MENU

आधार रंगमञ्च, आकर्षण चलचित्र

635x90_1

विनीता मरहट्टा शुक्रवार, बैशाख ८, २०७४ 5557 पटक पढिएको

Share This

635-X-85

कुनैबेला रूप र एक्सनको भरमा चलचित्रमा छाउने कलाकारको स्थान विस्तारै रंगमञ्चका कलाकारले लिन थालेका छन् । रंगमञ्चका कलाकारको प्रवेशसँगै नेपाली चलचित्रले फड्को मार्न थालेको छ । 'लुट'ले नेपाली फिल्म इतिहासमै मौलिक कथा र प्रस्तुतिको नयाँ मोडमात्र दिएन, रंगमञ्चका कलाकारकै बलमा फिल्म चलाउन सकिन्छ भन्ने उदाहरण स्थापित गरिदियो ।

पछिल्लो समय रंगमञ्चका कलाकार चलचित्रमा राम्रैसँग स्थापित भएका छन् । चलचित्रमा रंगमञ्चका कलाकारको आर्कषण पनि बन्दैछ । रंगमञ्चमा राम्रै नाम कमाएका कलाकार पनि अहिले चलचित्रतर्र्फ आकर्षित भएका छन् । कतिपय कलाकार रंगमञ्चमा प्रवेश गर्नुको उद्देश्य नै चलचित्र क्षेत्रमा प्रवेश गर्ने माध्यम ठान्छन् ।

नाटकमा आफ्नो अभिनय आफैंले हेर्न पाइँदैन । चलचित्रमा आफ्नो अभिनयसँगै कामको परिणाम हेर्न सकिन्छ । वास्तवमा यी दुई माध्यमका बेग्ला बेग्लै विशेषता भएकाले तुलना गर्न मिल्दैन । -दयाहाङ राई

कम समयमै रंगमञ्चमा परिचित भएका अभिनेता नाजिर हुसेनले चलचित्रमा पनि उत्तिकै गतिमा चर्चा बटुले । दयाहाङ राई, सिर्जना सुब्बा, सौगात मल्ल, कर्मालगायतका पछिल्लो पुस्ताका कलाकार अहिले चलचित्रमा स्थापित भइसकेका छन् । आखिर किन आकर्षित हुन्छन् चलचित्रतिर ? के फरक छ रंगमञ्च र चलचित्रमा ?

चलचित्रमा आकर्षण गर्ने प्रमुख पक्ष दर्शक र पारि श्रमिक हो । नाटकका दर्शक सीमित हुन्छन् । चलचित्रले भने कलाकारलाई धेरै दर्शकमाझ पुर्‍याउँछ । धेरै दर्शक माझ पुग्ने लोभले कलाकारलाई चलचित्रतिर तानेको हुन सक्छ । नाजिर चलचित्रमा अभिनय गर्न थालेपछि आएका प्रतिक्रियाले लोभिएको बताउँछन् । त्यस्तै व्यावसायिक रूपमा स्वस्थ रहन कलाकारले चलचित्र रोजेका हुन् । चलचित्रमा राम्रो पैसा छ । यसको अर्थ रंगमञ्चमा पैसा नभएको होइन । पहिलेको तुलनामा रंगमञ्चमा व्यावसायिकता बढ्दै गएको छ । टिकट काटेर नाटक हेर्ने दर्शक बढिरहेका छन् ।

म चलचित्रबाट रंगमञ्चमा प्रवेश गरेकी हुँ । मेरो लागि दुवै क्षेत्र पवित्र ठाउँ हो । म सन्तुष्टिको लागि काम गर्छु । यी दुवै क्षेत्रले फरकफरक सन्तुष्टि दिन्छ । -दिया मास्के

चलचित्रमा जतिसुकै पैसा, क्रेज र ग्ल्यामर भए पनि रंगमञ्चबाट आएका कलाकारले मुलघर बिर्सेका छैनन् । नाटक केवल अभिनयका लागि होइन, यो त सन्तुष्टिको माध्यम पनि हो । नाजिर भन्छन्, 'छातीमा हात राखेर भन्नुपर्दा नाटकमा जति सन्तुष्टि चलचित्रमा हुँदैन ।' नाटकको बेग्लै दर्शक छन् । ती दर्शकको प्रतिक्रियाले पनि नाजिरलाई सन्तुष्ट बनाएको छ । चलचित्रमा चर्चा र पैसा दुवै राम्रो कमाएका उनी रंगमञ्चको भूत कहिल्यै नमर्ने बताउँछन्।

आधा दर्जन चलचित्र र डेढ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका नाजिरलाई रंगमञ्च यात्रा बिट मार्ने रहर छैन । त्यसो त चलचित्र र रंगमञ्चमा उल्लेखनीय फरक पनि छन् । नाजिर भन्छन्, 'चलचित्रका कलाकार हेर्दै आकर्षक देखिन्छन् । उनीहरूको जीवनशैली रंगमञ्चका कलाकारको भन्दा भिन्न देखिन्छ ।' तर उनी दुवैतिर उत्तिकै 'स्ट्रोंग ग्ल्यामर' देख्छन् । उनलाई चलचित्र 'लक्जरियस' लाग्छ, रंगमञ्चमा जीवन देख्छन् ।

झट्ट हेर्दा चिटिक्क देखिने चलचित्रका कलाकार र लवाइखवाइमा त्यति ध्यान नदिए जस्तो देखिने रंगमञ्चका कलाकारको कार्यगत पृष्ठभूमि भने हुन्छ । चलचित्रमा कलाकारले अभिनयमात्र गर्छन्, अरू सबैको आआफ्नै जिम्मेवारी हुन्छ । कलाकारले चिटिक्क परेर गएर अभिनयमात्र गरे पुग्छ । रंगमञ्चमा कलाकारको भूमिका अभिनय गर्नुमात्र नभई अरू काममा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । उनीहरू आफैं रंगमञ्च सफा गर्नेदेखि, मञ्च सजावट, प्राविधिक काम मिलेर गर्छन् । कामको प्रकृतिअनुसार रंगमञ्चका कलाकारले लवाइखवाइमा त्यति ध्यान नदिएजस्तो देखिन्छ ।

परिस्थितिले फरक पारेको यस्तो विषयले अभिनेत्री अरुणा कार्कीलाई आकर्षित गरेको होइन । उनी राम्रो पैसा कमाउन चलचित्रमा काम गर्छिन् । सन्तुष्टिको पाटो रंगमञ्चमा भए पनि आर्थिक पाटो अलि कमजोर हुने भएकाले चलचित्रमा काम गर्न थालेकी बताउँछिन् उनी । करिब दुई दशकदेखि रंगमञ्चमा अभिनय गरिरहेकी अरुणाले आठवटा चलचित्र र दुई दर्जन नाटकमा अभिनय गरिसकेकी छन् ।

रंगमञ्चमै बढी सन्तुष्टि मिल्ने भएकाले उनी आफूलाई रंगकर्मी नै भन्न रुचाउँछिन् । चलचित्रमा आफ्नो कामले कति महत्व राख्छ कति राख्दैनन् थाहै हुँदैन । निर्देशकले भनेअनुसार मात्र काम गर्नुपर्छ । रंगमञ्चमा भने मञ्च पुगेपछि कलाकार आफैं हावी हुन्छ । रंगमञ्चको मोह कहिल्यै नसकिने भएकाले अरुणा यसलाई र चलचित्रलाई सँगसँगै अघि लैजाँदैछिन् ।

चलचित्रमा आफ्नो कामले कति महत्व राख्छ कति राख्दैनन् थाहै हुँदैन । निर्देशकले भनेअनुसार मात्र काम गर्नुपर्छ तर रंगमञ्चमा कलाकार आफैं हावी हुन्छ । -अरुणा कार्की

अभिनेत्री दिया मास्केको पृष्ठभूमि अलि फरक छ । उनी चलचित्रबाट रंगमञ्चमा प्रवेश गरेकी अभिनेत्री हुन् । दुवै विधामा आफूलाई अब्बल सावित गरिसकेकी उनको लागि दुवै उत्तिकै महत्वपूर्ण छन् । उनको लागि दुवै क्षेत्र आफ्नो काम गर्ने पवित्र ठाउँ हो । सन्तुष्टिको लागि काम गर्ने दियालाई यी दुवै क्षेत्रले फरकफरक सन्तुष्टि दिन्छन् । इतिहास हेर्ने हो भने पनि रंगमञ्चबाटै चलचित्र बनेको हो । रंगमञ्चका थोरै दर्शकबाट चलचित्रमार्फत ठूलो संख्याका दर्शकसम्म पुग्नु सामान्य प्रक्रिया हो ।

अभिनय धेरैभन्दा धेरै दर्शकलाई देखाउनकै लागि गरिन्छ । कलाकारलाई चलचित्र आकर्षण हुनु स्वाभाविक हो । फरकफरक प्रकृतिका दर्शकलाई आकर्षण गर्न चलचित्रमा बढी ग्ल्यामर हुन्छ । अभिनय गर्नेहरूलाई यो ग्ल्यामर आकर्षण हुने गर्छ ।

छातीमा हात राखेर भन्नुपर्दा नाटकमा जति सन्तुष्टि चलचित्रमा हुँदैन । चलचित्र लक्जरियस लाग्छ तर रंगमञ्चमा जीवन हुन्छ । -नाजिर हुसेन

अधिकांश कलाकारको पहिलो चाहना चलचित्र नै देखिन्छ । कति अभिनय क्षमता बलियो बनाउन रंगमञ्चमा आएका हुन्छन् । केहीले यसैलाई आधार बनाएर चलचित्रमा फड्को मारिरहेका छन् । रंगमञ्चमा अभिनेता दयाहाङ राईको नाटक सधैं हाउसफुल हुने गर्छ । चलचित्रमा पनि उनको आकर्षण त्यस्तै छ । उनलाई पनि चलचित्र आकर्षण उत्तिकै छ । धेरै दर्शकमाझ पुग्नु त एउटा कारण हुँदै हो । उनी चलचित्रमा आफ्नो काम हेरेर पनि मजा लिन्छन् ।

नाटकमा आफ्नो अभिनय आफैंले हेर्न पाइँदैन । चलचित्रमा आफ्नो अभिनयसँगै कामको परिणाम हेर्छन् । कलाकार हुन्, जहाँ ठाउँ मिल्छ, त्यहाँ काम गर्छन् । जीवनमा आर्थिक पाटो पनि उत्तिकै महŒवपूर्ण हुन्छ । चलचित्रमा कलाकारको आकर्षण बढ्नुको मुख्य कारण चाहिँ अर्थ नै हो । चलचित्रमा उनको माग धेरै छ । व्यस्तताको बाबजुद उनी वर्षमा एउटा वा दुइटा नाटकमा काम गरिरहेका छन् । उनका निम्ति दुवै सञ्चारका माध्यम हुन् । यी दुई माध्यमका बेग्ला बेग्लै विशेषता छन् । दया भन्छन्, 'यी दुईलाई तुलना नै गर्न मिल्दैन ।'




 

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2