MENU

ब्लो-अप

635x90_1

घिमिरे युवराज शनिवार, असार ३१, २०७४ 5123 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

कथा

नायिका रञ्जना शिवाकोटीको फिल्मी करिअर उत्सर्गमा थियो । उनी टीभीमा नाचेको देखेर म फुर्किन्थेँ । त्यसो त उनी फिल्ममा भन्दा बढी टीभी विज्ञापनमा देखिन थालेकी थिइन् । ‘रूपमती चामल खानाले तपाईंको त्वचामा नयाँ ताजगी ल्याउँछ ।' उनीप्रति म यति आकर्षित भइसकेको थिएँ, उनले विज्ञापन गरेको चामल नै खान थालिसकेको थिएँ । तर, रूपमती चामल खाँदै गर्दा अचानक दाँतमा ढुंगा लाग्यो- ‘रञ्जना र बादल प्रेममा' ।

आफूले मन पराएकी नायिका कोही ऐरेगैरेको प्रेममा परेको सुन्दा जलन हुने रहेछ । मलाई ऐश्वर्या रोयप्रति पनि त्यस्तै भएको थियो । किशोरवयभरि यस्तो लाग्थ्यो, कुनै दिन अचानक उनीसँग भेट हुनेछ । मुटुको धड्कन निक्कै बढेको हुनेछ । अनुहार रातो र ओठ कामिरहेको हुनेछ । भन्नेछु, ‘आई लभ यु ऐश्वर्या' । उनको बिहेपछि सबै सपना चकनाचुर भयो । कोलम्बियन गायिका सकिरा इजाबेल मेबारक रिपपोलप्रति पनि त्यस्तै भावना थियो मेरो । उनले पनि मप्रति निष्ठुर भएर अर्कैसँग विवाह गरेको केही समयपछि त्यो भावना विस्तारै हरायो । अब नायिकाहरू प्रियंका चोपडा, आलिया भाट र गायिका इन्दिरा जोशीप्रति अझै बाँकी छ । यो असामान्य मोहले मलाई किशोरवयदेखि लखेटिरहेछ ।

फिल्मी पत्रिकाहरूका अनुसार, बादल साह चक्रवर्तीसँग उनको प्रेम पनि भर्खर सुरु भएको थियो । त्यो सुनेर म दुःखी भएँ । रञ्जना र बादलको प्रेमसँग अचम्मको साइनो गाँसियो मेरो पनि । एउटी राम्री नायिका कुनै प्रोफाइल नै नबनाएको केटासँग प्रेममा परेको थाहा पाउँदा म साँच्चै पिरोल्लिएको थिएँ । बादल मलाई कहिल्यै मन परेन । त्यसैले मैले त्यो प्रेम सफल हुँदैन भन्ने ठोकुवा नै गरेको थिएँ । म ‘मुनलाइट' मा थिएँ । अर्थात् ‘मुनलाइट' भन्ने साप्ताहिकमा काम गर्थेँ । सम्पादक एलएन साह चक्रवर्ती उनीहरूको प्रेमकथा सुनाएर हामीलाई मक्ख पार्थे । पार्थे के भन्नु उनी आफैं मक्ख हुन्थे । उनीसँग संगत गरेको केही हप्तापछि थाहा लाग्यो, रञ्जना र बादलको लभ अफेयर समाचार उनले नै छाप्न लगाएका रहेछन् चिनजानका पत्रिकारहरूलाई भनेर ।

मानिसका गौरव गर्ने विषय अनेक हुने रहेछन् । एलएनउर्फ लोकेश्वरनाथ साह चक्रवर्तीका पनि आफ्नै थिए । भाइ बादल चर्चित नायिकाको प्रेममा परेको कुरा एलएनको लागि जीवनमा अलिअलि गोप्य राखेजस्तो गरेर साउती मार्दै सुनाउने गौरवशाली कथा थियो । मानौं बादलले रञ्जनासँग प्रेम गरेर कुनै बहादुरी गरेको छ । मैले पनि क्याम्पसमा साथीहरूलाई सुनाउने नयाँ खुराक थियो त्यो । सबै रोचक मानेर सुन्थे । म पनि एलएनले भनेका कुरामा केही थपथाप गरेर साथीहरूलाई सुनाउथेँ । बादलसँग ईष्र्या त थियो नै त्यसैले ‘यो प्रेम असफल हुन्छ' भन्ने ठोकुवा गर्न छोडेको थिइनँ । उनीहरूको बारेमा एलएनले भन्दा सायद म बढी सोच्न थालेको थिएँ । जब एलएनले कुनै दिन उत्साहित हुँदै निसंकोच ‘दुई दिनको लागि आज भाइबुहारी पोखरा घुम्न जाँदैछन्' भनेर सुनाउँथे, मेरो निद्रा उड्थ्यो । तर, म त्यो हैसियतमा कहाँ थिएँ र, मैले सोचिरहेको कुरा व्यक्त गर्न सकौं ।

एक वर्ष नाघिसकेको थियो बिनापारि श्रमिक चक्रवर्तीसँग काम गरेको । पत्रिकामा लेख्ने मान्छे हामी दुईजना मात्रै थियौँ । चक्रवर्ती र म । त्यसैले मैले जे लेखे पनि उसले नछापी सुखै थिएन । लगभग आधा सामग्रीहरू त अरू पत्रिकाको साभारले नै भरिन्थ्यो । करिब पाँच सयप्रति छापिने यही पत्रिकाको चलखेलले चक्रवर्तीले परिवार धानेका थिए । उनका अन्य गोप्य स्रोत के थिए मलाई पत्तो थिएन । पहिलो भेटमा चक्रवर्ती थर सुन्ने बित्तिक्कै मलाई लाग्यो, पक्कै पनि मिथुन चक्रवर्तीसँग यिनीहरूको कुनै नाता पर्छ । एलएनले एक दिन कुरैकुरामा भने- ‘हेर घिमिरे सबैले मलाई मिथुन दाको नातेदार भन्ठान्छन् । तर हामी अर्कै चक्रवर्ती, उनी अर्कै चक्रवर्ती । उनी विहारका हुन् । हाम्रो तीनपुस्ते नेपाली हो ।'

म खिस्रिक्क भएँ । सायद जीवनमा उनले बोल्ने कम सत्यमध्ये यो पनि थियो । कमसेकम यो कुरा रहस्यमै भएको भए मलाई उनीसँग काम गर्ने उत्साह घट्ने थिएन । मैले आफैंलाई सहानुभूति दिँदै भनेँ- ‘तर पनि त सर बाजेबराजुको त केही सम्बन्ध थियो होला । हजुर र मिथुनको अलिअलि अनुहार त मिल्छ ।' उनको श्याम अनुहार अचानक उज्यालो भयो । भने, ‘त्यो त हो ।'



 उसबेलादेखि अचेलसम्म हरेक साता उसरी नै साप्ताहिक पत्रिकाहरूमा अरू धेरै रञ्जना र बादलहरूको उत्तेजक तस्बिर छापिन्छन् । र, उसरी नै हजारौं युवाहरू तिनै तस्बिर हेरेर स्खलित हुन्छन् । तर, ती सातजना जस्तै धेरै बालकहरूको कथा अझै छापिन बाँकी छन् ।

सायद मिथुनसँग सम्बन्ध नगाँस्नुको अर्थ उनको नागरिकतासँग जोडिएको कथा थियो । उनले नागरिकताको लागि निक्कै संघर्ष गरेको कुरा सुनेको थिएँ । काठमाडौमा तराईवासीलाई त्यति सहज पनि थिएन । नेपाली नै होइन जस्तो गरेर हेपेर कुरा गर्थे यहाँका रैथानेहरू । त्यसको मार एलएन सरमा परेको हुनुपर्छ । त्यसबारेमा भने उनीप्रति मेरो पूरापूर सहानुभूति थियो । खैर, मेरो के हैसियत छ सहानुभूति राख्ने ? कुरा कामको हो । धन्न रञ्जनाको प्रेमकथाले मलाई अझै तानिरहेको थियो । झिनो आशा थियो, उनीहरूको प्रेम सफल नहोला कि भन्ने ।

बादल जति धेरै वा राम्रो लेखे पनि पारि श्रमिकको कुरा त्यहाँ बर्जित थियो । बरु उपलब्ध थिए ‘रञ्जना-बादल प्रेम कहानी ।' बिजुली बजारको उकालोनिरको एउटा सानो कोठामा कार्यालय थियो पत्रिकाको । रूपप्रिया, सुमनराज, प्रेमलहरि, लालमणिजस्ता अनेकौं फिल्म पत्रकारहरू त्यही अड्डामा हरेक दिनजसो आइरहन्थेँ । सुरुसुरुमा मलाई लाग्थ्यो, नेपालका सबैभन्दा ठूला पत्रकारहरू तिनै हुन् । किनभने त्यतिखेर चलेका नायकनायिकाहरू शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर, मेलिना मानन्धर, धीरेन शाक्यदेखि रञ्जना लुइँटेल र दिलीप रायमाझीसम्मका नालीबेली तिनले बताउँथे ।

कसको कोसँग अफेयर छ, ककसको ब्रेकअप भो एकअर्काले होडबाजीसहित सुनाउँथे । म भने उच्चकोटीका नीति कथा झैं मन्त्रमुग्ध भएर सुन्थेँ । कल्पना गर्थेँ, यस्ता रोचक घटनाहरू घट्ने ठाउँ कहाँ होला, पक्कै त्यो कुनै हराभरा फिल्मी दुनियाँ होला । उनीहरूले भेट्ने, रमाइलो गर्ने ठाउँ मैले देखिरहेको बानेश्वर, गौशाला, माइतीघर, कमलादी त पक्कै होइन । दिनहरू बित्दै गए, यथार्थका तहहरू बन्दाको बोक्राझैं खुल्दै गए । तिनीहरू जुन पत्रिकामा लेख्थे, ती पत्रिका खासै बिक्दैनथिए । ताजुबको बात यो थियो, उनीहरू कसरी घर चलाउँथे ।

एक दिन एलएनले याक चुरोटको सर्को मार्दै भने- ‘बादललाई अचेल भ्याइनभ्याइ छ ।' मलाई चिन्ता लाग्यो, बादलले पनि फिल्म पाएछ कि भनेर । ऊ पनि हिरो बन्ने रहरले वर्षौंदेखि शरीर सुगठित बनाइरहेको थियो । बादलले मुम्बैमा पनि संघर्ष गरेर आएको कुरा गाइँगुइँ सुनेको थिएँ । चुरोट आस्ट्रेमा अड्याउँदै चक्रवर्तीले थपे, ‘रञ्जना एकैपटक तीनवटा फिल्ममा काम गर्दैछे । अरू पनि अफरहरू आइरहेका छन् राम्रो पैसा दिने तर बादलले हुँदैन भन्दियो । अचेल रञ्जनाको फिल्म छान्ने काम सबै बादलले गर्छ ।'

रञ्जना-बादलको विशेष बुलेटिनपछि चक्रवर्ती दंग परेर चुइँकिने कुर्सीमा अडेस लागे र भने, ‘यसपटकको मुनलाइटको स्ट्यान्डर निक्कै बढेको छ । तिम्रो लेखको पनि साथीहरूले तारिफ गर्दै थिए ।' दुईवटा बाइलाइन समाचार थिए मेरा । एउटाः रतन थियामको महाभारतमा आधारित नाटक चक्रब्यूहको लामो रिभ्यु गरेको थिएँ । अहिले सम्झँदा लाग्छ, त्यो एउटा झुर रिभ्यु थियो । महाभारत नै नबुझी लेखिएको शब्दहरूको रास थियो त्यो । अर्कोः सडक बालबालिकामाथि यौन हिंसा शीर्षकमा पर्यटकहरूले काठमाडौंका बालबालिकाहरूलाई कसरी यौन हिंसा गरिरहेका छन् भन्ने फिचर थियो । अरू पत्रिकामा छापिएका समाचारहरू र युनिसेफको रिपोर्टमा आधारित ठीकैको लेखाइ थियो त्यो । तर, चक्रवर्तीले मलाई फुक्र्याउनु थियो फुक्र्याए ।

रञ्जनाकै लागि भनेर उनी ‘स्वर्णपरी' नामक मासिक फिल्मी पत्रिका प्रकाशन गर्थे । मासिक भने पनि वर्षमा एकपटक दसैंको छेक पारेर निस्कन्थ्यो पत्रिका । त्यस पत्रिकाको दुईवटा उद्देश्य थिए । एउटा दसैंको शुभकामना विज्ञापनबाट अलिअलि पैसा उठाउने, अर्को हो रञ्जनाको फोटो कभरमा छाप्ने । उनले दसैं अंकमा जति पैसा उठाए पनि आफ्नो हातमा एक रुपैयाँ पर्ने होइन । बरु रञ्जनाको आकर्षक तस्बिर भएको केही थान पत्रिका कालो हातेझोलामा हालेर सबै पारि श्रमिकको असुली गर्थेँ म । अघिल्लो वर्षको रञ्जनाको कभर भएको ‘स्वर्णपरी' झोलामा भएको महिनौं भएको थियो ।

तर, रञ्जनालाई सशरीर देख्ने रहर पूरा भएको थिएन । हातमा चाबी झुन्ड्याउँदै एउटा सुगठित शरीर अर्थात् बादल चक्रवर्ती कहिलेकाहीँ देखा पथ्र्यो मुनलाइटको कार्यालयमा । तुफानले आउँथ्यो, उसको दाइ अर्थात् एलएनसँग केही पैसा लिन्थ्यो र तुफानले फर्कन्थ्यो । ऊ जसरी सिँढी उक्लने ओर्लिने गथ्र्यो नि त्यो फूर्तिचाहिँ निक्कै आकर्षक थियो । म उसलाई हेरिरहन्थेँ ।
उसको डिंगो जुत्ता ।
टाइट जिन्स पेन्ट ।
सिंहको ठूलो टाउको भएको बेल्ट ।
छातीमा दुईटा टाँक खुलेर देखिने उसको सुगठित छाती ।
‘केटो त हिरै हो ।' मनले भन्थ्यो । यही कारणले रञ्जनाले यसलाई मन पराएकी होली । तर प्रोफाइल ? त्यस केटाको गुमनामी नामले मलाई पिरोलिरहेको थियो । एउटी चर्चित हिरोइन कसरी एउटा सामान्य केटाको प्रेममा पर्छे ? त्यसबखत यी सबै कुरा मलाई एउटा रहस्य जस्तो लाग्थ्यो । तर रञ्जना त्यहाँ कहिल्यै आइन । र, बादलको हातको चाबी बाइकको हो या गाडीको कहिल्यै ठम्याउन सकिन । बालदकै कारणले झन् विस्तारै हिरो बन्ने रहर जागेर आयो । मलाई रञ्जनाको नजिक पुर्‍याउने एउटै उपाय देखेँ मैले, बादललाई उछिनेर हिरो बन्ने । विस्तारै थिएटर मेरो अर्को रुचिको विषय बन्यो । काठमाडौ थिएटर भर्खर सुरु भएको थियो । समय मिलाएर त्यतै धाउन थालेँ । एक दिन कुनै अमुक फिल्मको नायक बन्ने आशामा ।

बिना कुनै पूर्वसंकेत जिन्दगीमा नयाँ अफर आयो । क्याम्पसका साथीहरू विवेक तिवारी र झकेन्द्र श्रेष्ठले भने, ‘तिमीले किताब लेख्नुपर्छ ।' कस्तो किताब ? जादुमयी तरिकाले काम भयो । उनीहरूले फाट्टफुट्ट नेपाली बोल्ने एकजना जापानी महिलासँग भेट गराए । ती महिलाको संस्थामा विवेक र झकेन्द्रले स्वयंसेवकको रूपमा काम गरेका रहेछन् । म लेख्ने पनि भएकोले उनीहरूले मेरो नाम सिफारिस गरेका रहेछन् ।

मैले सातजना सडक बालबालिकाको कथा लेख्नुपर्नेछ । त्यसबापत ४० हजार पारि श्रमिक तोकिएको छ । दीपेन्द्रले पुस्तकको लागि बालबालिकाको तस्बिर लिनेछन् । यो के भइरहेको छ म बुझ्न सकिरहेको थिइनँ । सम्झौतापत्रमा हस्ताक्षर भयो । दस हजारको चेक पनि हात लाग्यो । साट्न जाँदा डर थियो पैसा नआउने चेक हो कि भनेर । पत्रिकाको अफिसमा प्रायः यस्तो भइरहन्थ्यो । एलएनले विज्ञापनको पैसा उठाउन जाँदा भुक्तानीबापत प्रायः चेक पाउँथे । अधिकांश चेक बाउन्स हुन्थे । तर, मेरो त चेक साटियो अर्थात् हात लाग्यो दस हजार । ‘लेखेर पनि यत्रो पैसा आउँछ ? ' जिन्दगीमा नयाँ रङहरू भरिँदै थिए । रञ्जना र बादल प्रेमको सिँढी उक्लँदै थिए । मेरो त्यहाँ जान पातलिँदै थियो । मेरो नियमित जानु वा बिराएर जानुमा सम्पादक चक्रवर्तीको कुनै खुसी वा विस्मात थिएन । कहिलेकाहीँ फुक्र्याउनुबाहेक उनी सधैं समान व्यवहार गर्थे ।

लगनखेल हो ठाउँ त । तर, गल्लीको नाम सम्झना छैन । मूल सडकबाट निक्कै भित्र दुईतले घर थियो । भर्खरै बनेको तर भित्तामा प्लास्टर नगरेको बेढंगको घर थियो त्यो । बनाउन आधा काम बाँकी रहेको । यहीँ बस्थे सातजना बालकहरू । म बिल्कुलै नयाँ संसारमा छिर्दै थिएँ । ८ देखि १४ वर्ष उमेरका यी बालकहरूसँग कुराकानी गरेर तिनको कथा लेख्नु मेरा लागि निक्कै चुनौती थियो । उनीहरू त्यहीँ खान्थे । त्यहीँ बस्थे । कसैले सञ्चालन गरेको ‘चिल्डेर्न होम' जस्तो थियो । तर त्यो कसरी सञ्चालन हुन्थ्यो । कसले सञ्चालन गथ्र्यो । मलाई केही थाहा थिएन । पाएको काम फुस्किने डरले म धेरै प्रश्न गर्दिनथिएँ । मेरो काम केवल उनीहरूको जीवनी कथा उतार्नु थियो ।

१. ‘रूपेश थापा मगर धादिङ । उमेर ९ वर्ष । बाऊ सधैं झगडा गर्थे आमैसँग । आमैले छोडेर गइन् । मलाई पनि घरमा बस्नु मनै लागेन ।...'
२. ‘राजु शिवाकोटी । उमेर ११ । चितवन ।....जुत्ता टाँस्ने डेन्डड्राइट धेरै तानियो । कहिलेकाहीँ सुई पनि घोचियो ।...बिन्दास हुन्थ्यो ।...'
३. ‘श्याम तामाङ । उमेर १३ वर्ष । सिन्धुपाल्चोक । घरमा धेरै काम गर्नुपथ्र्यो । घाँस काट्ने, बाख्रा चराउने । पढ्न पनि मुन लागेना । गाउँको केटाहर्ले काठमाडौ जौँ भन्यो, राम्रो खानु, राम्रो लाउनु पाइन्च भन्यो त्यसैले आको । सडकमै सुत्यो २ वार्ष ।...'
४.‘ भोला काफ्ले । उमेर १२ वर्ष । ओखलढुंगा । बुबाआमाले काठमाडौंको एउटा घरमा काम गर्न राखिदिनु भयो । उनीहरूले पढाइदिन्छु भनेका थिए । स्कुल पनि पठाएनन् । काम पनि धेरै लगाए । मालिकले धेरै गाली गर्थे । अनि भागेँ म त । कसैलाई चिनेको थिइनँ । सडक मै सुत्न थालेँ ।... खीर धेरै मन पर्छ मलाई...तर ह्याँ काँ पाउनु ? '
५. ‘जीवन राई । उमेर ११ वर्ष । सिन्धुली । स्कुल जाने मन छ । गोराहर्ले राति लैजान्च र बिहान छोडदिन्च । ...मलाई त काउकुति लाग्छ । तर पैसा पनि दिन्छ ।'
६. ‘विजय तामाङ । उमेर १३ वर्ष । काभ्रे । पुलिसले धेरै दुःख दिन्छ । कुट्छ ।...म पनि भोलिपर्सि पुलिस बन्छ र तिनलाई ठोक्छ ।'
७. ‘रामबहादुर खड्का । रामेछाप । उमेर १४ वर्ष । पानी परेपछि आमाको याद आउँछ । घरनजिकैको बारीको रूखमा आमा झुन्डिएकी थिइन् ।

पानी जोडले परेको थियो । गाउँका थुप्रै मान्छे रूख वरिपरि उभ्भिएका थिए । आमा मरेको भन्ने था'पाएपछि कसैलाई नसोधी घरबाट हिँडेँ । तीन घन्टाको बाटो कुद्दै मामाघर आएँ । आमा मरेको खबर लिएर काका आका रछन् मामाघरमा । उनले मलाई घर लेर जालान् भन्ने डरले उनको अगाडि नै नपरी भागेँ ।...काठमाडौं जाने बसमा चढेँ ।...कहाँ जाने केही था'थेन । गाडी जाँसम्म आयो त्याँ ओर्ले । मामाले १० रूप्पेँ दिनु भको थ्यो । लुकार राखेको थेँ । गाडी भाडा तिरिनँ । तेही पैसाले २ दिन त पाउरोटी किनेर खाएँ । सडकमै सुतेँ । कुकुरहरू मेरो साथी थियो । दिनभरि कताकता हिँड्थेँ । राति कुकुरहरूसँगै सुत्थेँ ।... अरू साथीहरू पनि भेटेँ । सुरुसुरुमा त मागेर खान्थ्यौं । पछि साथीहर्ले चोर्न सिकाए ।...सीताराम दूधको खोलमा साथीहर्ले के के राखेर खान सिकाए ।...बाहिर रमाइलो छ । हाम्रो ग्याङ ठमेलतिर हुन्छ ।'

उता रञ्जना र बादलको प्रेम उत्सर्गमा पुग्दै थियो । सम्पादक एलएन ‘स्वर्णपरी'को दसैं नयाँ अंकमा रञ्जनाको कभर र ब्लोअप दुवै डिजाइन गर्दै थिए । यता यिनीहरूको कथा सुन्दै जाँदा मलाई एक किसिमको हीनताबोध हुन थाल्यो । लेखक बन्ने लहडमा म कस्तो कथा लेखेर पैसा कमाउने परिबन्धमा परेँ । बालकहरूसँग गरिएका कुराहरू कापीमा टिप्थेँ र पछि कोठामा आएर कम्प्युटरमा उतार्थेँ । डेक्सटपमा ती बालकहरूको कथा उतार्दै जाँदा असहज महसुस हुन्थ्यो । यी सडक बालकहरूको कथा लेखेर के हुन्छ ? उनीहरूले त सडकबाट मुक्ति पाउनु पो महत्ववपूर्ण छ । उनीहरूले परिवारसँगै बसेर स्कुल जान कसरी पाउँलान् ? उनीहरू जस्तै अरू कति धेरै बालबालिका अझै सडकमै होलान् । काठमाडौंमा आफ्नै ठेगान नभएको बेलामा अलिक क्रान्तिकारी पाराको सोच पो आउन थाल्यो । आफ्नै कुबुद्धिले बाँकी ३० हजार उम्किने डर भो ।

दस हजारमध्येबाट कोठा भाडा तिरेर बचेको केही हजार पैसा थियो मसँग । उनीहरूसँगको संगतको नवौं दिन म फेरि पाटन पुगेँ । ती केटाहरूबाट कथा निकाल्न सजिलो थिएन । धेरै कुराकानी गरेपछि बल्ल उनीहरू आफ्नो बारेमा अलिअलि बोल्थे । किन गाउँ छोडेर काठमाडौं आए भन्ने उनीहरूलाई ठ्याक्कै कारण थाहा थिएन । मैले उनीहरूको कथामा भेट्न नसकेको चुरो कुरो यही थियो- ‘घर छोड्नुको कारण' । परिवारमा धेरै समस्या थियो । जसरी अरु धेरै नेपाली परिवारमा हुने गर्छ । तर, घर छोड्न बाध्य बनाउने मूल कुरा के थियो- मैले भेउ पाउन सकेको थिइनँ । कुनै मनोवैज्ञानिकको जस्तो विश्लेषण गरेर उनीहरूले ‘मैले यो कारणले घर छोडेँ' भन्ने स्थिति पनि थिएन ।

केहीबेरको कुराकानीपछि मैले उनीहरूलाई सहरतिर लिएर हिडेँ । आइसक्रिम खुवाएँ । खुब रमाए केटाहरू । भोलालाई खीर खुवाउने मन थियो । खीर पाउने पसल पत्तो लागेन । म निक्कै भावुक बन्दै थिएँ । मानौं म ठूलै सेवा गरिरहेको छु । उनीहरूको मर्म बुझिरहेको छु । दिमागले अर्को घन्टी हान्यो, अरे म कोही हुँ । आम मानिसहरूभन्दा फरक । जसले बालबालिकालाई बुझ्न सक्छ । मभित्र मानवताको आदर्श बर्खाको खहरे झै) उर्लिरहेको थियो । जीवनमा ठूलै काम गरेको आभास अचानक भएर आयो ।

पहिलोपटक मसँग उनीहरू झुम्मिए । मैले उनीहरूको कथामा नयाँ कुरा थप्ने र कथालाई फरक बनाउने नयाँ आइडिया फेला पारेँ । उनीहरूको रुचिको खाना, मन पर्ने हिरो हिरोइन, मन पर्ने ठाउँ, मन पर्ने गीतको टिपोट गर्न थालेँ । अर्को खुसीको कुरा के भने रामबहादुरलाई पनि रञ्जना शिवाकोटी मनपर्ने रहेछ । उसले मामासँग सिन्धुलीमा रञ्जनाको फिल्म हेरेको रहेछ । अलिक खुलेर कुरा गर्दा रामबहादुर भन्थ्यो, ‘ठमेलको भित्तामा टाँसेको रञ्जनाको पोस्टरमा मैले कत्ति पटक म्वाइँ खाको छु ।'

केटाहरूलाई त्यही पुरानो घरमा छोडेर आफ्नो डेरा मीनभवन खरिबोट फर्किएँ । हिँड्ने बेलामा मैले सबैको हातमा २०, २० रुपैयाँ थमाइदिएँ । १० औं दिन मेरो लागि निक्कै उत्साहजनक थियो । बिहानको खाना खाएर म उसरी नै खरिबोटबाट पाटनतिर लागेँ । पाटनको त्यो पुरानो घरमा पुग्दा त विवेक, झकेन्द्र पुस्तक परियोजनाकी संयोजक जापानी महिलालगायत अरू केही मानिसहरू थिए । सबै अचम्मको मुद्रामा थिए । सबैका अनुहारमा प्रश्न थिए । तर, उत्तर कोहीसँग थिएन । सबैभन्दा सानो केटो रुपेशलाई छोडेर त्यस घरबाट अरू ६ जना केटाहरू राति नै भागेछन् ।

‘चिल्ड्रन होम' चलाउने एक युवा रहेछन्- रेवती सापकोटा । उनी पनि सानो हुँदा धेरै वर्ष सडकमा बिताएका रहेछन् । ती जापानी महिला र चिल्ड्रन होम चलाउने युवा मिलेर केही दिन ती ६ जना केटाहरूलाई खोजे तर भेटेनन् । मैले बटुलेको सूचनाको आधारमा ती केटाहरूको कथा पूरा गर्ने कोसिस गरेँ । र, ती जापानी महिलालाई बुझाएँ । तर, तिनले कथा पूरा नभएको जनाउँदै बाँकी ३० हजार पैसा दिन मानिनन् । काठमाडौं थिएटरमा सुरुका दिनमा धेरै काम थिएन । लेख्ने रहर पनि मरेको थिएन । निक्कै दिनपछि ‘मुनलाइट'को कार्यालय जाँदा सम्पादक चक्रवर्ती निक्कै हवडदवडमा थिए । रञ्जना र बादलको बिहेको तयारी हुँदै रहेछ । उनी पैसाको चाँजो मिलाउन अफिसको त्यही पुरानो फोन सेटमा प्याँ टा पुँ टु प्याँ टा पारिरहेका थिए । ६ अंक । सोचेँ बिल तिर्न नसकेर अर्को महिना यो फोनको लाइन पनि काटिनेछ ।

रञ्जनाका परिवार के सोच्थे मलाई थाहा हुने कुरा भएन । तर मलाई भने आपत्ति थियो बिहेमा । एउटी प्रसिद्ध अभिनेत्री एउटा खासै नपढेको मसलदार युवासँग कसरी जीवन बिताउन सक्छे ? एकदुई पटक बादलले एलएन साहसँग कुरा गरेको सुन्दा मलाई ऊ हठी र अज्ञानी जस्तो महसुस भएको थियो । सायद मेरा पूर्वाग्रह र अन्धविश्वासहरू मभित्र सल्बलाउँदै थिए । मभित्र अर्को मूर्ख पुरुष थियो । म बादलसँग ईष्र्या गरिरहेको थिएँ । चक्रवर्तीले कम्प्युटर स्क्रिनमा देखाउँदै भने, ‘घिमिरे भाइ हेर त यसपटकको कभर राम्रो छैन त ? ' त्यसपछि उनले ब्लोअप देखाए । अचम्म ! बादल चक्रवर्ती रञ्जनासँग उत्तेजक दृश्यहरूमा कैद भएका छन् । ‘यो ब्लोअपले बादललाई पनि हिट गराउनेछ ।'

म निराश भएर डेरा फर्किएँ । खासै काम थिएन । पैसो जोगाउन डेरा छोडेर काठमाडौं थिएटरको होस्टलमा बस्न थालेँ । ती सातजना केटाहरूको कथाको फोल्डर आफ्नै याहुमेलबाट हटमेलमा पठाएर कम्युटरबाट फोल्डर डिलिट गरिदिएँ ।

पुस्तकालयको सरसफाइ गर्दा पुरानो स्वर्णपरीको दसैं अंक र ‘मुनलाइट'का केही प्रति फेला परे । एलएन साहले प्रकाशन गरेको ‘स्वर्णपरी'को दसैं अंकमा रञ्जना र बादल उत्ताउलो भएर उसरी नै मुस्कुराइरहेका थिए । अरू पत्रिकासँगै ‘स्वर्णपरी'का सबै अंक कवाडी फलाम बटुल्न आउनेलाई बेचिदिएँ । अब तिनले पुराना दिनहरू याद दिलाउने छैनन् । याहुमेलमा सर्च गरिहेरेँ । ती बालकहरूको वर्ड फाइल भेटेँ, मेरो कथा १, २, ३... नामका क्रमशः सातवटा ।

तर, डिलिट गर्ने आँट आएन । सायद छापिएको भए किताबको नाम पनि यही हुने थियो- मेरो कथा । नछापिएको यो कथा कसको भयो थाहा छैन । उसबेलादेखि अचेलसम्म हरेक साता उसरी नै साप्ताहिक पत्रिकाहरूमा अरू धेरै रञ्जना र बादलहरूको उत्तेजक तस्बिर छापिन्छन् । र, उसरी नै हजारौं युवाहरू तिनै तस्बिर हेरेर स्खलित हुन्छन् । तर, ती सातजना जस्तै धेरै बालकहरूको कथा अझै छापिन बाँकी छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1