MENU

हामी सबै किन बन्नुपर्छ नारीवादी ?

635x90

चिमामान्डा अदिची शनिवार, असार ३१, २०७४ 5263 पटक पढिएको

Share This

म बाल्यकालको एक प्रिय साथी ओकोलोमा मेडिवेसीबाट सुरु गर्छु । ऊ मेरो घरैछेउ बस्थ्यो र मलाई आफ्नी बहिनीलाई जत्तिकै माया गथ्र्यो । मलाई कुनै केटो मन परे, उसकै सल्लाह लिन्थेँ हुँला । ऊ रमाइलो र बौद्धिक थियो । विचराले सन् २००५ को डिसेम्बरमा दक्षिणी नाइजेरियामा हवाई दुर्घटनामा ज्यान गुमायो । ऊमात्रै यस्तो साथी थियो जोसँग म तर्क गर्न सक्थेँ र मनका कुरा खुलेर भन्न सक्थेँ । र, ऊ नै पहिलो व्यक्ति थियो जसले मलाई नारीवादी भनी बोलाएको थियो ।

म १४ वर्षकी थिएँ । हामी उसकै घरमा आधाअधुरो किताबी ज्ञानको आधारमा विभिन्न विषयमा अनेक तर्क गर्दै थियौं । के विषयमा तर्क गरिरहेथ्यौं, अहिले ठ्याक्कै सम्झना छैन । तर, के सम्झना छ भने मैले पटकपटक तर्क गरेको गर्‍यै गरेँ । ओकोलोमाले मलाई हेर्‍यो र भन्यो, 'तिमीलाई थाहा छ, तिमी नारीवादी हौ ।'
यो कुनै गुनासो थिएन । म उसको बोल्ने तरिकाबाट महसुस गर्न सक्थेँ उसले ठ्याक्कै त्यस्तै तरिकाले भनिरहेको थियो मानौं कसैले भनेको छ, 'तिमी आतंकवादीको समर्थक हौ ।'

मलाई त्यस बेला नारीवादीको अर्थ थाहा थिएन । मलाई थाहा नभएको उसलाई थाहा नहोस् भनेर मैले त्यो प्रसंग नै पन्छाइदिएँ । हामी फेरि तर्कवितर्क गर्न थाल्यौं । घर पुग्नासाथ मैले शब्दकोश पल्टाएर नारीवादी भन्ने शब्दको अर्थ हेरेँ ।
अब कथालाई अलि दौडाऊँ ।

सन् २००३ मा मैले एउटा उपन्यास लेखेँ, पर्पल हिबिस्कस । त्यसमा एउटा मान्छेले आफ्नी श्रीमतीमाथि हिंसा गरिरहेको हुन्छ र उसको कथा त्यति राम्ररी टुंगिँदैन । किताबको प्रमोसन गरिरहँदा एकजना पत्रकारले मलाई केही सुझाव दिन खोज्नुभयो । उहाँले मानिसहरू मेरो किताबलाई 'धेरै नारीवादी भयो भन्छन्' भन्दै सुझाव दिनुभयो, ­ 'तपाईं आफैंले आफूलाई कहिल्यै नारीवादी भन्न हुँदैन किनकि जीवनसाथी नपाएर धेरै दुखी भएकाहरू मात्र नारीवादी हुन्छन् ।'त्यसैले मैले आफूलाई नारीवादी भन्ने निधो गरेँ ।

त्यसपछि एउटी शिक्षित नाइजेरियाली महिलाले मलाई भनिन्, 'नारीवादी हाम्रो संस्कृतिमै छैन र यो अफ्रिकी पनि हैन । तपाईं आफैं आफूलाई नारीवादी भन्नुहुन्छ किनकि तपाईं पश्चिमी किताबहरूबाट भ्रष्ट हुनुभएको छ ।' उनको भनाइले मलाई आनन्दित बनायो किनकि मेरा धेरै प्रारम्भिक पढाइहरू निःसन्देह अनारीवादी थिए । मैले १६ वर्षअघि नै 'मिल्स एन्ड बुन रोमान्स' पढिसकेकी थिएँ । र, जति बेला म तथाकथित नारीवादी क्लासिक्स पढ्न खोज्छु, मलाई अल्छी लाग्न थाल्छ र किताब पढिसक्न धौधौ पर्छ ।

जे होस्, नारीवाद गैरअफ्रिकाली भएकाले मैले आफूलाई एउटी 'सुखी अफ्रिकाली नारीवादी' भन्ने निर्णय गरेँ । त्यसो भन्नुको पछाडि पनि कारण छ, एकजना साथीले मलाई बताए— नारीवादी भन्नुको अर्थ पुरुषविरोधी हो । अनि मैले आफैंलाई 'सुखी अफ्रिकाली नारीवादी' भन्न थालेँ जसको अर्थ हुन्थ्यो, त्यस्तो नारीवादी जसले पुरुषलाई घृणा गर्दिन, लिप ग्लोस लगाउन मन पराउँछे र कुनै पुरुषका लागि नभई आफ्नै लागि हाई हिल लगाउँछे ।

अब म तपाईंहरूलाई मेरो बाल्यकालमा घटेको एउटा घटना सुनाउँछु । म प्राथमिक विद्यालयमा हुँदा मेरी शिक्षिकाले शैक्षिक सत्रको सुरुमै भन्नुभयो, 'म यस कक्षामा एउटा परीक्षा लिन्छु र सो परीक्षामा जसले सबैभन्दा धेरै अंक ल्याउने कक्षाको मनिटर हुन्छ ।' त्यस बेला कक्षाको मनिटर हुनु भनेको ठूलै कुरा हुन्थ्यो । मनिटर निकै शक्तिशाली हुन्थ्यो । उसले कक्षामा हल्ला गर्नेहरूको नाम टिप्न पाउँथ्यो । अझ कक्षामा हल्ला गर्नेलाई तर्साउनका लागि शिक्षिकाले मनिटरलाई लट्ठी पनि दिन्थिन् ।

मनिटर बन्न पाउने कल्पना गर्दा पनि मेरो नौवर्षे मन रोमाञ्चित हुन्थ्यो । आखिरीमा परीक्षामा मैले नै सबैभन्दा धेरै अंक ल्याएँ । तर, आश्चर्य ! मेरी शिक्षिकाले कक्षा मनिटर केटामात्र हुनुपर्छ भनिन् । उनले यो सर्त पहिले नै भन्न बिर्सेकी रहिछन् किनकि उनलाई कुनै केटीले सबभन्दा बढी अंक ल्याउनसक्छे भन्ने लागेकै रहेनछ । त्यसैले दोस्रो हुने केटा भएकैले मनिटर भयो । अझ रमाइलो त के भने, त्यो केटा साथी एकदमै भलाद्मी खालको थियो । उसलाई लट्ठी बोकेर हप्काउँदै हिँड्न पटक्कै मन पर्दैनथ्यो । मेरो स्वभाव भने ठ्याक्कै उसको विपरीत थियो । तर म महिला थिएँ र ऊ पुरुष । त्यसैले कक्षाको मनिटर उही नै भयो । मैले यो घटना कहिल्यै बिर्सन सकिनँ ।

म प्रायःजसो मलाई ठीक लागेको अरू सबैलाई पनि त्यत्तिकै ठीक लाग्छ भन्ठान्ने गल्ती गर्छु । उदाहरणका लागि मेरो अर्को प्रिय साथी लुईको चर्चा गरौं । लुई मलाई भन्ने गथ्र्यो, 'मलाई थाहा छैन किन तिमी महिला हुनु पुरुष हुनुभन्दा धेरै फरक र गाह्रो हो भन्ने गर्छौ । त्यस्तो पहिलेको जमानामा हुन्थ्यो होला, तर अहिले त हुँदैन नि ।' मैले भनेँ कहिल्यै बुझ्न सकिनँ, छर्लंग र स्पष्ट पनि लुई किन देख्दैन ?

नाइजेरिया आएको बेला एक साँझ लुई र म रमाइलो गर्न साथीहरूसँग लेगोस गएका थियौं । लेगोसमा हामीलाई पार्किङ गर्ने स्थान मिलाइदिने मानिसलाई मैले टिप्सस्वरूप आफ्नो पर्सबाट आफूले कमाएर राखेको पैसा झिकेँ र उसलाई दिएँ । प्रसन्न भएको त्यो मानिसले लुईतिर हेर्‍यो र भन्यो ­, 'धन्यवाद सर !' उसको यो हर्कतले लुई अचम्ममा पर्‍यो र मलाई सोध्यो ­, 'उसले मलाई किन धन्यवाद भनेको ? मैले त उसलाई पैसै दिएको छैन ।' त्यसपछि मात्र लुईले मेरो भनाइ बुझ्यो । त्यो पैसा लिने व्यक्तिले मसँग भएको पैसा लुईबाटै आएको हो भन्ने सोचेर नै उसलाई धन्यवाद दिएको थियो किनकि म महिला थिएँ र लुई पुरुष ।

हामीले जहिले पनि एउटा तथ्य बुझ्नैपर्छ— महिला पुरुषभन्दा फरक हुन्छन् । हाम्रा हर्मोनहरू छुट्टै हुन्छन् । हाम्रा प्रजनन अंगहरू बेग्लै हुन्छन् । हाम्रो जैविक क्षमता नै बेग्लै हुन्छ । पुरुषहरूमा टेस्टोस्टेरोन हर्मोन हुन्छ जसले गर्दा उनीहरू सामान्यतः शारीरिक रूपले महिलाभन्दा बलिया हुन्छन् । विश्वमा महिलाको संख्या पुरुषको भन्दा अलिकति बढी छ तर धेरैजसो शक्तिशाली र प्रतिष्ठाका पदमा पुरुषकै बाहुल्य छ । केन्याली नोबल शान्ति पुरस्कार विजेता वंगारी माथाईले भन्नुभएको थियो ­, 'हामी जति माथि उक्लिन्छौं, त्यति नै महिलाको बाहुल्य कम पाइन्छ ।'

त्यसैले भन्न सकिन्छ, पुरुषहरूले विश्वमै शासन गर्छन् । यो तथ्य हजार वर्ष पहिलेको समयसँग जोडिन्छ । त्यति बेला मानिसलाई बाँच्नका लागि शारीरिक शक्ति महत्वपूर्ण थियो । शारीरिक बल नेतृत्वको सबैभन्दा ठूलो आधार थियो । तर, आज हामी धेरै फरक समयमा छौं । नेतृत्वको आधार शारीरिक क्षमता नभएर, सिर्जनात्मक शक्ति, बुद्धिमानी र प्रगतिशीलतामा अडिएको छ । यी गुण आर्जन गर्नका लागि कुनै पनि हर्मोनको आवश्यकता पर्दैन । एउटा पुरुष महिलाजत्तिकै सिर्जनशील, बुद्धिमान र प्रगतिशील हुनसक्छ । विडम्बना ! हामी विकसित त भयौं तर हाम्रो लैंगिक चेत उस्तै अविकसित छ ।

केही हप्ताअगाडि म एउटा नाइजेरियली होटलमा प्रवेश गर्दै थिएँ । त्यहाँको गार्डले मलाई एकदमै रिस उठ्ने किसिमका प्रश्नहरू सोधिरहेको थियो । किनभने उनीहरूमा एउटा धारणा छ- एउटी एक्ली नाइजेरियाली केटी होटलभित्र छिर्न खोज्दैछे भने त्यो यौनकर्मी हो ।

नाइजेरियाको सबैभन्दा ठूलो सहर लेगोसमा पनि म प्रतिष्ठित बार र क्लबहरूमा एक्लै जान सक्तिनँ । उनीहरूले एक्ली केटीलाई छिर्नै दिँदैनन् । भित्र पस्नै पर्‍यो भने कोही केटा साथमा हुनैपर्छ । हरेकपटक कुनै लोग्नेमान्छेसँग नाइजेरियाली रेस्टुरेन्ट छिर्दा त्यहाँको वेटरले केटा मान्छेलाई सम्बोधन गर्छ र मलाई उपेक्षा गर्छ । ती वेटरहरू हाम्रै समाजका उत्पादन न हुन् जसलाई केटामान्छेहरू केटीमान्छेहरूभन्दा धेरै महत्वपूर्ण हुन्छन् भनी सिकाइएको हुन्छ । हरेकपटक उपेक्षित हुँदा मलाई आफू अदृश्य पो छु कि भन्ने लाग्छ । म चिन्तित हुन्छु ।

म उनीहरूलाई भन्न चाहन्छु, म पनि पुरुषजत्तिकै मानिस हुँ, मलाई पनि उनीहरूजत्तिकै स्वीकारिनुपर्छ । हुन त यी ससाना प्रसंग हुन् तर कहिलेकाहीँ यिनै साना प्रसंगले साह्रै चित्त दुख्छ । म क्रुद्ध छु । हामी सबै क्रुद्ध हुन जरुरी छ । किनभने क्रोधले नै धेरै सकारात्मक परिवर्तन ल्याएको इतिहास छ । साथै म आशावादी पनि छु किनभने उन्नतिका लागि एउटा मनुष्यले आफूलाई निर्माण र पुनर्निर्माण गर्ने क्षमता राख्छ भन्ने विश्वास राख्छु ।

लैंगिक भिन्नता संसारभरि व्याप्त छ । तर म नाइजेरिया र विशेषतः अफ्रिकामै केन्द्रित हुन चाहन्छु । किनकि म यहीँ ठाउँमा जोडिएकी छु, यही ठाउँमा मेरो हृदय छ । आज म सबैलाई हामी एउटा फरक दुनियाँको कल्पना गरौं र त्यसको निर्माणमा लागौं भन्न चाहन्छु । खुसी महिला र खुसी पुरुषहरूको दुनियाँ । यसको सुरुआत हामीले यसरी गर्नुपर्छ ः हामीले हाम्रा छोराहरूलाई भिन्न किसिमले हुर्काउनुपर्छ । हामीले छोराहरूलाई हुर्काउँदा अनावश्यक व्यवहार गर्छौं । उनीहरूमा भएको मानवताको घाँटी न्याँकिदिन्छौं । पुरुषत्वलाई एकदमै साँघुरो तरिकाले व्याख्या गर्छौं । पुरुषत्वको एउटा साँघुरो पिँजरा बनाउछौं र केटाहरूलाई त्यही पिँजराभित्र हालिदिन्छौं । हामी उनीहरूलाई डरदेखि परै रहन सिकाउँछौं । उनीहरूलाई कमजोरीसँग, संवेदनशीलतासँग परै रहन सिकाउँछौं । किनकि केटाहरू कठोर मान्छे वा हार्ड म्यान हुनुपर्छ ।

किशोरकिशोरीको प्रेम जोडी डेटिङ जाँदा हामी ठान्छौं, पैसा जहिले पनि केटाले नै तिर्नुपर्छ, जबकि दुवैजनाको गोजीखर्च उत्तिकै हुन्छ । अनि छक्क पर्छौ, किन केटाहरूले आफ्ना आमाबाबुबाट धेरै पैसा चोरिरहेका छन् भनेर । केटा र केटीलाई पुरुषत्व र पैसासँग नजोडीकन हुर्काइयो भने के बिग्रन्छ ? जोसँग पैसा छ उसैले तिर्ने त हो नि । तर, अहिलेको समाजमा यही ऐतिहासिक लाभकै कारण पुरुषसँगै बढी पैसा हुन्छ । हामीले हाम्रा बच्चाहरूलाई फरक तरिकाले हुर्काउन थाल्यौं भने आउने पचास वा सय वर्षभित्रमा केटा मान्छेलाई आफ्नो पुरुषत्व सिद्ध गर्न कुनै पनि दबाब पर्नेछैन । हामी छोराहरूलाई सबैभन्दा बढी अन्याय के गर्छौं भने उनीहरूलाई उनीहरूको फ्रेजाइल इगो (कमजोर अहं)सँग छाडिदिन्छौं । जति धेरै कठोर मानिस बन्न उनीहरू बाध्य हुन्छन्, उनीहरूको अहं त्यति नै कमजोर हुन्छ ।

यो भन्दा पनि गलत तरिकाले हामी छोरीहरूलाई हुर्काउछौं । उनीहरूलाई केटाहरूको अहंको सम्बोधन गर्न सिकाउँछौ । छोरीहरूलाई आफैंले आफूलाई होच्याउन सिकाउँछौं, सानो बन्न सिकाउँछौं । हामी उनीहरूलाई महत्वाकांक्षा त राख तर धेरै नराख भन्छौं । सिकाउँछौं सफल हुने उद्देश्य राख, तर धेरै सफल हुने होइन किनकि यसले पुरुषहरूलाई चुनौती दिन्छ । परिवारको कमाउने मानिस तिमी नै हो भने पनि समाजको अगाडि त्यस्तो नदेखाऊ । तिमी नै कमाउने मानिस हो भन्दा तिम्रो लोग्ने कमजोर हुन्छ ।
आखिर किन एक महिलाको सफलता पुरुषका लागि चुनौती बन्छ ?

मेरा एकजना नाइजेरियाली साथीले मलाई सोधेका थिए, ­ 'तिमीलाई आफूदेखि केटा मान्छेहरू डराउँछन् कि भनेर चिन्ता लाग्दैन ? ' मैले भनेकी थिएँ, ­ 'लाग्दैन, किनभने मसँग डराउने केटाहरूप्रति मलाई पटक्कै रुचि छैन ।'

यो प्रसंगले आज पनि मलाई घोचिरहन्छ । म महिला हँ । महिला भएकै कारण ममा विवाहको चाहना र रहर उत्पन्न हुन्छ भन्ने अपेक्षा गरिन्छ । मैले विवाहलाई पहिलो प्राथमिकता दिएर जीवनका हरेक निर्णय गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । विवाह एक हिसाबले राम्रो पनि हुनसक्छ तर हामी किन केटाहरूलाई छाडेर केटीहरूलाई मात्र विवाह गर्ने चाहना बनाउनुपर्छ भन्ने सिकाउँछौं ?

थुप्रै यस्ता महिलालाई चिन्छु जसको हुनेवाला लोग्नेले उनीबाट चुनौती नभोगोस् भनेर आफ्नो घरै बेचेका थिए । कति महिला त अविवाहित हुँदाहुँदै पनि इज्जत पाउनका लागि सभाहलहरूमा बिहेको औंठी लगाएर जान्छन् । कति दुःखलाग्दो जाबो एउटा औंठीले एक महिलालाई सम्मानित बनाइदिन्छ । कति महिला घर, परिवार र साथीभाइबाट विवाहको दबाब भोगिरहेका छन् ।

हाम्रो समाजमा उमेरदार केटी अविवाहित छ भने गम्भीर असफलताका रूपमा हेरिन्छ । तर, कुनै केटा त्यस्तै गरी अविवाहित छ भने उसले विवाह गर्न अहिलेसम्म कसैलाई मन पराएको रहेनछ भन्ने बुझिन्छ । 'ए, केटीले पनि विवाह गर्नैपर्छ भन्ने त छैन नि, उनीहरूले पनि त नाइँ भन्न सक्छन् नि ।' यस्तो भन्न एकदम सजिलो छ, तर वास्तविकता भने निकै फरक र जटिल छ । हामी सबै सामाजिक प्राणी हौं । सामाजिक जीवनबाटै हामी विचार वा धारणाहरू निर्माण गर्छौं । विवाह र सम्बन्धबारे हामीले बोल्ने भाषाले यो तथ्य स्पष्ट पार्छ । हाम्रो विवाहको भाषा साझेदारीको साटो स्वामित्वको भाषा बनेको छ । हाम्रो विवाहको अर्थमा महिलाले पुरुषलाई गर्ने सम्मान आउँछ । भाषामा 'सम्मान' भन्ने शब्दको प्रयोग गर्छौं, जसले महिलाले पुरुषलाई गर्ने सम्मान जनाउँछ, तर त्यसको अर्थ पुरुषले महिलालाई गर्ने सम्मान कहिल्यै पनि हुँदैन ।

हामी छोराको गर्लफ्रेन्ड थाहा पाउँदा केही आपत्ति जनाउदैनौं । तर, छोरीको ब्वाइफ्रेन्ड ! राम ! राम ! अनि समय आएपछि हामी त्यही छोरीले एउटा पर्फेक्ट पाओस् भन्ने कामना गर्छौं ।
हालसालै नाइजेरियाको विश्वविद्यालयमा एउटी युवती सामूहिक रूपमा बलात्कृत भएकी थिइन् । त्यसमा धेरै नाइजेरियाली युवकयुवतीको प्रतिक्रिया यस्तो थियो ­, 'हो, बलात्कार ठीक होइन । तर, चारजना केटा भएको कोठामा एक्ली केटी के गरिरहेकी थिई ? ' हामीले एकैछिनका लागि यस प्रतिविक्रयाको घोर अमानुषिकतालाई बिर्सिएर हेर्‍यौं भने यी नाइजेरियालीहरूले सानैदेखि महिलाहरू आन्तरिक रूपमै दोषी हुन्छन् भन्ने सिकेका छन् । पुरुषबाट केही आशा गर्नु हुँदैन भन्ने सिकेकै आधारमा उनीहरूको मानसिकतामा पुरुषहरू नियन्त्रण नभएका जंगली प्राणीहरू हुन् भन्ने तथ्य स्वीकार गर्न उनीहरूलाई गाह्रो पर्दैन । हामी केटीहरूलाई लज्जित हुन सिकाउँछौं ­ खुट्टा जोडेर राख, आफूलाई छोप । हामी उनीहरूलाई महिला भएर जन्मिनु नै दोष हो भन्ने विश्वास दिलाउँछौं । त्यही भएर त केटीहरू पछि त्यस्ता महिलामा परिवर्तित हुन्छन् जसका कुनै इच्छाहरू नै बाँकी रहँदैनन् जो मौन हुन्छन् र मनमा लागेको भन्न सक्दैनन् ।

म एउटी महिलालाई चिन्छु जसलाई घरेलु काम गर्न पटक्कै मन लाग्दैनथ्यो । उनी भने आफूलाई घरको काम गर्न मन पर्छ भन्ने देखाउँथिन्, किनभने उनलाई सानैदेखि एउटी सुशील, राम्री श्रीमती हुनका लागि घरेलु हुन आवश्यक छ भन्ने सिकाइएको थियो । जब उनको विवाह भयो, उनका श्रीमान् र परिवारले असन्तुष्टि व्यक्त गर्न थाले ­ उनी परिवर्तित भइन् भनेर । वास्तवमा उनी आफू जे थिइनन्, त्यो देखाउँदा देखाउँदा थाकिसकेकी थिइन् । लैंगिक भिन्नताको समस्या नै के हो भने त्यसले हामी कस्ता छौं भनेर पहिचान गर्नुको साटो, हामी कस्तो हुनुपर्छ भनेर आदेश दिन्छ ।

यसो सोचौं त हामीसँग लैंगिक अपेक्षाहरूको भार नभएको भए हामी कति खुसी हुन्थ्यौं होला । म मेरी हजुरआमालाई हेरेर सोच्ने गर्थेँँ, उहाँले पनि त्यो जमानामा पुरुषको जत्तिकै अवसर पाउनुभएको भए कस्तो हुन्थ्यो होला ? नीति, नियम र कानुनमा आएका परिवर्तनले गर्दा अहिलेका महिलाका लागि धेरै अवसर छन् जुन मेरी हजुरआमाका पालामा थिएनन् । यी धेरै आवश्यक छन्, तर योभन्दा पनि बढी आवश्यक हाम्रो सोच्ने प्रवृत्ति र पूर्वाग्रहमा परिवर्तन हो ।

आफ्ना छोराछोरीलाई पालनपोषण गर्दा, आफ्नो संस्कार दिँदा, हुर्काउँदा, हामीले लिंगको साटो क्षमता र बुद्धिमत्तालाई ध्यान दिएको भए के हुन्थ्यो होला ? मलाई एउटा यस्तो परिवार थाहा छ, जहाँ दुवै छोरा र छोरी छन् । दुवैजना धेरै मेहनती पनि छन् । तर जब छोरालाई भोक लाग्छ, उनीहरूका बाबुआमाले छोरीलाई बोलाएर दाजुका लागि खाजा बनाउन अह्राउँछन् । छोरीलाई खाजा बनाउन रमाइलो लाग्दैन, मन लाग्दैन तर पनि उसले बनाउनुपर्छ किनकि ऊ केटी हो । यी बाबुआमाले दुवैलाई खाजा बनाउन सिकाएको भए?

अर्की एउटी यस्ती महिला छिन् जसले आफ्नो श्रीमान् जत्तिकै अध्ययन गरेकी छन् । दुवैको समान तहको जागिर छ । तर, जब यी दुईजना घरभित्र छिर्छन्, धेरैजसो घरेलु काम श्रीमतीले गर्ने गर्छिन्, जुन मलाई लाग्छ धेरैजसो सम्बन्धमा हुन्छ । जबजब उनका श्रीमान्ले उनीहरूको बच्चाको डायपर फेर्छन्, उनी लोग्नेलाई धन्यवाद दिन्छिन् । यसलाई उनले सामान्य मानेको भए के हुन्थ्यो ? किनभने आफ्नो बच्चाको हेरचाह गर्ने कर्तव्य त बाबुको पनि हो नि ।

म अहिले बाल्यकालमा मलाई थोपरिएका लैंगिक धारणा बिर्सन खोज्दैछु । तर, अझै पनि लैंगिक अपेक्षासामु आफूलाई कमजोर अनुभव गर्छु । कुनै समय विश्वविद्यालयमा पढाउँदा मलाई निकै चिन्ता हुने गथ्र्यो । पढाउने विषयमा मलाई कहिल्यै चिन्ता हुँदैनथ्यो किनकि म निकै तयारी गरेर पढाउन जान्थेँ । तर, कुन लुगा लगाउने भन्ने चिन्ताले मलाई व्याकुल पाथ्र्र्योे किनकि म चाहन्थेँ, मलाई गम्भीरताका साथ लिइयोस् । मलाई थाहा थियो, एउटी महिला भएकै कारण मैले आफूलाई सक्षम प्रमाणित गर्नुपथ्र्यो । सचेत पनि थिएँ, म धेरै नारीसुलभ देखिएँ भने मलाई गम्भीरताका साथ लिइनेछैन । मलाई एकदमै चम्किलो लिपस्टिक र 'गर्ली' जामा लगाउन मन थियो तर मैले नलगाउने निर्णय लिएर त्यसको साटो धेरै पुरुषोचित र धेरै नराम्रो नदेखिने गरी सुट लगाएँ ।

यहाँ चलिआएको चलन नै यस्तै छ, कुनै केटा बैठकका लागि जान तयार हुँदैछ भने उसले आज के लगाउने, सुट लगाएँ भनेँ असली पुरुषजस्तो देखिन्छु कि नाहिँ भनेर सोच्नै पर्दैन । जबकि कुनै महिला बैठकका लागि तयार हुँदैछिन् भने उनले धेरैपल्ट सोच्नुपर्ने हुन्छ, यो लुगा लगाएँ भने सच्चरित्रवान् नारीजस्तो देखिन्छु कि देखिन्नँ । त्यति बेला मसँग अहिलेजस्तो आत्मविश्वास भएको भए म आफ्नै प्रतिरूप बनेर जान्थेँ, जसले विद्यार्थीमा मेरो शिक्षणको प्रभाव पनि धेरै पथ्र्यो होला ।

संस्कृतिले मानिस बनाउँदैन । मानिसले संस्कृति निर्माण गर्छ । म आफ्नो साथी ओकोलोमालाई धेरै सम्झिन्छु । उसलाई जसजसले माया गर्थे, उनीहरू सबैले उसलाई सम्झिरहने छन् । त्यो दिन उसले सही भनेको थियो जब मलाई नारीवादी भनेको थियो । हो, म नारीवादी हुँ।
वर्षौंअघि, त्यो दिन जब मैले नारीवादी शब्दको अर्थ शब्दकोशमा हेरेको थिए, त्यहाँ यस्तो लेखएको थियो, 'नारीवादी ः त्यस्तो मानिस जसले सबै लिंगको सामाजिक, राजनीतिक र आर्थिक समानतामा विश्वास राख्छ ।'

मैले सुनेका कथाअनुसार, मेरी हजुरआमा पनि नारीवादी हुनुहुन्थ्यो । उहाँले आफूलाई विवाह गर्न मन नपरेको केटाको घरबाट भागेर आफूलाई मन परेको केटासँग विवाह गर्नुभयो । आफू महिला भएकै कारण जग्गा र पहुँचबाट वञ्चित गरिएको महसुस भएपछि उहाँले त्यसको विरोध गर्नुभयो । जब कि उहाँलाई 'नारीवादी' भन्ने शब्द नै थाहा थिएन । यसको अर्थ उहाँ नारीवादी हुनुहुन्न थियो भन्ने होइन । हामी धेरैले त्यो शब्दलाई दाबी गर्नुपर्छ । मलाई थाहा भएको सबैभन्दा प्रखर नारीवादी मेरै भाइ केने हो; जो एकदमै विनम्र, सुन्दर र पुरुषत्वयुक्त युवा हो ।

मेरो बुझाइमा त नारीवादीको सरल परिभाषा छ— यस्ता मानिस जसले लैंगिक विभेद छ भन्ने स्वीकार गर्छन् र त्यो विभेद हटाउनुपर्छ भन्ठान्छन् ।
(चर्चित नाइजेरियाली लेखक अदिचीले सन् २०१२ को डिसेम्बरमा 'टेड टक'मा गरेको कुराकानीको सम्पादित अनुवाद । काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस्मा अध्ययनरत नेहा शर्माले यसको अनुवाद गरेकी हुन् ।)

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1