MENU

सारंगी रातभरिको मेरो सिरानी

635x90

तिलकप्रसाद शनिवार, जेठ ६, २०७४ 2978 पटक पढिएको

Share This

संस्कृति

एउटा काँधमा झोला र अर्को काँधमा सारंगी बोकेर मेरो घरमा आइपुगेका एकजना गन्धर्व पिँढीमा टुक्रुक्क बस्छन्, सारंगी रेट्छन् र गाउँछन् गीत- आफ्नै शब्द, भाव, भाका र स्वरमा । गन्धर्व दाइले १० मिनेटजति सारंगी रेटे । सारंगीको धुनमा आवाज मिलाउँदै जब उनी गीत गाउन थाले, म नजिकिएँ सारंगीतिर । सारंगी रेटाइमा बिट मारेपछि गन्धर्व दाइले मनको पोको यसरी फुकाए ।

Tilak-sapkotaदाङको हापुर म जन्मिएको ठाउँ र मेरो जातिको थातथलो । सारंगी हाम्रो पुख्र्यौली सम्पदा र परम्परा हो, सांस्कृतिक बाजा र धरोहर पनि हो । सारंगी बजाउनु हाम्रो सौख र पेसा हो । हामी यहि पेसा अँगालिरहेका छौं र बाँचिरहेछौं युगयुग सारंगी रेटेर ।

सारंगी मलाई मन पर्ने बाजा, मैले पहिलोपटक समाएको बाजा । सारंगीको धुन मलाई मनपर्ने आवाज । बा-बाजेले दलिनतिर घुसारेका थोत्रा सारंगी बटुलेर साथीभाइसँग खेलेँ, खेलाएँ र नचाएँ । यसैले सारंगी मेरो मन पर्ने खेलौना पनि हो ।

गन्धर्व दाइ सारंगी देखाउँदै भन्छन्- यही बाजा रेट्दै पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, धरान इटहरी पुगेँ । ती ठाउँमा जाँदा भेटिने फाँट, वनजंगल र डाँडापाखाका उकाली-ओरालीमा सारंगीलाई नै सारथि बनाएर हिँडिरहेँ । हिँड्दाहिँड्दै पश्चिम नेपालका महेन्द्रनगर, अछाम, बाजुरा पनि पुगेँ । जहाँजहाँ पुगेँ, सारंगीको धुन सुनाएँ र गीत घन्काएँ । बटुलेँ स्याबासी पनि ।

धेरैलाई सुनाएँ सारंगीको धुन र नेपालको इतिहास गाथा । जतिले सुने, सारंगीको छेउमै बसेर सुने । अझै होला तिनका मनमनमा सारंगीको धुन । मलाई घरघर, गाउँगाउँ र सहरसहर पुर्‍याउने यही सारंगी हो ।बिहान-बेलुका गाँस जुटाइदिने पनि यही सारंगी नै । सारंगी रातभरिको मेरो सिरानी हो ।रहर थियो, कखरा सिक्ने । तर, सारंगी रेट्न सिकेँ । मैले बासँग हिँड्दाहिँड्दै सारंगी रेट्न सिकेको हुँ । उतिबेला बाल्यकालमा सारंगी हलुका लाग्थ्यो र बजाउने रहर पनि । बासँग सारंगी मागेर पटकपटक बोकेँ पनि । रहरैरहरमा सारंगी बोक्दा र बजाउँदाको आनन्द बग्लै थियो ।

आज यही सारंगी मेरो सिंगो जीवनको कमाइको आधार बनेको छ । यही सारंगीले घरघरबाट पाँच-दस रुपैयाँदेखि हजार रुपैयाँसम्म बटुल्छ । बेलाबेलामा पन्ध्र सयदेखि दुई हजार रुपैयाँसम्म बक्सिस पाउँछ, जुन मेरो हृदयको कुनामा बसेको छ कहिल्यै नमेटिने गरी ।घरघर डुल्दा मैले यति रुपैयाँ देऊ भनेर मागिनँ र त्यस्तो आशा पनि राखिनँ । कहिलेकाहीँ सारंगी हेर्दै घोत्लिने गर्छु- यति रकम देऊ भनेर माग्न थालेँ भने गन्धर्व संस्कृतिमा ठेस लाग्ला कि ? कहिलेकाहीँ घोरिएर हेर्छु सारंगीलाई ।

सारंगीले केही न केही भनिरहे झैं लाग्छ- तिमी मलाई बजाऊ, निरन्तर बजाऊ र सबैलाई सुनाऊ । त्यसबापत उनीहरूले जे जति दिन्छन्, हार्दिकतापूर्वक स्विकार । हार्दिकताले दिएको मात्र तिम्रो कमाइ हुन्छ । माग्न थाल्यौ भने तिमी माग्ने हुन्छौ, गन्धर्व हुँदैनौ । गन्धर्वहरू माग्ने होइनन् ।

सारंगीले केही न केही भनिरहे झैं लाग्छ- तिमी मलाई बजाऊ, निरन्तर बजाऊ र सबैलाई सुनाऊ । त्यसबापत उनीहरूले जे जति दिन्छन्, हार्दिकतापूर्वक स्विकार । हार्दिकताले दिएको मात्र तिम्रो कमाइ हुन्छ । माग्न थाल्यौ भने तिमी माग्ने हुन्छौ, गन्धर्व हुँदैनौ । गन्धर्वहरू माग्ने होइनन् ।

मेरा बा, काका र दाइहरू यही सारंगी बोकेर हिँडिरहे । एउटा सिंगो युग हिँडिरहे, तर उनीहरूले कहिल्यै मागेनन् । उनीहरू अरूका घरका पिँढीमा पुग्थे, झोला बिसाउँथे, सारंगी रेट्थे र गाउँथे गीत । चार-पाँच महिनासम्म हिँड्दाहिँड्दै बाले चिनाए सारंगी र सुनाए सारंगीको धुन । त्यही धुन मेरा अंगअंग र कोषकोषमा प्रवाह भइरहेछ ।

सारंगीले नै गन्धर्वहरूका गलामा झ्याउरे, कर्खा, ख्याली भाका खुलाइदिन्छ । त्यही भाकामा पर्देसिएका नेपाली दाजुभाइका गाउँघर, पानीपधेरा, बाआमा, दाजुभाइ, छोराछोरी र पत्नीसँगका बिछोड, माया प्रेमका कथाव्यथा पोखिदिन्छ । सुन्नेलाई रुवाउँछ, हसाउँछ र मुग्ध पनि बनाउँछ । यसैले पनि गाउँलेको माया, सम्मान, प्रेम, सद्भावले भरिपूर्ण छन् सारंगी बोकेर हिँडेका गन्धर्वहरू ।

गन्धर्व दाइ आफ्ना बाबुबाजेले सारंगी बोकेर कहिलेदेखि हिँडेका थिए भन्न सक्दैनन्, तर देवताकै पालामा गन्धर्वले गीत गाउने परम्परा रहेकोमा भने उनी गर्व गर्दै भन्छन्- देवताहरू नारायणको पूजा लगाउँथे, गन्धर्वहरू गीत गाउँथे, अप्सराले नाच्थे र शिवपार्वती हेर्दथे । यही परम्परा नेपाल एकीकरणको अघिपछि पनि भेटिन्छ ।

पृथ्वीनारायण शाह लडाइँ गरेर जुन-जुन राज्यमा विजय प्राप्त गर्थे, त्यहाँका जनतालाई विजयको सन्देश सुनाइदेऊ भनेर गन्धर्वलाई अराउँथे । गन्धर्वहरू गाउँगाउँ जान्थे र विजयको सन्देश सुनाउँथे । बहादुर शाह, राजेन्द्रलक्ष्मी, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा र जंगबहादुर राणाका विजयगाथा र देशभक्ति गाथालाई गीतिलयमा गाउँगाउँ पुर्‍याउने गन्धर्व नै थिए । यसैले गन्धर्वको गरिमा उच्च छ ।

आज पनि बिहान उठेदेखि सुत्ने बेलासम्म सारंगी हाम्रो काँधमा झुन्डिरहेको हुन्छ । गीत हाम्रो मुखमा गुनगुनाइरहेको हुन्छ । हामी यसरी नै गन्धर्व हुन पुगेका हौं । सारंगीले हामीलाई गन्धर्व जाति भनेर चिनाइदिएको छ । यसरी गीत र सारंगीको धुनबीच जति सम्बन्ध छ, गन्धर्व र सारंगीबीच पनि अनन्त साइनो छ ।

समय फेरिएछ । फेरिएछ हाम्रा युवाका सोचाइ, मन र मस्तिष्क पनि । समयको प्रवाहले हाम्रो युवा वर्ग मन र सारंगी नदीका दुई किनारा हुन पुगेको छ । युवा पुस्ता सारंगी बोक्न मान्दैन, सारंगीको धुनमा रमाउन जान्दैन अनि बिर्संदैछ आफ्नो संस्कृति पनि । उनीहरूले सारंगी समाउने छैनन्, आफ्नो संस्कृतिको माया नभएसम्म ।
आजभोलि दाङको हापुरमा बिरलै बज्ने गर्छ सारंगी । दुई सय घरपरिवारमध्ये मुस्किलले ५०-६० जना जति मात्र छन्, सारंगी बोकेर हिँड्नेहरू । त्यो संख्या पनि ओरालो लागेर १०-२० तिर झर्‍यो भने भोलिको गन्धर्व पुस्ताले आफ्नो संस्कृति खोजेर पाउँला त ? मेरो प्रश्नमा उनी भन्छन्- गाह्रो छ । त्यो अवस्था नआओस् भनेर सबै गन्धर्वलाई समेट्ने बेला आएको छ ।

हाम्रा बाबुबाजेले हामीलाई गन्धर्व जाति भनेर चिनाए र चिनाए गन्धर्व संस्कृति । यसपछि नै मैले सारंगी चिनेँ, गन्धर्व जातिको मौलिक बाजा भनेर चिनेँ अनि चिनेँ आफ्नो संस्कृति । अहिले गर्व लाग्छ गन्धर्व भएकोमा । अरूले गन्धर्व भनेर चिन्न सकेकोमा । आज गन्धर्व जाति जति चिनिएका छन्, तिनै गाउँले मनले चिनाएका छन्।

मेरा दाइ र काकाहरू पाल्पा, पोखरा र झापाका गन्धर्वहरूलाई भन्न थालेका छन्- हामी आफ्नो संस्कृतिको रक्षा गर्न उठौं । सेना, प्रहरी र निजामतीमा भए पनि, व्यापार, व्यवसायमा भए पनि र जात्रा, पर्व, मेला, उत्सव आदिमा भए पनि सारंगी बजाउने र गीत सुनाउने गरौं । उनीहरूले सबैलाई सचेत गराएका छन्- अब त हामी नउठे हाम्रो संस्कृतिको संरक्षण हुन सक्दैन ।

घरबाट हिँड्ने बेला उनले भने- हजारौं मनका हाँसो र आँसु बटुलेपछि मलाई महसुस भयो, सारंगी हलुका रहेनछ । सारंगी सिंगो गन्धर्व समुदायको सम्पदा अनि संस्कृतिको धरोहर रहेछ । सारंगीको धुन हरेकका मनमा बस्नु छ र गुनगुनाउनु छ । प्रिय हुनु छ र फिँजिनु छ मेचीकाली, सिक्किम, दार्जिलिङ र समुद्रपारिसम्म । यो वर्ष मात्र होइन, यो महिना मात्र पनि होइन । आज, भोलि र पर्सि अनि सधैं, सधैं र सधैंका लागि ।

गन्धर्व दाइ मनको पोको मसँगै छोडेर फर्किए । मेरो मन तिनकै पोकोतिर घुमिरह्यो- सारंगीको धुनमा देश भेटिन्छ । गन्धर्व समुदायको कला र संस्कृति भेटिन्छ । गन्धर्वले सारंगीलाई आफ्नो मौलिक बाजा बनाएका छन् । गन्धर्वले हामी उभिएको माटोमा गन्धर्व संस्कृति पोतेका छन् । नेपाली माटो भिजेको छ गन्धर्व कला र संस्कृतिले ।

गन्धर्व जातिले जानेका रहेछन्, अभावपूर्ण जीवनमा पनि आफ्नो पुख्र्यौली कला र संस्कृति बचाउन । गन्धर्व लोकस्रष्टा रहेछन् । यिनैले बनाएका रहेछन्, नेपाली लोकसांगीतिक भण्डार मलिलो र उर्वर अनि लोकसाहित्यको सारथि सारंगी ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1