MENU

विज्ञापनको छाप

635x90_1

ब्रबिम कार्की शुक्रवार, बैशाख ८, २०७४ 2047 पटक पढिएको

Share This

635-X-85

भनिन्छ- विज्ञापन भनेको कानुनी मान्यता प्राप्त एउटा झूट हो, यसबाट हामी सधैं सचेत रहनुपर्छ । विज्ञापन एउटा यस्तो कला हो, जसले मानिसलाई आफुसँग नभएको पैसाले आफूलाई खाँचो नभएको वस्तु पनि किनौं-किनौं लाग्ने बनाइदिन्छ । मानिसको दिमागमा यसको प्रभाव सजिलै पर्न सक्छ । ती प्रभाव सकारात्मक र नकारात्मक दुवै हुन सक्छन् । थुप्रै ससाना चिजलाई सही विज्ञापनले ठूलो लाग्ने बनाइदिन्छ ।

कहिलेकाहीं सही वस्तु विज्ञापन नपाएर ओझेल पर्छन् भने गुणस्तरहीन वस्तुले विज्ञापनको आडमा प्रोत्साहन पाउँछन् । हामीले आजभोलि रेडियो, टीभी, होर्डिङ बोर्डजस्ता विभिन्न माध्यमबाट अनेकौं विज्ञापनको बाढी नै आएको देख्न सक्छौं । तिनीहरू कति सही र कति गलत छन्, त्यो आफ्नो ठाउँमा होला तर तिनीहरूको प्रभाव मानिसमा अवश्य पर्छ । त्यस्ता विज्ञापनहरूको अर्को पाटोको चर्चापरिचर्चा गरौं । त्यस्ता विज्ञापनले मानिसमा कस्तो असर गर्छ, त्यसका बारेमा कुरा गरौं । ती विषय सामान्य लाग्छन्, तर त्यसले हाम्रो सोचाइ र जीवन शैलीमा असर पुर्‍याउँछ ।

हामीले आजभोलि सुन्दरतासम्बन्धी विज्ञापन बजारमा धेरै देख्न सकिन्छ । न्युयोर्क टाइम्सले प्रकाशित गरेको एउटा अध्ययनअनुसार त्यस्ता विज्ञापनले महिलालाई आफू नराम्रो छु भन्ने भान गराउँछु । त्यो प्रतिवेदनअनुसार त्यस्ता सुन्दरता बढाउने विज्ञापनले उपभोक्तालाई आफ्नोबारेमा सोच्न बाध्य बनाउँछ । डेब्रा ट्याम्प्रे, ग्रोनिन्जेन विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर भन्छिन्, ‘विज्ञापन गरिएका वस्तुले पछि मानिसलाई आफ्नै बारेमा सोच्न बाध्य बनाउँछ ।' एउटा स्टाइलिस हिल जुत्ताको विज्ञापनले महिलामा आफूमा केही कमी रहेको आभास गराउँछ ।

विज्ञापनको असर विभिन्न तरिकाले हुन्छ । हामी ख्याल गर्दैनौं, तर जानीनजानी त्यसले प्रभाव पारिरहेको हुन्छ, अझ त्यसको असर कालिलो मस्तिष्कमा बढी हुन्छ । हामीले टीभीमा चकलेटको विज्ञापन त पक्कै हेरेका छौं होला । चकलेट भन्नाले विशेषगरी डेरी मिल्क र किटक्याट आदिको विज्ञापन हामी प्रशस्त हेर्न पाउँछौं ।

ती विज्ञापनमा ती मोडेलहरूले चकलेट यत्ति विस्तारै खान्छन् कि कहिलेकाहीं त हामीलाई सोच्न बाध्य बनाउँछ, ‘के त्यस्ता बिस्कुट साँच्चिकै त्यसरी नै विस्तारै खाने कि अथवा त्यो विज्ञापनमा अभिनय गर्ने कलाकारको मुखमा सायद केही समस्या भएरै त्यसरी खाएका हुन् कि ? तर असली जीवनमा बिरलै त्यस्ता मान्छे होलान्, जसले चकलेट त्यति विस्तारै खाओस् । त्यसको प्रभाव कलिलो मस्तिष्कमा साँच्चिकै त्यस्ता बिस्कुटहरू त्यसरी विस्तारै खानुपर्ने रहेछ कि भन्ने पनि पर्दो रहेछ ।

एक दिन मसँग बसेको सानो भाइले टीभीमा त्यो विज्ञापन हेर्दै भन्यो, ‘दाइ, यो डेरी मिल्क चकलेट त्यसरी नै विस्तारै खानुपर्छ हो ? ' ‘मसँग त्यसको जवाफ थिएन । म केवल हाँसिरहें र भनें, ‘हैन बाबु, जसरी खाए पनि हुन्छ ।' त्यो कलिलो बालकको दिमागमा त्यो विज्ञापनको असर त्यसरी नै परेछ । कसैले नभन्दिएको भए उसले त्यो चकलेट विस्तारै खाने थियो ।

अब कुरा गरौं, नेपाली विज्ञापनको । हामीले स्टिलको विज्ञापन त पक्कै धेरैचोटि हेरेकै हौंला । त्यसमा एउटै वाक्य धेरैचोटि प्रयोग गरिन्छ, ‘हामी बनाउँछौं नेपाललाई ।' त्यो विज्ञापनले खासमा के भन्न खोजेको थाहा छैन, तर सोझो अर्थमा बुझ्दा स्टिलले नेपाल बनाउँछ रे । त्यसो हो भने अरू किन चाहियो र ? यत्रो दुःख किन गर्नुपर्‍यो हैन ? खुरु-खुरु स्टिल निर्माण गरे भइहाल्यो, देश आफैं बन्छ । फोर्स सिमेन्टको विज्ञापनको कुरा गरौं, सायद नामअनुसारको काम होला त्यो सिमेन्ट हालेर ल्याएको गाडीसँग ठोक्किँदा अर्को गाडी नै भाताभुंग हुन्छ । साँच्चिकै यो सम्भव छ र ? साँच्चिकै त्यो सिमेन्ट त्यस्तो बलियो हुन्छ र ? यो त सबैले बुझेकै हो ।


अब सरकारले प्रसारण हुनुअघि कुनै विज्ञापन तौलेर मात्र प्रसारण अनुमति दिने व्यवस्थित तरिका अपनाउन जरुरी छ ।

मंगलम ट्यांकको विज्ञापनको कुरा गरौं- भित्र बम राखे नि नफुट्ने रहेछ, अनि भनिन्छ, ‘फुट्दैन, फुट्दै फुट्दैन' । अब त्यसमा कत्तिको सत्यता छ, त्यसको प्रयोगपछि मात्र थाहा होला । अनि बलियो मुटु बनाउन धारा तोरीको तेल खानुपर्छ रे । अब कमजोर मुटु भएका र कुनै साहसिक काम गर्ने व्यक्तिलाई यो तेल दिए भयो ।

त्यस्तै माउन्टेन ड्यु खायो भने डरलाई जित्न सकिन्छ रे ! त्यस्तै मेन्टोस खाएर के साँच्चिकै दिमागको बत्ती बल्छ र ? त्यसो हो भने हरेक परीक्षाको अगाडि यो चकलेट खाएर गए भयो, कोही पनि फेल हुँदैनन् । अझ मोनाको बिस्कुट खायो भने त मान्छे उडेको देखाउँछ, जुन असम्भव छ । यसरी यस्ता किसिमका विज्ञापनले कलिला बालबालिकामा गलत प्रभाव पार्छ । अस्ति मात्र छिमेकको एउटी सानी बहिनी भन्दै थिइन्, ‘दाइ, हजुरको गर्ल फ्रेन्ड छैन ? यो सेन्ट हाल्नुस्न, केटीहरू त आफैं पट्टिन्छन् रे ।' आजभोलि त विभिन्न खाले उचाइ बढाउने, मोटोपन घटाउने विज्ञापन छ्याप्छ्यप्ती पाइन्छ । अब त्यो घट्छ या घट्दैन, प्रयोगकर्तालाई मात्र थाहा होला ।

 

विज्ञापनले गर्दा कहिलेकाहीं दुर्घटना पनि निम्त्याउन सक्छ । बाटोमा सवारीसाधन चलाइरहेको बेलामा मानिसको ध्यान होर्डिङ बोर्ड, भित्तामा राखिएका त्यस्ता विज्ञापनातार्फ केन्द्रित हुन्छ, जसले मानिसले अकालमै आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन् । अस्ति मात्र म साथीकहाँ बाइकमा पछाडि बसेर जाँदै थिएँ । अलिपर पुगेपछि उसले भन्न लाग्यो, ‘ओइ हेर न त्यो विज्ञापन, क्या राम्री केटी !' यति भन्दै के थिए झन्डै उताबाट गाडीले आएर हानेको । झन्डै त्यो विज्ञापनले ज्यान चाहिँ लिएन बरु ।

ठूलाठूला होर्डिङ बोर्डमा मोडेलहरू राखेर विज्ञापन राखिन्छ, जसका कारण थुप्रै दुर्घटना हुने गरेका छन् । आजभोलि त मुख्य सडकका भित्ता र घरहरूमा पनि विज्ञापन भेट्टिन्छन् । यसले गर्दा सहरको सुन्दरतामै असर पुर्‍याउँछ । बरु ती विज्ञापनलाई व्यवस्थित तरिकाले गर्न सकिन्छ । सरकारले यससम्बन्धी कडा कानुन ल्याउनु आवश्यक देखिन्छ । आजभोलि भित्ता-भित्तामा विज्ञापन गर्ने चलन छ । अझ विशेषगरी दल र पार्टीका कार्यक्रम र विज्ञापन त सहरमा छ्याछ्याप्ती देख्न पाइन्छ, जसले गर्दा सहरको सुन्दरता नै खल्बलिएको छ ।

विज्ञापन चाहिन्छ, गर्नुपर्छ तर यो व्यवस्थित हुनुपर्‍यो विज्ञापनले हाम्रो दिमागमा एक किसिमको छाप छोड्छ । यो एउटा योजनासहितको सिर्जना हो । यो प्रजातन्त्रमा चाहिने चीज हो । विज्ञापनबिना कुनै पनि कार्यक्रम टीभीमा चल्न सक्दैन । विज्ञपन सही र राम्रो छाप छोड्ने भयो भने त्यसले पछिसम्म पनि असर गर्छ । विज्ञापन गर्दा त्यसले कस्तो असर पार्न सक्छ भन्नेमा पनि सचेत हुनुपर्‍यो । माथि उल्लेख गरे झैं विज्ञापन एउटा यस्तो कला हो, जसले मानिसलाई आफूसँग नभएको पैसाले आफूलाई खाँचो नभएको वस्तु पनि किनौं किनौं लाग्ने बनाइदिन्छ । मानिसको दिमागमा यसको प्रभाव सजिलै पर्न सक्छ । धेरै विज्ञापन गरिएका वस्तु राम्रा हुन्छन् भन्ने छैन भनिन्छ नि अकबरी सुनलाई कसी लाउनुपर्दैन, त्यस्तै वस्तु राम्रो छ भने त्यसको धेरै विज्ञापन गरिराख्नुपर्दैन । हामी सधैं सचेत रहनुपर्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2