MENU

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'

635x90_1

कृष्णमुरारी भण्डारी बुधवार, असार २८, २०७४ 114536 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

मोही माग्ने ढुंग्रो लुकाउने !

 

डा. सूर्यप्रसाद पाण्डे अचम्मको 'ड्रागन फ्रुट' को व्यावसायिक खेती नेपालमा सम्भव छ र यसको खेती यसरी गर्नुपर्छ भनेर विज्ञान, प्रविधि र तौरतरिका मात्र होइन, प्रदर्शन गरेरै साबित गरेका छन् । यी तिनै पाण्डे हुन्, जो नेपालमा नयाँ फलफूल खेती सुरुआत गर्ने भनेर प्रख्यात छन् ।उनी नयाँ परिचय दिइरहनुपर्ने व्यक्ति पनि होइनन् । ज्यादै महँगो किवी फलको नेपाली नाम ठेकी फल हो र यो नेपालको रैथाने फल हो भनेर उनैले खोजी गरेर पत्ता लगाएका हुन् । जो अहिले देशव्यापी रूपमा फैलिइरहेको मात्रै छैन, नेपालबाट विदेश निर्यात पनि हुन थालेको छ ।

krishna-murari-bhandari_6ठेकी फलको खेती नेपालीले मज्जाले गर्न सक्छन् भन्ने अनुसन्धान गरेर सफल भएपछि पाण्डेले त्यसको लागि रैथाने नेपाली प्रविधि विकास गरे । स्वेदशमै उत्पादन गरेर बजारमा किवीको चर्को मूल्यलाई आधै कम गरेर पनि देखाए । नेपाली जिब्रोमैत्री बनाउने मात्र होइन, त्यसका अनेक उत्पादनको प्रयोग पनि गरे । किवी फल खाने मात्र होइन, यसको जामजेली, सर्वत, वाइन, बियाँको तेलसमेत उत्पादन गर्न सकिने नेपाली प्रविधि पनि विकास गरेका छन् । ठेकी फल उत्पादन विधि यो हो भनेर व्यावसायिक रूपमा किबी फलाएर देखाउने मात्र होइन, कमाइ गरेर किसान धनी बन्न सक्छन् भन्ने प्रमाणित गर्ने व्यक्ति पनि हुन् डा. पाण्डे ।

उमेरले ७० पुगिसकेका पाण्डे नेपालका बिरलाकोटीका त्यस्ता कृषि वैज्ञानिक हुन्, जो कुरा होइन, काम गरेर देखाउने धरतीपुत्र हुन् । वरिष्ठ वैज्ञानिकको सरकारी जागिर र विदेशको आकर्षण छोडेर आफूलाई लागेको काम गर्ने र त्यसैबाट जीवनयापन गर्न नेपाली किसानले पनि सक्छन् भन्ने प्रमाणित गर्ने हुटहुटी भएका व्यक्तित्व पनि हुन् ।

किवीलाई नेपालमा फैलाउने यी वैज्ञानिक त्यो फलको उत्पादन, विकास र सफलतापछि हात बाँधेर पैसा कमाउन मात्रै अल्झिएनन् । नेपाली गरिब किसानलाई श्रापको रूपमा रहेका पूर्व, दक्षिण र पश्चिम फर्र्र्किएका, पानी अत्यन्त कम पर्ने, ढुंगा धेरै र माटो अत्यन्तै कम भएका सुख्खा भिराला पाखाहरू भएका किसानलाई कसरी समृद्ध बनाउने भन्ने हुटहुटीले जोतिइरहेका रहेछन्, एक दिन सिफलमुनि कालोपुलको छेउमा भेटिएपछि थाहा पाइयो ।

उनको पाइला पछ्याउँदै जाँदा पुगियो काभ्रे, सिन्धुली र रामेछापको संगम नै भने हुने तिमाल गाउँपालिकाको पूर्वी सीमान्त गाउँ ठूलो पर्सेलमा !ठूलो पर्सेल उनको जन्मथलो पो रहेछ ! पाण्डेले भने, मलाई खान, बस्न र खर्च गर्न समस्या छैन । मैले पढें, उच्च शिक्षा पाएँ तर आफू जन्मिएको ठाउँलाई के गरें त ? मेरो ज्ञानको प्रयोग गरें ? मलाई यसले हुटहुटी लगाइरहन्थ्यो । मेरो जन्मभूमिको ऋण चुक्ता गर्न र यहाँका वासिन्दाको मुहार हँसिलो बनाउने उद्देश्यले जीवनको अन्तिम यात्रामा चार वर्षदेखि जोतिइरहेको छु । बल्ल सफलता हात लागेको छ र अब ढुक्क बनेर भन्न सक्छु, हो यहाँ यो काम गरेर धनी बन्न सकिन्छ !

उनको जन्मभूमि, जसलाई उनका बाबु देवीप्रसाद र आमा दुर्गाकुमारी पाण्डेले जीवनभर छोडेनन् । बाबुलाई आमाले जीवनभर साथ दिइन् । बाबु र आमाको निधनपछि सात दाजुभाइ र चार दिदीबहिनीले आमाको किरिया बस्दाबस्दै कोरामै एउटा निर्णय गरे, पुर्खाको थाँतथलो नचिर्ने र नबेच्ने ! हाम्रो सगोलको ७०÷८० रोपनीजति (असी प्रतिशत ढुंगा र २० प्रतिशतभन्दा कम माटो भएको भिरालो पाखो बारी) रुखो पाखो जमिनको सदुपयोग गर्ने र नमुना फार्म बनाउने ।

यो अचम्मको फलको नेपाली नाम राख्न सकेको छैन, तर यसको फूलको नाम भने मैले राखें- रातकी रानी ! साँझ परेपछि फुल्ने, रातभरि मग्मगाउने र भोलिपल्ट घाम उदाएपछि ओइलाउने । फूल फुलेको पैंतालीस दिनमा पाकेर खान तयार हुने यो रसिलो, स्वादिष्ट र गुणकारी फलको नेपाली नाम के राख्ने होला ?

कृषि नै अध्ययन गरेका र कृषि कर्ममै रमाउने दाजु नै हुन् भनेर भाइहरूले मलाई हौस्याए । उनीहरूले भने, दाजु सूर्य, तिमीले पढेको र जानेको ज्ञानलाई बाबुआमाको रुखो थाँतथलोको विकास गर्न नेतृत्व गर । यही कामको लागि हरेक भाइले पाँच लाख रुपैयाँ बीउ पुँजीको रूपमा लगानी गर्न पनि सहमति जनायौं ।
अन्कनाएर नेतृत्व लिएँ मैले डा. पाण्डेले भने, किनभने यो ठाउँमा कृषि कर्म गर्न असाध्यै गाह्रो छ । भाइहरूले फुटेर होइन, एकजुट भएर दिएको जिम्मेवारीलाई कसरी नाइँ भनौं ? मैले चुनौती स्वीकार गरें- बाबुबाजेको थातथलो रुखो भएर के भयो ? विज्ञान, प्रविधि र स्थानीय ज्ञानबुद्धि लगाएर नमुना फार्म बनाउने !
डा. पाण्डेले चुनौती स्वीकारेपछि प्रकृतिले भार अरू थपिदिइन् । त्यसै पनि वर्षायामसमेत पानी नपर्ने 'रेन स्याडो' क्षेत्रमा पर्ने उनको जमिनमा पानीको समस्या हुने नै भयो । ०७२ वैशाखको भुइँचालोपछि खानेपानीको खोल्साको पँधेरो पनि सुक्यो ।

डा. पाण्डे रन्थनिए । के गर्ने, के नगर्ने ? काम छोडौं, हुतिहारा भइने । काम थालौं, खानेपानीको स्रोतसमेत बिलाउँदै गएको रुखो पाखोमा कसरी खेतीपाती गर्ने ? अध्ययन, अनुसन्धान, खोजबिन र भेटघाटमै महिनौं बिताए।मलाई एउटै चिन्ता, कसरी काम सम्पन्न गर्ने ? घरपरिवारले भने बूढो त खुस्क्यो कि क्या हो भन्ने शंका पो गर्न थाले । भाइहरूले पनि गाउँका चुनौती सुनेर कृषि पढ्नेहरू हाम्रो दाइ जस्ता हुन्छन्, गफ गर्छन् काम गर्न नमिल्ने बहाना बनाउँछन् भनेको धुइरो-धुइरो सुनें । तर डा. पाण्डेले हरेस खाएनन् ।

यी अनि यस्तै टीकाटिप्पणी र आफैंले खोजेको दुःखले मलाई भने निराश होइन, झन्झन् आशावादी बनाइरह्यो । उनले भने, किनभने सजिलो ठाउँ र सबै कुरा उपलब्ध भएपछि त जसले पनि काम गर्न सकिहाल्छ । चुनौती भएको ठाउँमा विज्ञान, प्रविधि र अनुभव लगाएर उपलब्धि हासिल गर्नु पो सफलता हो भन्ने दृढता मनमा कायम राखिरहें, हरेस खाइनँ ।

पहिला त दाजुभाइहरूबीच छलफल हुँदा बुबाआमाको नाममा गुठी बनाएर यहाँको काम सञ्चालन गर्ने सोच थियो । र, गुठी कसरी सञ्चालन गर्ने भनेर अनेक गुठीहरू हेर्न गइयो । मान्छेहरू भेटेर सरसल्लाह गरियो । त्यसक्रममा के निष्कर्षमा पुगियो भने गुठी स्थापना त गरौंला, तर त्यसको जिम्मेवारी पछिसम्म कसले लिन्छ ? लाभांशमा झगडा पर्छ होला जस्तो लाग्यो । हाम्रा चर्चित गुठीहरूसमेत त्यसैमा अल्मलिएको पत्तो लाग्यो । अनि हामी कम्पनी बनाउन लाग्यौं ।

त्यसैले विद्यार्थी हुँदा पढेका, कृषि वैज्ञानिकहरूले प्राप्त गरेका सफलता-असफलताका कुरा सम्झने, पढ्ने, छलफल गर्ने र इन्टरनेटको सहयोगमा आफ्ना चुनौतीका समाधानबारे म एकोहोरिएर लागिरहें । साथीभाइ र विज्ञहरूसँग सम्पर्क गरें । माटो जचाएँ । वार्षिक पानी पर्ने डाटाहरू खोजें । भूस्खलनबारे जानकारी लिएँ ।
माटो त के भन्नु, गेग्रान । जमिनको उर्वरा शक्ति परीक्षण गरें । एकदमै रुखो । माटोको विषयमै मैले पीएचडी गरेकोले आफ्नो जमिनको माटोको शक्ति के हो भन्ने जान्नको लागि निकै समय व्यतीत गरें । तापक्रम हिउँद वर्षामा कति हुन्छ भन्ने खोजी गरें ।

अन्त्यमा, म निष्कर्षमा पुगें ।
यो 'रेन स्याडो' अर्थात् वर्षामा पनि खासै पानी नपर्ने ठाउँ भएकाले यसको लागि विशेष प्रविधि चाहिन्छ । त्यसैले मैले यो ठाउँलाई पानी कम हुने ठाउँमा गरिने खेतीपाती, पशुपालन र जीवनयापनको लागि चाहिने अनुसन्धान गरेर सिद्धान्त निर्माण, प्रविधिको विकास र त्यसको व्यावहारिक प्रयोग गर्ने केन्द्रको रूपमा विकास गर्न लागिपरेको छु ।

यहाँको नम्बर एक समस्या भनेको नै पानी हो । त्यसैले यसको लागि वर्षाको पानी संकलन गरेर वर्षभरि प्रयोग गर्ने प्रविधि अपनाइएको छ । रुखो पाखोमा चिस्यान कायम राख्नेलगायतका प्रविधि विकास गरिएको छ ।
दोस्रो समस्या भनेको, यहाँको माटोको उर्वराशक्ति एकदमै कम छ । खासमा यहाँ त माटो भन्ने नै छैन । मात्र गिटी नै गिटी छ । ढुंगाको ग्यांग्रिङमा मल मिसाएर जति उत्पादन हुन्छ, आम्दानी त्यही हो ।त्यसैले यहाँको बाली सुक्खा खप्ने नै लगाउनुपर्ने बाध्यता भएकाले मैले पानी थोरै चाहिने, थोरै मेहनत गरे पुग्ने तर उच्च मूल्य प्राप्त गर्ने खेतीबारे खोजी गरें । यसको लागि अन्नबालीभन्दा फलफूल छनोट गरेको छु । अनि त्यस्ता बोटबिरुवा खोजेर त्यसको प्रविधि विकास गर्न लागेको छु ।

यसैको लागि हामीले वर्षाको पानी संकलन र भण्डारन गर्न अढाइ लाख लिटर क्षमताको प्लास्टिक पोखरी बनाएका छौं । यस पोखरीबाट बढी भएर बग्ने पानी पनि खेर जान नदिन पच्चीस÷तीस हजार लिटरको अतिरिक्त भण्डारन पोखरी बनाइएको छ ।यसरी जम्मा गरिएको पानी मरुभूमिमा जसरी हामीले पनि थोपा सिँचाइ (ड्रिप इरिगेसन) प्रविधिमार्फत प्रत्येक बिरुवामा पानी पुर्‍याउँदैछौं, तर यो प्रविधि अलि खर्चिलो छ । त्यसैले यो खर्च पनि धान्न सक्ने 'हाइभ्यालु क्रप' खेती गरेका छौं ।

हामीले गरेको मध्ये एक अनार हो । यसमा सफल भइयो । यस्तो प्रतिकूल मौसममा पनि रसिलो अनार बोटले थाम्न नसक्ने गरी मज्जाले उत्पादन हुने रहेछ । त्यस्तै अनौठो फल ड्रागन फ्रुटको खेतीमा पनि सफलता पाइयो । यसले अब चमत्कार नै देखाउँछ भन्ने लागेको छ । जो आए पनि यो नयाँ फल देखेर छक्क पर्छन् !
मैले यो बिरुवाको फल खाँदा मात्र आनन्द आउने होइन, यसको बोटलाई हेर्दा पनि मन प्रसन्न हुने तरिका अपनाएको छु, जो लगानीको हिसाबले सस्तो पनि छ । विकसित सहर र उदाइरहेका गाउँलाई पनि यसबाट सेवा नै पुगेको छ । त्यो के भने, बागमती अञ्चलमा मात्र दस लाख मोटरसाइकल छन् । तिनको टायर फाल्ने ठाउँको अभाव छ, राजधानीमा । तर मैले किनेर त्यसैलाई प्रयोग गरेर ड्रागन फ्रुटका बिरुवालाई चित्ताकर्षक बनाएको छु ।

'क्याक्टस' अर्थात् सिउँडी जातिमा पर्ने यो बिरुवामा यस्तो फल फल्छ र यो यति मीठो, रसिलो र गुणकारी हुन्छ भन्ने थाहा पाएपछि जो पनि भन्छ, म पनि गर्छु यसको खेती भन्छन् । जति पैसा परे पनि तिर्छु, तर यसको बिरुवा चाहियो डाक्टर साहेब भन्छन् !ड्रागन फ्रुट पोहोरदेखि फल्न थालेको छ । यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डिं«क, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।

फूल फुलेको चार-पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । त्यसैले मैले यसको नाम नै राखेको छु, रातकी रानी !अनुसन्धानबाट के निस्किएको छ भने सुनकोसी नदीको पश्चिमपट्टिको यो डाँडोमा गर्मी अत्यधिक छ । त्यो गर्मी धान्न ड्रागन फ्रुटलाई छायाँ चाहियो । त्यत्तिकै छायाँ दिएर के गर्नु भनेर बहुमूल्य मेकाडेमिया नटलाई छायादार बिरुवाको रूपमा सुरु गरेको छु । मधिसे बदाम वा काजुभन्दा मूल्यवान् मेकाडेमियानटसहित यो जमिनमा मेरो पाँचतले खेतीको प्रयोग पनि सफल भएको छ ।

सबैभन्दा माथि मेकेडेमियानट, त्यसमुनि ड्रागन फ्रुट, त्यसमुनि भुइँकटहर, हावाबाट पुग्ने क्षति रोक्न (बिन्डब्रेकर) ट्रेफ्रासिया र सबैभन्दा तल भुइँघाँस जसले हावामा भएको नाइट्रोजन अर्थात् युरिया सोसेर निःशुल्क रूपमा माटोमा भण्डारन गराउँछ । यो घाँसले बाख्रापालनलाई पनि बढावा दिनेछ, जो हाम्रो खेतीसँग जोडिएको पशुपालनको अर्को पाटो हो ।



 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1