MENU

बहुसंस्कृतिवादी हुन झन्डा च्यात्नैपर्छ ?

635x90

सुजित मैनाली शनिवार, असार ३१, २०७४ 33112 पटक पढिएको

Share This

बहस

युग पाठकको नयाँ किताब ‘माङ्गेना : नेपाल मन्थन'को उज्यालो पाटो के हो भने यसले बहुसंस्कृतिवादका पक्षमा बहस गरेको छ । जनसांख्यिकलगायत सामथ्र्यप्रति निरपेक्ष भएर देशभित्रका सबै संस्कृतिप्रति समान व्यवहार गर्नु प्रजातान्त्रिक राज्यको धर्म बन्न गएको छ । त्यसैले ‘आधुनिक काल्पनिकीको नेपालमा को अटाउँछन्, को छुट्छन् ? ' भनी पाठकले तेस्र्याएको प्रश्न र ‘नेपालको परिकल्पनामा किन हिमाल, पहाड, झरनामात्र अटाउँछ ? खेत-खलिहान, आँपका टिकोला अझै पनि किन नेपालको परिकल्पनाभन्दा बाहिरै पर्छ ? ' (पृ. १७) भनी नेपाली राष्ट्रको प्रचलित भाष्यविरुद्ध उनले उठाएको सवाललाई बेवास्ता गर्न अब सम्भव छैन । वैकल्पिक भाष्य आवश्यक रहेको निष्कर्षमा पुग्न उनले अघि सारेका प्रमाण र तर्कबारे यो आलेखमा संक्षिप्त टिप्पणी गरिएको छ ।

१.

‘माङ्गेना : नेपाल मन्थन'को प्राण यसको पहिलो लेख ‘नेपाल : एक नक्सा, एक अवधारणा' हो । यसमा पृथ्वीनारायण शाहले स्थापना गरेको आधुनिक नेपाल धार्मिक तथा साम्प्रदायिक ध्येयबाट निर्मित थियो भन्ने पुष्टि गर्न खोजिएको छ । झट्ट हेर्दा शाहवंशको नीतिप्रति असहमति व्यक्त गरेजस्तो देखिए पनि अन्तर्यमा यसले आधुनिक नेपालको जगलाई आलोचनात्मक दृष्टिले हेर्ने होइन, अपितु यसलाई समग्रमै अस्वीकार गर्ने नियत राखेको देखिन्छ । गैरहिन्दु धर्मलाई नस्ट गर्नु, यहाँका भाषाहरूलाई खस नेपाली भाषामार्फत विस्थापन गर्नु र सहजातीयलाई मात्रै अवसर दिनु नै आधुनिक नेपालको प्रमुख प्रयोजन थियो भन्ने पक्षमा यसले मत जाहेर गरेको छ । लेखकले भनेका छन्, ‘जब गोर्खाली भनेकै गोर्खा÷पर्वते भाषी, हिन्दु, क्षत्री-बाहुनको एक गठबन्धन थियो; अनि शासन, प्रशासन, सैनिक कुनै पनि राज्यका अंगमा अरू समुदायका मानिस नअटाउने व्यवस्था मिलाइएको थियो... (पृ. ३३-३४)।'
आधुनिक नेपाल निर्माण गर्दा निश्चय पनि रगतको होली खेलियो । यद्यपि, साम्प्रदायिक नियतका साथ रगत बगाउने काम भएको थिएन । पृथ्वीनारायणले पाखा लगाएका अधिकांश राजा हिन्दु थिए । तिनमा उनका कुटुम्बहरू पनि थिए । कुटुम्ब र सहधर्मीलाई पाखा लगाउन उनले गैरहिन्दुहरूको सहयोग लिएका थिए।

राजा भएपछि विजय अभियान बढाउने संकल्प गर्दाताका उनीसँग मुख्यत: बाहुन, खस, मगर र ठकुरी गरी चार जातका सैनिक थिए (दिव्यउपदेश, पृ. २, नेपाल ल कमिसन) । त्यसपछिका दिनमा गुरुङहरूले गरेको सहयोगबाट अत्यधिक प्रभावित भएर उनले सेनामा बाहुनको स्थानमा गुरुङलाई राखे । जीवनका अन्तिम दिनहरूमा उनले हतियार राम्रोसँग चलाउनसक्ने (लुहा च्यापन्या) जात खस, मगर, गुरुङ र ठकुरी भएको र उनीहरूसँग इन्द्रको आसन पनि डगाउने क्षमता भएकाले यी जातका मानिसलाई हरेक पट्टी (सैन्य टोली)मा राख्न भारदार र सन्तानहरूलाई उपदेश दिएका थिए (दिव्यउपदेश, पृ. ८)। 

मगर समुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्मभन्दा पुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । म मगर हुँ नभने पनि पृथ्वीनारायणले आफूलाई मगरातको राजा बताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायणअघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्ने व्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जो पृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) ।

पृथ्वीनारायणभन्दा अघिदेखि नै मगरहरू गोर्खाली सेनाको उपल्लो दर्जामा रहने गर्थे । पृथ्वीनारायणले यो चलनलाई जारी राखे । गुरुङसँग गोर्खाको साइनो पनि पृथ्वीनारायणभन्दा पुरानो हो । द्रव्य शाहले लमजुङबाट आफूसँगै गोर्खा आएका गुरुङहरूलाई उमरा पद दिएका थिए (जगमान गुरुङ, नेपालको एकीकरणमा गुरुङहरूको योगदान, पृ. १०) । पृथ्वीनारायणको पालामा गोर्खामा खस र मगरको संख्या बढी थियो भने कास्की र लमजुङमा गुरुङहरूको । कास्की र लमजुङ गोर्खामा गाभिएपछि गोर्खाको सैन्य तथा प्रशासनिक फाँटमा गुरुङहरूको संलग्नता क्रमश: बढ्दै गयो । र, यी दुई समुदायको सहयोगमा पृथ्वीनारायणको अभियान अघि बढ्यो ।


बहुसंस्कृतिवादी हुन राज्यलाई घृणा गरिरहनु पर्दैन र नेपालको झन्डा नच्यातीकनै सीमान्तकृतहरूको मांगेना (शिर ठाडो पार्ने काम) सम्भव छ । तर, पाठकले किताबको गातामा नेपाली झन्डा च्यातेका छन् ।

विजय अभियानका क्रममा पृथ्वीनारायणले सधर्मी र सजातीय राजा तथा भारदारहरूको मात्र होइन, गण्डकी प्रदेशका सगोत्री राजाहरूको समेत हत्या गरेका थिए । हिन्दु धर्मविधानमा सगोत्री हत्या परम पापमा गनिन्छ । सगोत्री हत्याको पापबाट मुक्त हुन उनले काशी गएर भारद्वाज गोत्र त्यागी काश्यप गोत्र ग्रहण गर्नु परेको थियो (डा. जगमान गुरुङ, अन्नपूर्ण पोस्ट्, २०७२ चैत्त ६) । सधर्मी, सजातीय र सगोत्रीहरूको वध गर्न उनले गैरहिन्दु मगर र गुरुङहरूको सहयोग लिएका थिए । दुई मोर्चामा एकसाथ युद्ध गर्नु हुँदैन भन्ने मान्यता बोक्ने पृथ्वीनारायणले तान्त्रिक अनुष्ठान गरेर पश्चिमको लडाइँ रोक्ने काममा ज्ञानकार बाँडा (नेवार)लाई खटाएका थिए र बाँडाले इन्द्रायणीको तीरमा गएर अनुष्ठान गरेका थिए (ज्ञानमणि नेपाल, नेपाल निरुपण, पृ. २०७) । यसले पनि पृथ्वीनारायणको विजय अभियान जातीय तथा धार्मिक भावनाबाट नभई शक्ति आर्जन गर्ने विशुद्ध राजनीतिक ध्येयबाट प्रेरित थियो भन्ने देखाउँछ ।
२.

समान भाषा-संस्कृतिले पृथ्वीनारायण र पूर्वी नेपालका बाहुन-क्षत्री-ठकुरी-खसबीच सम्बन्धको सेतु बनाइदिएकाले नेपालभरि रहेको खस-आर्यको फैलावटबाट पृथ्वीनारायणको विजय अभियान लाभान्वित हुन पुगेको युग पाठकको अर्को तर्क छ । यसका लागि उनले माझकिराँतका धनाढ्य हरिनन्द उपाध्यायले पृथ्वीनारायणलाई माझकिराँत जित्न आह्वान गरेको प्रसंग उल्लेख गरेका छन् (पृ. ४१) ।

थपिदिऊँ— हरिनन्दले मात्र होइन, सेन राजाका पुजारी रहेका हरिनन्दनका दाजु त्रिलोचन उपाध्यायले पनि मोरङ विजय गर्न गोर्खाली सेनालाई सघाएका थिए । कुनै बेला बाइसी-चौबीसी राज्य र मगरातबाट बसाइँ सरेर पूर्वी नेपाल पुगेका ब्राह्मण र क्षत्रीका सन्तानले सेन राज्यमा राम्रो ओहोदा पाएका थिए । क्षत्रीहरू सैन्य र प्रशासनिक सेवाको उच्च ओहोदामा थिए, ब्राह्मणहरू धनाढ्य थिए । पृथ्वीनारायणको सेना जित्दै पूर्वतर्फ अघि बढेपछि सेन राज्यका पर्शुराम थापा, रामकृष्ण थापा, चामु थापा आदि गोर्खालीको पक्षमा गए । माझकिराँतका ब्राह्मणले पृथ्वीनारायणलाई ऋण र हातहतियार सहयोग गरे (कुमार प्रधान, द गोर्खा कंक्वेस्ट, पृ. १२४) ।

गोर्खालीको पक्षमा आउने उनीहरूको मनोदशा पूर्वी र पश्चिमी मोर्चाबाट एकसाथ हमला हुने देखेपछि पराजयको डरले शत्रु खेमामा जाने नाजी जर्मनीका रुडोल्फ हेसकोसँग मिल्दोजुल्दो थियो । एकपछि अर्को राज्य धमाधम विजय गरिरहेको राजाको पक्षमा कमजोर राज्यका बफादारहरू जानु अनौठो कुरा थिएन । कुनै बेला पाटनका भारदारले ‘योग्य राजा पठाइदिनु पर्‍यो' भनी पृथ्वीनारायणसँग आग्रह गर्दा उनले भाइ दलमर्दनलाई पठाइदिएका थिए ।

विजय अभियानको आरम्भका दिनमा अन्य राज्यमा बस्ने सजातीयले उनीसँग पौंठेजोरी खेलेका थिए । काठमाडौंका सैनिक काशीराम थापाले गोर्खालीको कब्जाबाट नुवाकोटलाई मुक्त गर्न नसकेपछि क्रुद्ध भएका राजा जयप्रकाश मल्लले काशीराम र आफूले नियुक्त गरेका अन्य पर्वते उमरालाई एकै ठाउँ भेला गरेर काट्न लगाएका थिए । काशीरामका भाइ परशुरामले गोर्खालीविरुद्ध काठमाडौं र बाइसी-चौबीसी राज्यको गठबन्धन निर्माण गरी पृथ्वीनारायणलाई अभियानबाट च्यूत गराउन पनि खोजेका थिए । पोखरामा बसी गोर्खालीविरुद्ध हमलाको तयारी गरिरहेका परशुरामका भाइलाई झागल गुरुङले गाइनेको भेषमा गएर काटेपछि मात्रै पृथ्वीनारायणको विजय अभियान निर्धक्कसँग अघि बढ्न पाएको थियो (जगमान गुरुङ, पृ. १४-१५; दिव्योपदेश, ४-५) ।

खस र मगरबाट ठूलो सहयोग लिएका पृथ्वीनारायणले अन्य राज्यमा रहेका यी दुई समुदायबाट आफ्नो विजय अभियानमा अवरोध हुनसक्ने देखेको पाइन्छ । त्यसैले मकवानपुरमा हमला गर्नुअघि सिन्धुलीगढी दखल गरेर उनले त्यहाँका खस-मगरलाई मकवानपुर जानबाट रोकेका थिए (बाबुराम आचार्य, पृ. २८२) । सिन्धुलीका खस-मगर मकवानपुर पुगे आफूहरूलाई गाह्रो पार्छन् भन्ने भय उनलाई थियो ।

बरु सिक्किमे राजाको निरन्तर हमलाबाट आजित भएका पल्लो किराँततिरको दस लिम्बुवानका लिम्बूहरूले गोर्खाली सर्दार रामकृष्ण कुँवरलाई अरुणपारि चैनपुरमा बोलाएर सुरक्षाको माग गर्दै आफूहरू गोरखाली मातहत रहन मञ्जुर गरेका थिए (बाबुराम आचार्य, पृ. ४२२) । चौदण्डी अन्तर्गतको माझकिराँतको मध्यपहाडी भेग र राजधानी चौदण्डीगढीमा आक्रमण भएपछि माझकिराँतका केही किपटिया राई र बिर्तावालहरूले खोटाङका त्रिलोचन पोखरेलमार्फत पृथ्वीनारायणसँग मिल्न आफूहरू इच्छुक रहेको सन्देश पठाएका थिए । यसबाट प्रसन्न भएर पृथ्वीनारायणले विजयपछि ब्राह्मणको बिर्ता र किराँतको किपट थामिदिने आश्वासन दिएका थिए (ज्ञानमणि नेपाल, पृ. २९७) ।

बरु पृथ्वीनारायणका सजातीय स्वरूपसिंह कार्कीले चाहिँ पृथ्वीनारायणको अभियानमा पछिसम्मै भाँजो हाले । कुनै समय गोर्खाली सेनामा सर्दारी मान पाएका उनले विजयपुरमा पाल्पाली राजकुमार ध्वजवीर सेनलाई राजा बनाउने षड्यन्त्र सफल पार्न इस्ट इन्डिया कम्पनी र कर्णसेनकी विधुवा रानीबीच मध्यस्थता गरिदिए । उनको प्रयासलाई असफल पारी विजयपुरलाई टुक्रिन नदिन गोर्खाली सेनाका कप्तान अंगद घलेले सफल सैन्य कारबाही गर्नु पर्‍यो (जगमान गुरुङ, पृ. ३५) । स्वरूपसिंहले आपूmलाई दिएको दु:ख सम्झेर होला, पृथ्वीनारायणले पूर्व र पश्चिमका खस र बाहुनलाई दरबारमा पस्न (पैठ् हुन) नदिनु, नत्र बाहिरका मान्छेले दरबारमा बेथिति ल्याउँछन् (दिव्य उपदेश, पृ. ७) भनेका थिए ।
३.
युग पाठक लेख्छन्, ‘पृथ्वीनारायणले निर्माण गरेको सत्ता क्षत्री-बाहुन वर्चश्वको हिन्दु वर्णव्यवस्थामा आधारित सत्ता थियो । सेना, प्रशासन, न्याय सबै क्षेत्रमा यही एकल समुदायको पकड स्थापित गर्ने मामलामा पृथ्वीनारायण सचेत थिए ।' (पृ. ६०)

यसमा दुईवटा कुरा छ । एउटा— पृथ्वीनारायणले निर्माण गरेको राज्य हिन्दु वर्णव्यवस्थामा आधारित थियो । दोस्रो— सेना, प्रशासन, न्याय सबै क्षेत्रमा बाहुन-क्षेत्रीलाई लिनुपर्छ भन्ने पृथ्वीनारायणको नीति थियो । पृथ्वीनारायणको राज्यसत्ता नि:सन्देह हिन्दु वर्णव्यवस्थामा आधारित थियो । र, यस्तो राज्यसत्तालाई उनले विरासतका रूपमा ग्रहण गरेका थिए । किताबमा लेखकले विभिन्न ठाउँमा पृथ्वीनारायणको विजय अभियानसँग जनजाति समुदायको हिन्दुकरणबारे उल्लेख गरेका छन् । तर, पृथ्वीनारायणले विजय गर्नुअघिको काठमाडौं उपत्यका पनि हिन्दु वर्णव्यवस्थामै आधारित थियो ।

उनले पाखा लगाएका सेन राजाहरू आफूहरूलाई हिन्दुपति भन्ने गर्थे । सेन दरबारसँग निकट किराँती मुखियाहरूको क्षेत्रमा हिन्दुकरणले पृथ्वीनारायणको आवागमनअघि नै तीव्रता पाइसकेको थियो । विजयपुरमा सेन राज्य स्थापना हुनुअघिका कोच राजा (? ) विजयनारायणले एकजना किराँती मुखियालाई ‘गाई खाने फोहोरी राक्षस भएको र हिन्दु महिलालाई अपवित्र बनाएको हुनसक्ने' भन्दै हत्या गरेका थिए । ती किराँती मुखियाका छोरा बजहाङ राईले बाबुको हत्याको बदला लिन लोहाङ सेनलाई विजयपुर सर गर्न सघाए । लोहाङ विजयी भएपछि उनले बजहाङका छोरालाई मन्त्री बनाए । नयाँ मन्त्रीले ‘हाङ' उपाधि त्यागे र संस्कृत नाम विजयचन्द्र ग्रहण गरे (कुमार प्रधान, पृ. ७१-७३, ८७, १२४) ।

त्यस्तै सेना, प्रशासन, न्याय सबै क्षेत्रमा बाहुन-क्षेत्री इतरकालाई नलिने पृथ्वीनारायणको नीति थिएन । द्रव्य शाहकै पालामा गंगाराम राना न्याय विभागका अधिकारी बनेका थिए (बाबुराम आचार्य, पृ. १२) । राम शाहका पालामै मगरहरू उच्च पदमा नियुक्त हुन थालिसकेका थिए । पृथ्वीनारायणले अमर घलेलाई बार्पाकको उमरा नियुक्त गरेका थिए । काठमाडौंको शिवपुरी डाँडा कब्जा गर्ने गोर्खालीमा देव्या गुरुङ पनि थिए, जो शत्रुको तिघ्रा छनक्कै छिन्ने गरी जोरसँग खुँडा-खुकुरी चलाउनमा कहलिएका थिए । पृथ्वीनारायणकै पालामा सिन्धुलीगढीबाट अंग्रेजलाई धपाउने गोर्खाली फौजमा सर्दार वंश गुरुङ पनि थिए, जसले पाँच सयजति सैनिकको नेतृत्व गरेका थिए (जगमान गुरुङ, पृ. ११, १३ र १९) । पृथ्वीनारायणको पालामा गोर्खाली पल्टनमा तीनजना मुसलमानलाई पल्टनको माथिल्लो पद एड्जुटेन्ट दिइएको थियो (प्रेमसिंह बस्न्यात, शाही नेपाली सेना र प्रधान सेनापतिहरू, पृ. ४) । पृथ्वीनारायणको पालाका शक्तिवल्लभ अज्र्यालकृत नाटक ‘जयरत्नाकर'मा नेपाली पल्टनमा बाहुन, खस, मगर, बौद्ध र नेवार सिपाही थिए भन्ने उल्लेख भएबाट पनि त्यति बेलाको गोर्खाली पल्टन बहुजातीय थियो भन्ने देखिन्छ (दिनेशराज पन्त, पृ. ४५-४६ नेपाली सेनाको इतिहास, सं. मलराज सिंह राठौर) ।
न्याय व्यवस्थामा पनि पृथ्वीनारायणले विभिन्न जातजातिलाई समावेश गराउने नीति लिएका थिए । ‘ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालत चलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८) । सरकारी सूचना फुक्ने र प्रहरीको काम पनि गर्ने कटवाल जनजाति र क्षेत्रीलाई बनाउने थिति त्यति बेला थियो (बाबुराम आचार्य, पृ. ४४९) ।
४.
युग लेख्छन्, ‘इतिहासकारहरूका तमाम कोसिसका बाबजुद नेपाल प्राचीनकालमा विशाल नै थियो भन्ने ठोस प्रमाण कसैसँग पनि छैन । न ‘प्रयाग प्रशस्ती'मा तत्कालीन नेपालको सिमाना उल्लेख छ, न त चाँगुको अभिलेखमा नै (पृ. २४) ।'
नेपाल यति लाख यति हजार यति सय वर्ग किलोमिटरमा फैलिएको छ भनेर त्यति बेला लेखिने कुरै थिएन किनकि यस भेगमा आधुनिक सीमांकन र सीमास्तम्भको अवधारणा बेलायतसँगै भित्रिएको हो ।

ऐतिहासिक तथा पौराणिक स्रोतले नेपाल ठ्याक्कै यत्रो थियो भनेर किटान नगरे पनि नेपालको आकारबारे संकेतचाहिँ गरेका छन् । भारतका गुप्त सम्राट् समुद्र गुप्त (इपु ३३५-३८०) को प्रयाग अभिलेखमा कामरूप (आसाम) र कर्तृपुर (कुमाउ)को बीचमा नेपाल रहेको संकेत गरिएको छ (डा. जगमान गुरुङ, मिलनबिन्दु, अंक १, पृ. १-९) । त्यस्तै महाभारतको वन पर्वका केही श्लोकमा (अध्याय २५४) दिग्विजय अभियानका क्रममा अंगराज कर्ण हिमालतिर रहेको नेपाल आएको र नेपालबाट अंग (मुंगेर), बंग (बंगाल), कलिंग (उडिसा)तिर गएको उल्लेख छ (मदनमणि दीक्षित, त्यो युग, पृ. १) । यसबाट नेपालको पूर्वी र दक्षिणी सीमाना त्यति बेला झन्डै अहिलेकै जत्रो थियो भन्ने देखिन्छ ।
५.
महेन्द्रको पालामा भएको भूमिसुधारबारे टिप्पणी गर्दै पाठक लेख्छन्, ‘(मधेसी जमिनदार)हरूसँग जोडिएका अरू किसान परिवार एउटै घरका भित्ता, छानाजस्ता थिए... त्यसैले हदबन्दीका नाममा कुनै जमिनदारको जमिन खोस्दा बाँकी परिवार स्वत: भूमिहीन सुकुमबासी भए (पृ. ११३) ।'
यो कुरा तराईका मात्र होइन, पहाडका जमिनदारको हकमा पनि लागू हुन्छ । भूमिमा हदबन्दी लगाउँदा तराईका जमिनदारहरूसँग जोडिएका गरिब किसान परिवार भूमिहीन भए भनेर लेखकले तराईमा लगाइएको हदबन्दीको परोक्ष ढंगले विरोध गरेका छन् । जब कि जमिनदार स्वभावैले गरिबमारा हुन्छ, चाहे ती पहाडका हुन्, अथवा तराईका ।

लेखकले किताबमा पटकपटक उद्धृत गरेका फ्रेडरिक गेजले विसं २०१५ को आमनिर्वाचनलगत्तै सप्तरीमा मुठीभर संख्यामा रहेका राजपुत जमिनदारले त्यहाँ ठूलो संख्यामा रहेका गरिब अहिर (यादव)हरूमाथि गरेको अत्याचारबारे उल्लेख गरेका छन् । त्यति बेला राजपुतहरूले सत्ताधारी पार्टी नेपाली कांग्रेसको आडमा दुईजना गरिब अहिरको हत्या गरेका थिए (फ्रेडरिक गेज, रिजनालिजम एन्ड नेसनल युनिटी इन नेपाल, पृ. १४६) । सप्तरीका राजपुतहरूसँग जिल्लाको अधिकतम जमिन थियो । प्रजातन्त्रको अभ्यासबाट अहिर समुदाय अगाडि आउनसक्ने देखेपछि राजपुतहरूले अहिरहरूमाथि त्राहिमाम मच्चाएका थिए ।

‘माङ्गेना : नेपाल मन्थन'को विकाससम्बन्धी लेखभित्रको ‘किसानको चीरहरण' खण्ड मार्मिक छ, जहाँ तराईका रैथानेहरूको जमिन पर्वते जमिनदारले तिकडम गरेर हडपेको पनि उल्लेख छ, जुन सत्य हो । तर, यस्तो कुकर्मबाट मधेसी जमिनदार पनि अछुतो थिएनन् । तर, यो सत्यलाई लेखकले बेवास्ता गरेका छन् ।
निश्चय पनि हदबन्दीको बढी असर तराईका जमिनदारलाई पर्‍यो किनकि जमिनदारी प्रथा बढी तराईमा थियो । भूमिसुधार व्यवस्थाअनुसार तराईको जमिनदारले आफ्नो नाममा २५ बिघा खेत राख्न पाउँथ्यो । १६ वर्ष नाघेका छोरा र ३५ वर्ष नाघेकी अविवाहित छोरीको नाममा पनि त्यति नै जग्गा राख्न पाउँथ्यो । त्यति बेला तराईका सात अथवा आठ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन यो हदबन्दीभन्दा माथि परेनन् । अर्थात् भूमिसुधारले मधेसी जमिनदारको जति धेरै जमिन हडप्यो भनी संकेत गरिएको छ, त्योभन्दा धेरै थोरैमात्र हडपेको थियो ।

हदबन्दीबाट सबैभन्दा बढी लाभ सरकार र जमिनदारबाट घूस लिएर लगत तलमाथि गर्ने सरकारी कर्मचारीले पाए । सन् १९६८ को मध्यसम्म हदबन्दीभन्दा माथिको एक लाख ४६ हजार एकड जमिन सरकारले लिएकामा ५६ हजार एकड जमिन मात्र पुन: वितरण गरियो (फ्रेडरिक गेज, पृ. १७३) ।
६.
पुस्तकमा टिप्पणी गर्नुपर्ने विषय थुपै्र छन् । नेपाली भाषालाई माध्यम बनाएर नेपाललाई एकताबद्ध गर्ने प्रयत्नलाई अस्वीकार गर्ने लेखक दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनले नेपाली भाषालाई ‘युनाइटिङ फ्याक्टर' बनाएकोप्रति पनि रोष व्यक्त गर्छन् । तर, हिन्दी भाषामार्फत मधेसी राजनीतिलाई दह्रोसँग बाँध्नुपर्ने पक्षमा चाहिँ उभिएर दोहोरो चरित्र देखाउँछन् । खस भाषाले नेपाल भाषालाई कमजोर पारेकामा उनको चित्त दु:ख्छ । तर, कुनै समय सेन राज्यले किरातीहरूसँगको अन्तरक्रियामा सम्पर्क भाषा बनाएको मैथिलीलाई (कुमार प्रधान, पृ. ८८) हिन्दीले खाइरहेको अवस्थाले चाहिँ उनलाई पिरोल्दैन ।

दरबारपक्षीय नेपाली भाष्य निर्माणका लागि गोर्खाली वीरगाथा रचिएको बताउँछन्, उनी । तर, यस्तो वीरगाथाका वास्तविक रचयिता बेलायती हुन्, जसले युद्धमा आफूहरूलाई हराउने उजिरसिंह थापा (पाल्पा÷बुटवल मोर्चा), रणवीरसिंह थापा (मकवानपुर मोर्चा) र काजी भक्तवर थापा (विजयपुर मोर्चा)को शोर्यबारे कतै उल्लेख नगरी आफूहरूले हराएका भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा आदिको शोर्यबारे मात्रै बढाइचढाइँ गरी बेलायती वीरगाथालाई उकास्ने काम गरे । राष्ट्र भनेको भूगोल होइन, जनता हो भन्ने भाव व्यक्त गरेर नथाक्ने लेखक सिद्धान्तत: सही देखिएलान् ।

तर, राष्ट्रलाई राज्यको पर्याय सम्झिने नेपाली समाजले भूगोललाई पनि जनताजत्तिकै अभिन्न ठान्छ नै । अर्थात्, बहुसंस्कृतिवादी हुन राज्यलाई घृणा गरिरहनु पर्दैन र नेपालको झन्डा नच्यातीकनै सीमान्तकृतहरूको मांगेना (शिर ठाडो पार्ने काम) सम्भव छ । तर, पाठकले किताबको गातामा नेपाली झन्डा च्यातेका छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1