MENU

माछाको दरबार

635x90

हरि खनाल आइतवार, बैशाख १०, २०७४ 3570 पटक पढिएको

Share This

कथा

शनिबारको दिन प्रिया बाबासँग गाईबाख्रा चराउन गएकी थिइन् । खेत खाली थियो । गाईबाख्रालाई खेतमा छोडेर प्रियाका बाबा पहरामा घाँस खोज्न थाल्नुभयो । प्रियाले केही बेर सिँगारे पाठोलाई मुनीमुनी गर्दै खेलाइन् । पाठो पनि जता प्रिया गयो उतै जान्थ्यो । पाठोसँग खेलेपछि उनी खोला किनारको ठूलो चिलाउनेको रूखको फेदमा गइन् । त्यहाँ लमतन्न पसारिएको फराकिलो ढुंगो थियो । उनी त्यसै ढुंगोमा बसेर खोलाको ससाना डुबुल्कामा पौडिरहेका माछाहरूलाई हेर्न थालिन् । माछाहरू रमाइलो गर्दै पौडिरहेका थिए ।

 

'आहा ! माछाहरू पनि कति ज्ञानी रहेछन् । सबै मिलेर खेल्दा रहेछन्', उनी पानीमा माछाहरू पौडिरहेको हेरेर रमाइन् । हेर्दाहेर्दै उनलाई हाई आयो र यसो ढल्किइन् र निदाइन् ।

'प्रिया ! तिमी कति राम्री ? ' प्रियाको कानमा आवाज आयो । त्यहाँ त रानी माछा पो रहिछन् । उनी निकै सुन्दरी थिइन् । उनको मुखको माथितिर बुट्टेदार कल्की थियो भने सुनजस्ता टलक्क टल्किएका कत्लाहरू थिए । उनका आँखाहरू हीराजस्तै चम्किला थिए ।

'अहो ! तपाईं पनि मैलेजस्तै बोल्नुहुन्छ ? ' प्रियाले सोधिन् ।

'हो नि, म पनि तिमीजस्तै बोल्न सक्छु', रानीमाछाले जवाफ दिइन् ।

'कसरी सिक्नुभएको काकी ? ' प्रियाले सोधिन् ।

'यहाँ हरेक दिन हामी जस्तालाई मार्न मानिस आउँछन् । उनीहरू त्यही ढुंगामा बसेर कुराकानी गर्छन् । सुन्दासुन्दै सिकेको', रानी माछाले भनिन् ।

'सुन्दासुन्दै सिक्नुभएको ? वाह तपाईं त कति चलाख !' प्रियाले रानीमाछाको प्रशंसा गरिन् ।

'हो नि प्रिया ! सिक्नका लागि कि देख्नुपर्छ कि सुन्नुपर्छ हो कि होइन ? ' रानीमाछाले प्रश्न गरिन् ।

'हो काकी ! म पनि बाबाआमाले भन्नुभएको धेरै कुरा सुन्छु अनि सिक्छु', प्रियाले भनिन् ।

'तिमी कति ज्ञानी रहिछौ हगी ? ' रानीमाछाले सोधिन् । प्रिया केही बोलिनन् खालि रानी माछाको मुखमा हेरेर मुसुक्क हाँसिन् ।

 

'काकी ! तपाईंचाहिँ माछा मार्नेहरूसँग कसरी बाँच्नुभएको छ त ? , प्रियाले सोधिन् ।

'म उनीहरूको भाषा बुझ्छु, त्यस कारण उनीहरू आएर कुरा गर्नासाथ हामी भाग्छौं', रानी माछाले भनिन्।

'यस्तो ठाउँमा किन फर्केर आउनुभएको त काकी !' फेरि प्रियाले जिज्ञासा राखिन् ।

'हामी यहीँ जन्मियौं र हुर्कियौं । यो हाम्रो देश हो अनि यो ठाउँचाहिँ घर हो । देशको र घरको माया लाग्छ नि हैन ? ' रानी माछाले सोधिन् ।'त्यो त हो, मलाई पनि मेरो देश र घर मन पर्छ', प्रियाले हाँस्दै भनिन् । प्रिया र रानीमाछाले कुरा गर्दागर्दै अरू माछा पनि आइपुगे । सबैले प्रियाको तारिफ गरे । रानी माछाले प्रियालाई आफ्नो परिवारको परिचय गराइन् ।

 

'प्रिया ! हिँड हामी तिमीलाई हाम्रो घर देखाउँछौं', रानी माछाले भनिन् ।

'काकी ! मलाई बाबाले खोज्नुहुन्छ', प्रियाले अनकनाउँदै भनिन् ।

'तिम्रो बाबाले खोज्ने बेलासम्ममा हामी फेरि यहीँ ल्याइदिन्छौं', रानीमाछाले भनिन् । त्यसपछि प्रिया उनको घरमा जान तयार भइन् । रानी माछाले प्रियालाई पिठ्यूँमा राखेर पानीभित्रको आफ्नो दरबारतिर लिएर गइन् । उनलाई आफ्नी आमाले बोकेजस्तो लाग्यो ।

 

प्रिया रानीमाछाका छोराछोरीहरूसँग दरबारका कोठा चाहारिन् । रातो, नीलो, हरियो, सुन्ताला र खैरो रङको कोठा रहेछन् । भान्छाघरमा भने खैरो रङ लगाएको रहेछ ।

'अहा ! दरबार त रमाइलो पो रहेछ । कोठाहरू एक, दुई, तीन, चार, पाँच, छ, सात', प्रियाले कोठाको संख्या पनि गनिन् । रानी माछाकी जेठी छोरी सुनकेस्रीले प्रियालाई सुनको पेन्सिल उपहार दिइन् ।

प्रिया र रानीमाछाका छोराछोरीले केही बेर लुकामारी र रुमाल चोरी खेले । प्रिया रमाइन् । केही बेरपछि रानीमाछाले खाजा खान बोलाइन् ।

'प्रिया ! लौ आज रमाइलो मानेर हामीसँगै खाजा खाऊँ', रानीमाछाले भनिन् ।

'काकी ! मलाई घर जान अबेर हुन्छ', प्रियाले भनिन् ।

'भाको छैन, तिमीलाई पुर्याइदिऊँला', रानीमाछाले भनिन् ।

 

'बस न साथी । तिमी आउँदा हामीलाई रमाइलो लागेको छ', रानी माछाका छोराछोरीले भने ।

'नडराऊ, तिमी पनि त मेरी छोरी हौ नि । खाजा खाऊ म लगिदिइहाल्छु', राजामाछोले भन्यो ।

'म्याँ म्याँ' आवाजले प्रिया झसंग भइन् र आँखा खोलिन् । उनी त माछाको दरबारमा होइन धौखोलाको किनारको ढुंगामा थिइन् । उनलाई म्याँ गरेर उठाउने सिँगारे पाठो थियो । सिँगारेले उनलाई खुट्टाले खोस्रँदै उठाएको रहेछ ।

 

'ला ! मैले त उनीहरूलाई धन्यवाद भन्न र जान्छु भन्न पनि भ्याइनँ । खै त सुनको पेन्सिल ? ' प्रियाले केही बेर यताउता हेरिन् । ए हे यो त सपना न हो, म पनि कस्ती ? ' प्रियाले आपैंmलाई सम्झाइन् ।

'प्रिया ! घर जाने बेला भयो, हिँड', बाबाले बोलाउनुभयो । उनले मनेले उठाउनुको कारण पत्ता लगाइन्।

'मने तिमी पनि मलाई कति माया गर्छौ हगि ? जाने बेला भयो भनेर उठाउन आएको ? ' प्रियाले पाठोलाई च्यापिन् र माया गर्दै बाबा भएतिर गइन् । उनको मस्तिष्कमा भने माछा र माछाको दरबार घुमिरहेको थियो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1