MENU

बाफ रे... !

635x90_1

गोपीकृष्ण ढुंगाना आइतवार, साउन १, २०७४ 5627 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

त्यो रात आँखा झिमिक्क हुनै सकेनन् । घरि यता घरि उता ओल्टोकोल्टो फेरिरहेँ । घरपरिवारलाई त बल्लबल्ल मनाउन सकेँ । समाजलाई मनाउने काम कसरी सम्भव छ ? आफैंसँग उत्तर खोजिरहेँ । यसै त कुरा काट्नेहरूको कमी छैन गाउँमा, झन् मैले त्यसो गरेँ भने त ? दिउँसोको भेलामा भन्नेहरूको कुरो सुन्दा एकदमै सही लागेको विषयलाई अब म समाज सम्झेर कसरी गलत भनुँ ?

आमाहरूको त कुरै भएन । दिदीहरूले पनि नगरेको कुरो मबाट ? म आफैंभित्रको उत्तर खोज्छु । जहाँ प्रश्नैप्रश्नको भँमरी छ त्यहाँ मैले उत्तर कसरी पाउनु ?
भेलामा एकजना सरले भन्नुभएको थियो, ‘मौका आउँछ पर्खंदैन, बगेको खोलो फर्कंदैन ।' टेलिभिजनमा फेसन शो गर्दा हुने, सहरमा त्यस्ता लुगा लाएर बजारभरि घुम्न हुने तर मैले जाबो त्यत्ति गर्न नहुने ?

भाले बास्यो, ‘कुखुरी काँ... !' गाउँभरिका अरू भालेहरूले त्यो भालेलाई साथ दिए, ‘कुखुरी काँ...!' अहा ! मलाई पनि समाजका धेरैले यसैगरी ‘तेरो काम ठीक छ अघि बढ्' भनेर साथ दिए... । मनमनै धेरै खुसी हुन्छु म । ‘तँ चिता म पुर्‍याउँछु' भन्दै हजुरआमाले मावल गएको बेला भन्नुभएको थियो । हो, मैले चिताएको छु, अब त्यसै गर्नुपर्छ । नत्र त म सधैं घरमै कोचिने भएँ । धेरै भए स्कुल पुग्छु । यतिमात्र त संसार होइन नि ? प्रश्न तेस्र्याउँछु ।

भेलामा भनेका कुरा सुन्दा त संसार कहाँबाट कहाँ पुगिसक्यो, म भने कुवाकै भ्यागुत्तो ! मैले केटाहरूले मात्र फुटबल खेलेको देखेकी थिएँ । एक्कासि हिजो भेलामा फुटबल खेल्ने कुरा त सपनाजस्तै लागेको थियो । फुटबल ! त्यो पनि खुला चउरमा ? खुला चउरमा त फुटबल खेल हेर्नेहरूको भीड नै लाग्छ । चउरवरिपरि भएका मान्छे नै मान्छेसामु टिसर्ट र कट्टु लगाएर म...! ? बाफ रे...! मैले आजसम्म घर, परिवार र समाजको मर्यादा नाघेकै छैन । कुर्ता, सुरुवाल र सलले अनुहार र पैतालाबाहेक सबै ढाक्थ्यो ।

ममात्रै होइन, गाउँका अरू केटी साथीमा पनि यो हिम्मत मैले देखेकी छैन । हैन, आज हामी सबै टिसर्ट र कट्टुमा ? त्यो पनि एक÷एक घन्टा खुला चउरमा ? हे भगवान्... । ‘रिंकु, ए रिंकु..., आजदेखि फुटबल खेल्न जाने भनेको होइन ? खै कहाँ छे यो ? उठेकै पो छैन कि कसो ? लौन ढिलो भो है । छिटो तयार हो', आमाले भान्छाकोठाबाटै कराउनुभयो । ममा अचानक ठूलो साहस भरियो । हो, म चिताउँछु, भगवान्... पुर्‍याऊ है ।
लगाइरहेका लुगा हत्तपत्त फुकालेँ । संस्थाले दिएको टिसर्ट र कट्टु लगाएँ । फटाफट तल ओर्लिएँ । भान्छाकोठातिर हेर्ने आँट भएन, आमाले देख्नुहोला भनेर । आमाले सुन्ने गरी भनेँ, ‘आमा, म गएँ है ।'

‘खै हेरुँ मेरी छोरी कस्ती भै छ', आमाले जिज्ञासा देखाउनुभयो, ‘चिया पिउँछे भनेर ठिक्क पारेको त... ।' ‘खान्नँ, म त गइसकें...', छोटा लुगामा आमाको अगाडि पर्न मलाई शरम भएर बाटोमा पुगिसकेकी थिएँ । ‘होइन त्यो केटी को रै'छे', छिमेकी हजुरआमा बुहारीसँग सोध्दै हुनुहुन्थ्यो, तर म सुनेको नसुन्यै भएर हिँडिरहेँ । सबै छिमेकीले मैतिर हेरेको र कुरा काटेको जस्तो लाग्यो । मैले नौ वर्षसम्म धेरै परीक्षा दिएँ, तर आजको परीक्षामा पास गर्न धौ-धौ भइरहेको थियो मलाई।

सबैले मतिर हेरेको जस्तो लाग्यो । अब त म कतै हेर्दिनँ भन्दै खुइँखुइँ बाटो तताएँ । चउर पुगेँ, केटीहरू त अघि आइसकेछन् । सबैलाई त्यस्तै भएछ बाटोभरि । हिजो भेलामा सिकाउने नयाँ सरहरू, म्यामहरू सबैले फुटबल खेल्ने वातावरण बनाइसक्नुभएको रहेछ । हामी भने एकअर्काको मुख हेर्दै हाँस्न थाल्यौं ।

सिठी बज्यो । गोल (फुटबल) मैदानमा यताउता गर्न थाल्यो । म पनि गोलकै वरिपरि उताउता दौडिरहेँ । थाहै नपाई झन्डै एक घन्टा चउरवरिपरिका त्यत्रा मान्छे बिर्सेर खेलेछौं ।मेरो शरीर त चंगाजस्तै हलुका भएको महसुस भयो । घर पुगी खाएर स्कुल हिँडिहालेँ । साँझ खुट्टा दुखेको र थाकेको महसुस भयो ।
आमाले खुट्टा मिचिदिँदै भन्नुभयो, ‘चिन्ता नगर, दिनैपिच्छे खेल्न थालेपछि सबै ठीक हुन्छ । अनि छिमेकीले केही भनेनन् आमा ? ' ‘समाज र दुनियाँले के भन्छ, त्यसको पछि नलाग छोरी, राम्रो काम गर्दै जा ।'

मलाई पनि लाग्यो, क्लब, संस्था, भेला एकतामा शक्ति हुँदो रहेछ । आमाले भनेर के गर्नु ? स्कुल पुग्दा केटा साथीले जिस्काउन थाले । गाउँतिर हिँड्दा छिमेकीले पनि जिस्काउन थाले । तर जे भए पनि उनीहरूका अगाडि लाज लागेको कहीँकतै देखाइनँ ।आफूविरुद्धका कुरालाई सुनेँ, तर सामान्य ठानेर अर्को कानबाट उडाइदिएँ । ‘आमा, बुबा... फुटबलमा म जिल्ला टप भएँ ।'

‘हँ, के रे फेरि ? फुटबलमा जिल्ला फस्ट ? ', बुवा, आमा दुवै खुसी हुँदै दौडिँदै आएर मलाई अँगालो हाल्नु भो । रात पर्न लागेको थियो, तर मेरो मन बिहानको उज्यालोजस्तै भइरहेको थियो ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1