MENU

अनुसन्धान केन्द्र खोल्ने इच्छा छ

अन्नपूर्ण शनिवार, साउन ७, २०७४ 7089 पटक पढिएको

Share This

635-X-85_1

नेपालमा पाश्चात्य शिक्षाले उन्मूलन गर्नै लागेको वैदिक शिक्षाको पुनर्जागरण अभियानका एक प्रमुख थालनीकर्ता स्वामी डा. रामानन्द गिरि गत गुरुपूर्णिमामा ब्रह्मलीन हुनुभएको १६ दिन पुगेको छ । २०५० सालमा गुरुकुल शिक्षालाई सरकारी मान्यतासहित पढाउने कामको थालनी डा. गिरिबाट तनहुँको देवघाटमा भएको थियो । पछि माओवादीको संस्कृतविरोधी अभियानको दबाबमा सरकारले विद्यालय शिक्षाबाट संस्कृत उन्मूलन गर्ने निर्णय गरेपछि जनताले मुठी उठाएर जिल्लाजिल्लामा गुरुकुल खोल्ने लहर नै चलेको छ । सरकारसँग गुरुकुलको यकिन तथ्यांक छैन ।

रामानन्दकै शैलीमा स्थापना गरेका गुरुकुल र वेदविद्या श्रमको संख्या हाल दुई सयभन्दा बढी पुगेको अनुमान छ । नेपालमा वैदिक शिक्षाको पुनर्जागरणका विभिन्न पक्षबारे शोध गर्दै काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका सञ्चारकर्मी राजेन्द्रराज तिमिल्सिनाका अनुसार हाल नेपालमा कम्तीमा आठ हजार जनाले गुरुकुलमा शिक्षा हासिल गरिरहेका छन् । अध्ययनकै क्रममा शोधकर्ता तिमिल्सिनाले गत जेठ ३ गते भक्तपुरस्थित स्वामी रामानन्दका शिष्य राम भण्डारीको घरमा नेपाली शिक्षा र गुरुकुलको पुनर्जागरणबारे साधुसँग लिएको अन्तर्वार्ता सम्भवतः अन्तिम अन्तर्वार्ता हो । सोही अन्तर्वार्ता यहाँ प्रस्तुत छः-


गुरुकुल खोलेर नेपालमा वैदिक शिक्षाको पुनर्जागरण अभियानको थालनी गर्नुभयो । यसको उद्देश्य के हो ?

म प्राचीन गुरुकुल परम्पराबाट ज्यादै प्रभावित मान्छे हुँ । मलाई बचपनदेखि नै गुरुकुल खोल्ने इच्छा थियो । पठनपाठनमा पनि लागियो । पहिले बनारसतिर गइयो । ठाउँठाउँमा गएपछि अहिले धर्मसंस्कृति चारैतिर लोप भइराखेको बेला एउटा गुरुकुलको स्थापना मर्न लागेको संस्कृतिको बीज जोगाउनका लागि हो । मैले त्यहाँ (देवघाटमा) गुरुकुल खोलेर ठूल्ठूला विद्वानहरू तयार गर्ने भन्ने उद्देश्य त हो, तर हुन सक्दैन ।

किनभने मानिसमा त्यति धैर्य नै छैन । पूरै समर्पित भएर पढ्नु पर्छ । संस्कृतको विद्वान हुनका लागि एउटा युगै जस्तो लाग्छ । अहिले मानिसहरूमा त्यो धैर्य छैन । चारैतिर संस्कृतको पठनपाठनमा बडो ह्रास आएको छ।बनारसमा पनि त्यही हो, नेपालमा पनि त्यही हो । ह्रास आएको हुनाले कमसेकम यसको बीउलाई गुरुकुलको माध्यमबाट बचाउन सकियो भने पछि यसका हाँगाबिँगा लाग्दै जालान् भन्ने मेरो उद्देश्य हो ।


२०५० सालमा महेश गुरुकुल सुरु गर्नुअगाडि नेपालमा गुरुकुलको अवस्था के पाउनुभएको थियो ?

मैले त्यति भ्रमण गरेको त होइन । तर गुरुकुलको परम्परा अल्लि कमै थियो । छँदै थिएनन् त भन्न सक्दिनँ । त्योभन्दा पहिले अलिकति परमानन्दजीले पश्चिम नेपालको दिब्रुङ भन्ने ठाउँमा गुरुकुलको परम्परा प्रारम्भ गर्नुभएको हो । त्यो बेला त्यहाँ पढाएर परीक्षा दिन बनारसतिर पठाउने चलन थियो । नेपालमै परीक्षा प्रणाली त्यति थिएन । गुरुकुलमा पढे पनि परीक्षा दिन बनारसतिर जान्थे । यसलाई परीक्षामुखी बनाएर बकाइदा स्वीकृति लिएर हाइस्कुल लेभलमा पनि, त्यसपछि कलेज लेभलमा पनि संस्कृतको सुरुआत् हाम्रै गुरुकुलले गरेको हो । त्यसपछि अरू धेरै गुरुकुलहरू देखा परेका छन् । त्यो राम्रो लक्षण हो ।

त्यो बेला, ५० सालअघि चरम आधुनिकता र पाश्चात्य प्रभावका बेला, गुरुकुलको पुनर्जागरण भइसकेको थियो भन्न मिल्छ कि मिल्दैन ? देवघाटमै पनि वेदका ऋचाको गुञ्जायमान अवस्था अहिलेजस्तो थियो त ?

उत्यो बेला देवघाटमा गलेश्वर विद्यालय थियो, गलेश्वर बाबाले स्थापना गर्नुभएको । पहिलेदेखि नै हो । त्यो बेलामा सामान्य अध्ययन अध्यापन गर्ने चलन त गलेश्वरले गरेकै हो । विशेष रूपमा जागरुकता चाहिँ २०५० सालपछि नै आएको हो । गलेश्वर वेदवेदांग वेद विद्यालय, परमानन्द संस्कृत गुरुकुल र हाम्रो, यी तीनवटा गुरुकुलले धेरै राम्रो काम गरेको जस्तो मलाई लाग्छ ।

अहिले जिल्लाजिल्लामा, गाउँगाउँमा पनि जनस्तरबाट गुरुकुल खुल्दै गएको देखिन्छ । यी गुरुकुलले गुरुकुलको मर्म समातेका छन् वा छैनन् ?

गुरुकुलीय मर्मको कुरोमा अहिले मान्छेमा पढ्ने पढाउने भन्ने कुरामा ह्रास देखिन्छ । विद्वान् बन्नका लागि पूरै कस्सिएर पठनपाठनमा लागेका छैनन् । लटरपटर गरेर जीविका चलाउने, गहिरो अध्ययन चैं छैन । हामीले पनि जुन ढंगबाट गुरुकुलबाट विद्यार्थी उत्पन्न गर्न पर्ने हो त्यो ढंगबाट गर्न सकेका छैनौं । किनभने इन्जेक्सन दिन भएन, पढ्ने त विद्यार्थी नै हो । विद्यार्थीको रुचि नभएपछि, पढ्ने प्रवृत्ति नै नभएपछि हामीले अरू के गर्न सक्छौं र ? तर हामीलाई गौरवको अनुभव छ, हामीले केही योग्य जनशक्ति आफ्आफ्नो गुरुकुलबाट उत्पन्न गराएका छौं । यसमा हामीलाई गौरवको अनुभव छ ।

गौरवको अनुभूति नेपालभरिकै गुरुकुलबाट कि देवघाटका गुरुकुलबाट ?

सबैको त थाहा पनि छैन । कति गुरुकुल पुगे भन्ने मलाई थाहा छैन । देवघाटको सम्बन्धमा चैं म भन्न सक्छु तीनवटा गुरुकुलले संस्कृतको जगेर्नाका लागि ठूलो काम गरेका छन् ।

गुरुकुल शिक्षालाई मूलधारमा ल्याउने सरकारले नीति लागू गर्दागर्दै पनि गुरुकुलका विद्यार्थी ठूलो संख्यामा परीक्षा दिन भारतमा जाने गरेको देखिन्छ । यसबारे के भन्नुहुन्छ ?

त्यसका लागि सरकारले सहयोग गर्नुप‌र्‍यो । व्यवस्था मिलाउनु प‌र्‍यो ।

कि नेपालमा परीक्षा पद्धति कडा भएर त होइन, उनीहरू परीक्षा दिन भारत जाने ?

त्यस्तो केही होइन । कडाइदेखि विद्यार्थीले डराउन हुँदैन । योग्य बन्न चाहन्छ भने समस्यासँग जुध्नुप‌र्‍यो । नेपालमा कठिन भए भारतमा गएको भन्ने होइन । सरकारले गर्दैछ भन्ने सुनिन्छ । त्यो राम्रो कुरो हो । शुभ लक्षण हो ।

गुरुकुलमा सरकारी पाठ्यक्रम र पाठ्यपद्धति लागू गरेपछि गुरुकुलको स्वतन्त्रतामा, गुरुकुलीय मर्यादा कायम राख्न चुनौतीहरू आउँलान् कि नआउँलान् ?

त्यसै कारणले हामी तीनवटा गुरुकुलले चैं स्वतन्त्र रूपमा चलाएका छौं । मान्यता प्राप्त मात्रै हौं । सम्बन्धनप्राप्त मात्रै छ । हामीले आफ्नै ढंगबाट चलाएका छौं ।

सरकारी सहयोग, आर्थिक सहयोग पनि लिइएको छैन र ?

आर्थिक सहयोग भनेको त्यही छुटफुट दिने त भिन्दै कुरो हो । तर त्यस्तरी आंगिक बनाएर पूरै सरकारलाई समर्पण गरेका छैनौं । हामीले आफैंले चलाएका छौं ।

गुरुकुलमा अंग्रेजी पनि समावेश गरियो । अब विज्ञान विषय पनि थप्ने कि ? २२-२४ वर्षको अनुभवले के भन्छ ?

उ हो, अंग्रेजी पनि राखेका छौं । वैज्ञानिक कुरा त सबैले सबै पढ्न कहाँ सक्छ र ? तर हामीले त्यही महसुस गर्‍र्यौं- अंग्रेजी चाहिँ प्रसिद्ध भाषा पनि भएको हुनाले र त्यसैमा धेरै कुराहरू भएको हुनाले, अचेल जागिर खान पनि अप्ठ्यारो हुने, स्वतन्त्र विद्यार्थीमाझ कम्पिटिसनमा आउन पनि गाह्रो हुने भएको हुनाले हामीले अंग्रेजी चाहिँ राखेका हौं । हामीले कम्प्युटर साइन्सको अलिअलि शिक्षा दिएकै छौं । अरू हाइस्कुलमा पढाइ हुने सबै विषय उनै हुन्, खाली संस्कृत बढी त हो नि । विज्ञान पढाउने हाम्रो विषय होइन । त्यहाँभन्दा अतिरिक्त सबै त एउटा विद्यार्थीले एक पटकमा कहाँ सक्छ र ? युनिभर्सिटीहरूमा पनि त सबै विषय सबैले पढ्न सक्दैनन् नि । त्यही हो ।

गुरुकुलको स्थापना र सञ्चालन गर्दा कस्ताकस्ता चुनौतीहरू व्यहोर्नु पर्‍र्यो ?

मेरो विषयमा भन्ने हो भने मैले त जनतामा प्रवचन गरेर उनीहरूलाई प्रभावित गराएर उनीहरूको चन्दाद्वारा नै गुरुकुल चलिरहेको छ । आफ्ना भक्तहरू बनाउने, उनीहरूले चन्दा दिन्छन्, सरकारले कहिलेकाहीँ अलिअलि सहयोग पनि गरिराखेको छ । यही ढंगबाट चलाइराखिएको छ । मलाई खास कठिनाइको अनुभव छैन । गुरुकुल चलाउनका लागि हाम्रा भक्तहरूले पर्याप्त मात्रामा सहयोग गरेका छन् ।

अहिले पढाउने जनशक्तिको अवस्था नि ?

होऽऽ । यो चाहिँ अल्लि समस्या छ । योग्य जनशक्ति पाउन निक्कै गाह्रो छ ।

कुन विषयको शिक्षक पाउन समस्या ?

व्याकरणमा त्यस्तै छ, वेदान्तमा त्यस्तै छ । योग्य अध्यापकहरूको कमी चाहिँ हामीले महसुस गरेका छौं । डिग्री लिएका मान्छेहरू प्रशस्त छन् तर राम्रोसँग बुझाएर निष्ठापूर्वक पढाउने अध्यापकहरूको कमी हामीले महसुस गरेका छौं ।

बन्दोबस्तीको समस्या त रहेनछ । कालान्तरसम्म अघि बढ्न सक्ने प्रत्याभूतिको अवस्था कस्तो देख्नुभएको छ ?

हामीले गर्दै जाने हो । भोलि के हुन्छ भन्ने कसलाई थाहा छ ? हामीहरू आफ्नो शक्तिको अनुसार काम गर्दै जाने हो । योग्य विद्यार्थी तयार गर्न जाने हो, कोसिस गर्दै जाने हो । भविष्यलाई त हामीले के ग्यारेन्टी दिन सक्छौं र !

महेश संस्कृत गुरुकुलको भौतिक सुविधा हेर्दा विश्वविद्यालय खोल्न सकिने पूर्वाधार रहेछ । त्यस्तो केही योजना छ कि ?

मलाई विश्वविद्यालय खोल्ने रहर केही पनि छैन । मर्न लागेको संस्कृतको बिउ जोगाउने मेरो इच्छा हो । गर्दै जाँदाखेरि विश्वविद्यालय बनेछ भने राम्रै हो । तर विश्वविद्यालय मात्रै बनाएर के गर्ने ? त्यसअनुसारको पठनपाठन हुनुपर्‍र्यो । फेरि राजनीति हुन थाल्छ । राजनीतिको अखडा बनिराखेका छन् अहिलेका शिक्षणसंस्था । त्यस्तो विश्वविद्यालय मलाई चाहिएको छैन । शिक्षणसंस्थालाई राजनीतिको अड्डा बनाउने होइन ।

नेपालका गुरुकुलबाट उत्पादित जनशक्तिको बजार कस्तो छ नि ?

अरूको त मैले कसरी भन्नु ? हाम्रो गुरुकुलबाट निक्लिएका विद्यार्थी खाली कोही पनि छैनन् । हामीले लद्दुभन्दा पनि लद्दु भनेको विद्यार्थीले पनि तुरुन्तै जागिर पाइरहेको हुन्छ । महेश गुरुकुलका विद्यार्थी भनेपछि चाँडै नै जागिर पाउँछन् । त्यो चाहिँ हामीलाई गौरवको विषय हो ।

खासगरी केके काम पाउँदा रहेछन् ?

संस्कृतमा शास्त्री पास गरेपछि नेपाली एमएतिर जान्छन् । हाइस्कुलमा, विश्वविद्यालयमा पढाउने काम पाउँछन् । बिकिराखेका छन् ।

आचार्यसम्म गरिसकेपछि अनुसन्धानको क्षेत्रमा पनि हात हाल्नेबारे केही योजना छ कि ?

अनुसन्धान गराउने मेरो विचार छ । अनुसन्धान लेभलमा यसलाई लान पाए हुन्थ्यो भन्ने इच्छा चाहिँ छ । कोही अनुसन्धाता आएर सहयोग ग‌र्‍यो भने बिल्डिङहरू बनाएर अनुसन्धान गर्ने । हाम्रो एउटा शिष्य छ दिवाकर आचार्य अहिले अक्सफोर्ड युनिभर्सिटीमा पढाउने । मलाई वचन दिएको छ । उसले यहाँ आएर अनुसन्धान गराउँछु भनेको छ । हामीलाई त्यो आशा छ । अनुसन्धान गराउन मात्र खोजेर भएन, जनशक्ति हुन प‌र्‍यो । महेश गुरुकुलको परिसरभित्र अनुसन्धान केन्द्र खोल्ने इच्छा छ ।

त्यो भनेको पीएचडी लेभलको पढाइ चलाउने हो ?

हो, हो । पीएचडी गराउने । सब गराउने ।

अहिले गुरुकुलबाहिर हेर्दा हाम्रो देशको शिक्षा प्रणालीबारे के टिप्पणी गर्नुहुन्छ ?

नेपालको शिक्षा प्रणाली दोषयुक्त छ । यसमानेमा दोषयुक्त छ कि यहाँ चरित्रमाथि पटक्कै ध्यान दिइँदैन । नैतिक शिक्षा छैन । खाली एउटा जीविकोपार्जन गर्ने भाँडोमात्रै तयार गर्छ सरकारले । बाबुआमालाई कसरी मान्न पर्छ, गुरुको स्थान के छ, धर्म के हो संस्कृति के हो, सभ्यता के हो, यसमा शून्य भएकोले यो शिक्षा पद्धतिप्रति म सन्तुष्ट छैन । त्यही शिक्षा पद्धतिबाट सन्तुष्ट नभएरै हो मैले गुरुकुल खोलेको । मैले पहिले संघर्ष गरेको हुँ । मन्त्रीहरूसँग पनि भनेको हुँ । मैले भनेर केही नहुने रहेछ भनेर मैले आफ्नो स्वतन्त्र गुरुकुल खोलेको हुँ ।

 संस्कृत शिक्षा पढेकाहरूप्रति यस्तो राम्रो धारणा छ । तर संस्कृत नै पढेर विश्वविद्यालयमा पुगेकाहरूको त त्यस्तो व्यवहार देखिँदैन भन्छन् । त्यसलाई के भन्ने नि ?

 त्यो सरकारको कुरा हो । त्यहाँका प्रोफेसरले विचार गर्न पर्ने हो । त्यहाँका प्रशासकहरूले विचार गर्न पर्ने हो । उपकुलपति, शिक्षाध्यक्षहरूले नियन्त्रण गरेर व्यवस्थित गर्नु पर्ने हो । मेरो विषय होइन त्यो ।

संस्कृत पढेका, गुरुकुलमा पढेका र पछि अध्यापक भएकाहरूले पनि त्रास सिर्जना गर्ने उपायको ताल्चाबन्दी गरे भनेर औंला ठड्याउने ठाउँ त मिल्यो नि?

 त्यो त व्यक्तिको दोष हो । संस्कृतले तालाबन्द गर भन्दैन । व्यक्तिले त जे पनि गर्छ नि । व्यक्तिको दोष लगेर कुनै शिक्षा प्रणालीमा हाल्न मिल्दैन ।
 

प्रसंगलाई संस्कृत माध्यमिक विद्यालयतिर मोडौं । देशका विभन्न ठाउँमा सरकारी संस्कृत माविहरू सञ्चालनमै छन् भने अर्कोतिर जनताले मुठी उठाएर र चन्दा दिएर धमाधम गुरुकुल खोल्ने क्रम अघि बढेको देखिन्छ । अब ती पुराना संस्कृत मावि र प्रधान पाठशालाहरूको भविष्य के होला ?

 त्यो मेरो विषय होइन ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2