MENU

अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो

635x90_1

कुमार नगरकोटी शनिवार, बैशाख २, २०७४ 7796 पटक पढिएको

Share This

635-X-85

फकिर फिक्सन

।। प्रोलग ।।

प्रिय अब्दुल कादिर,
नमस्ते एन्ड सलाम वालेकुम !
गत वर्ष २०१६ को अक्टोबरमा तिमीसित भेट भएको थियो । हामी जयपुरको डिग्गी प्यालेसमा सार्क राष्ट्रका कवि, लेखकहरू जम्मा भएका थियौं । सन्दर्भ थियो- साउथ एसियन सुफी फेस्टिभल । तिमीसित मेरो संक्षिप्त परिचय त्यहीँ भएको थियो ।तिमी गुलाबी सहरका बासिन्दा थियौं ।आफ्नो सहरले होस्ट गरेको काव्य महोत्सवमा कुनै पनि काव्य प्रेमीको मन पुलकित हुने नै गर्छ । तीन दिनसम्म धूमधामले चलेको सुफियाना महफिलमा तिमी विभिन्न देशका कविहरूलाई सुन्न आएका थियौ ।

Kumar-nagarkoti-photoतिम्रो र मेरो चिनजानको मुमुक्षामयी अवसर चाहिँ महोत्सवमा मैले वाचन गरेको हिन्दी कविता- तुम सो रही थी - र अंग्रेजी नज्म - इकोज् अफ साइलेन्स- ले जुराइदिएको थियो । कस्तो विडम्बना ! यता स्वदेशमा म तथाकथित फिक्सन डिजाइनरको रूपमा बदनाम छु र उता परदेशमा चाहिँ तिमी मेरो काव्यवाचनद्वारा वंशिभूत भयौ । कविता मलाई मौन आत्माको प्रार्थनाजस्तो लाग्छ जसलाई सार्वजनिक समारोहतिर गुनगुनाउन म उतिसारो रुचाउँदिन । पोयट्रीलाई मनको एकान्त जंगलमा गुञ्जनका निम्ति छाडिदिनुपर्छ जस्तो लाग्छ ।

तर तिम्रो सहर - पिंक सिटी- अपवाद रह्यो । सुफी र दरबिसहरूमाझ काव्य-सेलिब्रेसन गर्नुको स्पिरिचुअल आनन्द नै बेग्लै ! तौबा तौबा । मै मर जावाँ ।पोयट्री-वाचन अध्यायको समाप्तिपछि- खुदा खैर करे- दरबार हलको क्राउडेड कोर्टयार्डमा तिमीले मलाई सोधेका थियौ, 'क्या आप हमेसा हिन्दी और अंग्रेजी मे कविता लिखते है ?' जवाफमा मैले भनेको थिएँ :
- वो तो मै परदेश मे लिखता हुँ । अपनी देशमे मे तो मै नेपाली मे लिखता हुँ ।
तिमीले मलाई तलदेखि माथिसम्म एक डोज हेरेका थियौ । मेरो नश्वर देहमा अट्याच्ड विभिन्न माला, बाला र काला वस्त्रहरू हेर्दै तिमीले त्यसपछि गज्जबको वाणी बोलेका थियौ :
- आप जैसे सुफियों के लिए क्या देश क्या परदेश ! सारा जहाँ अपना देश ।

हल्लेलुआ-ओ-हल्लेलुआ ! ह्वाट द हेल ! आई वज क्वाइट इम्प्रेस्ड । सो नाइस अफ यु टु से सच् अ सुन्दर वाणी - सुफियों के लिए क्या देश क्या परदेश ! सारा जहाँ अपना देश । हल्लेलुआ-ओ-हल्लेलुआ!
त्यो संक्षिप्त चिनजानपछि म तिम्रै पछि लागेको थिएँ । तिम्रो एउटा खुट्टा छोटो रहेछ र तिमी खोच्याउँदै हिँड्थ्यौ । थाहा पाएँ, जलालुद्दिन रुमी तिम्रो पनि मनपसन्द पोयट रहेछन् । कस्तो सुखद कुरो ! त्यो दिन बब डिलनले साहित्यमा नोबल प्राइज पाएको खबर बतासमा चलेको थियो ।
बतासमा चलेको त्यही खबर गुनगुनाउँदै पिंक सिटीको पिंकी-पिंकी स्ट्रिटमा म तिमीसितै हिँडेको थिएँ - हाउ मेनी रोड्स मस्ट अ म्यान वाक डाउन बिफोर यु कल हिम अ म्यान ऽऽऽ आन्सर माई फ्रेन्ड इज् ब्लोइङ इन द विन्ड...

सेन्ट्रल पार्क जाने फुटपाथको कफी स्ट्यान्डमा ब्ल्याक कफी पिउँदै गर्दा मैले तिम्रो अतापता सोधेको थिएँ - आप रहते कहाँ पे है ? तिमीले अनौठो आन्सर दिएका थियौ :
- एक अपार्टमेन्ट की पाँचवी मञ्जिल पे एक फ्ल्याट है । फ्ल्याट मे एक बेडरुम है । बेडरुमकी दिवार मे एक बडी पोस्टर है जहाँ एक नदी हमेशा बहती रहती है । मै उसी नदी के तट पर रहता हुँ ।
हल्लेलुआ-ओ-हल्लेलुआ ! ह्वाट द हेल ! द्याट वज् अ पर्फेक्ट सुफियाना आन्सर । सो ब्युटिफुल एन्ड एनिग्मेटिक ! तौबा तौबा । या खुदा, मै मर जावाँ । हल्लेलुआ-ओ-हल्लेलुआ !

मैले त्यसैबेला सोचेको थिएँ- पाटनको आफ्नो गुफा फर्केपछि एउटा कथा लेख्नेछु । त्यसको शीर्षक हुनेछ : अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो । तिमीलाई भनेको थिएँ- आई विल पोस्ट यु द स्टोरी ।

एउटा दुविधा भने थियो । के भने मैले नेपालीमा लेख्ने सोच बनाएको सर्रियल स्टोरी तिमीले कसरी पढ्ने ? त्यसको समाधान पनि रहेछ - मैयाँदेवी । अर्घाखाँचीतिरकी नेपाली चेली जसलाई तिमी माया दिदीभन्दा रहेछौ । तिम्रो असल छिमेकी । जसको भारतीय पतिबारे तिमीले केही बताएनौ । आफ्नो भिजिटिङ कार्ड मलाई हस्ते गर्दै तिमीले यतिमात्र भनेका थियौ, 'आप मुझे वो सर्रियल स्टोरी इस पते पे जरुर भेजे । माया दिदी मुझे हिन्दी मे ट्रान्सलेट करके सुना देगी । हो सके तो कुछ स्पिरिचुअल पोयट्री भी भेज दे ।'

प्रिय दोस्त !

भिजिटिङ कार्डकी उसी पते पे एक नहीँ देर सारी रचनाएँ - गिन्ती कृपया आप ही करेँ - भेज रहा हुँ विथ् अंग्रेजी सब्टाइटल्स । लुत्फ उठाएँ । पढ्ने के बाद मुझे पत्र लिखने का कोई कष्ट ना करेँ । जाहिर सी बात है कि फकिरोँ, मुसाफिरों और सुफियों का कोई ठिकाना, अतापता तो नहीं होता । विथ लभ फ्रम काठमान्डु, द ग्रे सिटी टु जयपुर, द पिंक सिटी । इन्जोय द रिडिङ । सेलिब्रेट द फोलोइङ गड ड्याम स्टोरिज् एन्ड पोयम्स ह्विच आई सिम्प्ली इमाजिन्ड, स्केच्ड एन्ड कम्पोज्ड जस्ट फर यु ।

अ म्यान विथ अ ब्राउन ह्विलब्यारो

त्यो मानिस लगभग ७० को थियो । ७० कै हुनुपर्छ । ६९ या ७१ को पनि हुन सक्थ्यो । जे होस् ७० कै आसपास हुनुपर्छ भन्ने मैले लख काटेको थिएँ । अनेक बाधा अड्चन पन्छाउँदै म उसलाई निरन्तर पछ्याइरहेको थिएँ । सामान्यतया स्ट्रेन्जरहरूलाई अकारण पछ्याउँदै हिँड्ने खालको मानिस म होइन । तर, जब कुनै मानिस लाइब्रेरीमा- आउट अफ ब्लु- ह्विलब्यारो गुडाउँदै आउँछ तब तपाईं निजप्रति पक्कै पनि आकर्षित भइहाल्नु हुनेछ ।

लाइब्रेरीको शान्त, आर्य मौन वातावरणमा म इन्साइक्लोपिडिया ब्रिटानिकाभित्र केही खोजिरहेको थिएँ । तर, म वास्तवमा के खोजिरहेछु भन्ने खोजप्रति नै आश्चर्यजनक रूपले आशंकित भइरहेको थिएँ । कारण ५७५ पेजमा म एकाएक स्मृतिच्युत भएको थिएँ । ५७५ अंकलाई म टुलुटुलु हेरिमात्र रहेको थिएँ । यस्तैमा त्यो मानिस लाइब्रेरीभित्र छिरेको थियो । ब्राउन ह्विलब्यारो गुडाउँदै । उसको घाँटीलाई सुनको मोटो सिक्रीले नागझैं बेरेको थियो । सिक्रीमा चाहिँ ठूलो, गोलो घडी झुन्डिएको थियो । तुर्लुङ्ग । आङ्मा दौरा-सुरुवाल र टाउकोमा रंगीचंगी पन्जाबी पगडी लगाएको ऊ कुनै इलस्ट्रेटेड फिक्सनको अद्भुत पात्रझैं प्रतीत हुन्थ्यो ।

ऊ बिस्तारो-बिस्तारो हिँडिरहेको थियो । तीन पाइला चाल्थ्यो । रोकिन्थ्यो । र, फेरि तीन पाइला चाल्थ्यो । लाग्थ्यो, उसको ढाडमा कुनै जटिल समस्या थियो । एक मनले लाग्यो जाउँ र सहयोग गरुँ तर अर्को मनले भन्यो - चिन्नु न जान्नु ढुंगाले हान्नु । चुपचाप हेरि बसेँ । 'नेपालको प्राचीन इतिहास' सेक्सनबाट उसले एकएक गर्दै थुप्रै ग्रन्थहरू निकाल्यो र ह्विलब्यारोमा राख्यो । त्यसपछि जसरी आएको थियो त्यसरी नै गयो । कसैले उसलाई रोकटोक गरेन । त्यसपछि म पुन: ५७५ मा अल्झिएँ ।

किन म त्यसरी ५७५ मा बल्झिएको थिएँ बल्छीको माछा झैं । रिसेप्सनमा उँघिरहेको लाइब्रेरियनलाई कोट्याएर जगाएँ र निजको ल्यापटपमा ५७५ को गुगल सर्च गरिदिन आग्रह गरेँ । उसले कुनै झिँजो नमानी मेरो आग्रहलाई स्वीकार्दै ल्यापटपको होमकिज्मा औंलाहरू कुदायो । लगत्तै उसले ल्यापटप मतिर फर्कायो । कम्प्युटर स्क्रिनमा देखा परेको- सिग्निफिकेन्स एन्ड मिनिङ अफ एन्जल नम्बर्स - शीर्षकअन्तर्गत ५७५ को एन्ट्री खोजेँ । नम्बर देखाएपछि सर्सती पढेँ । यस्तो लेखिएको थियो- ५७५ तपाईंको जन्म अंक हो । ५ प्लस ७ प्लस ५ जोड्दा त्यसको योगफल १७ हुन्छ जुन दिन यस जगतमा तपाईंको आगमन भयो । ५ र ७ को योगफल १२ हुन्छ । बाह्रौं महिना अर्थात् डिसेम्बर तपाईंको जन्म मास हो । बच्चामा तपाईं हराइरहनु हुन्थ्यो । आमाको मन दुखाइरहनुहुन्थ्यो । कीराहरूमध्ये कमिला तपाईंको हितैषी हो । तिनले तपाईंको पथप्रदर्शन गर्छन् । पर्खाल र वृक्ष तपाईंको आध्यात्मिक यात्राका तगारा हुन् ।

५७५ मा उल्लेख भएका प्रसंगहरू मेरो जीवनमा मेल खान गएकोमा लाइब्रेरियनलाई धन्यवाद भनेँ । ऊ मुस्कुरायो । मैले जिज्ञासावश ऊसित ह्विलब्यारो मानवबारे सोधेँ, 'त्यो मानिस को थियो ? '
- खै कुन्नि ! - उसले भन्यो ।

- उसको नाम नै 'खै कुन्नि' ? - म मुस्कुराएँ ।
- होइन होइन । - उसले बतायो । - लाइब्रेरीको ऊ प्राचीन सदस्य हो ।

लाइब्रेरिको प्राचीन सदस्य ! लाइब्रेरियनको बोलाइमा केही बिरानोपन थियो । त्यहाँ अझै अल्झिएर नष्ट हुने मन भएन । बाहिरिएँ । संघारमा उभिएर मैले ह्विलब्यारो मानवको दृश्य सिकार गर्न खोजेँ । यताउति हेरेँ । उसलाई आसपास कतै देखिनँ । यस्तैमा मेरो नजर सिमेन्टको सिँढीमा पर्‍यो । भुइँमा कमिलाको थुप्रोजस्तो केही देखेँ । चल्मलाइरहेका । थुचुक्क हग्न बसेझैं गरी बसेँ । त्यो कमिलाको थुप्रो थिएन । बरु देवनागरी अक्षरहरूको थुप्रो रहेछ- गुजुमुज्ज, चल्मलाइरहेका- जुन मसिनो ताँती बनेर सिँढी, सडक हुँदै केही परको चिल्ड्रेन पार्कतिर लम्किरहेका थिए ।

बच्चा हुँदा कमिलाका ताँतीहरूलाई पछ्याउँदै म कता-कता पुग्ने गर्थेँ । त्यसरी हिँड्दा मेरो मन प्रफुल्ल हुन्थ्यो । चार खुट्टा टेकेर म पनि कमिलाका ताँतीसितै टाढा-टाढा जाने गर्थेँ । तर, प्राय:जसो कहिले पर्खालमा त कहिले रूखमा गई ठोक्किन्थें । कमिलाझैं पर्खाल र रूख चढ्न नसक्दा रुने गर्थेँ । कताकताबाट आमा मलाई खोज्दै आउनुहुन्थ्यो । मेरो आँसु पुछ्नुहुन्थ्यो र सिँगाने मुखमा म्वाइँ खानुहुन्थ्यो ।

त्यो दिन मलाई घरिघरि आमाको सम्झना भइरहेको थियो । वातावरण चकमन्न, निर्जन थियो । हग्न बसेको पोस्चर बदलेँ र घुँडाले भुइँ र दुवै हातले खुड्किला टेक्दै अक्षरहरूको ताँतीसितै अगाडि बढेँ । तिनले मेरो पथ प्रदर्शन गरे । तिनीहरूलाई पछ्याउँदै चिल्ड्रेन पार्कभित्र छिरेँ ।
केही पर टाउकोमा पगरी गुथेको त्यो मानिसलाई देखेँ । ऊ उसैगरी तीन पाइला चाल्थ्यो । रोकिन्थ्यो । र, फेरि तीन पाइला चाल्थ्यो ।

देशमा बेथिति छ, अत्याचार/भ्रष्टाचार छ, सिन्डिकेट छ, तर यो बास्टर्ड प्राइम मिनिस्टर ऐनामा आफ्नो मुहार हेर्दै मुग्ध भइबसेको छ । ऐनासामु उभिएर एकनासले आफ्नो मुहार हेरिरहेको शासक ज्यादै खतरनाक हुन्छ । त्यो शासक चाहे प्रधानमन्त्री होस् या राष्ट्रपति । या चाहे कुनै घरेलु पति नै किन नहोस् !

उसलाई थाहा थियो कि थिएन कुन्नि ! ह्विलब्यारोको पिँधमा सायद प्वाल परेको थियो । त्यही प्वालबाट अक्षरहरू चिप्लिँदै झरिरहेका थिए । 'नेपालको प्राचीन इतिहास'का ग्रन्थहरूभित्र कैद भएका अक्षरहरू ह्विलब्यारोको छिद्रबाट चुहिरहेका थिए । ऊ भने- लाग्थ्यो - अनभिज्ञ थियो ।
म ऊ नजिकै गएँ । भुइँबाटै सोधेँ :
- सुन्नुस् त ! तपाईंको ह्विलब्यारोबाट अक्षरहरू चुहिरहेका छन् ।
उसले नसुन्याझैं गर्‍यो । तीन पाइला चाल्यो । रोकियो । र, पुन: तीन पाइला चाल्दै मलाई नहेरिकनै भन्यो, 'त्यसो भए तिमी के हेरिा'छौ ? अक्षरहरू टिप।'
त्यसपछि ह्विलब्यारोबाट झरेका देवनागरी अक्षरहरूलाई मैले टिप्न थालेँ । र, कमिजको खल्तीमा हाल्न थालेँ ।

 

 



वर्षौं बित्यो । आजसम्म म अक्षरहरू टिपिरहेको छु । तिनलाई खल्तीभित्र राखिरहेको छु । र, ऊ अनि उसको ब्राउन ह्विलब्यारोलाई पछ्याइरहेको छु वामे सर्दै । घरमा आमा मलाई खोजिरहनुभएको होला । कमिलाको ताँतीसितै मेरो छोरा कहाँ पुग्यो होला भनी कहिले पर्खालमा, कहिले रूखमा चढी मलाई टाढाटाढा कतै आँखाले क्याप्चर गरिहाल्छ कि झैं गरी हेरिरहनुभएको होला ।

नार्सिसस एफेक्ट : अ ब्रिफ स्टडी

एकदिन प्रधानमन्त्रीलाई ऐनामा आफ्नो मुहार हेर्न मन लाग्यो । त्यो मुहार जसलाई उसको दलका कार्यकर्ताहरू अचाक्ली प्रेम गर्थे र अरू दलका शुभचिन्तकहरू घृणा गर्थे । उसले आफ्नै मुहार नहेरेको वर्षौं भइसकेको थियो । तर, दु:खको कुरा ! उसको घरमा ऐना थिएन ।
ड्रेसिङ-टेबलको के कुरा ! घरभरि एउटा हाते ऐनासमेत थिएन । उसले आफ्नो पर्सनल सेक्रेटरीलाई बोलायो र भन्यो, 'मेरो मुहार कस्तो छ ? ' पर्सनल सेक्रेटरीले जवाफमा भन्यो :
- मौसुफको मुहार हजुरले चलाइबक्सेको सरकारझैं बेदाग, निश्छल छ ।
- म ऐनामा त्यो बेदाग र निश्छल मुहार हेर्न चाहन्छु । ऐनाको प्रबन्ध गर ।
- मौसुफको जो आज्ञा । - उसले आदेश शिरोपर गर्‍यो ।

त्यसलगत्तै प्रधानमन्त्रीको पर्सनल सेक्रेटरी ऐनाको खोजमा निस्क्यो । तर, यो खोज लगभग नेक्स्ट टु इम्पोसिबल जस्तै थियो किनभने सहर, गाउँ, मेलामात्र होइन देशकै सम्पूर्ण ऐनाहरू पूर्वप्रधानमन्त्रीको जंगी आदेशमा फुटाउन लगाइएको थियो । सबै ऐना नष्ट गरिएका थिए । ऐनाको रचना गर्ने सम्पूर्ण कालिगढहरूको या त हत्या गरिसकिएको थियो या तिनलाई जन्मकैदको सजाय दिइएको थियो ।
जन्मकैदको सजाय पाएका अभागीहरू पनि उहिल्यै ईश्वरका प्यारा भइसकेका थिए ।

ऐनाको एकमात्र जीवित कालिगढ केवल म बाँकी थिएँ । त्यो पनि कारावासमा मृत्युको दिनगन्ती गर्दै बसेको । झ्यालखानाको काल कोठरीमा त्यो दिन म ऐना रचना गर्ने आफ्नो पुरानो कलाबारे सोचिबसेको थिएँ । ती जवान युवती र भव्य आइमाईहरूबारे कल्पना गरिरहेथेँ जो ऐना नै नहेरी अस्तित्वबाट नष्ट भएका थिए । तिनीहरूप्रति म शोकमग्न थिएँ ।

आफ्नो चेहेराको सौन्दर्य-सम्पदा अर्थात् रूप लावण्यको झलझलाकार प्रतिविम्ब ऐनामा हेर्नै नपाई मर्नु ! हरे दैव ! स्त्रीहरूको निम्ति यो कस्तो अभिषप्त नियति ! म घोर विक्षिप्त मनोदशामा थिएँ । अकस्मात गोलघरको लौहद्वार उघ्रियो । सेक्रेटरीले अन्तत: मलाई फेला पारेरै छाड्यो । मसित भन्यो, 'सुन् रे कैदी ! हाम्रो देशको प्रधानमन्त्रीलाई एउटा ऐना चाहियो । तैंले एउटा ऐना बनाउनुपर्‍यो ।' मैले आफू ऐना बनाउने मान्छे नभएको जाहेरी दिएँ । भनेँ :
- म ऐना बनाउने मान्छे होइन । म त ऐनाको रचना गर्ने कालिगढ हँ ।
मेरो कुरा उसले बुझेजस्तो लागेन । भन्यो :
- कुरो एउटै हो । तँ मलाई एउटा ऐना दे ।

प्रधानमन्त्री निवासको बैठकमा मैले एउटा अनुपम ऐनाको रचना गरेँ । प्रधानमन्त्रीसमक्ष कलाको भव्य नमुना पेस गरेँ । मेरो कालीगडीको उसले तारिफ गर्‍यो । मेरो लम्बेतान प्रशंसा गर्‍यो । र, बडो गदगद हुँदै राजकीय सम्मानका साथ मेरो हत्या गर्ने आदेश दियो । त्यही दिन मेरो वध गरियो । म मरेँ।

र, त्यही दिनदेखि प्रधानमन्त्रीले ऐनामा आफ्नो मुहार हेर्न थाल्यो । आजपर्यन्त ऊ मुहार हेरी नै रहेको छ । उसलाई आफ्नो मुहार भव्य लाग्छ । अतुलनीय लाग्छ ।
मेरा डेड कालीगडी कलिगहरू भन्ने गर्छन् - देशमा यस्तो बेथिति छ, अत्याचार/भ्रष्टाचार छ, सिन्डिकेट छ, तर यो बास्टर्ड प्राइम मिनिस्टर ऐनामा आफ्नो मुहार हेर्दै मुग्ध भइबसेको छ । बजिया स्वाँठलाल त कस्तो ग्रिक मिथलजीको क्यारेक्टर नार्सिसस जस्तो परेछ !
मलाई थाहा छैन, यो कुन देशको कथा हो । मलाई यो पनि थाहा छैन कि यो कथामात्रै हो या वास्तविकता नै हो । मलाई त केवल यतिमात्र थाहा छ कि ऐनासामु उभिएर एकनासले आफ्नो मुहार हेरिरहेको शासक ज्यादै खतरनाक हुन्छ ।

त्यो शासक चाहे प्रधानमन्त्री होस् या राष्ट्रपति । या चाहे कुनै घरेलु पति नै किन नहोस् ! ऐनामा आफ्नो मुहार हेरिरहेको मान्छे ज्यादै खतरनाक हुन्छ ।

अ जंगल सोनाटा

मभित्र
एउटा जंगल थियो
जंगलमा
तिम्रो नामको एउटा वृक्ष थियो
वृक्षको हांगामा
नवजात मृत्युको एउटा गुँड थियो
मृत्यु आफ्नो गुँडमा
नआएको पनि अब त युगौं भयो
जंगलमा म तिम्रो
दिवंगत आत्मा कुरिबसेको छु ।

अ ब्लु ह्यान्डकरचिफ

वर्षौंअघिको अन्तिम भेटमा
तिमीले एउटा ह्यान्डकरचिफ दिएकी थियौ
त्यो ह्यान्डकरचिफले
मैले आफ्नो आँसु पुछेको थिएँ
खल्तीको त्यो
नीलो ह्यान्डरचिफ
हेर न ! आजसम्म गिलो छ

इन्साइड द माइन्ड अफ् अ नोभलिस्ट

अपराह्नको ठीक १२ बजे म तपाईंको दिमागभित्र छिरेको थिएँ ।मस्तिष्कको सुरुङ लामो थियो र अन्धकारमय । सुरुमा केही भेउ नपाई मेरा गोडाहरू लड्खडाए । ज्यान असन्तुलित भई तीन पटक लडेँ पनि । तर, पछि बिस्तारै अँध्यारोमा बानी पर्दै गयो । तपाईंको दिमाग त्यस्तो अन्धकार नर्क जस्तो होला ! मैले कल्पना नगरेको कुरा । त्यस्तो अनुमान नै गरेको थिइनँ।लामो सुरुङमा अघि बढ्दै गएँ ।

केही समययता एउटा फ्यान्सी विचारले मलाई ज्याद्रो आकर्षित गरिरहेको थियो । साइकिडेलिक विचार यस्तो थियो - कुनै नोभलिस्टको दिमागभित्र साइकिक यात्रा गर्ने । विदेशी नोभलिस्टहरूसित मेरो पहुँच मरु ! तपाईं स्वदेशी हुनुहुन्थ्यो र मेरो प्रिय पनि ।त्यसैले पर्सोना-यात्राको निम्ति मैले तपाईंको दिमाग छनोट गरेको थिएँ ।

सुरुङको भित्तामा अनेक द्वारहरू जडान गरिएका रहेछन् । प्रथम द्वार खोल्दा म दुर्भाग्यवश चिहान पार्क पुगेँ । त्यहाँ प्रशस्त खाल्डाहरू थिए । ती खाल्डा त्यति गहिरा थिएनन् । त्यहाँ लासहरू राखिएका थिए ।एउटा खाडलभित्र मैले कार्ल माक्र्सको डेड बडी देखेँ । तपाईं त माक्र्सवादी साहित्यकार ! किन माक्र्सलाई चिहानमा समाधिस्थ गर्नु भएको ? म चकित परेँ । अर्को खाडल- जुन नजिकै थियो- मा सिग्मन्ड फ्रायड र अर्को खाडल - केही परको- मा चाइन्जो चाल्र्स डार्विनको लास थियो ।

चिहानका अनेक लासहरू हेर्दै म अघि बढेँ । बढ्दै गएँ । आफ्नो मनप्रिय नोभलिस्टको दिमागमा चिहान र यति धेरै लास देखेर दिगमिग लाग्यो । अचम्मलाग्दो कुरा ! ती कुनै पनि लास सडेगलेका थिएनन् । ती सब शव फ्रेस एवम् जीवन्त देखिन्थे ।

इटालो क्याल्भिनोको लासमा त आरुका ताजा फूलहरू थिए । म्याक्सिम गोर्की र होर्हे लुई बोर्हेसको लासमा तपाईंले बुके चढाउनुभएको रहेछ जो ज्यादै आकर्षक देखिन्थे । रोजा लक्जेम्बर्ग, पारिजात र भर्जिनिया उल्फको डेड बडिजछेऊ तपाईंले अगरबत्ती बाल्नुभएको रहेछ जसको सुगन्धित बास्ना जिम मोरिसन, ज्याक केरुआक र ज्याक्सन पोलकलाई गाढिएको खाल्डोसम्म फैलिएको थियो ।

अन्तिम खाल्डोमा पुग्दा आँखामा अकस्मात अन्धकार छायो । म खाल्डोमा खसेँ । लाग्यो, त्यो खाल्डो तपाईंको आफ्नै चिहान हुनुपर्छ । आफ्नो निम्ति आफैंले खनेको । अकस्मात विलुप्त भएको आँखाको भिजन एकछिन पछि पुन: ब्युँतियो । खाल्डोमा ढुंगाले छापेको सिँढी देखेँ जो जमिनमुनि सोझिएको थियो । सिँढीबाट ओर्लँदै अघि बढेँ । र, एउटा भव्य क्याफेभित्र दाखिला भएँ ।

क्याफेमा भद्र आइमाई र लोग्नेमान्छेहरू देखेँ जो चुपचाप पत्रिका, म्यागजिन पढिरहेका थिए । आइमाईहरू हातमा ब्रोडसिट पत्रिका फैलाएर बसेका थिए । ती सबैको आँखामा रिडिङ ग्लास थियो । लोग्नेमान्छेहरूको हकमा भने त्यस्तो केही उल्लेखनीय बात थिएन । ती तपाईंका आफन्त, शुभचिन्तक एवम् मित्रहरू हुँदा हुन् ।

मैले कुनाको टेबल ओगटेँ । म सदा कुनाकै टेबल किन रोज्ने गर्छु ? थाहा छैन । बिहेबरियल साइकलजिस्टहरू यसलाई इन्फेरियरिटी कम्प्लेक्सको उपज हो भन्छन् । गड नोज् । एउटी युवतीले सेरामिक कचौरा र प्लेटमा आइसक्रिम/केक सर्भ गरी । विथ् अ मर्डरस् स्माइल । केक र आइसक्रिम ब्राउन कलरका थिए । युवती स्वयं पनि त ब्राउन कलरकी थिई । ब्राउन स्कर्टमा ब्राउन स्लिभलेस कमिज लगाएकी । विथ ब्राउन कर्ली हेयर ।

- तपाईंलाई नोभलिस्टको टेबलमा स्वागत छ । - उसले भनी ।
- यो नोभलिस्टको टेबल हो ? - सोधें ।
- हो ।
- केक र आइसक्रिमको सट्टा हिङ र शिलाजितको सर्बत तपाईंले सर्भ गरे म धन्य हुने थिएँ । मेरो कल्याण हुने थियो ।
- सर्बत ? वि डोन्ट सर्भ सर्बत । तर, किन सर्बत ?
- मेरो यौनजीवनमा सेक्स ग्रहण लागेको छ, त्यसैले ।
- सेक्स ग्रहण ? ह्वाट नन्सेन्स ? चन्द्र ग्रहण र सूर्य ग्रहण सुने/देखेको हो । तर सेक्स ग्रहण ?
- यसमा आश्चर्यको कौनो बात नाही छे माई डार्लिङ । केक र आइसक्रिमले मेरो शरीरमा वीर्य उत्पादनको प्रोसेसलाई डिसिन्क्रोनाइज्ड गरिदिन्छन् । मेरो यौनजीवनको केस स्टडी गर्ने चिकित्सकहरूको निष्कर्ष हो यो । मैले जीवनमा केक र आइसक्रिम भसक्कै खाएँ । त्यसैको फल हो यो ।
- हाउ स्याड !
- स्याड एन्ड टु ब्याड । डाक्टरहरूका अनुसार केक र आइसक्रिमको ओभरडोजले मेरो जीवनमा सेक्स ग्रहण लागेको हो । त्यसैले उनीहरूले हिङ र शिलाजितको सर्बत प्रेस्क्राइब गरेका हुन् । तर, तपाईं भन्नुहुन्छ कि वी डोन्ट सर्भ सर्बत । हु आर यु टु से द्याट ?
- आई एम अ प्रेमिका । म गर्लफ्रेन्ड हुँ ।
- कसको गर्लफ्रेन्ड ?
- म नोभलिस्टको अफिसियल गर्लफ्रेन्ड हुँ ।
- अफिसियल गर्लफ्रेन्ड ?
- यु आर राइट सर । र, नोभलिस्टले तपाईंको सत्कार केक र आइसक्रिमले गर्नु भन्नुभएको थियो ।
- यो नोभलिस्टको विनम्रता हो । बट यु सी ! आई कान्ट इट दिस केक एन्ड द्याट आइसक्रिम । बरु म धूमपानले काम चलाउनेछु । के म यहाँ सिग्रेट पिउन सक्छु ?

- जरुर पिउन सक्नुहुन्छ । तर, धुवाँ चाहिँ उडाउन पाउनुहुन्न । धुवाँको व्यवस्थापन तपाईं स्वयंले गर्नुपर्नेछ । यो धुवाँ निषेधित क्षेत्र हो ।
गजबको क्षेत्र रहेछ । मनमनै सोचेँ । हे प्रभु ! धुवाँको व्यवस्थापन खुदले गर्नुपर्ने ? में क्या खुदा हुँ ? केक र आइसक्रिमलाई टेबलमै-खुदाके पास- छाड्दै प्रस्थानको निम्ति म उठेँ । एक्जिट द्वार उता छ भनी तपाईंकी अफिसियल गर्लफ्रेन्डले भनेपछि म उसैले इशारा गरेको दिशातिर लागेँ।
द्वार खोलेर म तपाईंको बेडरुम प्रवेश गरेँ ।

बेडरुमको भुइँ ओछ्यानमा तपाईं सुतिरहनुभएको थियो । नग्न । तपाईंको नग्नता कति संक्रामक थियो भने कोठाको निस्सिम मौनता, एकान्त र शून्यतामा कम्प्लिट न्युडिटीले एकछत्र राज गरेको थियो । तपाईं गहन निद्रामा हुनुहुन्थ्यो । भित्तासितै टाँस्सिएर कोल्टो परी निदाइरहनुभएको थियो । र, सपना देखिरहनुभएको थियो । अन्तत: म तपाईंको स्वप्नभित्र आइपुगेको थिएँ ।वास्तवमा यो एक पजलिङ क्षण थियो ।

म तपाईंको दिमागभित्र थिएँ । दिमागभित्र एउटा बेडरुम थियो । बेडरुमको भुइँ ओछ्यानमा तपाईं निदाइरहनुभएको थियो । निद्राभित्र एउटा सपना थियो । र, सपनाभित्र म थिएँ । एकनासले घरी तपाईंको नग्नतालाई हेरिरहेको र घरी भुइँको ब्राउन टेलिफोन सेट हेरिरहेको ।यस्तैमा टेलिफोनको- ट्रिङ ट्रिङ/ट्रिङ ट्रिङ- ले मौनता, एकान्त र शून्यताको नग्नतामाथि बलात्कार गर्न थाल्यो । मैले वास्ता गरिनँ । मिति पुगेपछि आफैं चिच्याउन छाड्ला भनेँ । तर, फोनको घन्टी­- ट्रिङ ट्रिङ/ट्रिङ ट्रिङ - निरन्तर ननस्टप बजिरह्यो । बजि नै रह्यो ।

निद्राबाट तपाईं अझै पनि ब्युँझनुभएन । केही सीप नलागी मैले टेलिफोनको स्पिकर बटन- अन विहाफ् अफ् यु - दबाएँ । आवाज कुनै बच्चाको थियो । चाइल्ड आवाज बेडरुमभरि गुञ्जियो, 'अंकल ! पापा तपाईंले लेखेको नोभल पढ्दै हुनुहुन्थ्यो । झ्यालबाट हाम फाल्नुभयो । मम्मी चुइङ्गम चपाइरहनुभा'छ ।'
- तिमीचाहिँ के गरिरा'छौ ? - मैले सोधेँ ।
- म पनि चुइङ्गम चपाइरा'छु । - बच्चाले भन्यो ।
- तिमीहरू अहिले काँ छौ ?
- हामी अहिले लिफ्टभित्र छौं । पापाको डेडबडी कलेक्ट गर्न ग्राउन्ड फ्लोर झर्दैछौं ।
फोनको चाइल्ड आवाज डिसकनेक्ट भएपछि मैले भुइँबेडमा तपाईंलाई हेरेँ । तपाईंले पनि मलाई हेर्नुभयो । सपनामा । हामी एकार्कामा जक्स्टापोज्ड भएका थियौं । हाम्रो इन्डिभिजुअल अस्तित्व सुपरइम्पोज्ड भएको थियो ।

स्ट्रेन्ज स्टोरी अफ् अ ट्याटु आर्टिस्ट 

तिमी जाँदा
मेरा सम्पूर्ण यादहरू
तिमीसितै मलामी गएका थिए

नौ शब्दको यो कविता लिई तिमी एकदिन उसको स्टुडियोमा छिरेकी थियौ । यो त्यही ट्याटु आर्टिस्टको कथा हो । शिशिर याम थियो । चिसो/चिसो । काठमान्डु कुमार नगरकोटीले 'मिस्टिका' उपन्यासमा चित्रण गरेको घना कुहिरोको गुप्त रहस्यभित्र कतै बिलाएझैं प्रतीत हुन्थ्यो । गुप्त रहस्य ? ह्वाट द हेल ! रहस्य पनि गुप्त ? खैर, यसबारे चिन्ता नगरौं ।शिशिर याममा कुहिरो लाग्नु काठमान्डुको वंशानुगत गुण थियो ।

एकाबिहान तिनै कुहिरो धपाउँदै तिमी शिशाको ढोका घचेडी ट्याटु आर्टिस्टको वातानुकूलित स्टुडियोमा प्रवेश गरेकी थियौ । ऊ सदाझैं कोठामा एक्लो थियो । आङमा ट्याटु खोपाउन आउने ग्राहकले ठ्याक्कै एक सातादेखि उसको स्टुडियोको बाटो बिर्से जस्तो लाग्थ्यो ।साताको तिमी पहिलो ग्राहक थियौ ।
आफ्नोसामु तिमीलाई देखेर ऊ हेर्‍या हेर्‍यै भयो । आश्चर्यचकित पर्‍यो । अक्क न बक्क, ट्वाँ, पक्क इत्यादि केके पर्‍यो, पर्‍यो । उसले सोच्यो - माई गड ! दिस इज अनविलिभेवल । मेरो सामु स्कारलेट जोहानसन ! एम आई ड्रिमिङ ?

लेट्स टक स्ट्रेट । वास्तवमा स्कारलेट जोहानसनको ऊ अघोरी प्रशंसक थियो । चलनचल्तीको भाषामा भन्नुपर्दा डाइहार्ड फ्यान । स्कारलेट जोहानसनका सम्पूर्ण फिल्महरू उसले हेरेको थियो । ती सम्पूर्ण फिल्मका डीभीडीहरू उसले प्रेमपूर्वक जतनका साथ संग्रह गरेर राखेको थियो । एक सातादेखि लगातार उसले प्रत्येक रात स्कारलेटका फिल्महरू हेर्दै आएको थियो । गत रातमा मात्रै उसले तीनवटा फिल्म - लस्ट इन ट्रान्सलेसन/लुसी/गर्ल विथ अ पर्ल एयर रिङ - हेरेको थियो । लगालग । तीनटै फिल्म सातौं पटक । इनफ्याक्ट हि ह्याड फलन इन लभ विथ हिज् ओन इम्याजिनेसन अफ स्कारलेट जोहानसन । वास्तवमा, ऊ स्कारलेट-कल्पनाको-स्कारलेट- प्रेमी थियो र, त्यसदिन आफूसामु त्यसरी तिमीलाई ज्युँदोजाग्दो पाउँदा ऊ युफोरिक भएको थियो ।

ट्याटु आर्टिस्टको मनको कुरा चाल पाएसरी तिमीले आफ्नो चिरपरिचित निद्रालु आवाजमा भन्यौ ः
- एक्सक्युज मी ! डोन्ट गेट पजल्ड । म स्कारलेट जोहानसन होइन ।यही त समस्या थियो । ट्याटु आर्टिस्टमात्र होइन तिमीलाई देख्ने सबैले तिमीलाई स्कारलेट जोहानसन नै ठानिदिन्थे । तिमी थियौ पनि दुरुस्त स्कारलेट जोहानसनजस्तै । डिट्टो सेम । तिमीहरू दुवैको जन्म ३३ वर्षअघि भएको थियो । नोभेम्बर २२, १९८४ मा । फरक के थियो भने स्कारलेट जोहानसन न्युयोर्क सिटीमा जन्मेकी थिई र तिम्रो जन्म भएको थियो- काठमान्डुमा । रूपरंग, चालढाल अनि हरेक फ्रेम र एंगलबाट तिमी स्कारलेट जोहनसन थियौ । नट मोर नट लेस ।

तिमीहरू डबल एक्जिस्टेन्सको पर्फेक्ट उदाहरण थियौ । अ काइन्ड अफ प्यारलल एक्जिस्टेन्स ! फ्रम अ प्यारलल युनिभर्स ।ट्याटु आर्टिस्टले तिमीलाई ब्ल्याक कफीको अफर गर्‍यो । तिमीले उसको न्यानो डेलिसियस आतिथ्यलाई अस्वीकार गर्दै भन्यौ :- नो, थ्यांक यु । ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ ।

के यो कुनै फिल्मको डाइलग थियो ? ट्याटु आर्टिस्टले गम खायो । यस्तो गजबको कुरा उसलाई केवल स्कारलेट जोहानसनले मात्र भन्न सक्थी । तिम्रो वाणीको असर कस्तो खतरनाक भइदियो कि अब आइन्दा उसले कहिल्यै ब्ल्याक कफी नपिउने इन्स्ट्यान्ट निर्णय गर्‍यो । तिम्रो आगमनअघि ऊ ब्ल्याक कफी पिउँदै थियो । त्यसलाई अब नछुने भयो । त्यसलाई फुटेको आँखाले समेत नहेर्ने भयो ।आधा पिएर छाडिएको त्यो ब्ल्याक कफी झ्यालमुनिको टेबलमा आजसम्म जस्ताको तस्तै छ । कफीमा अब त ढुसी र लेऊ लागेको छ ।

तिमीले 'त्यो कविता' त्यो दिन आफ्नो ब्राउन ह्यान्डब्यागबाट निकालेकी थियौ। लोक्ताको कागजमा कालो मसीले लेखिएका ती नौ शब्द आफैंमा कलात्मक थिए । सुन्दर थिए । त्यो कविता तिमी आफ्नो मेरुदण्डको फेदमा खोपाउन चाहन्थ्यौ :
तिमी जाँदा
मेरा सम्पूर्ण यादहरू
तिमीसितै मलामी गएका थिए
- तपाईं यो कविता किन खोपाउन चाहनुहुन्छ ? - ट्याटु आर्टिस्टले सोधेको थियो ।
- म शालिग्राम हुँ । ट्याटुबिना शालिग्राम अधुरो हुन्छ । - तिमीले भन्यौ ।

त्यसपछि एकएक गर्दै तिमीले आफ्नो देहबाट सम्पूर्ण लुगाहरू फुकाल्यौ र दिवान सोफामा घोप्टो परी पल्टियौ । उसले ट्याटु मेसिन चलायो । नौ अक्षरहरूलाई तिम्रो शरीरमा रोप्यो । कवितालाई बडो जतनका साथ तिम्रो स्पाइनल कर्डको फेदमा - कपल अफ नितम्बज्को पाँच इन्चमाथि - कुँद्यो । खोप्यो। तिमी गयौ । तर लोक्ताको कविता स्टुडियोमै बिर्सेर गयौ ।

त्यो कागजलाई ट्याटु आर्टिस्टले झ्यालमुनिको टेबलमा राखिदियो । कफीको मगले थिचेर । त्यो कविता उसलाई स्कारलेट जोहानसनको सोभनियर जस्तै लाग्यो । स्कारलेटको स्मृति चिन्ह । अ ब्युटिफुल मेमेन्टो !तिमी गयौ । तर, ट्याटु आर्टिस्टको स्टुडियोमा आफ्नो बास्ना छाडेर गयौ ।

तिमी गइसकेपछि उसले दिवान सोफा- जहाँ तिमी ओच्छिएकी थियौ- को कुनाकाप्चा सुँघ्यो । फर्निचरमा तिम्रो शरीरको आलो वास्ना इम्प्रिन्ट भएको थियो । ऊकहाँ ट्याटु खोपाउन आउने कुनै पनि ग्राहकलाई उसले त्यो दिवान सोफामा बस्ने अनुमति कहिल्यै दिएन । ती ग्राहकलाई ऊ भन्ने गथ्र्यो, 'यो सोफामा स्कारलेट जोहानसनको देह-वास्ना ट्याटु गरिएको छ ।'

- को स्कारलेट जोहानसन ? - उनीहरू भन्थे ।
- एउटी युवती जो भन्थी कालो कफी पिउने मान्छेको मन कालो हुन्छ ।
- यस्तो पनि कहीँ हुन्छ ? - उनीहरू भन्थे । - यो त बिरयानी खाने मान्छेको वीर्य स्ट्रङ हुन्छ भन्याजस्तै भयो । स्कारलेट जोहानसनले त्यसो भन्दैमा काँ हुन्छ ?
खैर ! ती नासमझ ग्राहकप्रति उसमा दया पलाउँथ्यो । तर, तिनलाई दिवान सोफामा बस्न कदापि दिँदैनथ्यो । किनभने त्यसको कुनाकाप्चामा तिम्रो वास्ना थियो जसलाई ऊ बेलाबखत सुँघ्ने गथ्र्यो । उसलाई तिम्रो श्वास सुँघेजस्तो लाग्थ्यो । लोक्ताको कविता पढ्थ्यो । तिम्रो आँखा पढेजस्तो लाग्थ्यो ।
उसको घर-संसार भन्नु त्यही स्टुडियो थियो । जहाँसम्म मलाई लाग्छ, उसको कुनै आफन्त, मित्र, शुभचिन्तकहरू थिएनन् । ऊ सदाबहार एक्लो थियो र उसको आसपास थियो शाश्वत एक्लोपना । एक इटरनल एकान्त । एक रात उसले सपना देख्यो । तिमी नष्ट भएको सपना ।

बिहान उठ्दा सोफामा तिम्रो वास्ना थिएन । लोक्ता कागजमा तिम्रो कविता थिएन । ती एकाएक बिलाएका थिए । तिम्रो देह¬-बास्ना र कविताका नौ शब्दहरू पनि तिमीसितै नष्ट भएका थिए । त्यसपछिका धेरै रात ऊ दिवान सोफामा निदायो एउटा सपनाको प्रतीक्षामा । आशामा । कुनै रातको सपनामा तिमी ज्युँदिनेछौ भन्ने अभिलाषामा । एउटा अतृप्त चाहनाको काउकुतीले उसलाई डसिरह्यो - कि लोक्ताको त्यो कविता फर्कियोस् । कि तिम्रो देहको वास्ना फेरि सोफाका कापहरूमा मगमगाओस् । कि सपनामा नै सही, तिम्रो निद्रालु आवाज गुञ्जियोस्- म सपनामा मात्र नष्ट भएकी हुँ । विपनामा त म ज्युँदै छु । स्टुडियोमा मैले बिर्सेको लोक्ताको कागज लिन म एकदिन अवश्य आउनेछु । कविता मेटाएका त छैनौं नि ?

वर्षौं बित्यो । तर, त्यो 'एक दिन' कहिल्यै आएन ।कथा यहीँ टुंगियो । धेरै दिन मैले ट्याटु आर्टिस्टबारे केही सोचिनँ । तर, मनमा कता-कता के महसुस भइरह्यो भने कथा अपुरो/अधुरो नै रह्यो । कथाको गतिलो अन्त्य फेला नपार्दा कथाकारहरू जुन औडाहा, बेचैनीबाट गुज्रन्छन् त्यो ज्यादै भयावह हुन्छ । कथाको अन्त्य नपाएर भड्किने कथाकार दुनियाँको सबैभन्दा अभागी प्राणी हो ।

म कुनै क्लु खोजिरहेथें । तर, क्लु ट्याटु आर्टिस्टको दिवान सोफाबाट बिलाएको बास्ना झैं कतै विलुप्त भएको थियो । क्लुको खोजमा म भौंतारिरहेको थिएँ । कहिले कहाँ कहिले कहाँ । यस्तैमा एकदिन पाटनको गल्लीमा कुमार नगरकोटीसित मेरा भेट भयो । मेरो अवसादग्रस्त मनस्थितिको साइकिक आभास पाएरै हुनुपर्छ, मलाई देख्नासाथ नगरकोटी रहस्यमय किसिमले मुस्कुरायो । मेरो हालचाल केही नसोधी मेरो आँखामा एकनासले क्वारक्वार्ती हेर्न थाल्यो । उसको म्यानेटिक हेराइ मेरो आँखालाई छेडेर मभित्र प्रवेश गरेझैं लाग्यो । त्यसपछि आफ्नो चिन्डे टाउकोमा औंलाहरूले तबला बजाउँदै बडो हिप्नोटिक अन्दाजका साथ नगरकोटीले भन्यो:

- ह्वाट अबाउट शालिग्राम ! तपाईंले खोजेको क्लु शालिग्राममा हुनुपर्छ । थिंक अबाउट द ब्ल्याक फोसिल ।

शालिग्रामबारे त मैले सोचेकै रहेनछु । त्यही दिन मैले ट्याटु आर्टिस्टको कथाको अन्त्य फेला पारेँ । त्यो ट्याटु आर्टिस्ट जो लोक्ता कागजबाट कविता र दिवान सोफाबाट वास्ना बिलाई गएपछिका कष्टपूर्ण दिनहरूमा दुब्लाउँदै गइरहेको थियो । उसको स्वास्थ्य क्रमशः बिग्रँदै गयो । सर्वप्रथम उसको छालाको रङ ब्राउन भयो । ब्राउनबाट क्रमशः ब्ल्याक हुँदै गयो । अन्ततः ऊ कोइलाझैं या कोइली चराझैं कालो भयो । स्ट्रंग ब्ल्याक कफी पिउनुको परिणाम यस्तो वीभत्स होला भन्ने उसले कहिल्यै कल्पना गरेको थिएन ।

एक दिन आफूलाई डोर्‍याउँदै उसले सिटी हस्पिटल पुर्‍यायो । डाक्टरहरूको सल्लाहबमोजिम औषधि गन्हाउने एउटा च्याम्बरमा आफूलाई भर्ना गर्‍यो । उसको समग्र शरीरको परीक्षण, जाँच पड्ताल गरियो । भर्ना भएको तेस्रो दिन एउटा सर्जनले मेडिकल रिपोर्टहरू हेर्दै भन्यो:

- तपाईंको पेटभित्र एउटा शालिग्राम छ । शल्यक्रिया गरेर त्यसलाई निकाल्नुपर्ने भयो । अपरेसनको निम्ति तपाईं तयार हुनुहुन्छ ? आत्तिनु पर्दैन । माइनर अपरेसन हो । तिमीले कालो कफी पिउने मान्छेको मन कालो हुन्छ भनेकी थियौ । तर, कस्तो विडम्बना ! उसको त तनसमेत कालो भएको थियो अनि पेटभित्र शालिग्रामसमेत उम्रेको थियो । गोलो चिल्लो शालिग्राम ! त्यो शालिग्राम लिई ट्याटु आर्टिस्ट अप्रेसन भएको साता दिनपछि स्टुडियो फक्र्यो । त्यो कालो फोसिललाई झ्यालमुनिको टेबलमा लोक्ता-कागज र कफी-मगसितै राखिदियो ।

हिजो झ्यालबाट एउटा कालो बिरालो बताससितै कोठाभित्र छिर्‍यो । ऊ दिवान सोफामा पल्टेर तिम्रो देहको चिरपरिचित बास्ना सुँघ्न खोजिरहेथ्यो । र, त्यो विस्मृत दिनबारे सोरिहेथ्यो- जुन दिनको एकाबिहान कुहिरो धपाउँदै तिमी सिसको ढोका घचेडी स्टुडियोमा प्रवेश गरेकी थियौ । सोच्दासोच्दै ऊ झल्याँस्स भयो र हड्बडाउँदै सोफाबाट जुरुक्क उठ्यो । तिमीले बोलेको एक टुक्रा डाइलग उसलाई एकाएक स्मरण भएको थियो- म शालिग्राम हुँ । ट्याटुबिना शालिग्राम अधुरो हुन्छ ।

उसलाई हठात् लाग्यो- स्कारलेट जोहानसन शालिग्राम बनी यतिका वर्ष मेरो पेटभित्र बसेकी थिई ? माई गड ! दिस् इज अनबिलिभेबल । त्यसपछि ऊ थचक्क सोफामा थेच्चारियो । ऊ त्यसरी आत्तिएको देखेर बिरालो तस्र्यो । उसको विसंगत चालामाला देखेर बिरालो चलमलायो । चलमलाउँदा टेबलबाट शालिग्राम खस्यो र भुइँमा दुई फ्याक भई फुट्यो ।

ट्याटु आर्टिस्टले शालिग्रामको एउटा फग्लेटो टिप्यो । त्यहाँ केही कुँदिएको थियो । उसले बिरालोलाई धपाइदियो र फग्लेटोलाई नियालेर हेर्‍यो । शालिग्राममा कविताका तिनै तीन अक्षरहरू कुँदिएका थिए जसलाई धेरै वर्षअघि उसले तिम्रो स्पाइनल कर्डको फेदमा खोपेको थियो ः
तिमी जाँदा
मेरा सम्पूर्ण यादहरू
तिमीसितै मलामी गएका थिए

।। एपिलग ।।

प्रिय अब्दुल कादिर !
काठमान्डुमा चैत लागेको छ । के यो महिनाले आफ्नो नाम चैत्यगुम्बाबाट सापटी लिएको हो ? लेट्स टक स्ट्रेट, माई फ्रेन्ड । कुरा वास्तवमा के भन्देखिन् नि ! चैते काठमान्डु मलाई त्यति निको लाग्दैन । चैत्य गुम्बा र मोनास्ट्रिहरूको कुरा चाहिँ बेग्लै हो ।
धुलो र धुवाँले यो सहरको आत्मामा चैतले प्रशस्त मयल जमाउँछ । तिमी नै भन । मयल जमेर मैलो भएको सहरलाई कुन गोज्याङ्ग्रे प्रेमीले मायालु ठान्छ ? त्यसैले यो काइते महिनाभरि मेरो जबर्जस्त इच्छा हुन्छ कि क्यालेन्डरबाटै चैतलाई च्यातचुत गरी डस्टबिनमा मिल्काइदिउँ ।
तर, खेदको बात के छ भने डस्टबिन पहिल्यै भरिएको छ । विचार, तर्क, वाद इत्यादिका कुँडाककर्टले । मेरा यावत् लोभ, अहंकार एवम् तृष्णाहरूले ।

यद्यपि यो पत्र र यी रचनाहरू- दुर्भाग्यवश- चैतमा लेखिएका हुन् । त्यसैले प्यारे दोस्त ! यी चैते रचना हुन् जसलाई मैले तिम्रो निम्ति प्रेमपूर्वक लेखेको हुँ । यी रचनामा जमेका धुलो, धुवाँ र मयलहरू मेरा पर्सनल विचार नभई चैते विकारहरू हुन् ।
थ्याङ्क गड ! तिमीले यो पत्र पाइन्जेल चैत दिवंगत भइसकेको हुनेछ ।
प्रिय अब्दुल कादिर !
पिंक सिटीको कफि स्टयन्डमा मैले तिमीसित कथा-पोयट्री लेखेर पठाउने जुन वाचा गरेको थिएँ त्यो वाचालाई निभाउने जमर्को गरेको छु । सामान्यतयाः वाचा गर्दै डुलिहिँड्ने प्रमिसिङ- म्यान म कदापि होइन । वाचाप्रति मलाई रुचि पनि कहिल्यै भएन । सदा उदासीन रहेँ ।

वाचाबन्धनबाट जति चाँडो मुक्त हुनसक्यो त्यति राम्रो । यो मेरो मुक्तिको कमसल प्रयासमात्र हो ।
यी कथा- पोयट्रीहरू एउटै मेन्टल फ्रेमभित्र बसी सर्सती लेखिएका हुन् । यिनले मेरो मानसिक ल्यान्डस्केप बुझ्न तिमीलाई मद्दत पुग्नेछ भन्ने विश्वास गर्न सक्छु कि ! काठमान्डुवासी तिम्रो यो वैरागी मित्र कुन प्रजातिको लोपोन्मुख कथाकार एवम् फिक्सनकर्मी रहेछ भन्ने कुरा यी रचना- यदि यी रचना हुन् भने- हरूको कमन् मोटिभले अवश्य पनि बताउनेछन् ।

आशा गर्छु, मैयाँदेवी उर्फ मायादिदीले यो पत्रलगायत पोयट्री- कथाहरूको प्याकेज-गिफ्ट ह्याम्पर- तिमीलाई हिन्दीमा उल्था गरेर अवश्य पनि सुनाउनेछिन् । अर्घाखाँचीतिरकी नेपाली चेली मायादिदीलाई मेरो नमस्कार सुनाइदिनु र नेपाली नयाँ वर्ष २०७४ को शुभकामना पनि हस्ते गर्दिनु ।
तिमीलाई पठाउँछु भनेको मूलकथा- अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो- को मूल प्लट मैले आजसम्म फेला पार्न नसकेकोमा क्षमा चाहन्छु । ट्याटु आर्टिस्ट र स्कारलेट जोहानसनको गोथिक प्रेमकथा न्यारेट गर्ने कथाकारझैं म स्वयं पनि क्लुलेस भएको छु ।

उक्त कथाको प्लट हन्टिङ र क्लु खोज्नका निम्ति तिम्रो पिंक सिटी नै आउनु पर्लाजस्तो लागिरहेको छ । कुनै दिन अपार्टमेन्टको पाचौं तलामा अवस्थित तिम्रो बेडरुम हेर्न म जरुर/जरुर आउँला जहाँ एउटा नदी बगिरहन्छ । त्यही नदीको किनारमा बसी त्यो अलिखित कथा लेखुँला ।

प्रिय अब्दुल मियाँ !

म अहिले आफ्नो गुफामा छु । चुपचाप/मौन । भिजिटिङ कार्डमा तिम्रो नाम हेर्दै पिंक सिटीको त्यो विस्मृत फुटपाथको कफी स्ट्यान्ड सम्झिरहेको छु जहाँ दिवंगत अक्टोवरको उदास अपराह्नमा हामीले 'हल्लेलुआ- ओ- हल्लेलुआ' जलालुद्दिन रुमीको स्पिरिचुअल यादमा कफी पिएका थियौं ।
त्यो याद पनि अब त क्रमशः प्राचीन हुँदै गइरहेछ । यादहरू मलाई कहिलेकाहीँ स्कच ह्विस्कीजस्तो लाग्छ : जति प्राचीन, उति .हँसिन । लौ त ! आफ्नो हेरचाह गर्नु । मेरो सम्झना आए त्यो सम्झनाको पनि हेरचाह गर्नु । अल बिदा । सायोनारा । खुदा हाफिज् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2