MENU

तीज गीतको भिडियोमा प्रतिस्पर्धा

635x90

अन्नपूर्ण शुक्रवार, असार ३०, २०७४ 4467 पटक पढिएको

Share This

तीज आउन दुईतीन महिना अघिदेखि नै कलाकारलाई कामको चटारो हुन्छ । पहिले तीज गीत महिलाले दुःखसुख पोख्ने माध्यममात्र थियो । अहिले तीज गीतमा मात्र नभई म्युजिक भिडियोमा पनि प्रतिस्पर्धा चल्न थालेको छ । म्युजिक भिडियोमा चर्चित कलाकारको अभिनय र नृत्य देखिन्छ । चलचित्रका अभिनेत्री पनि तीजगीतमा अभिनय गर्न इच्छुक हुन्छन् । तीज म्युजिक भिडियोका कलाकारले विनीता मरहट्टासँग आफ्नो अनुभव सुनाएका छन् ।

धेरै दर्शकमाझ पुर्‍याउँछ
-रश्मि तामाङ

अरू म्युजिक भिडियो नगरे पनि तीजमा चाहिँ गर्नै पाए हुन्थ्यो जस्तो लाग्छ । तीज गीतको म्युजिक भिडियोमा काम गर्ने इच्छा सबैलाई हुन्छ । धेरै महिलामाझ पुग्ने मौका हो । छोटो समय चल्ने भए पनि यसले धेरै दर्शकमाझ पुर्‍याउँछ । चिनजानको र सम्बन्धको हिसाबले पनि मोडल लिने गरिन्छ । जति भए पनि तीजको म्युजिक भिडियोमा काम गर्नु खुसीको कुरा हुन्छ । तीज गीतमा पनि अरु म्युजिक भिडियोमा जस्तै पैसा लिन्छु । पहिरन र शृंगारमा अलि बढी खर्च हुन्छ । तीजको भिडियो पैसाको लागिभन्दा संस्कृतिको लागि गर्न मन लाग्छ । आफ्नो संस्कृति जोगाउने काम गर्न पाउँदा बेग्लै खुसी पाइन्छ । काम गर्न चाहिँ अरूमा भन्दा तीजको भिडियोमा सजिलो हुन्छ । एकै ठाउँमा कम समयमा सुटिङ गर्न सकिन्छ ।

कमाइ राम्रो हुन्छ
-करिश्मा ढकाल

अरू म्युजिक भिडियोमा काम गर्दा अलि धेरै समय दिनुपर्छ । तीजको म्युजिक भिडियो छोटो समयमा सकिन्छ । काम गर्न सजिलो पनि हुन्छ । तीजका भिडियोमा प्रायः ड्रेस चेन्ज गर्नुपर्दैन । छोटो समय चले पनि धेरै दर्शकमाझ पुग्छ । करियर बनाउन यसले सहयोग गर्छ । कमाइ पनि राम्रै हुन्छ । हाम्रो लागि त तीज दसैंजस्तो हो । सधैं आइराख्दैन । अरूको लागि तीज एक दिनको भए पनि हाम्रो लागि दुईतीन महिनाको हुन्छ । तीज आउनुभन्दा दुईतीन महिना अगाडिदेखि सुटिङमा हुँदा त्यतिबेलै तीज जस्तो लाग्छ । तीजको दिन चाहिँ विशेष लाग्दैन ।

धेरै काम पाइन्छ
-प्रकाश सपुत

तीजको म्युजिक भिडियोमा काम गर्न सजिलो लाग्छ । तीनचार घन्टाको अवधिमै काम सकिन्छ । धेरै काम पाइन्छ । संख्यात्मक हिसाबले व्यस्तता देखिन्छ । नयाँ अनुहारले पनि मौका पाउँछन् । पहिलापहिला तीज गीतको भिडियोमा काम गर्न अप्ठ्यारो लाग्थ्यो । सबै महिलाको माझमा गएर नाच्नुपर्ने । पहिले त सर्ट पनि रातो लगाउनुपर्छ भन्थे ।

अहिले भने अरू रङको लुगा पनि प्रयोग हुन थालेको छ । अहिले रमाइलो मेलामा कुनै उत्सव मनाएजस्तो लाग्छ । वरिपरि दिदीबहिनी रंगीन भएर बसेका हुन्छन् । गीत पनि रमाइलो हुन्छ । कुनै विषय बोकेका गीत हुन्छन् । मनैदेखि रमाइलो महसुस हुन्छ । गायक पनि हुँ । तीन वर्षयता ५० वटा तीजको म्युजिक भिडियोमा काम गरेँ । अहिले यसैले मलाई चिनाएको छ ।

स्तर खस्किएको छ
-पार्वती राई

सात वर्षदेखि तीजको म्युजिक भिडियोमा काम गर्न थालेँ । व्यावसायिक रूपमा तीजको भिडियो बनाउन थालिएसँगै मेरो पनि आगमन भएको हो । मलाई तीजकै म्युजिक भिडियोले चिनाएको हो । मेरो लागि पहिलो प्राथमिकतामा तीजको म्युजिक भिडियो नै पर्छ । वर्षमा एक महिनामात्र चल्छ । तै पनि कलाकारको लागि यो दसैंतिहार नै हो । एकै दिनमा दुईतीनवटा म्युजिक भिडियो सुटिङ गरिन्छ । पैसा राम्रो कमाइ हुन्छ । अहिले त काठमाडौं बाहिर पनि म्युजिक कम्पनी खुलेका छन् । सुटिङका लागि बाहिर पनि जानुपर्छ । फुर्सदै छैन । म्युजिक भिडियोको ट्रेन्ड बढेसँगै यसको स्तर भने खस्किएको छ । एउटै निर्देशकले ५० वटा भिडियो बनाउँदा कसरी राम्रो हुन्छ ?

नाच्ने कला देखिन्छ
-ईश्वर वल्लभ

आधुनिक म्युजिक भिडियोमा मोडलिङ गरिरहेको छु । यसपालि तीज गीतमा काम गर्ने अवसर पाएँ । डान्सिङ ब्याकग्राउन्डबाट आएको हुनाले तीजको गीतमा काम गर्दा रमाइलो लाग्यो । आधुनिक गीतमा अभिनय बढी हुन्छ । तीज गीतमा आफ्नो नाच्ने कला देखाउन पाएँ । आफ्नो संस्कृतिको हिस्सा बन्ने मौका पाएँ । पहिलो अनुभव निकै राम्रो भयो । अरू दुईचारवटा तीज म्युजिक भिडियोको लागि कुरा भइरहेको छ । अरूमा भन्दा तीजको म्युजिक भिडियोमा काम गर्न गाह्रो हुन्छ । नृत्य अभिनय सबैको तालमेल राम्रोसँग मिलाउने हो भने चुनौतीपूर्ण नै हुन्छ ।

रातो पहिरनमा रमाइलो
-वर्षा राउत

अरु काम जस्तै हो । यसलाई तीज, दसैं भनेर हेरिनँ । कामको हिसाबले हेरेँ । गीत मन पर्‍यो, त्यसैले काम गरेँ । गीत क्याची छ । बज्नेबित्तिकै नाच्न मन लागिहाल्ने गीत छ । रमाइलो गीत भएकाले यसमा काम गर्दाको अनुभव रमाइलो भयो । पहिरनमात्र अलि फरक हुने हो । हेभी लुगा लगाएर नाच्न अलि गाह्रो भयो । रातो पहिरन लगाउँदा रमाइलो लाग्यो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1