MENU

सेनाले निर्माण गर्‍यो सवा अर्बको सडक

635x90_1

राजु बास्कोटा बुधवार, साउन १८, २०७४ 9292 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : नेपाली सेनाले गत आर्थिक वर्ष पाँचवटा सडक निर्माणमा एक अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । सेनाले विभिन्न जिल्लामा उत्तरी क्षेत्रका र चीनसँग जोड्ने सडक निर्माण गरेको हो । आर्थिक वर्ष २०७३÷०७४ मा खर्चिएको यो रकमबाट भएको प्रगति सन्तोषजनक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षसम्मको सडकको समग्र अवस्थालाई सेनाले बनाएको सडकसँग तुलना गर्दा निर्माण सन्तोषजनक रहेको मन्त्रालयको निष्कर्ष छ । नेपाली सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, जाजरकोट-डोल्पा-दुनै, बेनीघाट-आरुघाट-लार्केभञ्ज्याँङ र मैलुङ-स्याफ्रुवेसी सडक निर्माण गरिरहेको छ । यी सबै सडकमा सरकारले गत वर्ष विनियोजन गरेको बजेटको शत्प्रतिशत काम भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले तयार पारेकोे प्रतिवेदनमा उल्लेख छ ।

नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले हाल निर्माणाधीन पाँचवटै सडकको प्रगति सन्तोजनक रहेको जानकारी दिए । यी पाँचवटै सडकमा बजेटले पुगेसम्म धमाधम काम भइरहेको छ । उनले भने, ‘हामीले निर्माण गरेका सडकमा ७६ किमिको कालिगण्डकी करिडोरको ट्र्याक पूरा भएको छ भने एक सय १७ किमिको जाजरकोट-डोल्पा-दुनै सडकमा १० किमि ट्र्याक बाँकी छ ।’ एक सय २० किमिको बेनीघाट-आरुघाट-लार्केभञ्ङ नयाँ भएकोले यसमा तुलनात्मक रूपमा बढी काम भएको छ । यसमा जम्मा १.२ किमि मात्रै ट्र्याक खोलिएको प्रतिवेदनमा उल्लेख छ । एक सय ९६ किमिको कालिगण्डकी करिडोर ३५ किमि ट्र्याक पूरा भएको र मैलुङ-स्याफ्रुवेसीको डबल लेन गर्नुपर्ने १७ किमि सडकमा सात किमि डबल लेन र १० किमि सिंगल लेनको ट्र्याक खुला भएको छ ।

सेनाले निर्माण गरेको कर्णाली करिडोरको २२ किमिमा यातायात सञ्चालन भइरहेको छ । यो सडकले कालिकोट, बाजुरा र हुम्लालाई जोड्छ । यो सडक आयोजना २०६५÷०६६ देखि सुरु भए पनि आयोजना पूरा हुने समय अहिलेसम्म निर्धारण भएको छैन । यो सडक निर्माणको कुल लागत दुई अर्ब ८४ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कालिगण्डकी करिडोरले गुल्मी र बागलुङलाई जोड्छ । यो सडक भने २०७० वैशाखबाट मात्रै सुरु भएको हो । यो आयोजनाको लागत ९६ करोड ६४ लाख रुपैयाँ रहेको भए पनि आयोजना पूरा हुने मिति भने यसको पनि उल्लेख भएको छैन । यो सडक ७६ किमि सबै ट्र्याक खुला गरिएको छ भने ५४ किमि सडकमा यातायातसमेत सञ्चालन हुन थालेको छ ।

मैलुङ-स्याफ्रुबेसी रसुवागढी सडकखण्ड २०७१ माघबाट नेपाली सेनाले सुरु गरेको हो । यो सडकको कुल लागत तय अझै भएको छैन । तर, सडक निर्माणका लागि आधाभन्दा बढी काम भइसकेको छ । यो सडकका लागि सरकारले विनियोजन गरेको ३५ करोड खर्च भइसकेको छ । यो सडक १७ किमि डबल लेनको हो । यसमा सात किमिको काम सकिएको छ । १० किमि सिंगल लेन पूरा भएको नेपाली सेनाको निर्माण विकास निर्माण निर्देशनालयले जनाएको छ ।

जाजरकोट-डोल्पा दुनै सडक बनाउन गत आवमा मात्रै नेपाली सेनाले २३ करोड रकम खर्चिएको छ । यसबाट एक सय १७ किमिमध्य एक सय १० किमि ट्र्याक पूरा भएको छ । यो सडक आव २०६६÷०६७ बाट सुरु भएको हो । यसको कुल लागत एक अर्ब ४७ करोड अनुमान गरिएको छ । यो सडकमा ७८ किमिमा यातायात नै सञ्चालन भइरहेको छ ।

यसैगरी बेनी-आरुघाट-लार्केभञ्ज्याङ सडकका लागि गत आवमा विनियोजन गरिएको सात करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । यो सडकको पनि हालसम्म लागत तय भएको छैन । गोरखामा निर्माणाधीन यो सडक २०७३ फागुनदेखिमात्रै सुरु भएको हो । सेनाले काम गरिहेको सडकमध्य सबैभन्दा पछिल्लो भएकाले पनि यसको प्रगति जम्मा १.२ किमि मात्रै ट्र्याक सम्पन्न भएको नेपाली सेनाको निर्माण निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ ।

नेपाली सेनाले निर्माण गरेका ५ सडकको अवस्था

सडकको नाम                            दूरी           गत वर्षको बजेट खर्च                  हालसम्मको प्रगति

कर्णाली करिडोर                       १९६ किमि             ३१ करोड                          ३५ किमि ट्र्याक पूरा

काली गण्डकी करिडोर                ७६ किमि               ३३ करोड                            ट्र्याक पूरा

जाजरकोट-डोल्पा-दुनई              ११७ किमि              २३ करोड                       ११० किमि ट्र्याक पूरा

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याँङ     १२० किमि           ७ करोड ५० लाख                १.२ किमि ट्र्याक पूरा

मैलुङ-स्याप्रुवेसी                    १७ किमि                  ३५ करोड ७                   किमि डबल लेन १० किमि

सिंगल लेन पूरा तथ्यांक स्रोत : नेपाली सेना, विकास निर्माण निर्देशनालय ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2