MENU

राष्ट्रपतिको भारत भ्रमण

635x90_1

युवराज घिमिरे शुक्रवार, बैशाख ८, २०७४ 16719 पटक पढिएको

Share This

635-X-85

शून्य समय/ युवराज घिमिरे

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत यात्रामा दुई प्रवृत्तिहरू देखा परे । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रायः मौन रहे यस भ्रमणबारे भने नेपालमा बढी नै आक्रोश र तरंग देखा परे । कतिपयले भारतमा राष्ट्रपतिको ‘अपमान' भएको भन्दै भ्रमण छोट्ट्याएर नेपाल फर्कन आग्रह पनि गरे उनलाई ।भण्डारीभन्दा दुई दिन पहिले स्वदेश फर्केका परराष्ट्रमन्त्रीले भ्रमण अत्यन्त सफल भएको अपेक्षित र आधिकारिक प्रतिक्रिया दिए, विमानस्थलबाटै । त्यही प्रकृति र दाबीसहितको वक्तव्य भारतीय दूतावासले जारी गरेको थियो ।

नेपालतर्फबाट हुने प्रायः सबै उच्चस्तरीय यात्रापछि आउने नियमित र स्वाभाविक प्रतिक्रिया हो यो र त्यस अर्थमा भण्डारी राजकीय यात्रा फरक रहेन । तर त्यो स्तर औपचारिक दाबीपछि नेपालमा सायदै कहिल्यै भ्रमणका ‘पोस्टमार्टम' हुने गरेका छन् । हरेक भ्रमण यति ‘सफल' भइसकेपछि पनि किन नेपाल र भारत सम्बन्धले आफ्नो सम्भाव्यता र अपेक्षित सहसमृद्धि हासिल गर्न सकेका छैनन् ?

नेपाल र भारत पक्षले सधैं सभ्यता, साझा मूल्य, मान्यता र संस्कृति अनि तिनमा आधारित ‘विशेष सम्बन्ध' का कुरा उठाउने गर्छन्, तर के कारणले सम्बन्ध अपेक्षित उचाइमा पुग्न सकेको छैनन, त्यसबारेका कारण खोजी सम्बोधन नगरिएसम्म आपसी अविश्वास र समृद्धिमा ग्रहण लागि नै रहनेछ । दुवै पक्षलाई यो थाहा हुँदाहुँदै पनि त्यसमा नलाग्दा उनीहरूको नियतसमेत शंकाको घेरामा आउन थालेको छ, दुवै पक्षका सचेत जनताका नजरमा ।भारतको सुरक्षा अवधारणाको एउटा प्रमुख पाटो हो । नेपाली भूमि भारतविरोधी शक्तिको आ श्रयस्थल बन्दै आएको छ र त्यसमा नेपाली नेतृत्वको अनुमोदन छ भन्ने मान्यता । त्यही मान्यता अघि बढाएर भारत नेपाललाई आफ्नो सुरक्षा छातामा राख्न चाहन्छ ।

यता नेपालमा अस्थिरता पैदा गरी आफ्नो उपस्थिति सुनिश्चित गर्न परिआएमा ‘आतंकवादी' शक्तिलाई समेत भारत प्रोत्साहित गर्नमा उद्यत् रहन्छ भन्ने मान्यता छ । राष्ट्रपति भण्डारीले विभिन्न हिसाबले नेपालको भारतसँगको निकटताबारे कुरा गर्दै नेपालमा संविधान कार्यान्वयन र स्थायित्वको लागि भारतीय सद्भावको चाहना व्यक्त गरिन्, जसलाई केही भारतीय सञ्चारमाध्यमले संविधान कार्यान्वयनमा ‘भारतको सहयोग' को याचनाका रूपमा प्रस्तुत गरे, भारतीय अवधारणाको पृष्ठपोषण हुने गरी ।

भूकम्पपछि भारतको सहयोगको आकार र तत्परताप्रति आभार व्यक्त गर्दा त्यसको केही महिनामा भएको नाकाबन्दीबारे मौन रहनु या त्यसबारे नेपाली जनमानसको ‘सेन्टिमेट' प्रस्तुत गर्न नसक्नु नेपाली पक्षको कमजोरी थियो । त्यस्तै कमजोर प्रवृत्तिका कारण सम्बन्धका विचलनहरू सम्बोधन हुन नसकेका हुन् । त्यस अर्थमा अर्को एउटा उच्चतम तहको यात्रा फगत एउटा कर्मकाण्ड या औपचारिकतामा साँघुरिन पुग्यो ।

तर केही हिसाबले भारतीय पक्षका जायज चासो र चिन्ता बाहिर आए । भारतीय सेनाका पूर्व प्रमुखसमेत रहिसकेका विदेश राज्यमन्त्री भीके सिंहले भारत एउटा सच्चा मित्र रहेको र उसले नेपाललाई दिने सहयोगमा कुनै अंकुश नरहने बताए । संयोगले राष्ट्रपति भण्डारी भारतको ‘राजकीय यात्रामा प्रस्थान' गरेकै दिन नेपाल र चीनबीच संयुक्त सैनिक अभ्यास सुरु भएको थियो, काठमाडौंमा । सम्भवतः सैनिक पृष्ठभूमिका सिंहको अभिव्यक्तिमा त्यो घटनाको गहिरो प्रभाव थियो ।

चीन र नेपाली सेनाबीचको यो निकटता भारतीय सेना र नेपाली सेनाबीचको सम्बन्धको निरपेक्षताबाट निर्देशित छैन पक्कै पनि । माओवादीको सशस्त्र विद्रोहलाई नियन्त्रित गर्नमा परिचालित नेपाली सेनालाई हतियार र आवश्यक सामग्री आपूर्ति बन्द गरेर भारतले नेपाली सेनाको विश्वास गुमाएको थियो र शान्ति प्रक्रियापछि उसले विभिन्न अन्तर्राष्ट्रिय शक्तिबाट खेपेको अपमानका कारण नेपाल चीन सैन्य निकटता एक अपरिहार्य आवश्यकता बन्न पुगेको हो, नेपाली सेनाको लागि । चीनसँगको संयुक्त सैन्य अभ्यास त्यसको स्वाभाविक परिणति हो ।

 

यससँगै अर्को पाटो पनि जोडिएको छ, सुरक्षा अवधारणाको । यो अभ्यासमा प्रति आतंकवाद र प्राकृतिक प्रकोपमा उद्धार तथा प्रबन्धन पक्ष पनि सामेल छन् । त्यसैले राजनीतिक या अन्य आवरणमा कुनै मुलुकमा सत्ता कब्जा गर्न या राज्यसमक्ष समस्या पैदा गर्न हिंसा, हत्याबाट प्रोत्साहित गर्नुलाई आमरूपमा ‘आतंकवाद' मानिएन र त्यसलाई राजनीतिक परिवर्तनको अस्त्रका रूपमा अस्वीकार गरिएन, एकरूपमा विभिन्न मुलुकद्वारा भने प्रजातन्त्र निरुत्साहित हुने र आतंकवादले कुनै न कुनै रूपमा वैधानिकता पाइ नै रहनेछ । त्यस अर्थमा चीन, नेपाल र भारतबीच आतंकवादको परिभाषामा समान धारणा बन्यो भने यो अभ्यासबाट या भविष्यमा भारत या चीन कुनै पनि मुलुक सशंकित बन्नुपर्ने अवस्था आउने छैन ।

मन्त्री सिंहले भारतको ‘निष्काम' या निःस्वार्थ सहयोगबारे दिएका अभिव्यक्ति दुईपक्षीय सम्बन्धको आदर्श ‘अवस्था या नेपालको चाहना हो, तर तत्काल त्यो अवस्था छैन । भारत नेपालको राजनीतिमा अनावश्यक हस्तक्षेपकारी शक्तिका रूपमा देखा पर्दै आएको छ, उत्ताउलो रूपमा सन् २००५ यता (बाह्रबुँदेपछि) र त्यसले दीर्घकालीन रूपमा धेरै आशंका र अविश्वसनीयता पैदा गरेको छ नेपालमा ।

बाह्रबुँदेमा सामेल भएको कुनै ‘भारतीय प्राज्ञ' नेपालको राष्ट्र प्रमुखसँग जवाफ माग्ने धृष्टता गर्छ भने त्यसले भारतको त्यस बेलाको संस्थापनको ‘माइन्टसेट' उजागर गर्छ । जनरल भीके सिंहले ती विचलनहरूको पृष्ठभूमिलाई ध्यानमा राखी विश्वासको वातावरण बनाउन भूमिका खेले भने भोलिका दिनमा दुईपक्षीय सम्बन्धले विश्वास र समृद्धिको उचाइ हासिल गर्न सक्नेछ । त्यस अर्थमा सन् २००५ यता नेपालमा खटाइएका अन्य राजदूतहरूभन्दा पृथक् पृष्ठभूमिका राजदूत मन्जीव सिंह पुरीको आगमनले सम्भवतः दुईपक्षीय सम्बन्धमा केही समीक्षापछि सद्भाव र विश्वास थप्ने अपेक्षा गर्न सकिन्छ ।

उच्चतम तहको यात्रा सम्बन्धमा देखा परेका वास्तविक या अवधारणात्मक विचलनबारे केही अर्थमा चिन्ता व्यक्त गरिएमा त्यसका आधारमा त्यसलाई सम्बोधन गर्नेतर्फ आवश्यक संयन्त्र निर्माण र नीतिनिर्देशन हुन सक्छन्, तर विद्यमान सम्बन्ध नै पर्याप्त रूपमा सन्तोषजनक र सुखद रहेको सन्देश दुवै पक्षले दिने हो भने सुधारको आवश्यकता नै किन पर्‍यो र ? राष्ट्रपति भण्डारीको यात्रा एउटा असहज र तीतो यथार्थको पृष्ठभूमिमा सम्पन्न भएको छ ।

उच्चतम तहको यात्रा सम्बन्धमा देखा परेका वास्तविक या अवधारणात्मक विचलनबारे केही अर्थमा चिन्ता व्यक्त गरिएमा त्यसका आधारमा त्यसलाई सम्बोधन गर्नेतर्फ आवश्यक संयन्त्र निर्माण र नीतिनिर्देशन हुन सक्छन्, तर विद्यमान सम्बन्ध नै पर्याप्त रूपमा सन्तोषजनक र सुखद रहेको सन्देश दुवै पक्षले दिने हो भने सुधारको आवश्यकता नै किन पर्‍यो र ?

नेपालमा ‘राष्ट्रपति' पदले राष्ट्राध्यक्ष' को सर्वमान्य हैसियत र स्वीकार्यता हासिल गरिसकेको अवस्था छैन । रामवरण यादव शीतलनिवासमा पनि कांग्रेस नै बनिरहे देखिने गरी र भूकम्पपछिको नाकाबन्दीकै चरणमा भारतसँग टक्कर लिएको केपी ओली सरकारले अन्तिम समयमा निर्धारित भ्रमण रद्द गराएर राष्ट्रपतिलाई एमाले पृष्ठभूमिबाट बाहिर निस्कन दिएनन् । त्यसपछिको सरकारले चीनका राष्ट्रपतिको लगभग निर्धारित नेपाल यात्रा रद्दै गर्नुपर्ने गरी वातावरण मात्रै बिगारेन, त्यसबीच भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारी पनि भित्र्यायो ।

सन् २००५ यता राजतन्त्र उन्मूलनलगायतका निर्णयमा नेपाली जनतालाई बाहिर राख्ने भारतीय पक्ष र नेपाली नेताहरू (बाह्रबुँदे हस्ताक्षरकर्ताहरू) को साँठगाँठपछि नेपालमा नेपाली नेता र राजनीति जति अविश्वसनीय बनेको छ, त्योभन्दा बढी आलोचित र अविश्वसनीय भारत पनि बनेको छ । भारत बढी आलोचित बन्नुको कारण हो, उसले आफ्ना परम्परागत मित्रशक्ति राजसंस्था र नेपाली कांग्रेसलाई अपमानित गर्नु । कांग्रेसले बाध्यतामा भारतसँग निकट देखिनुपरे पनि भारतले नेपालको हित, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको लागि माओवादीको नेतृत्व परिवर्तनलाई प्रोत्साहित गरेको हो भनी मान्नेहरू कांग्रेसमा एकदमै कम छन् ।

नेपाली राजनीतिमा भारतको खुला संलग्नता र त्यसका कारण राजसंस्था गुमेको, सेना अपमानित भएको र कांग्रेसले आफूमा भारतको मित्रको श्रेणीबाट माओवादीद्वारा विस्थापित भएको महसुस गरेकै अवस्थामा चीन नेपाल भित्रिएको हो । प्रत्यक्ष वैदेशिक लगानी, उच्च शिक्षाको लागि नेपाली विद्यार्थीहरूको उत्तर यात्रा, उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान र नाकाबन्दीपछि उत्तरको सदाशयताले भारतको सन् २००५ पूर्वको हैसियतमै चीन पुगेको त हैन ? भन्ने आभास दिएको छ ।

तर नेपालले अपनाएको विदेश नीति र व्यवहारमा चीन या भारतलाई एक अथवा अर्को विकल्पको रूपमा हेरिएको छैन । दुवैको साथ र विश्वासले नेपाललाई बलियो बनाउँछ र त्यो बलियो हैसियतका साथ उसले अन्तर्राष्ट्रिय जगत्मा पनि आफूलाई एउटा स्वतन्त्र तर दुई छिमेकीको असल मित्रका रूपमा प्रस्तुत गर्न सक्छ भन्ने मान्यता बन्नुपर्छ नेपालमा । तर दुर्भाग्य यी उच्चतरीय यात्राहरूमा नेपालको त्यो मान्यता प्रस्तुत हुन नसक्नु बढी दुःखद विषय हो ।


720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2