MENU

कुन बिषय पढन कति जीपीए चाहिन्छ ?

635x90_1

सूर्यप्रसाद पाण्डे आइतवार, असार ४, २०७४ 17754 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुर्‍याउन नसक्दा उनीहरू माकुराको जालोमा फसेजस्तै भएका छन् ।

कक्षा ११ मा भर्नाका लागि शिक्षा मन्त्रालयले तयार पारेको न्यूनतम आधारअनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्छ । अंग्रेजी, सामाजिक अध्ययन र नेपाली विषयमा भने डी प्लस मात्र ल्याए पनि हुने मन्त्रालयको मापदण्डमा उल्लेख छ । एसईईमा विद्यार्थीले आठ विषयमा परीक्षा दिए पनि तीन विषयमा भने जुन ग्रेड ल्याए पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलजी, म्याथम्याटिक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । यसबारे कुनै पनि विषयमा यति नै ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीका लागि मात्र भएको परीक्षा नियन्त्रण कार्यालयका उप-नियन्त्रक गेहनाथ गौतमले बताउनुभयो।

विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । विद्यार्थीले पढ्न पाउने गरी तोकिएका यी सबै विषय ऐच्छिक मात्रै हुन् । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ ।

मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथम्याटिक्स, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउँछन् । यी समूहमा म्याथम्याटिक्स, ज्योेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथम्याटिक्स, साइकोलजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को-अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथम्याटिक्सलगायत विषय पर्छन् । यी विषय पढ्ने विद्यार्थीले अन्य तीन विषयमा कुन ग्रेड ल्याए भन्ने कुनै मतलब हुँदैन।

अंग्रेजी, म्याथम्याटिक्स, सोसल स्टडिज, नेपाली र विज्ञानमा न्यूनतम डी प्लस ल्याएका र समग्रमा नतिजा जीपीए १.६ ल्याएका विद्यार्थीले विभिन्न चार वटा विषय समूहमा भर्ना हुन पाउँछन् । जुन समूहअन्तर्गत फिजिक्स एजुकेसन, केमेस्ट्री, एजुकेसन, बायोलजी, एजुकेसन र टिचिङ साइन्स विषय पर्छन् ।

अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएका र समग्र नतिजामा न्यूनतम जीपीए एक दशमलव ६ ल्याएका विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिंग्विस्टिक्स विषयमा भर्ना हुन पाउँछन् ।

अंग्रेजी, नेपाली, म्याथम्याटिक्स र सामाजिक अध्ययनमा डी प्लस ल्याएका र समग्र नतिजा न्यूनतम १.६ प्रतिशत ल्याएका विद्यार्थीले होटल म्यानेजमेन्ट र ट्राभल तथा टुरिज्म विषयमा भर्ना हुन पाउने व्यवस्था छ । समग्र नतिजा १.६ जीपीए ल्याएर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याएका विद्यार्थीले नेपाली तथा टिचिङ विषयमा भर्ना हुन पाउने मापदण्ड शिक्षा मन्त्रालयले बनाएको छ ।

तर, सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात् सैद्धान्तिक विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ त्यसमध्ये परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले यस्तो परीक्षा दिन सक्नेछन् । यसरी दिइएको परीक्षाबाट पहिलेको नतिजामा आएको भन्दा बढी ग्रेड प्राप्त गरेमा भने उनीहरूले अन्य विषय पनि पढ्न पाउनेछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले विद्यार्थीको विषयगत प्राप्तांकअनुसार पढ्न पाउने र नपाउने विषय छुट्ट्याइएकाले विद्यार्थी र अभिभावक अलमलमा पर्नु स्वाभाविक भएको बताउनुभयो । 'लामो सयमसम्म एउटै प्रणालीबाट गुज्रिरहेका हामी सबैलाई अकस्मात नयाँ प्रणाली आएका कारण अप्ठ्यारो परेको हो । विस्तारै बानी पर्छ’, लम्सालले भन्नुभयो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2