MENU

ग्लोबल टिचरको सकियो विद्यालयको पढाइ

635x90_1

नितु घले बुधवार, साउन ४, २०७४ 7018 पटक पढिएको

Share This

635-X-85

जुलाई ७ का दिन नोबल पुरस्कार विजेता पाकिस्तानी किशोरी मलाला युसुफको विद्यालयमा अन्तिम दिन थियो। विद्यालय सकिए पनि अझै धेरै सिक्ने चाहना छ उनमा। त्यसैगरी भविष्यप्रति पनि धेरै नै उत्साहित भएको उनले आफ्नो ब्लगमा जनाएकी छिन्। संसारभरका हजारौं बालिकाको शिक्षामा सघाउने मलालाले जबसम्म प्रत्येक बालिकाले विद्यालयको पोसाक लगाएर निर्धक्क भएर विद्यालय जान सक्दैनन् तबसम्म उनीहरूको शिक्षाको लागि लडिरहने प्रण उनले गरेकी छिन्।

शिक्षाप्रति उनको धेरै गहिरो लगाव छ। सन् २००८ मा तालिवानले आधारभूत शिक्षाको अधिकार खोसेको विषयमा उनले आफ्नो व्यक्तिगत धारणा राखेपछि १५ वर्षीया मलाला विद्रोही समूह तालिवानको सिकार बनेकी थिइन्। सन् २०१२ को अक्टोबर ९ मा विद्यालयबाट घर आइरहेको बेलामा तालिवानी लडाकुले उनको स्कुल बसभित्र छिरेर टाउकोमा गोली प्रहार गरेका थिए। यसलाई निको पार्नका लागि उनको टाउकोमा दर्जनौं सर्जरी गर्नुपरेको थियो। उनी बेलायतमा करिब एक वर्ष लामो समयसम्म उपचार गराएपछि पुनः विद्यालय जान सक्ने भएकी थिइन्। तर मलालाले आफ्नो अध्ययन गर्ने इच्छालाई भने कहिले मार्न चाहिनन्।

त्यतिबेला महिलाका लागि टेलिभिजन हेर्न, गीतसंगीत सुन्न, विद्यालय जान र किनमेलका लागि जान निषेध गरिएको थियो। विद्यालय पनि धमाधम बन्द गराइँदै थियो। तर मलालाका बुवाले तालिवानको धम्कीलाई बेवास्ता गर्दै छात्रा विद्यालय सञ्चालन गर्दै आएका थिए। उनले आफ्नै गाउँ स्वाट भ्यालीमा विद्यालय सञ्चालन गरिरहेका थिए। स्वाट भ्याली तालिवानको नियन्त्रणमा थियो र विद्यालय गएबापत बालिकामाथि आक्रमण भएको थियो।

‘प्रत्येक बालिकाको कथा फरक हुन्छ। शिक्षा र समानताका लागि उनीहरूको आवाज गलितो हतियार हुन सक्छ' यस्तै विचार राख्ने मलाला भन्छिन्,‘ शिक्षामा यस्तो शक्ती हुन्छ की आतंककारीहरू पनि यो शक्तिदेखि डराउँछन्।'

यतिबेला उनी बालिका शिक्षाको लागि अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकामा काम गरिरहेकी छिन्। बालिकामा शिक्षाको पहुँच पुगोस् भन्ने उद्देश्यले उनले शैक्षिक अभियान ‘गर्ल पावर ट्रिप' सुरु गरेकी छिन्। संसारका लाखौं बालिका शिक्षाबाट बञ्चित रहेका छन् र धेरैले विभिन्न कारणले आफ्नो शिक्षा पूरा गर्न सकेका छैनन् भन्ने उनले राम्ररी बुझेकी छिन्।

मलाला सबैभन्दा कम उमेरमा नोबल शान्ति पुरस्कार पाउने किशोरीको रूपमा चिनिन्छिन्। उनले सन् २०१४ मा यो प्रतिष्ठित पुरस्कार पाएकी थिइन्। महिला शिक्षा र मानवअधिकारको लागि विशेष आवाज उठाउँदै आएकी मलालाले ‘आई एम मलाला' शीर्षकको जीवनी पनि प्रकाशन गरेकी छिन्। पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि उनको प्रशंसा गर्दै ‘पाकिस्तानको गौरव' भनेका थिए। संयुक्त राष्ट्रसंघको तत्कालीन महासचिव बान की मुनले पनि उनको प्रशंसा गर्दै शान्तिको लागि एउटी साहसी र भद्र बालिकाको संज्ञा दिएका थिए। मुनले उनलाई ‘ग्लोबल टिचर' को उपाधिसमेत दिएका थिए।

उनले आफ्नो अठारौं जन्मदिनदेखि लेबनानमा सिरियन शरणार्थी बालिकाको लागि विद्यालय खोलेर ‘ग्लोबल एजुकेसन' सुरु गरेकी हुन्। हाल इङ्ल्यान्डमा बस्दै आएकी मलालाले शिक्षा र मानवअधिकारको लागि अझै आवाज उठाउने बताएकी छिन्। शिक्षाको लागि जस्तोसुकै चुनौतीलाई स्वीकार गरेकी मलाला ‘संसारका सयौं प्रभावशाली महिला' भित्र पर्छिन्।

भर्खर विद्यालय शिक्षा पूरा गरे पनि विश्वविद्यालयको डिग्री लिएका विद्यार्थीजत्तिकै प्रतिभाशाली मलाले विश्वभर फैलाएकी शिक्षाको ज्योति छर्ने अभियानले अझै तीव्रता पाउनेमा विश्वास गर्न सकिन्छ। एजेन्सीको सहयोगमा

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2