MENU

कुहिन थाल्यो अदुवा

635x90_1

कृष्ण सारुमगर सोमवार, साउन २, २०७४ 2170 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

 हेटौंडा : निकासी रोकिएपछि अदुवा गोदाममै कुहिन थालेको छ । भारतले तत्काल लागू गर्न लागेको नयाँ नीतिको कारण देखाउँदै भारतीय व्यापारीले दुई सातादेखि अदुवा खरिद नगरेको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोपाल गौतमले बताउनुभयो ।

उहाँका अनुसार मकवानपुरका अदुवा व्यवसायीले किसानसँग खरिद गरेको करिब तीन टन अदुवा गोदाममै थन्किएको छ । ‘दुई हप्तादेखि अदुवा निकासी रोकिएसँगै हेटौंडामा करोडौं मूल्यको अदुवा थन्किएको छ', संघका अध्यक्ष गौतमले भन्नुभयो, ‘जसले किसान र व्यापारीलाई प्रत्यक्ष असर गरेको छ ।'
मकवानपुरमा वार्षिक करिब पाँचदेखि सात हजार मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । उत्पादित अदुवा करिब पाँच प्रतिशतमात्र स्वदेशमा खपत हुन्छ । बाँकी भारत नै निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।

भारत निकासी भएको चीनको अदुवामा विषादी भेटिएको भन्दै नेपाली अदुवा पनि भारत निकासीमा रोक लगाइएको हो । नेपाल सरकारले अदुवालाई निकासीजन्य कृषि बालिमा पहिलो नम्बरमा राखे पनि अदुवा निकासीका लागि सकारात्मक भूमिका निर्वाह नगरेको अदुवा व्यापारी अर्जुनप्रसाद लम्सालले गुनासो गर्नुभयो । ‘अदुवा स्टोर गर्ने ठाउँसमेत छैन, कतिपय किसानको अदुवा बारीमै कुहिने अवस्था छ', उहाँले भन्नुभयो ।

भारत निकासी भएको चीनको अदुवामा विषादी भेटिएको भन्दै नेपाली अदुवा पनि भारत निकासीमा रोक लगाइएको हो ।

अदुवा उत्पादन तथा व्यवसायी संघका अनुसार अदुवा उत्पादनको हिसाबले मकवानपुर देशमै पाँचौ स्थानमा पर्छ । संघका अध्यक्ष गौतमका अनुसार नेपाली अदुवाको मूल्य निर्धारण दिल्लीस्थित बजारले गर्ने गरेको छ । मकवानपुरको शिखरपुर, ठिंगन, नामटार, सुकौरा, बूढीचौर, गढी, आमभञ्ज्याङ, मनहरी, पदमपोखरी, हटिया, हर्नामाडी, चुरियामाई र वेतिनीमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ ।

गत वर्ष ६० देखि ८० रुपैयाँसम्म अदुवा खरिद बिक्री भएकोमा हाल २० देखि ३० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको अदुवा व्यापारी रामहरि विकले बताउनुभयो । ‘भारत निकासी नभएका कारण अहिले अदुवाको मूल्यमा एकरुपता छैन', उहाँले भन्नुभयो । जिल्लामा करिब तीन हजार किसानले अदुवा खेती गर्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

अदुवा उत्पादन तथा व्यवसायी संघका अनुसार जिल्लामा करिब दुई सय ५० व्यापारी र दस जना भारत अदुवा निकासीमा संलग्न छन् । बिउ राख्दादेखि बिक्री गर्दासम्म यहाँका किसान समस्यामा पर्ने गरेका छन् । यहाँका किसानले लामो समयदेखि सरकारसँग राम्रो बिउको माग गर्दै आएको भए पनि उपलब्ध नहुँदा रैथाने बिउको भर परिरहेको उहाँले बताउनुभयो ।

मकवानपुरमा अदुवा प्रशोधन उद्योग खुल्ने

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा हेटौंडामा अदुवा तथा कृषिउपज प्रशोधन उद्योग सञ्चालन हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत मकवानपुरलाई अदुवा उत्पादनमा आत्मनिर्भर बनाउन उद्योग सञ्चालनमा आउन लागेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो । सरकारको समेत अनुदान गरी करिब पाँच करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७४/७५ भित्र संघको अगुवाईमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउने उहाँले बताउनुभयो । संघको पहलमा मकवानपुरको उत्तरी क्षेत्रमा एक गाउँ एक उत्पादनअन्तर्गत किवी उत्पादन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1