिवारको इच्छामा चल्न सक्थेँ र ?

मेरो दोस्रो वर्षको पढाइ पनि सकियो, परीक्षा दिएर म घर फर्कें । अनुपबिना गाउँघर, वनजंगल शून्य र उजाड थियो मेरा लागि । मेरो दैनिकी फेरि मेलापात, घाँसदाउरा गर्दै बित्न थाल्यो । जीवनको २१औं वसन्त पार हुनै लागेको थियो— मेरो गाउँघरको त्यो परिवेशभित्र मेरो कुरा काट्नेहरू पनि लामबद्ध उभिएका थिए ।

'छोरीचेली उमेर पुगेपछि माइत बस्नुहुन्न' यस्तै वचन सुन्नुपथ्र्यो मैले, पाइलाहरू एकाएकै भारि लाग्थ्यो ।
'मुना त बूढीकन्या बस्छे कि क्या हो ? ' यी प्रश्नहरू मेरो अघिपछि उठिरहन्थे । प्रश्नैप्रश्नको पहाड थियो मेरो वरिपरि । प्रश्नहरूको जवाफ खोज्दा अनुपको प्रतीक्षामा बलेको दियो कहिलेकाहीँ झ्याप्प निभ्न खोज्थ्यो तर म मायालु हत्केलाले बतास छेक्थें ।

'आर्मीको त विश्वास नै हुँदैन...' कसैकसैले भन्दा मुटु मेरो टुक्राटुक्रा भएजस्तै लाग्थ्यो । यता मेरो घरमा विवाहको कुरा चल्न थाल्यो । म प्रेम र कर्तव्यको दोसाँधमा उभिएकी थिएँ । एकातिर बाबा, आमा, परिवारप्रतिको कर्तव्य अर्कोतिर अनुपप्रतिको अथाह प्रेम । परिवार चाहन्थ्यो जातकै केटासित मेरो बिहे होस् तर म कसरी परिवारको इच्छामा चल्न सक्थेँ र ?

 

देशको राजनीतिक अवस्था झन्झन् जटिल बन्दै गइरहेको थियो । हत्या, आतंक, अपहरण, बन्द-हडतालले जनजीवन कष्टकर बन्दै थियो । यो बीचमा अनुपको सरुवा पूर्वी पृतना हेडक्वार्टर इटहरी भइसकेको थियो । अत्यन्तै कठिन मोडमा हामीले नयाँ जीवनको निर्णय गर्‍यौं ।

कुन छोरीलाई रहर हुन्न— जन्ती, बाजासँग जन्मघरबाट अन्मिएर पराइघर जाने ? तर, मेरा लागि सम्भव थिएन बेहुली हुने । जन्मघरबाट रुँदैरुँदै बिदा हुने मेरो कल्पना कर्कलाको पातमा छल्किएको शीतको थोपाझैं भयो । हाम्रो सम्बन्ध, प्रेमलाई स्विकार्न कोही नै अघि सरेनन् न मेरा माइतीहरू न त अनुपका आफन्तहरू ! तैपनि हामी खुसी नै थियौं । एकअर्कामा पूर्ण भरोसा थियो । म असाध्यै खुसी थिएँ कि एक राष्ट्रभक्त सिपाहीकी जीवन सहयात्री भएकीमा । मैले अनुपलाई सम्पूर्ण रूपमा लुकाइसकेकी थिएँ मेरो खाली सिउँदोमा । अनुप र म नयाँ जीवनको गोरेटो पहिल्याउँदै थियौं । अनुप चौबीसैघन्टा व्यस्त हुन्थ्यो ड्युटीमा, मैले बम बारुदभित्रको वास्तविक जीवन चिनेँ, म त्यो बिरानो सहर इटहरीमा रमाउने प्रयास गर्दै थिएँ । बिदा पास भएको साँझ मुसुक्कै हाँस्दै अनुप कोठा आइपुग्थ्यो । अनुपको तलबले जेनतेन जीवन चल्दै गयो ।

'एकजनाको कमाइले कसरी घरसंसार चलाउने अनुप ? ' मेरो प्रश्न हुन्थ्यो । तिमीलाई केको दुःख ? म शान्ति सेना जान्छु थोरै पैसा जम्मा हुन्छ, सञ्चयकोष छ । पल्टनले सहयोग गर्छ । सानो घर बनाउँला, रिटायर्डपछि म विदेश जान्छु, चलिहाल्छ नि जीवन मुना,' अनुपको सपना थियो ।
'पर्दैन अर्काको देशमा जान,' म भन्थेँ ।
'लौ, खेती गरौंला नि त उसो भए,' मुसुक्क हाँस्दै भन्थ्यो अनुप ।
दिनैको भिडन्त । मन सधैं आत्तिरहन्थ्यो । एक दिन अनुपलाई भनेँ, 'अनुप, यस्तो भयावह अवस्था जागिर छोडिदेऊ...'
'मुना, म भनेको सैनिक हुँ । मैले देश रक्षाको शपथ खाएको छु । मैले स्वार्थी बन्नु हुँदैन । राष्ट्रको यो संकटकालीन अवस्थामा अझ अगाडि बढ्न सक्नुपर्छ...'
'सँगै दुःख गरौं,' मैले पुनः जागिर छोड्न आग्रह गरेँ । 'कहाँ गर्छौ दुःख ? भएको घरबारी बन्धकी छ । गाउँ जाने त वातावरण नै छैन... सहरमा कसरी टिक्ने ? भोलि सन्तान होलान्, कसरी पाल्ने ? पढाउने ? मुना घरबारी निखन्न पाए एउटा आधार बन्थ्यो । पर्ख न केही समय भोलि कसो सुनौलो बिहान नआउला ? हेर, मैले आफ्नो जिम्मेवारी बहन गर्नैपर्छ । मलाई हिम्मत देऊ मुना ।'
यस्तै सपना सजाउँथ्यो अनुप आँखैभरि ।

हाम्रो विवाहको एक वर्ष पूरा भएको पनि पत्तै भएन । यही बीचमा हाम्रो प्रेमको प्रतीक, जीवनको सार यो धर्तीमा पाइला चाल्नलाई फूलझैं फुल्यो हाम्रो मायाको बगैंचामा । म आमा बनिसकेकी थिएँ, अनुप ड्युटीमा गण, हेडक्वार्टर त कहिले पोस्ट खटिन्थ्यो । अनुप मेरा लागि मायालु, आदर्शवान् पनि थियो, छोराका लागि मायालु बाबु थियो अनि राष्ट्रका लागि कर्तव्यनिष्ठ सिपाही थियो ।

'सेनाको अर्को रूप कर्तव्य हो,' अनुप सधैं भन्थ्यो । छोराको आगमनसँगै अनुपको एक तह बढुवा भयो, दुःखले घरबारी आफ्नो बनायौं । सशस्त्र द्वन्द्व झनै चर्कंदै गइरहेथ्यो ।
'मुना म मरिहालेँ भने तिम्रो र छोराको कस्तो बिजोग हुन्छ होला...!' अनुप कहिलेकाहीँ भन्ने गथ्र्यो ।
'के नचाहिँदो कुरा गरेको ? ' मैले भन्ने वाक्य यही नै थियो ।
आँखाभरि आँसु जम्थ्यो, छातीभित्र कता पहिरो गएजस्तै लाग्थ्यो मलाई ।
'युद्धभूमिमा खटिएको सिपाहीको के भर मुना ? बन्दुकको गोली कताबाट छुट्छ दुश्मनको थाहा हुँदैन । कहाँ पुग्दा यो प्राणको अन्त्य हुन्छ के थाहा ? '

अनुपको गण इलाम आइसकेको थियो सरुवा भएर । समयको अन्तरालसँगै हामीलाई घरपरिवारले स्विकारिसकेका थिए । तर, अनुपको बिदा नमिलेका कारण जान सकेका थिएनौं । घर परिवारले स्विकारेपश्चात् मलाई एक प्रकारको शान्ति मिलेको थियो ।

परिवारको आडले होला, म अझ अनुपलाई जागिर छोड्न दबाब दिन थालेकी थिएँ । आज शुक्रबार साँझ अनुप कोठामा हाँस्दै आइपुग्यो, मलाई उसको व्यवहारदेखि झर्को लागिरहेको थियो ।
'के भयो मुना ? अँध्यारो छ नि अनुहार, किन रिसाएकी ? ' अनुपले आग्रहसहित प्रेमले सोधेथ्यो ।
ऊ केही नबोली छोरालाई काखमा लिएर खेलाउन थाल्यो । म अनुपलाई भर्सक जागिर छोडाउनै चाहन्थें । सम्झन्छु आज, मेरो जागिर छोडाउने दृढतादेखि अनुप दिक्क भइसकेको थियो । यसपालि पनि जागिर छोड्न दबाब दिन भूमिका बाँध्न के लागेकी थिएँ— अनुप झनक्क रिसायो, यसअघि ऊ कहिल्यै यसरी रिसाएको थिएन ।

'तिमी जे भन मान्छु तर जागिर छोड्न सक्दिनँ । मेरो, हाम्रो प्राण यही जागिरले बचाएको छ । आज तिमी जुन ठाउँमा उभिएकी छौ त्यो सिंगो नेपाली सेनाको छत्रछाया हो,' अनुपले नि झर्कंदै भन्यो ।
'तिमी मेरो मन कहिल्यै बुझ्दैनौं अनुप...'

'तिमीले कति बुझ्यौ मुना ? म कुनै पनि हालतमा भगौडा बन्न सक्दिनँ, मेरो नैतिकताले दिँदैन ।'
'आज तिमीलाई मेरोभन्दा नैतिकताको माया लाग्यो ? ' मैले त्यो दिन किन यसो भने हुँला ? सम्झन्छु आज । कोठाको वातावरण अत्यासलाग्दो भएर आयो ।
'म यो कठिन मोडमा राष्ट्रलाई, संस्थालाई धोका दिन सक्दिनँ ।'
'उसो भए म र छोराभन्दा तिम्रो लागि तिम्रो संस्था प्यारो भयो ? '
'मुना म सैनिक हुँ, देशको रक्षार्थ खट्छु । शिरमा देश र काँधमा कर्तव्य छ मेरो । मुटुभित्र तिमी दुई आमा-छोरा ! म कर्तव्यपथबाट भाग्न सक्दिनँ । मुना, तिमीमात्र अनुपकी पत्नी हैनौ, तिमी त कर्तव्यनिष्ट सिपाहीको पत्नी हौ ।'

अनि, अनुप जुरुक्क उठेर ब्यारेकतर्फ लाग्यो । मैले कोठाको झ्यालबाट देखेँ ब्यारेकको १ नं. गेट पार गरेर गएको अनुपलाई, एक प्रकारले नरमाइलो लाग्यो । अनुपको हृदयमा राष्ट्र र संगठनप्रतिको श्रद्धा देखेर मैले पनि सिपाही पत्नी हुनुको गर्विलो इतिहास खोतल्न थालेँ, पानाहरू पल्टाउँदै जाँदा अनुपप्रति, अनुपको अगाडि सबै श्रद्धा पोखिदिएँ । अनुपको अनुपस्थितिमा आफैंलाई शून्य-शून्य लाग्यो । पश्चातापको महसुस गरेँ । तर, म कहाँ झुकेर अनुपलाई बोलाउँथेँ र ? जहिले पनि ऊ नै झुक्नुपथ्र्यो तर किन हो त्यो दिन अनुप पनि झुक्न चाहेन ।

रातभरि निदाउनै सकिनँ, छटपटी भइरह्यो । दुई-चार दिनसम्म हाम्रो बोलचाल नै भएन ।
पाँचौं दिन कोठामा आएर अनुपले भन्यो, 'मुना, पुवाखोलामा माओवादीले सडक अवरुद्ध गर्‍या छन् रे ! मेरो ड्युटी पर्‍यो... यसो हतारमा मिलाएर भन्न आएको...' मेरो हृदयमा कोलाहल मच्चियो ।
आँखाबाट बर्रर आँसु खस्यो ।

'किन रोएकी फेरि ? तिम्रा आँसुले मेरा पाइलाहरू लर्खराउँछन् । नरोऊ ! सिपाही पत्नी कहाँ यसरी रुन्छन् र !? ', अनुपले छातीमा टाँसेर भनेथ्यो मलाई ।
'आफ्नो ख्याल गर है !...'
'हैन तैपनि,' मैले भनेकी थिएँ ।
'केही हुन्न म मरे अमर सिपाहीकी अर्धांगिनी हुन्छ्यौ,' अनुप यति भनेर सधैं मुसुक्क हाँस्थ्यो ।
म केही बोल्नै सकिनँ ।

'मुना म भनेको लडाइँमा खटिएको सिपाही हुँ । यसै भन्न सकिन्न बाँचे तिम्रो काख मरे कहाँ हो !? मसँग चित्त नदुखाऊ कि मैले तिम्रो वचन काटेँ भनेर । तिमीलाई कति माया गर्छु भन्ने त मलाई मात्र थाहा होला । छोराको राम्रो ख्याल गर्नु... मेरो त खै के भर ? आज यहाँ भोलि कहाँ ? हामी सिपाहीको निम्ति भोलि आउँदैन आज छ, अहिले छ । नाकको टुप्पोमै छ तिम्रो रिस तर अबदेखि नरिसाऊ है !' भनेर अनुप मुसुक्क हाँसेथ्यो ।

'कहिल्यै रिसाउँदिन अनुप, तिम्रो मन दुखाउँदिनँ । तिम्रो वचन काट्दिनँ । मैले तिमीलाई चिनेकी रहिनछु । म खुसी छु, जागिर छोड कहिल्यै भन्दिनँ ।'
अनुपको आँखाभरि आँसु भरियो ।

'सिपाहीको मन पनि यस्तो कमजोर हुन्छ र ? सिपाही अरू बेला मायालु भए पनि ड्युटीमा त कठोर हुनुपर्छ । म भगवान्सँग तिम्रो लागि प्रार्थना गर्छु । तिमीले नै भनेको होइन, 'सिपाहीको अर्को रूप कर्तव्य हो' भनेर ?

छोरालाई सुमसुम्याएर मेरो शिरमा चुम्दै अनुप कोठाबाट बाहिरियो ।
मनै अमिलो भयो, खुट्टाहरू गलेर आयो । आँखाभरि अँध्यारो छायो ।
ब्यारेकदेखि सर्च टोली निस्कियो । म बाटोमा नै उभिएकी थिएँ ।
गडक-गडक बुटको आवाजसँगै सैनिक टोली अगाडि बढ्यो ।
कम्ब्याट ड्रेस, छातीभरि गोलीगठ्ठा, काँधमा एसएमजी बोकेर अनुपले बिदा माग्यो ।
'चाँडै फर्क...' मैले भनेकी थिएँ ।
छोरा मेरो हातबाट बाबातिरै जान खोज्दै थियो 'आइहाल्छु...' अनुपको शब्द यति नै थियो ।
मेरो आँखाबाट आँसु खसे । मनभित्र भक्कानो छुट्यो । कठै ! सम्झन्छु आज त्यो बेला अनुपको हृदय कस्तो भएको थियो होला ?

हेर्दाहेर्दै डाँडामा छेलियो सैनिक टोली । म बाटोमा नै उभिरहेँ । छोरा काँधमा नै निदाएछ ।
'भाउजू, के भयो हजुरलाई ? ' माथि ड्युटी पोस्ट्बाट कसैले भन्दा झसंग भएकी थिएँ ।
तीन-चार घन्टापछि संसारै थर्काएर बम पडयो, लाग्यो मेरो दुनियाँ तहसनहस भयो । मैले भएभरका देवी-देवता पुकारेँ, मेरो शरीर चिसो भएको अनुभव गरेँ ।
'अवरोध हटाई फर्केको टोलीलाई माओवादीले आक्रमण गर्दा २३ जनाले वीरगति पाए ।'
'अनुप पनि घाइते भएको,' सुनेँ फेरि ।
लगत्तै थप सैनिकहरू घटनास्थलतर्फ लागे ।
म हतारिँदै इलाम अस्पताल पुगेँ सैनिक टोलीसँगै । त्यहाँ पुग्दा थाहा भयो मेरो अनुप पनि अनन्तमा हराइसकेछ । 'सँगै मर्छु' भन्ने मेरो अनुपले मलाई बीच बाटोमा एक्लै छाडेर नेपाली सेनाको इतिहासमा अमर बनिसकेछ । वीरगति प्राप्त सैनिकहरूको पार्थिव शरीरले अस्पतालको आँगन भरियो । घाइतेहरूलाई छाउनी हस्पिटल लैजाने तयारी भयो । म शून्य-शून्य थिएँ, रुवावासी चल्यो, हामी विधवा भयौं, छोराछोरी टुहुरा भए, आमाहरूको काख रित्तियो ।

वीरगति प्राप्त सिपाहीहरूलाई अन्तिम श्रद्धाञ्जलि दिने काम भयो । उनीहरूको मृत्युमा धर्ती-आकाश रोइरहेको थियो । आफ्नै अगाडि आफ्नै सिपाहीहरूको त्यति धेरै पार्थिव शरीर देख्दा मैले रुनै भुलेँ । कसलाई ? कसले अँगालेर रुने ? तैपनि म अनुपलाई अँगालेर रुन थालेँ ।
मलाई अनुप निदाएजस्तो मात्र लाग्यो, मेरो मुटुले त्यो स्वीकार्न पटक्कै मानेन ।

'मुना, नरोऊ बाबु ! मनलाई कमजोर नबनाऊ ! तिमी वीर सिपाहीकी जीवनसंगिनी हौ । आफ्नो स्वार्थमा रगत बगाएको हैन अनुपहरूले... तिमी कहाँ एक्ली छौ ? यस्तो गौरवमय इतिहास बोकेको सिंगो संस्था साथमा छ । तिम्रो आँसुले अनुपको आत्माले शान्ति पाउँदैन,' मेजर सापले मलाई सान्त्वना दिँदै भन्नुभएको थियो ।

मेजर सापको पनि आँखामा आँसु थियो, हृदयमा उकुसमुकुस । अनुप उहाँको प्रिय थियो, हामीलाई मेजर सापले अभिभावकत्व दिनुभएको थियो जीवनको कठिन मोडमा ।फूलैफूलले ढाकिएको थियो अनुपको पार्थिव शरीर, माईखोलामा अन्तिम संस्कार सकिने भयो । चितामा अनुपसँगै अन्य तीन-चार जनाको पार्थिव शरीर राखेर एक सैन्य टोलीले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्‍यो । सधैं अनुपको सलामी लिने अधिकृतहरूले पनि आज अनुपलाई श्रद्धाले शिर झुकाएर अन्तिम सलामी अर्पण गर्दै थिए । सधैं आफ्ना सिनियरका अगाडि जंगी अनुशासनमा तनक्क छाती तन्काएर बलिष्ठ, कोमल हात उठाएर सलामी दिने मेरो अनुप निश्चल र अचल थियो ।

संसारै घुमेजस्तो लागेर आयो, मेरो त दुनियाँ केही थिएन । 'अनुप.. अनुप,' मैले अनुपलाई बोलाएँ, कतै बोल्छजस्तै लागेको थियो, एउटा नमीठो सपना !
फेरि मनलाई सम्झाएँ, 'म सिपाही पत्नी हुँ' भनेर ।
मेरो अगाडि भविष्य अन्धकार थियो ।

अनुपका काकाकाकी, मेरा माइतीहरू आर्यघाट आइपुगेछन् । म उनीहरूका अगाडि रुनै सकिनँ ।
मैले दुई वर्षको छोरालाई काखी च्यापेर अनुपको पार्थिव शरीरमा दागबत्ती दिएँ । मलाई माया गर्ने मेरो अनुपलाई आगोको लप्काले खरानी बनायो । मलाई पनि त्यो ज्वालामा अनुपसँगै जलेर खरानी बन्न मन लाग्यो तर काखमा छोरा थियो सकिनँ, आमा भएको नाताले ।

आँखैअगाडि अनुपको शरीर खरानी भयो । अनि हेर्दाहेर्दै आगोका ज्वाला शान्त बने ।म सैनिक टोलीसँगै इलाम सदरमुकाम फर्किएँ । आँखाभरि अनुपको अन्तिम झल्को आँखामा आइरह्यो, रगतले पूरै ड्रेस भिजेको थियो । छाती, पाखुरा र पेटमा गोली लागेकाले बढी रक्तस्राव भएर अनुहार पहेँलो थियो । मेरो आँखामा सधैं नै अनुप हाँसिरह्यो ।

बारुदको धुवाँमा एक मुठी सास बचाउने मेरो अनुप कता हरायो ? कता गयो ? 'सातै जन्म सँगै हुन्छु' भन्ने अनुपले एक्लै बनाएर गयो । सानो घर, सुखी परिवार एउटै सपना थियो । शान्ति सेना जाने, अवकाशपछिको जीवन समाजसेवामा बिताउने चाहना थियो अनुपको । अनुपले आफूलाई कहिल्यै राष्ट्र र संगठनभन्दा टाढा राखेन । आफू रोयो । तर, मलाई कहिल्यै रुवाएन ।

विगत सम्झँदै म वर्तमानसम्म आइपुगेँ, टेबलमा अनुपको तस्बिर उस्तै गरी हाँसिरहेको थियो । ओछ्यानमा छोरा निदाइसकेको थियो । दिनभरि ब्यारेकमा सिपाहीहरूले बोकेर यताउता गरेकाले थाकेछ पनि ।
अनुपको सम्झना अझ गाढा बन्दै गयो । आँखाबाट खसेका आँसुले छाती पनि लछप्पै भिज्यो । जन्मँदै मृत्युसामु आउँछु भनेर आएका हामी, मृत्यु सत्य हो भनेर जान्दाजान्दै सत्यता पचाउन गाह्रो हुँदो रहेछ ।
आजजस्तो शान्ति हिजो भएको भए ! हजारौं बालबच्चाहरू टुहुरा हुने थिएनन् । सम्झिएँ पुनः मुटुमा गाँठो पर्‍यो । अनुपको तस्बिरमा टोलाएँ, उसको चिरशान्तिमा श्रद्धाको आँसु खसाएँ आँखाबाट । मसँग उसको लागि त्यो आँसु र सम्झनाबाहेक के थियो र ? अनुपको सम्झनाले अँगालेर अनुपको छातीमा मलाई टाँसिदियो । अनुपको कम्ब्याट ड्रेस, ब्याग, म्याट्रेस, बुट सबै छातीमा टाँसेँ । कहालिएर रुन मन लाग्यो तर सकिनँ ।

'मुना, कमजोर नबन, तिमी सिपाहीकी पत्नी हौ । तिमी एक्ली छैनौ । तिम्रो साथ संगठन छ, राष्ट्र छ । छोराको भविष्यको लागि मन सम्हाल,' कानैमा अनुपको शब्द गुञ्जियो ।

आँसुले अनुपको तस्बिर धोएँ । म यसरी नै प्रत्येक सैनिक दिवसमा कतै गर्छु । ब्यारेक पुग्दा गेटमा अनुप सधैं पर्खिरहेको छ जस्तै लाग्छ । मेरो अनुपलाई र अनुपजस्तै राष्ट्रको निम्ति रगत बगाउने सिपाहीहरूलाई सम्झनाको श्रद्धाफूलबाहेक के पो चढाउन सक्छु र ?

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2