MENU

बन्द कोठाभित्र

635x90_1

अजबी पौड्याल शनिवार, बैशाख २, २०७४ 6886 पटक पढिएको

Share This

635-X-85

बन्द कोठाभित्र
स्वतन्त्रताको सिंगो सूर्य सल्काएर हत्केलामा
जब हेरिरहेछु सपनाको उज्यालो
मानौं पूरा ब्रम्हाण्ड यहीँ ओर्लिएको छ
आदिमकालका रहरदेखि
कम्प्युटर युगका चकाचौधसम्म
विकासका सूचक परिसूचकदेखि
समयको आयु बदल्ने समययानसम्म
यही कोठाभित्र अटाएको छ
उन्मुक्तिको हाँसो छर्केर
उडानको रहर फट्फटाएको छ ।
बन्द कोठाभित्र
हजारौं किलोमिटरको गतिमा
जब उडाइरहेछु सपनाको सुपरसोनिक
मानौं ढोकाबाहिरको सहर
भीडमा साँघुरिँदै साघुँरिँदै गैरहेछ
मेरो अस्मिताको मूल्यमा चर्चित सिनेमा बनाउनेहरू
मेरो सौन्दर्यको विज्ञापनमा बजारमा बाजी थाप्नेहरू
निरन्तर ढोका ढक्ढक्याइरहेछन्
एउटा अजिंगरजस्तो मानिस
ढोकाको खापा खुल्ने प्रतीक्षामा अधैर्य बसिरहेछ
सिंगो सहर नजर गाडेर बसेको छ मेरो ढोकामा ।
बन्द कोठाभित्र
प्रेममा छु अचेल एकान्तसँग
गर्भमा सजाएर आफ्नै पहिचानको प्राण
बनाएकी छु आफ्नै सपनाको प्रसिद्ध सहर
अक्सर निदाउनु अघि
जुट्ने गरेकी छु कठिन यात्राको तयारीमा
स्वतन्त्रताका डोबडोबमा राखेर पाइला
सजाउने गरेकी छु थकानको मिठास ।
बन्द कोठाभित्र
जब तैरिन्छन् मेरा उन्मुक्त आकांक्षाहरू
बेचैन हुन्छ
झ्यालबाहिरको दुनियाँ
छतछतबाट हाम्फाल्छन् दागी नजरहरू
बिजुलीका पोलबाट छलाङ मार्छनमेरो स्वतन्त्रताका सिकारीहरू
म भने इजलासमा छु मेरै बन्द कोठाभित्र
मेरा एक एक चित्कारको हिसाबमा
मृत्युदण्डको फैसला सुनाइरहेछु ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2