MENU

आहा फूल

635x90_1

कौशिला रिसाल आइतवार, बैशाख ३, २०७४ 2006 पटक पढिएको

Share This

635-X-85

प्राश्नाको विद्यालय छुट्टी छ । आज शनिबार भएकोले बुवा उठेर कतै पसलतिर पत्रिका पढ्न जानुभएछ । आमा अन्य काममा व्यस्त हुनुहुन्छ । अरू बार भएको भए आमाले प्राश्नालाई अघि नै उठाइसक्नुहुन्थ्यो । आज बिदाको दिन सुतोस् न त भनेर चाँडो उठाउनु भएन । प्राश्ना आफैं ब्युँझिएर उठ्दा बिहानको ७ बजिसकेछ । बाहिर झलमल्ल घाम लागेको थियो । उनले घडी हेरिन्, ‘ओहो ! म त कति ढिलासम्म सुतेछु ।'

प्राश्ना हतपत उठेर बाथरुम गइन् । अनि मुख धोएर भान्छामा आइन् । आमालाई भान्छामा नदेखेर उनलाई बेखुसी लाग्यो । उनी दौडिँदै करेसाबारीमा पुगिन्, ‘आमा त यता पनि हुनुहुन्न ।' उनको आँखा फूलबारीमा फुलेका फूलमाथि पुगे । उनको मुखबाट आवाज निस्कियो, ‘ आहा फूल !' सबै फूलका बिरुवामा राता, नीला, पहेँला, सेता, गुलाबी, प्याजी आदि रंगीचंगी फूल फुलेका थिए । फूलबारीमा गुरदाउली, सयपत्री, असर्फी, लाहुरे आदि फूलका बिरुवा थिए । प्राश्नाले अस्ति आमाले भनेको सम्झिइन् ।

अस्ति देखिएका सबै कोपिला फूल बनिसकेछन् । फेरि नयाँनयाँ कोपिला पनि लागेछन् । उनी खुसीले गद्गद् हुँदै आमाको प्रतीक्षामा बसिन् । आमा भान्छाको लागि चाहिने सामान सकिएकाले पसलमा जानुभएको रहेछ । केहीबेरमा नै आमा आइपुग्नुभयो । उनले आमा आइपुग्नासाथ आफूसँगै करेसाबारीतिर जान अनुरोध गरिन् । आमा पनि फूललाई पानी दिने योजनामा हुनुहुन्थ्यो।

प्राश्नाले करेसाबारीमा केही महिनाअघि आमाले धेरै फूलका बिरुवा सारेकी देखेकी थिइन् । आमालाई बेलाबेला पानी हाल्न र गोडमेल गर्न उनले सहयोग गरेकी थिइन् । अघिल्लो साता शनिबार बेलुका आमासँगै फूलबारीमा पानी हाल्न जाँदा आमाले भन्नुभएको थियो, ‘सबै फूलमा कोपिला लागेछन् । अब केही दिनमा फुल्छन् ।' आमाको कुरा सुनेर प्राश्नाले सोधेकी थिइन्, ‘आमा कोपिला भनेको के हो ? ' आमाले फूलका टुप्पामा लागेका सानासाना आकारका थुप्पालाई छोएर देखाउँदै भन्नुभएको थियो, ‘यी यिनै हुन् कोपिला । यी फक्रिएपछि रंगीचंगी फूल बन्छन् अनि त हाम्रो बगैंचा राम्रो देखिन्छ । फूल फूलेपछि मीठो बास्ना पनि आउँछ । अहिले वसन्त ऋतु हुनाले हाम्रो फूलबारीमा मात्र होइन वन, पाखा सबैतिरका फलफूलका बोटहरूमा कोपिला लागेर फूल फुल्न थालेका छन् ।'

आमाका कुराले प्राश्नालाई कहिले फूल फुल्ला र फूलबारी रमाइलो होला भन्ने खुल्दुली जागेको थियो । तर झन्डै एक सातासम्म उनी आमासँगै फूलबारीमा जाने मौका पाएकी थिइनन् । उनको स्कुलमा वार्षिक परीक्षा सुरु भएकोले उनलाई बाबाले बेलुकी केही समय पढाउने गर्नुभएको थियो ।

फूलबारीमा रंगीचंगी फूलमात्र फुलेका थिएनन् । आमाले भनेजस्तै बास्ना पनि साह्रै मीठो आइरहेको थियो । अनि पुतली, भमरा, मौरी फूलका वरिपरि डुल्दै थिए । प्राश्नाले सबै फूलहरूलाई नियालिरहिन् । फूलहरूमा डुलेका पुतली, मौरीलाई देखाउँदै भनिन,् ‘आमा किन यिनीहरू फूलमा बस्छन् ? ' आमाले भन्नुभयो, ‘हेर यी मौरी पुतली, भमरा फूलका रस खानका लागि फूलमा डुल्छन् । मौरीले यिनै फूलका रस बटुलेर मह बनाउँछन् । यी करेसाबारीको फूलहरूमा मात्र होइन ऊ हेर त भोगटे, आँप, सुन्तला, आरुबखडा, मौसम, अनार यी सबै बोटमा फुलेका सानासाना फूलमा समेत मौरी घुमिरहेका छन् ।

यी सबै फूलका रस बटुल्नका लागि यिनीहरू फूलमा डुलेका हुन् । मौरीले आफ्नो आहाराका लागि मह बनाउने हुन् तर मानिसले महलाई स्वादिलो र तागतिलो खानेकुराको रूपमा उपयोग गर्नका लागि मौरी पाल्ने गर्दछन् । यी सबै फूलका रस बटुलेर बनाएको हुनाले मौरीको मह तागतिलो हुनुका साथै औषधि पनि हुन्छ ।' प्राश्नाले सबै फलफूलका बोटमा हेरिन् । त्यहाँ सेता, राता, गुलाफी रङका फूलहरू फूलेका थिए । आहा ! बास्ना पनि मीठो आइरहेको थियो । उनलाई निकै रमाइलो लाग्यो । आमाले किन यति जतन गरेर फलफूलको स्याहार गर्नुभएको रहेछ भन्ने कुरा उनले बल्ल आज थाहा पाइन् ।

आमाले भन्नुभयो, ‘हामीले सारेका साना फूलका बिरुवा गोडमेल र मलजल गरी स्याहार गरेकाले नै यस्तो राम्रो फूल फुलेका हुन् । हामी मानिसलाई जस्तै बिरुवाहरूलाई पनि आहारा र मलजल चाहिन्छ । यी फुलेका फूलका बिरुवामा पानी हाल्नाले फूल छिट्टै ओइलाएर झर्न पाउँदैनन्, ढकमक्क भइरहन्छ ।' आमाले फूलका बिरुवामा पानी हालुन्जेल प्राश्ना सबै फूलका बिरुवा नजिक गइन् । रंगीचंगी फूलले उनको मन लोभ्यायो ।

फूलबारीको पर पुगेकी प्राश्नालाई आफ्नो काम सकेर आमाले बोलाउँदै भन्नुभयो, ‘जाऔं हिँड घरमा नास्ता खान ढिला भयो । तिमी पनि आज कोपिला छौ भोलि फूलजस्तै फुल्नेछौ ।' प्राश्नाले खुसी भएर आमाको गालामा म्वाइँ खाइन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2